हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मेरा कविता सृजनाका प्रसँगहरु,(विनोद रोका, एटर्नी एट ल, )

१९९८ को अप्रिलमा म न्युर्योक आए। सम्भवत आएको महिनामा नै होला मैले 'नेपाल वन्द छ' भन्ने एउटा कविता लेखे गिरिजा गौतमजीकी सानी छोरी कृपालीले उहाको घरमा गएका बेलामा।

धेरै भएको थियो मैले साहित्यीक श्रृजनामा ध्यान नदिएको। तर अमेरीका आऊने वित्तिक्कै यो साहित्यको श्रृजना हुने मुहानमा छोरीले निकाशाको बाटो खोली दिईन। त्यो श्रृखलाले मलाई अमेरीकामा कवि हुन आएको जस्तो भान मेरो मित्रलाई पारिदियो। आएको केही समय पछि म एलाएन्सको अध्यक्ष हुन पुगे। त्यहा हुदा पनि निकै साहित्यीक गतिविधिहरु गरियो। भानु जयन्तीको अवसर पारेर। त्यसबेला मैले न्युर्योक शहरको क्वीन्समा चल्ने सेभेन ट्रेन र यहाको परिवेशको पृष्ठभुमीमा उव्जीएको अर्को कविता लेखे  'सेभने ट्रेनैमा' भन्ने शीर्षक राखेर जुन यस्तो थियो।

सेभेन ट्रेनैमा

देश पारे घायल माओ र खाओले
विदेशीयो त्यसैको घाऊले
सेभेन ट्र्ैनैमा
हेल्पवान्टेड हेर्दो छ मेन्हाटनैमा।

निस्सासीने मान्छे छन ट्रेनभरी
खेल्छन कुरा उर्लेर मन भरी
सेभेन ट्रेनैमा
निन्द्रा मै कुद्दो छ मेन्हाटनैमा।


छिमेकी देश त्यो ज्याक्सनहाइटैमा
विदेशीयो के कस्तो साईतैमा
सेभेन ट्रेनैमा
भोक भोकै हिडदो छ मेन्हाटनैमा ।


चाईना टाउन काम छैन बन्दालाई
बल्ल भेटयो छिमेकी खन्नालाई
सेभेन ट्रेनैमा
किचनमा अल्झियो मेन्हाटनैमा ।


काम त पायो बास बस्ने ठाउछैन
कहा खोज्ने यो आफनो ठाउ होईन
सेभेन ट्रेनैमा
हेर्दो छ ठुला घर मेन्हाटनैमा ।


बाह्रौ घण्टा मेशीन झैँ खटदो छ
दुखी मन नवनाडी गल्दो छ
सेभेन ट्रेनैमा
आफनो देश खोज्दो छ मेन्हाटनैमा ।


एकछिन बस्थ्यो साहु बाहिर गैदिए
पैसा यहाको काम देशको भै दिए
सेभेन ट्रेनैमा
मन मनै गुन्दो छ मेन्हाटनैमा ।


आयो डेरा खत्रक्कै थाकेर
ढल्यो खाटमा पशपति भाकेर
सेभेन ट्रेनैमा,
बालबच्चा खोज्दो छ मेन्हाटनैमा ।


हप्ता वित्यो डलरै समायो
दुखी मन साह्रै नै रमायो
सेभेन ट्रेनैमा
सोद्धधो छ भाउ कति मेन्हाटनैमा ।


दियो डलर हुण्डीवाल दाजुलाई
गरयो फोन आमा र बाबुलाई
सेभेन ट्रेनैमा
घुकघुक्की रुदो छ मेन्हाटनैमा ।


जहान प्यारी लिभिड०गा बेबीसिटर
मेशीन जस्तै खटछीन रे बिचरा
सेभेन ट्रेनैमा
शिरानी अंगाली रुदो छ मेन्हाटनैमा ।


भेषभुषा सस्कृती गुमायो
फर्कौं भन्दा डलरले समायो
सेभेन ट्रेनैमा
सुस्केरा हाल्दो छ मेन्हाटनैमा ।


भिषा सकियो पासपोर्ट हरायो
रहदा बस्दा साहुले मन परायो
सेभेन ट्रेनैमा
ग्रिनकार्ड खोज्दो छ मेन्हाटनैमा ।


काम मै अल्झियो कहि सोध्न गएन
अरुले आई यसो गर भनेन
सेभेन ट्रेनैमा
उपाय खोज्दो छ मेन्हाटनैमा ।


यो कविता न्युर्योकको नेपाली जनजिवनसंग परिचित धेरैले मन पराए। वसुन्धरा भुसाल र चेत नारायण भुसालजीहरु न्युर्योक आएको बेलामा मैले यो कविता सुनाऊदा उहाको नातीनी ऐश्वर्याले त मलाई सेभेन ट्रेन अंकल भन्ने गर्थिन। दुवशु क्षेत्रीजी न्युर्योकमा २००३ मा नेपाल मिशनमा काम गर्न आएपछि म अझ सक्रिय हुन पुगे अनेसासको न्युर्योकमा हुने गतिविधिहरुमा संलग्न रहेर। त्यसबेला साहित्यीक भेटघाट हुने थलो मेरो र गीता खत्रीको घर हुने गर्दथ्यो भन्नुमा अतिशयोक्ति हुदैन।


अमेरीकामा बसेर पनि आफनो जन्मभुमी अनि त्यसमा हुने प्रेम, वियोग, संगती र विसंगतीका अनि प्रवाशमा देख्नु र भोग्नु परेका क्षणहरुले मनमा उठेका भावहरुलाई अभिव्यक्त गर्दा केही गित बने, केही कविता, अनि केही लेख। यी मध्येका केही श्रृजनाहरु यस्ता थिए।

१।
आमाले भन्नुभो, अमेरिका गएस।।
धेरै डलर कमाई, ठुलो मानिस भएस।
यो गाऊको बास, शहरमा सारौला।
अंग्रेजीमा बोलेर, सबका ईख मारौला।


भने झैँ लाग्यो आशिष, न्युर्योक आईयो।
बल्ल तल्ल एउटा, पेटपाल्ने काम पाईयो।
अच्छाजी र हाँजीमा, जीन्दगी कक्रियो।
ईंगलीस भन्दा बढी, हिन्दी पो सप्रियो।।


मेरा प्रिय मित्र बरिष्ट अधिवक्ता रामकृष्ण निरालाले मेरो मुहार पुस्तीकामा छापिएको एकटुक्रा कविता पढेर लेखे, 'कवि हुनु अमेरीका जानु पर्दैनथ्यो।' उन्को पोष्ट पढेर मैले देशको परिस्थिती र मित्रको अवस्थालाई ध्यानमा राखेर एउटा यस्तो कविता पोष्ट गरे।


कवि भनेकोमा असम्वैधानीक लागे हालेस एउटा रिट।
मित्र मनको बह पोख्दा मान्छेले भन्नथाले कवि।
पेशामा अमेरीकामा पनि वकिलको अझै छ छवि।।
कवि भनेकोमा असम्वैधानीक लागे हालेस एउटा रिट।
लिखित जवाफ लिई हाजीर होउला हार होस कि जित।।


मित्र परदेशमा पनि यी आखामा त्यो देश बस्छ।
तिमिहरुले गैह्र ठानेपनि सम्झंदा आशु खस्छ।।
मुद्दामा न्याय र अन्यायको मात्र तर्क गरौ कत्ति।
लाग्छ मनका कुराहरु कवितामा पोखौ अलिकति।।


त्यता भएपनि भाग खोज्न हिडदा जुत्ता खिईन्थ्यो होला।
कत्तै पनि नियुक्ती नपाउदा सायद मस्त पिईन्थ्यो होला।।
नेपालको मौसम कस्तो छ न्यूर्योक तिर त छ अझै ठण्डा।
मित्रको पनि चाडै भाग्य खुलोस घरमा लागोस झण्डा।।


मित्रको प्रतिक्रिया पढेर काठमाण्डौमा रहेकी मेरी बहिनी भगवती रोका भूमीका जो नेपाली साहित्यकाशमा राम्रो गितकारको चिनारी दिन सफल भएकी छन, ले रिस पोख्दै लेखिन 'दाई तपाइ जस्तै उहापनि पेशाले वकिल हो अनि प्रतिभाले अर्को पहिचान बनाऊन सफल कवि।' बहिनीको प्रतिक्रिया पढेपछि मैले उन्लाई फोन गरेर यस्ता कुरालाई अगाडी बढाऊनु उचित हुदैन। त्यसैले अब यो कुरालाई यहि छोडिदिनु भने। उन्ले जवाफमा भनिन अनि रामकृष्णदाईले त्यसरी लेख्न हुन्छ त? मैले जवाफमा भने यो उस्को म प्रतिको मित्रताको उद्गार हो। उस्को लेख पढदा नकारात्मक अर्थ लागेपनि उस्को मनले भने मेरो हित नै चिताएको छ। बहिनीले मेरो कुरा सुनेपछि भनिन् 'हजुर त्यसो भन्नु हुन्छ भने ठिक्कै छ, होईन भने मलाई त चित्त बुझेन।'


निराला र मैले १९८७ मा मनु ल फर्म डिल्लीबजारमा खोलेका थियौ। म १९९८ को अप्रिल महिनामा अमेरीका आऊनु भन्दा अगाडी सम्म यही फर्ममा हामीले काम गर्यौं। कान्तीपुर पब्लीकेशन देखि लिएर अन्य कतिपय प्रोजेक्टमा मैले निरालासंग सहकार्य गर्ने मौका पाएको छु। निराला जनकपुरको मान्छे भएको हुदा नेपाली भाषा र साहित्यमा मेरो जस्तो पकड नभएता पनि साहिन्यका हस्तीहरुसंग लामो संगत गरेको हुदा कविहरुमा साहित्य श्रृजना गर्ने र बाचन गर्ने दक्षता हुन्छ तर आफना लागि साधन र श्रोत जुटाऊने क्षमता भने हुन्न भन्ने राम्ररी थाहा छ। त्यसैले निराला सर्बनामको लामो समयसम्म व्यवस्थापक भएर साहित्यीक हस्तीहरुसंग काम गरयो तर साहित्य श्रृजना गर्नेतर्फ लागेन। उस्मा व्यवस्थापनको राम्रो दक्षता भएको हुदा अहिले सफल वकिल बनेर परेका बेलामा साहित्यकार मित्रहरुलाई सहयोग पनि गर्दछ। त्यसैले निरालाको सोचाईमा मैले अमेरीकामा आएर न्युर्योक बार पास गरी वकिल भै सकेपछि मेरो ज्ञान, दक्षता र ख्याती कानुनको क्षेत्रका हुनुपर्ने र त्यही बमोजिमको जोहो पनि गर्न सक्नुपर्ने रहेको थियो नकि कवि। मेरी प्रियाको सोचाई र उस्को बिचार मिल्ने हुदा हाम्रो पारिवारिक भेटमा म एक्लो पर्छु।


मैले एक पटक अर्को यस्तो टुक्रा पनि पोष्ट गरे

साथीले नेपालबाट भन्यो.....
के कुरा गर्छस यार अम्रीकी सिस्टमको।
गर्ने भए गर कुरा बरु मेरो विज्डमको।।
यही बसि घरजग्गा किने पैसाको छैन लेखा।
सक्छस भने देशमा एउटा घडेरी किनेर देखा।।


यो टुक्रा ईमेल र मुहार पुस्तीकामा प्रकाशित भएपछि मेरा प्रिय भाई मणिराम ओझा जो हाल सहसचिव हुनुहुन्छ अर्थ मन्त्रालयमा, ले जवाफमा लेखे होईन दाई अमेरीकाको न्युर्योकमा अफिस रहेको वकिलले थोरै पैसा कमाऊछ अनि नेपालमा बसेकाले धेरै कमाऊछ भनेर लेख्दा तपाईको प्रतिष्ठता घटदैनर। मैले उन्लाई भनेथे भाई यो त एउटा साहित्यीक अभिव्यक्ति हो देशको अबस्थालाई देखेर लेखेको। फेरी न्युर्योकमा वकिल भएर बस्दैमा नेपालको भन्दा बढी पैसा कमाईन्छ भन्ने पनि त केही छैन।


न्युर्योकमा पनि नेपालको कार्वनकपी झैँ च्याउ उम्रिए झैं संस्थाहरु उम्र्रीएका हुदा सभामा अध्यक्षबाट संवोधन नहुने व्यक्ति भने अपवादको रुपमा भेटिन्छन। यही पृष्टभुमीसंग मिल्दोजुल्दो एउटा टुक्रा मैले लेखेर पोष्ट गरेको थिए।,


सभामा सम्वोधन हुन म मात्रै छुटन थालेको छु।
लाजै लागेर मैले पनि एउटा संसथा खोलेको छु।।
कृपया तपाईको रेकर्डमा यो सुचना राख्नुहोला।
म आएको देख्नुभो भने मलाई पनि मन्चमा डाक्नुहोला।।


यो टुक्रा मैले धेरै पटक बाचन गरेको छु कार्यक्रमहरुमा। संस्थाका अध्यक्षहरुले मन्त्रबाट भाषण गर्दा कहिले काहि अध्यक्षज्युहरुले आफुले संस्था अध्यक्ष हुनकालागि खोलेको होईन भनि स्पष्टिकरण समेत दिएको सुनेको छु। यसरी लेखिएको सानो साहित्यिक रचनाले समाजको चरित्र चित्रण गर्न सकेकोमा खुसीको अनुभुती हुन्छ।


परदेशमा आएपछि आफना मनमा उठेका भावहरुलाई अभिव्यक्त गर्ने क्रममा रचियका श्रृजनाहरु प्रकाशित भएपछि संवोधनमा कवि, गितकार आदिका विशेषणहरु जोडीन थाले। तर मलाई जोडिनु पर्नेको श्रेणीमा आफु परेको जस्तो आभाष हुदैन। किनकि रचनाहरु लेख्दा चाहिने नियमको मलाई राम्रो ज्ञान नहुदा लेखिएका रचनाहरु कुन विद्यामा पर्दछन थाहा छैन। तर लेखिएका रचनाहरुले कहिलेकाही प्रशंसा पाऊदा भने आनन्द लाग्दछ।


मैले कर्ण शाक्यजीको सोच किताब पढेपछि एउटा टुक्रा यस्तो लेखेको थिए।

सोचले भन्यो देश खोज.....


भरखरै पढेर सिध्याए कर्ण शाक्यजीले लेखेको सोच।
सोचले भन्यो ज्ञान र सीपको ठाउ देश भित्रै खोज।।।
साथीलाई सृनाए जब ज्ञान र शीपको योजना बन्यौ।
टायरै बाल्न नजान्नेले यहा आएर के गर्छस, साथीले भन्यो।


त्यो टुक्रा पनि मेरा मित्र निरालाजीसंग टेलीफोनमा कर्ण शाक्यजीको किताप पढेपछि कुराकानी हुदा निस्कीएको हो। मैले निरालालाई भने देशमा हामी जस्ता मानीसहरुको शिप र ज्ञान चाहिने भए आऊनु परयो न्युर्योक छाडेर। के भन्छौ भने। मलाई निरालाले भन्यो, साले नेपालमा टायर बाल्ने र तोडफोड गर्ने मान्छे चाहिन्छ। अमेरीकामा  बसेर तलाई टायरै बाल्न आऊदैन होला यहा आएर के गर्छस।


मैले यो र देशमा जग्गा किनेर देखा भन्ने  टुक्रा कर्ण शाक्यजी न्युर्योकमा श्रृजनाका यात्राहरुमा अतिथीको रुपमा आऊनु हुदा सुनाएको थिए। उहाले केही दिनपछि फोन गरेर भन्नु भो विनोदजी तपाईहरु जस्तो मान्छे नेपालमा चाहिन्छ सहकार्य गर्नका लागि। कृपया काठमाण्डौमा एउटा घडेरी किनेर घर बनाऊनु होला। तपाईको कविताले मेरो मन छोयो। मैले उहालाई भने एउटा सानो घर त छ दाई त्यहा। अनि उहाले भन्नु भो 'ए त्यसो भए त राम्रो भो।' नेपालै फर्कनु पर्छ है विनोदजी भनेर फेरी सम्झाउनु भयो।


यसरी न्युर्योकमा आएर कानुन व्यवसायीको पेशाले जिविकोपार्जन गर्दै श्रृजनाका रसिला फाटमा रमाऊदा आऊने आनन्दको अनुभुती मेरो लागि अति प्रिय छ। किनकि मलाई  खानपिन, र खेलवाडमा रमाईलो लाग्दैन। त्यसैले श्रृजनाका यात्रामा सहभागी हुने गर्दछु रमाऊनका लागि।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |