हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

म मञ्चवाट किन ओर्लिएँ ?,(गोविन्द गिरि प्रेरणा )

डिसेम्वर १ अर्थात् अनेसासले अन्तर्रराष्ट्रिय नाम दिएको साहित्यिक जमघटको कविता वाचन कार्यक्रम हुँदै थियो । महिनौंदेखि सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नका लागि कार्यपत्र प्रमुख होमनाथजीले भन्नुभए पनि समय अभाव देखाई केही व्यक्तिलाई मात्र २ मिनेटमा प्रस्तुत गर्न लगाइयो । धन्न म त्यो २ मिनेटमा परिनछु ।

कवि गोष्ठी शुरु भएपछि गोष्ठी सञ्चालक कवि भाई गोवद्र्धन पूजाले अरुलाई कवितामात्र वाचन गर्ने, सम्वोधन नगर्ने तथा कविताका हरफ नदोहोर्याउने भने पनि मलाई केही वोल्न समय भएको वताएका थिए ।

जव मेरो कविता पढ्ने पालो आयो, म मञ्चमा उक्लिएँ । कविताको शिर्षक भनेर केही हरफ कविता पढेको मात्र थिएँ मञ्चमा आसिन साहित्यकार मोदनाथ प्रश्रितलाई आयोजकमध्येका एक विमला निरौलाले वोलाइन् र मोदनाथ मञ्चवाट ओर्लनु भयो । मोदनाथजी मञ्चवाट ओर्लिएपछि मञ्चासिनहरु उहाँसँग कुरा गर्न थालेको भएर मेरो कविता पढ्ने मूड विग्रियो । मोदनाथजीले कविता पढे हुन्छ भनेर मलाई इशारा गर्नुभयो । तर म चुप लागें । किनभने उहाँ मञ्चवाट ओर्लेर वाहिर निस्कँदै गर्दा उहाँसँग वोल्ने र अभिवादन गर्नेहरुले हल्ला गर्न थालेका थिए ।

जव मोदनाथ हलवाट वाहिर निस्कनु भयो, मैले भनें ' कविता पढ्न वातावरण चाहिन्छ । कविताको इज्जत गर्नुपर्छ । अव म फेरि शुरुदेखि कविता पढ्छु' भनेर पुनः शुरुदेखि कविता पढ्न थालें ।

यसैवीच होमनाथ सुवेदीजी कतैवाट मञ्चमा उक्लन आइपुग्नु भयो र मञ्चमा वस्नेहरुसँग छलफल गर्न थाले। अनि मैले भनें, लौ तपाईंहरु हल्ला गर्नुहोस् म कविता पढ्दिन । र म मञ्चवाट पूरा कविता नपढिकन ओर्लिएँ ।

वास्तवमा यो मेरो साहित्य लेखन यात्राको ३६ वर्षमा पहिलोपल्ट घटित यस प्रकारको पहिलो घटना थियो ।

पछि हल वाहिर भेटिनु हुँदा मोदनाथजीले 'सरी है गोविन्दजी, मैले गर्दा त्यस्तो भो' भन्नु भयो ।मैले 'केही छैन, ठिक छ' भनें ।

यसमा उहाँको दोष थिएन । आयोजकले खाना सकिन लाग्यो भनेर उहाँलाई मञ्चवाट ओरालेका रहेछन् ।

त्यस्तै विमला निरौलाले पनि 'मलाई वोलाएर ल्याउन भनियो । अपजस मैले पाएँ' भन्नु भयो । मैले उहाँलाई पनि केही छैन भनें ।

आयोजकले व्यवस्थापन गर्न नजान्दा यस्तो हुन गएको थियो । कार्यक्रमको शुरुवातदेखि नै व्यवस्थापनको फटेहाल अवस्था देखिएको थियो ।

वास्तवमा कविता पढ्ने वेलामा आयोजकहरुले कविता सुन्ने र सुनाउने वातावरण वनाउनु पर्नेमा स्वयँ आयोजकहरु नै अनुशासित नहुनाले त्यो परिस्थिति जन्मेको थियो ।

आयोजकहरु नै मञ्चमा वसेर हल्ला गर्न थालेपछि कविता वाचनको अपमान भएको मैले अनुभव गरेको हुँ । केहि समाचारमा मैले कविता नपढेको समाचार सम्प्रेषण हुँदा के भएको हो भन्ने जिज्ञासा देखिएको हुनाले यति भन्दै म विश्राम लिन्छु ।

 

१३ डिसेम्वर २०१३, मनासस, भर्जिनिया ।

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |