किनेको प्रतिष्ठा क्षणिक हुन्छ,(साहित्यकार अधिकारी )
सुन्दरताका हिसाबले सबैभन्दा पहिले आउने नाम हो पोखरा । पोखरालाई पोखरा बनाउन सौन्दर्यले सबैभन्दा साथ त दियो नै कला, साहित्य तथा साँस्कृतिक रुपमा पनि पोखरा अगाडि छ । कला, साहित्यका रुपमा पोखरालाई चिनाउन यहाँका धेरै ब्यक्तिहरुले योगदान दिएका छन् । नेपाललाई पोखरावाटै माथि उठाउने कला ,साहित्य र संगीतका लेखनाथ पौड्याल, मुकुन्दशरण उपाध्याय, धर्मराज थापा, झलकमान गन्धर्व, अलिमिया, सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेबी कोइराला, दुर्गा बराल लगायतका ब्यक्तिहरुको ठाउँ हो पोखरा । यसमा पनि पोखरा साहित्यको उर्भर भूमी हो । यस भूमिलाई साहित्यक उर्भर थलोको रुपमा चिनाउन धेरैले योगदान दिएका छन् भने धेरैले यही माटोवाट आँफुलाई चिनाएका छन् । यहाँ कयौं साहित्य साधकहरु अहिले पनि साधनारत छन् । यस्तै साहित्यमा साधनारत एक साधकको नाम हो–ईश्वरमणि अधिकारी ।
बि. सं. २०२६, जेठ ३ गते लमजुङको भारते–१ , देउरालीमा जन्मेर पोखरालाई कर्मथलो बनाउँदै आएका अधिकारीको सगरमाथा आरोही अरविन (जिवनी २०५८) समयको तस्वीर (कविता संग्रह २०६१), र हृदयको आलाप (गजल संचयन २०६६) प्रकाशित छन् भने स्वप्न–स्केच कविता संग्रह प्रकाशनको तयारीमा छ । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष एबं बर्तमान सल्लाहकार, गजल सन्ध्या पोखराका सल्लाहकार, रेडियो अन्नपुर्णको साहित्यिक कार्यक्रम आँखीझ्यालका प्रस्तोता, नेपाल गणित समाज, काब्य प्रतिष्ठान–नेपाल लगायत विभिन्न बाङ्मयिक संघसंस्था हरुमा समेत आवद्ध अधिकारी पेशाले गणितको उप–प्राध्यापक हुन् ।
बिगत सोह्रबर्ष देखि पृथ्वी नारायण क्याम्पस पोखरामा गणित बिषय प्राध्यापन गर्दै आएका अधिकारी कुमुदिनी होम्स उमाबि पोखराका सहप्राचार्य पनि हुन् । झन्डै दुइ दशक देखि साहित्य क्षेत्रमा क्रियाशिल अधिकारी छोटो समयमै साहित्यमा स्थापित हुन सफल भएका छन् । अधिकारीको गजल संग्रह हृदयको आलापले सुदुर पश्चिमान्चल गजल मन्च धनगढी, कैलालीबाट पत्थर गजल साधना सम्मान प्राप्त गरिसकेको छ भने समता काब्य सम्मान, गजल साधना सम्मान, शिवपुरी गजल साधना सम्मान लगायत अन्तराष्ट्रिय कबिता महोत्सबमा समेत पुरस्कृत तथा सम्मानित अधिकारीसंग उनको प्रकाशोन्मुख कृति र कविता तथा गजलका विषयमा खसखस डट कम का लागि पत्रकार तथा साहित्यकार अमृत सुबेदी गुराँसले संक्षिप्त कुराकानी गरेका छन् ।१) साहित्य लेखनमा कसरी, कुन विधावाट र कहिले लाग्नु भयो ?
म गाउँमा जन्मेर गाउँ मै हुर्के बढेको हूँ । मेरो स्वर्गीय हजुरबाबा म जन्मेको गाबिसको २–४ जना पढ्न र लेख्न जान्ने मान्छेहरुमा पर्नुहुन्थ्यो । मलाई ठुलो पण्डित बनेको हेर्ने रहर थ्यो उहाँको । घरमा धर्म ग्रन्थका थुप्रै किताबहरु हुन्थे । बाबा र उहाँका समकालीनहरू रामायण, महाभारत आदिका स्लोकहरु भन्ने गर्नु हुन्थ्यो । सानोमा जन्ती जाँदा या गाउँमा जन्ती आउँदा बेहुलीको घरमा दुइ पक्षका बीच श्लोकमा घमासान हुन्थ्यो, केही श्लोकहरू त म पनि घोकेर जान्थें बाबाहरूको पक्षबाट सुनाउन । सायद त्यसैले नजानिँदो ढंगले म मा काव्यात्मक मोह जागेछ कि भन्ठान्छु म । मैले पढेको सुर्योदय माबि भारतेमा त्यसताका रुद्र बहादुर अधिकारी, बलराम अधिकारी , धुर्व बहादुर कुँवर, स्वर्गीय बाशुदेव अधिकारी जस्ता साहित्यमा बिशेष अनुराग राख्ने गुरुहरू हुनुहुन्थ्यो । त्यसै ताका गोबिन्द बहादुर कुँवर, विजयराज नेउपाने जस्ता लम्जुङ्गका कविहरु संग नि भेट हुन्थ्यो । दुध पोखरी प्रतिभा परिवार भोटे ओडार मलाई साहित्यमा ताते ताते गराउने संस्था हो, जसले आयोजना गरेका कतिपय कबिता प्रतियोगिता हरुमा म पुरस्कृत नि भएको छु । त्यै पुरस्कार मेरा लागि प्रेरणा बोकेर आयो र कविताकै राजमार्ग भएर साहित्यको बिराट सागरमा होमिएँ म चालीसको दशकको सुरु ताकाबाट ।
२) साहित्यका विधा प्राय सबैमा कलम चलाउनु हुन्छ । साहित्यका विधा मध्ये कुन विधामा आफूलाई सबैभन्दा न्याय गर्न सक्छु जस्तो लाग्छ र किन ?
शुरू–शुरूमा त रहरै रहरमा लेखियो, आजकल लेखन आदत जस्तै बनेको छ । स्वान्त सुखायका लागि लेख्न रुचाउने म बिस्तारै केही गम्भीर भएर आफुले बाँचेको समय, समाज र परिवेशका प्रति जिम्मेवार भएर लेख्ने कोशिसमा लागेँ । त्यसैले नि आफुले अभिव्यक्त गर्न चाहेको बिषय टिपेर त्यसलाई मस्तिष्क र हृदयमा खेलाउदै सो बिषय कुन विधामा कसरी प्रस्तुत गर्दा बढी न्याय गर्न सकिन्छ भनेर सोच्छु र त्यसै अनुरुप भाव र बिषयलाई न्याय गर्ने कोशिस गर्छु । लेखनमा सकभर बलजफ्ती नगरुँ भन्छु । प्रकाशनमा नि सकभर नहतारिऊँ भन्छु । प्रायजसो सृजना मै रम्न रुचाउने म समीक्षा रसमालोचना त सकभर नलेखुँ भन्छु र पनि कतिपय अवस्थामा बिषय, परिवेश र कृतिहरूले त्यता नि धकेल्छ आफुलाई । समय ब्यबस्थापनको समस्याले गर्दा चाहेर पनि साहित्यका लघुत्तम विधाहरु भन्दा माथी उठेर आफुलाई अभिव्यक्त गर्न सकिरहेको छैन । प्यास त छ नि अमृत जी लेखनको के गर्नु, यस्तै छ । सबैकुरा कहाँ सोचे जस्तो हुन्छ र ?
३) झन्डै दुइ दशकदेखिको लेखन यात्रामा तपाईको सुरुवाती दिनको पोखरेली साहित्यिक अवस्था तथा आफ्नो अवस्था र अहिलेको दुबै अवस्थालाई कसरी मुल्याङ्कन गर्नुभएको छ ?
पोखरा साहित्यको उर्वर भुमि हो । यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र बाङ्मयिक सक्रियताले लेखनतिर अभिप्रेरित गर्छ भन्ठान्छु म । सामान्य साहित्यिक रुची लिएर गाउँदेखि बिज्ञान पद्नका लागि झरेको म यतैको साहित्यिक माहौलले यहाँसम्म ल्याइपु¥यायो । पोखरेली युवा सांस्कृतिक परिवार र त्यसले पचास साल देखि संचालन गर्दै आइरहेको कविताको अघोषित पाठशाला, समता काब्य सन्ध्या अनि त्यसैसंग जोडिएर आउने अग्रज पोखरेली साहित्यकार तथा समकालीन मित्रहरु एबं अनुजहरुको सद्भावकै प्रभावले यहाँ यसरी भेटिएं म हजुरसँग यो क्रममा, नत्र अन्त कतै पढाइ रहेको हुन्थें या अरु नै केही । पोखराको सेरोफेरो कै सर्जकहरू हरेक कालखण्डमा नेपाली साहित्यको केन्द्र मै छन् भनेंर भने अत्युक्ति हुन्छ र हुन्न नि ? सबैको त्यस्तो नहोला । जहाँसम्म मेरो लेखनको कुरा छ, म त भर्खरभर्खर सिक्दै छु, खै कसरी स्वःमुल्यांकन गरुँ र ? र पनि, मेरो प्रतिस्पर्धा कसैसंग छैन, मात्र मैसँग छ । सकभर हिजो भन्दा आज र आजभन्दा भोलि परिस्कृत र परिमार्जित भएर झन् राम्रो लेख्न सकूँ, बस, यस्तैयस्तै सपना छ लेखनको मनभरि ।
४) ३ वटा संग्रह निकालिसक्नुभयो । अव अर्को कविता संग्रह पनि निकाल्ने तयारीमा हुनुहुन्छ । यो विचमा के कस्ता अनुभवहरु संगाल्नुभयो ?
यस्तै हो अमृतजी, फुलेका र फक्रेका सबै फूलहरुले कहाँ बिऊ दिन सक्छन् र ? न त सबै बिऊहरू नै उम्रन पाउँछन् । न सबै उम्रेका बिऊहरुले बिरुवा बन्न पाउँछन्, न त सबै बिरुवाहरू रुखमा रुपान्तरित हुन्छन र पनि, फूल, बिऊ, बिरुवा र रुखहरू सबैको आआफ्नै महत्व हुन्छ हैन ? यो बिचमा म पनि कतै फूल झैँ, कतै बिऊ त कहीं बिरुवा बनेर रुख बन्ने तृष्णा साँचेर हुर्कदै छु । मन त छ नि सती साल झैँ उभिन सकूँ । यो जीवन अनुभवै अनुभवहरुको माला पनि रहेछ । छन् यहाँका जस्तै मेरा पनि छन् केही तीतामीठा अनुभव र तर म सकभर मीठा अनुभवहरु मात्रै सम्झेर जिउन चाहन्छु, तीता पनि छन र पो मीठाको औचित्य छ ।
५) लेखन स्तर सुधार्न के गर्नुपर्छ जस्तो लाग्छ ? अनि अहिलेको पाठक र नयाँ पिंढीलाई कसरी हेर्नुभएको छ ?
लेखनको स्तर अध्ययन र अनुभवले उकास्ने रहेछ । हामी थोरै पढछौँ धेरै लेख्न खोज्छौं, हतारहतारमा छपाई हालौं, हल्लाखल्ला गरिहालौं भन्ठान्छौं तर त्यसको दीर्घकालीन प्रभाव कस्तो रहन्छ भन्ने तर्फ अलिक कम सचेत छौं कि हुन त आजको पाठक लेखक भन्दा सचेत छ, त्यसैले पनि लेखक बढी नै सचेत र गम्भीर हुनु जरुरी छ । पद, पैसा, पहुँच, प्रलोभन, प्रचार, पुरस्कार आदिद्वारा आर्जित प्रतिष्ठा क्षणिक हुन्छ । बाँच्ने त सृजना हो । सुन्दर र शाश्वत सृजना तर्फ लाग्न सकौं, अनाबश्यक हल्लाका पछि नलागौं । बस्, यत्ति भनूँ कि |
६) साहित्यमा खास के हुनुपर्छ र के हुनुहुदैन जस्तो लाग्छ ?
हुनुपर्ने कुराहरू सबै भैदिए र नहुनु पर्ने कुराहरू कत्ति नि नभैदिए कति सुन्दर हुँदो हो नेपाली साहित्य । टाढाबाट हेर्दा त्यो हिमाल जति सुन्दर र जून जति चहकिलो देखिन्छ नि, बास्तवमा नजिकैबाट कहाँ त्यस्तो हुन्छ र ? हुन्न नि ? त्यस्तै त्यस्तै छ– साहित्यमा पनि । खै, के आङ्ग कन्याउनु र ,हैन ? र पनि, कम्तिमा नि साहित्यमा राजनितीमा जस्तो चरम गुटबन्दी, अनाबश्यक प्रचार बाजी, झुटको खेती र नजादिँदो पाराको सिन्डिकेट नभैदिए हुन्थ्यो भन्ने लाग्छ ।
७) नेपाली साहित्यमा गजल विधा अहिले चर्चाको विधा वनेको छ । चर्चा र ब्यवसायिकता अलग पाटो हो । गजल गायनले केही ब्यवसायिकता लिए पनि कृतिका रुपमा विभिन्न आख्यान तथा कविताको तुलनामा त्यति ब्यवसायिक देखिदैन् । किन होला ?
अन्य विधाहरू जस्तै आख्यान, कबिता र गजलका नि आआफ्नै बिशेषता र महत्वहरू छन् । पाठकको नि अलगअलग रुची र आग्रहहरू हुन्छन। यहाँले भने झैँ , लेखनको व्यवसायिकता र चर्चा फरक बिषय हो, त्यसैका आधारमा गरिने कृति मुल्यांकन अन्यायपूर्ण हुन्छ । जहाँसम्म गजलको प्रसङ्ग छ, यसमा अझै परिस्कार को खाँचो छ, गजललाई अझै गम्भीर ढंगले आत्मसाथ गरेर लेखिनु जरुरी छ र लेखिंदै पनि आएका छन् । भोलिका दिनमा अझै मर्यादित बनाउनु छ गजललाई र त्यो काम त आखिर गजलकारहरू कै त हो नि, हैन ? त्यति हो गजलका नाममा हुने गरेका फजल खेती र अस्वाभाविक ब्यबसायिकताले गजल कमजोर बन्न सक्छ । त्यस बाट जोगाउनु पर्छ गजललाई सर्जकले पनि र पाठकले पनि । सुन्दर, सार्थक र शाश्वत गजल लेखिन सके गजल स्वत ब्यबसायिक बनिहाल्छ नि | सुन्दर गजलको भबिष्य सुन्दर छ, म त आशाबादी मान्छे सुन्दर देख्छु ।
८) ब्यवसायिकताको कुरा गरिरहँदा सिङ्गो साहित्यलाई पेशा बनाएर बाँच्न सकिने अवस्था छ कि छैन । साहित्यलाई ब्यवसायिक बनाउन के गर्नु पर्ला त ?
अहिले स्थिति फेरिएको छ । राम्रो लेख्न सके
लेखनलाई नै पेशा बनाएर बाँच्न सकिन्छ होला। फेरि प्रश्न उठ्न सक्छ राम्रो पो केलाई
भन्ने ? अहिले त साहित्यमा गम्भीर साहित्यभन्दा गैह्र–साहित्तिक कृति पो बढी चलेका छन् त–ब्यबसायिक रुपमा, हैन ? साहित्यलाई ब्यबसायिक भन्दा नि गुणात्मक बनाउने
सोचौं, गुणात्मक भयो भने बिस्तारै ब्यबसायिक पनि त बन्ला
नि |
९) पेशाले प्राध्यापक हुनुहुन्छ साहित्य र अध्यापनलाई कसरी अगाडि बढाइ रहनुभएको छ ?
हजुर, म त गणितको बिद्यार्थी, गणित बिषयको अध्ययन–अध्यापन तथा प्राध्यापन मेरो रुचीको एउटा पाटो हो, म यसैसंग हुर्कदै आइरहेछु, साहित्यिक अध्ययन र लेखन म आफैले आफ्ना खुसीका लागि प्रेमपूर्वक बेसाएको अर्को पाटो हो, जसले मलाई हुर्काइ रहेछ । बस्, यिनै सपनाहरुको सन्तुलन बाट चलिरहेछ जीवन । म दुबैलाई उत्तिकै प्रेम गर्छु । मेरा कतिपय गुरु र साथीहरूले गणितलाई कम्ति न्याय ग¥यो नि भन्नुहुन्छ र पनि म गणितलाई अन्याय गर्नु हुन्न भन्ने कुरामा संधै सचेत छु, किन कि गणित उच्चकोटिको साहित्य हो ।
१०) साहित्यमा लागेर सबैभन्दा आनन्द लागेको पक्ष र सबैभन्दा दुःख लागेको पक्ष केही छ ?
बितेका दुखहरू सम्झेर दुखित हुनु राम्रो हैन । मेरा लागि साहित्य आनन्दको खोजि पनि हो । छन् नि छन त धेरै छन् आनन्दका प्रसङ्गहरू, रमाइला कुराहरू । खै, कुन चाहिं पो भनूँ । ए, एउटा सामान्य प्रसङ्ग, केही वर्ष अघि गणितका थुप्रै प्राध्यापकहरू संगै पोखराबाट कट्टेलजी (परमेश्वरी कट्टेल) र म बिराटनगर पुगेका थियौं, नेपाल गणित समाजको राष्ट्रिय सम्मेलनमा सहभागी हुन । मुलुकका विभिन्न विश्व विद्यालयका गणितका प्रबुध्द प्राध्यापकहरू संलग्न रही तीन दिनसम्म चलेको उक्त सम्मेलनमा तीन दर्जन भन्दा बढी अनुसन्धान पत्रहरु प्रस्तुत भए, संयोगको कुरा, पुगेकै दिन पोखरामा केही समय बसेर गएका पूर्वकै कबि मित्र गण्डकी पुत्रसंग सम्पर्क भयो। उनले भोलिपल्टै स्थानिय गुरूकुलमा एउटा बिशेष कवि गोष्ठी आयोजना गरी मलाई निम्त्याए । म यताको उद्घाटन–सत्र पछि सुटुक्क कबि गोष्ठीमा पुगेँ, सम्मेलनका साथीहरू कसैलाई नभनी, त्यहाँ आफुले सुनेका, पढेका, केही भेटेका र धेरै नभेटेका कवि साथीहरू भेटियो, अन्तरंग कुराकानीहरू भए, मेरै उपस्थितीलाई मध्यनजर गरी आयोजना गरिएको रहेछ बिशेष कवि गोष्ठी । साथीहरूको अनुरोधमा थुप्रै रचना नि सुनाइयो, बिशेष कवि गोष्ठी धेरै किसिमले विशेष बन्यो मेरा लागि, अचम्म । भोलिपल्ट त्यहाँका स्थानिय अखबारहरूमा पोखरेली कविको सम्मानमा विशेष कवि गोष्ठी भनेर फोटो सहित ब्यानर न्यूज छापिएछ । त्यत्रो राष्ट्रिय सम्मेलनको समाचार भने साना भंगेरे टाउके अक्षरमा एउटा कुनामा, अनि त सम्मेलन भरि मेरै चर्चा भै रह्यो, साथीहरुलाई गीत, कबिता, मुक्तक , हाइकु र गजल आदि सुनाउने काम पो भयो मेरो त त्यस पछि,्र के कामका लागि गएको, के भयो। खै यसलाई के मानौं, आनन्द कि दुख ? रमाइलो कि संयोग ?
११) अब कुरा गरौं आँउँदै गरेको कविता संग्रहको । कविता संग्रहको नाम स्वप्न–स्केच किन र यसमा कस्ता, कति कविताहरू छन् ?
वि.सं. २०६१ मा मेरो पहिलो कविता संग्रह निस्क्यो, मेरो आफ्नै संस्था पोखरेली युवा सांस्कृतिक परिवारको सत्रौं प्रकाशन मालाका रुपमा, (समयको तस्वीर) नाम लिएर, जसमा साठीको दशक अघि लेखिएका कविताहरू समेटिएका छन् । साठीको दशकले मलाई गजलमा पनि तान्यो। अथवा भनौं गजल सन्ध्या र त्यसैका केही जिम्मेवार साथीहरूको संगतले केही गजल लेखिए, कृति नि निस्क्यो, केही गजल गाइए पनि। अब, गजलबाट पनि भाग्न सक्ने सम्भावना छैन मेरो, र पनि, साठीको दशकमा नि थुप्रै कविता लेखिएछन्, तिनीहरू मध्येका आफूलाई मन परेका केही कविताहरू यो पटकको संग्रहमा समेट्ने कोसिसमा छु । जसमा साठी भन्दा बढी फुटकर कविताहरू हुनेछन्, केही फुटकर रुपमा प्रकाशित र धेरै अप्रकाशित । आफूले बाँचेको समय, समाज, आफ्नै जीवन भोगाई र आफ्ना यादहरूको क्यानभासमा सजिएका सपनाहरूसंग जोडिएका धेरै कविताहरू छन् त्यहाँ र त्यसको नाम स्वप्न–स्केच दिएको छु, अरु त के भनूँ र ? यहाँहरूको सद् भावको खाँचो छ, बिगतमा जस्तै ।
१२) यो संग्रह कसले प्रकाशन गर्दैछ र कहिलेसम्म आउला बजारमा ?
केही प्रकाशक मित्रहरू संग कुरा हुँदै छ । खासै निधो भैहाल्या त छैन, प्राय नाम चलेका प्रकाशकहरूको रुची ब्यबसायिक कृतिहरूमा बढ्ता हुने नै भया। हेरौं, समयले बताउला, जे होस्, सकभर छिट्टै ल्याउने कोसिसमा छु । एकहत्तर सालको पूर्वार्ध भित्रै ।
१३) जाँदा जाँदै, साञ्चै, कविता के हो त ?
अत्यन्त गाह्रो प्रश्न ? यही मात्रै हो भनेर अथ्र्याउन नसकिने जीवनको गीत, वाद, सिद्धान्त वा परिभाषाहरू भन्दा बाहिर पनि सुन्दर कलेवरमा समय, समाज, अनुभव, याद, जीवन अनि जगतसँग एकाकार भएर आउने सपनाहरूको गणित ।
१४) समय दिनुभयो यसका लागि धेरै धन्यबाद, आउँदै गरेको कविता संग्रहको पूर्ण सफलताको कामना गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । अन्त्यमा केही भन्नु छ की ?
खै, अरु त के भनूँ, मलाई त लाग्दै छ– निकै लामो कुराकानी गर्यौं होला, हामीले र पनि थुप्रै कुराहरुमा कुरा गरेनौं होला । सिक्दै छु, लेख्दै छु र अझै राम्रो लेख्ने कोसिस गर्ने छु । यस खसखस डट कम मार्फत, यहाँ मार्फत यहाँले जुन समय र महत्वका साथ मलाई हेर्नु भयो, त्यसका लागि आभारी छु । अहिले सम्म मेरा यी गन्थन पढ़िदिनुहुने हजुरलाई नि धेरै–धेरै धन्यबाद ।।।
Comments
amrit subedi gurans
thank u dai.