हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

‘सुकीधुपी‘ मा प्रकट नक्कली स्वतन्त्रताको नियति,(गुणराज लुइटेल)

विश्वास गरिन्छ कि अमेरिकाको रमझममा त सधैं खुशी मात्रै हुन्छ । संधैं रमाइलो हुन्छ । यहांको जीवनमा अंध्याराका बादलहरु कहिलै पनि मंडारिंदैनन् बरु यहां त सधैं सप्तरंगी इन्द्रेणीहरु उदाइरहन्छन् । धेरैलाई लाग्छ यहां जीवनले खुशीका हर सम्भावनाहरुलाई चुम्न सफल भएको हुन्छ, बांकी केही पनि रहेको हुंदैन । दुःख र दर्द भन्ने कुरा त अमेरिकी जीवनमा कल्पना पनि गर्न सकिंदैन । यहां सधै शुभ प्रभातले स्वागत गरिरहेको हुन्छ । यहां त रातलाई संधैं पूर्णिमाले सजाइरहन्छ र सुर्योदयसंगै दिन चङ्गा अनि छ्याङ्ग हुन्छ । मान्छेहरुका वीचमा आत्मीयता र मिलनको प्रतिछायां हेर्न अन्त जानु पर्दैन । यही भूमिमा सवैका ठूलाठूला मनोकांक्षाहरु साकार हुन्छन्, उनीहरुलाई लक्ष्य प्राप्ति गर्न यो ठाउंमा कुनै अवरोध छैन त्यसैले यहां कोही पनि रुंदैन बरु हांसो र खुशी बांड्न पनि उनीहरु भ्याइरहेका हुंदैनन् । रङ्गीन पेय र चौरासी व्यञ्जनको उपलव्धताले उन्माद जीवनहरु मात्रै यहां हुन्छन्, विछोड र वेदनाहरु यहां कमै छन् जति यन्यत्र हुन्छन् ।

यस्ता र यस्तै धेरै विश्वास र अनुभूतिहरुलाई कडा चुनौति दिंदै सुकीधुपी खण्डकाब्यले मानव जीवन आखिर जहां भए पनि त्यहां अनेक थरीका वेदना, बन्धन, शोक, प्रताडना, क्रन्दन र मनोदशाहरु व्याप्त हुन्छन् र यिनीहरुको प्रतिकारमा रुमल्लिदा उत्पन्न जटीलताले जीवनका रङ्गहरुलाई कसरी बेरङ्गी बनाइदिन्छ भन्ने सजीव चित्रण गरेको छ । लेखकको जागीर संसारकै उच्च वित्तीय संस्था विश्व बैकमा हुनुले झट्ट हेर्दा उनी अमेरिकी शानमा चुर्लुम्म डुबेका होलान् भनेर स्वभाविक अन्दाज गर्न सकिन्छ । तर उनले नेपालको दुर्गम जिल्ला तेह्रथुममा जन्मेर त्यहांका भौतिक, सामाजिक, सांस्कृतिक विसंगति र सांगुरीहरुलाई राम्ररी अनुभूत गरेका हुंदा उनमा मानवीय पीडाहरुलाई बुझ्न सक्ने प्रशस्त चेतना रहेको हेक्का सुकीधुपीमा राम्ररी दिएका छन् । त्यसैले त उनी यस काव्यको माध्यमबाट चराहरुको कथा भन्दै सारा मानव जातिकै नियतिलाई आंशुबाटै बगाउन चाहन्छन् । मानिसले कतिपय प्रताडनाहरु उसको विसंगतिपूर्ण बर्तमानमा स्वभाविक तथ्यका रुपमा भोगिरहेको हुन्छ भने कतिपय नव समस्याहरु आफ्नै कारणले जन्माउछ र त्यसलाई व्यवस्थित गर्न नसक्दा आफै शिकार बन्न जान्छ भन्ने तीतो वास्तविकतालाई सर्जक नहिच्किचाइकन वर्णन गर्छन ।

यो कृति अमेरिकी प्रवासमा लेखिएको हुंदा यसलाई यसैको सेरोफेरोमा हेरिनु बढी सान्दर्भिक होला भन्ने ठान्दछु । सर्जक संग्रौलाले यस खण्ड काब्यमा समाजमा रहेका दुई चरित्रलाई सुकी र धुपीको रुपमा प्रस्तुत गर्नु भएको मेरो बुझाइ हो । समाजमा एकथरी यथास्थितिलाई स्वीकार गरेर बस्न रुचाउंछन् । उनीहरु ठान्दछन् जे भयो त्यो हुनु नै थियो । भगवान जे गर्छन् असलकै लागि गर्छन् । मानवीय प्रताडनाले उनीहरु जकडिएका हुन्छन् तर पनि त्यसलाई आफ्नो हुनै पर्ने नियति भन्दै चुपचाप सहेर बस्छन् । समाजमा परिवर्तन नचाहनेहरु राजनीतिक, सामाजिक, जातीय, क्षेत्रीय असमानताहरुलाई ठीकै त छ, भै गो नि भनेर चुप लाग्छन् । कि त यस्तो असमानतालाई तोड्ने उनीहरुसंग आंट बल हुंदैन, कि त उनीहरु कांतर हुन्छन्, कि त उनीहरु भलाद्भी बन्न चाहन्छन्, कि त यो उनीहरुको सोचाई र रोजाई बाहिरको कुरा हो । या त उनीहरु कसैसंग डराइरहेका हुन्छन् । यस खण्ड काब्यमा यस्ताहरुको प्रतिनिधित्व सहज रुपमा धुपीले गरेको छ । धुपी पिजडामा छोडिएको र थुनिएको एक चरा हो । उसको सवैभन्दा ठूलो पीडा त बन्धक हुनु नै हो तर पनि उ त्यो बन्धनलाई तोडेर भाग्ने कोशिर गर्दैन । कहिले ढोका खुल्ला हुन्छ भनेर उ चियो गर्दैन । उ मुमासंग डराउंछ । पक्राउ परिने, कारवाही हुने जस्ता कुराबाट उ निकै डराएको हुन सक्छ । उसको डर नै उसको स्वतन्त्रताको जड हो भन्ने ज्ञान उसलाई हुंदैन । सुकी उडेर गएको देख्दा पनि त्यसबाट उसले चेतना लिन सकेको छैन । कहिले कहीं पिंजडाको ढोका खुल्न सक्थ्यो तर पनि उसले त्यतातिर ध्यान दिएन । भन्छ— ‘चलेकै छ जिन्दगानी सानो ठाउंले के भो?, खुसी सुखी बांचे पछि पिंजडाले के भो?‘

उसले एक किसिमको जीवन गुजारी रहेको छ जो अरुको भरमा अडिएको छ । पृथ्वीको भारी भने झै उ सांच्चिकै भारी बनेको छ । कसैले चारो दियो भने पेट भरियो, दिएन भने भोकै बस्नु प¥यो । जति कराए पनि आफ्नो आवाज आफैसंग हुन्छ, त्यसले आफैलाई झर्को गर्दछ । उसको जीवन फगत एक भारी हो अरुको लागि । अरु कसैले धुपीको लागि भनेर समय निकालिदिनु पर्यो, समय समयमा सेवा गरिदिनु पर्यो । स्वदेश मै रहेका या विदेशमा रहेका धेरै मानिसहरु जे छ ठीक छ भन्ने मानसिकताले आज आफू जो हुनु पर्ने थियो त्यो हुन सकिरहेका छैनन् । उनीहरुले यथास्थितिले खडा गरेको बन्धनलाई तोड्न सकिरहेका छैनन् । प्रवासको जीवनलाई उनीहरु उन्मुत्तिकै रुपमा लिईरहेका हुन्छन् । तर घण्टौंसम्मको शारीरिक परिश्रम, थकान अनि कडा आर्थिक नियमकानून र विल भुक्तानीका झण्झटहरुको अगाडि एक किसिमको अघोषित बन्धककै जीवन त बांचिरहेका छैनन्? सर्जक कताकता यतातिर पनि ब्यङ्ग्य गर्छन धुपीलाई अगाडि सारेर ।

सुकी धुपी खण्डकाब्यमा मात्रै तीन पात्रहरु छन्सुकी, धुपी र मुमा । धुपी एकातिर सुकीको विछोडको पीडाले पिजडाभित्र रोइरहेको हुन्छ भने सुकी मुमालाई झुक्याएर भाग्न सफल भई स्वतन्त्र भएर जंगलतिर पलायन हुन्छे । सुकीले पनि लामो समय पिंजडाको जीवन भोगिसकेकी छे । त्यहां उनीहरु जोडी नै बस्न पाएका भए पनि त्यो खुशी जीवन नरकतुल्य थियो । सामाजिक, आर्थिक र सांस्कृतिक कुरीतिहरुका वीच विपन्नताको जीवन बाच्न बाध्य मानिसहरु र्झै सुकी पनि त्यसरी नै बांचेकी हुन्थी पिंजडामा । तर आन्दोलनको ज्वारभाटा सिर्जना गर्दै स्वतन्त्रताको बाटोमा फड्को मार्ने मानिसहरु जस्तै उसले पनि पिंजडा तोड्ने साहस गरी । उ स्वतन्त्र भई र खुल्ला आकाशमा कावा खान थाली । त्यो घरको तानाशाह भनेको मुमा थिइन । तर सुकीको स्वतन्त्रतामुखी चाहको अगाडि उनको केही पनि लागेन । जव मानिसले कुनै परिवर्तनको चाहना गर्दछ भने त्यो सजिलै प्राप्त हुन सक्दैन । जमीनमा लिप्त भएर बसेको ढुङ्गालाई उप्काएर अर्कोतिर पल्टाइन्छ भने त्यो ढुङ्गाको परिवेशमा आउने नयां रुप एक परिवर्तन नै हो । भीरबाट त्यो ढुङ्गा लड्यो भने त्यसले धेरै क्षति पु¥याउन सक्छ, जन धनको क्षति पनि हुन सक्छ । त्यसैले ढुङ्गा पल्टाएर केही गर्नु छ भने सुरक्षाको प्रश्नलाई पनि सम्बोधन गर्नु पर्दछ ।

सर्जकको स्वीकारोक्ति के हुन सक्छ भने परिवर्तन आफैंमा सफलता हैन, यो नै आफैंमा पूर्ण स्वतन्त्रता होइन । मुख्य कुरा त आफूले निम्त्याएको परिवर्तन र हासिल गरेको स्वतन्त्रतालाई व्यवस्थित गर्न सक्नु हो । यदि स्वतन्त्रतालाई सही व्याख्या गर्न सकिएन भने, सही रुपमा ब्यवस्थित गर्न सकिएन भने यो स्वच्छन्दतामा परिणत हुन जान्छ । यो आफैंमा जटील बन्न जान्छ । यसले जीवनलाई अग्रगामी सुख सुविधा दिनुको सट्टा थप कष्ट थपिदिन्छ । धेरै मानिसहरु परिवर्तन र क्रान्तिबाट आफ्ना सम्पूर्ण समस्याहरु समाधान हुने विश्वासले पुलकित हुन्छन् । आफ्ना नव आकांक्षाहरुलाई शिखरमा पुर्याउँछन् । तर परिवर्तनको स्वभाविक नियति भनेको त्यसको सही व्यवस्थापन हो भन्ने बुझ्न सक्दैनन् । आखिर अन्त्यमा सवै कुरा भद्रगोल भएपछि दुःख मनाउ गर्न थाल्दछन् । त्यसरी नै आफैंलाई धिक्कार्न थाल्दछन् जसरी सुकी पिंजडाबाट स्वतन्त्र भएर पनि थुनिएकै महसूस गर्दछे । उसका अगाडि पहाड, पर्वत, आकाश, बादल, जंगल, शमुद्र सवै भएर पनि, बथानका बथान साथीहरु भएर पनि ऊ आफ्नो मान्छेको लागि तड्पिरहेकी हुन्छे । धुपीसंगको मिनलको लागि छट्पटाइरहेकी हुन्छे । कताकता एक्लै महसूस गर्छे । भन्छे— ‘एउटा साथी काफी थियो पिंजडामा छंदा, एक्लोपनको याद थिएन धुपीसंग हुंदा

उसलाई स्वतन्त्र ठाउंमा बथानहरुका वीचमा पनि एकादुई साथी बनाउन धेरै गाह्रो भएथ्यो । एक्कासी प्राप्त स्वतन्त्रताको परिणाम स्वरुप उ धेरै बथानमा पुगेकी थिइ । तर समूह समूहमा थुप्रिएका ती बथानहरुले उसलाई गरेको घृणा, तिरस्कार र अपहेलनाले गर्दा उसलाई समूहप्रति पनि विश्वास हुन छोड्यो र पिंजडाको एउटा साथी नै संसारमा पर्याप्त भएको महसूस हुन थाल्यो । त्यसैले साथी खोज्ने क्रममा दिक्क भएपछि उसले ठूला चरा र ठूला झुण्डहरुलाई छोडेर ससानाहरुसंग संगत बढाउन थाल्दछे । ऊ गुनगुनाउछे– ‘मनबाट सोचें मैले थाल्छु सानोबाट, हौसला त्यो मनमा आयो झरें हांगाबाट । मनभित्र गुह्य कुरा सुझेजस्तो लाग्यो, दुःख कष्ट हण्डरबाट बुझें जस्तो लाग्यो ।

सुकीले पिंजडाबाट भागेपछि आफ्नो स्वतन्त्र जीवनमा भोगेका थरीथरीका दुःख कष्टहरुको दर्दनाक व्याख्या गर्दै सर्जकले वास्तविक खुशी त घरबाटै शुरु हुनु पर्छ, विछोडको पीडासंगै प्रवासमा पाएको देखावटी स्वतन्त्रताले कसैलाई पनि खुशी तुल्याउन नसक्ने सन्देश दिएका छन् । कतिपयले प्रवासको स्वतन्त्रतालाई विछृङखलपूर्ण स्वेच्छाचारिताको रुपमा बुझेको र आफ्नो नैतिक धरातलबाट तल गिरेर रीत फेर्ने कोशिस गरेको आरोप पनि सर्जकले सुकीको अनुभूति मार्फत लगाएका छन् ।

झ्याउरे शैलीमा लेखिएको यो खण्डकाब्यमा सुकीको विछोडपछि चिन्तामा डुवेको धुपीको पिंजडामै देहवसान हुनु र सुकीले आफ्नो चेत खुलेपछि स्वतन्त्रताको वैभवबाट धुपीलाई भेट्न आउंदा उसको अवसान भैसकेको हुनुले काब्य शोकमय छ । धुपीले पिंजडामा स्वभाविक जीवन गुजार्न नसक्नु र  सुकीले अथाह स्वतन्त्रतालाई पनि त्यागेर धुपीलाई भेट्न आउनुले यी दुवैले आफ्नो आकांक्षा अनुसारको जीवन विताउन नपाएको प्रष्ट हुन्छ । कतिपयले गाउँ देखि प्रवाससम्म आफ्ना असंख्य मानव वेदनाहरुलाई छायाँ  पार्दै नक्कली स्वतन्त्रतालाई सक्कली झैं गर्नु एउटा खोष्टो आडम्बर बाहेक केही पनि होइन । वास्तवमा परिवारसंगको विछोड, आफन्तको अभाव, असल साथी भाइहरुको कमीले गर्दा तड्पिएका डायस्पोराका कैयौ जीवन कथाहरु सुकी र धुपीकै जस्ता हुनसक्छन् । वास्तवमा सर्जक कवि वाशिङ्गटन डि.सी. क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका पुराना वासिन्दा हुन र उनले यहांका आप्रवासी समाजहरुमा देखिने विसंगतिहरुलाई पनि सुकीको माध्यमबाट औल्याउने प्रयास गरेका छन् ।

असी पृष्ठमा फैलिएको यो शोक खण्डकाब्य कवि प्रेम संग्रौलाको पहिलो कृति हो । त्यसो त वाशिङ्गटन डि.सी. क्षेत्रमा आयोजित विभिन्न साहित्यिक सम्मेलनदेखि लिएर कोठे कवि गोष्ठी सम्ममा आफ्ना विशिष्ठ रचनाहरु वाचन गरिरहनु हुने संगौला अप्रकाशित रुपमा रहेका धेरै रचनाहरुका धनी पनि हुनुहुन्छ । शिल्प र सरका हिसावले सर्जक निकै अव्बल देखिन्छन् । लयबद्ध गर्दा कतैकतै सानातिना रड्काइ नभएका भए धेरै राम्रो हुने थियो । काब्यमा संस्कृतका क्लिष्ट शव्दहरुको खासै प्रयोग गरिएको छैन । गग्रेटो, डम्फू, चोचोमोचो, पटुका, दङ्ग, भङ्ग, बटुका, लगनगांठो, भरभराउंदो, मुस्लो, घरबेटी, हुल, कठ्याङ्ग्रिएको, फिट्टो, कालकोठरी, चोक्टा, झल्यास्स जस्ता झर्रा नेपाली शब्दहरु यत्रतत्र प्रयोग भएको पाइन्छ । खण्ड विभाजन गर्दा धुपीको अन्त्यलाई तेस्रोमा राखिएको छ तर यो दोस्रोमा हुंदा पनि हुन्थ्यो र सुकीको आत्मानूभूति चाहि अन्तिममा हुदा पनि हुन्थ्यो होला । यस अण्डकाब्यकी प्रकाशिका मञ्जु संग्रौला हुनुहुन्छ भने पुस्तकलाई लेखकले पिता स्व. गोपीचन्द्र संग्रौला र माता स्व. लक्ष्मीदेवी संग्रौलामा समर्पित गरेका छन् । पुस्तकमा समीक्षा मन्तव्य नेपाल प्रज्ञाप्रतिष्ठानका उपकूलपति गङ्गाप्रसाद उप्रेती र भाषाविद् कृष्णप्रसाद पराजुलीले दिनु भएको छ भने डा. ऋषिराज बराल र डा. ताराकान्त पाण्डेयले छोटो टिप्पणी गर्नु भएको छ ।

Comments

Prem Sangraula

Thanks a lot Gunaraj jee for your writing on Suki Dhupi.  I really enjoyed the way you described the story. I do not have any comments on your interpretaion, but just imagined from the point of view that you elaborated. I also have read some other comments from different readers and found talking about it differently. I really enjoyed from all those including this article writen eloquently. When Suki Dhupi is in the hands of readers, I have no power to describe what I had thought when drafting this story. But I really want to know more from readers about what they think when they read it. Thanks a lot to Gunaraj jee for an excellent write up and a touching comment from Gopal Regmi jee.  

Gopal Regmi

Excellent writeup on Suki Dhoopi! Enjoyed! Congratulations Gunraj jee! It is one of the few excellent writeup I have read recently. I am emotionally attached with this literary work from Prem jee as he had shared the manuscript with me. There were a couple of write ups I came across before but none had touched the philosophical aspect of this great composition so deeply. Just loved it.
Thanks Basu jee for sharing!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |