हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

“मधु” रसमा डुबुल्की मार्दा,(गुणराज लुइटेल, )

“रातो रगत
विवाहिताको चिन्ह ।
बाँझो सिउँदो ।”

वाह ..। कति सार्थक र घतलाग्दो छ यो हाइकु । डायस्पोरामा बसेकी एक सच्चा नेपाली चेलीले हाम्रो मातृभूमितिर फर्केर हेर्दा सायद यस्तो देखेको हुनुपर्दछ । हाम्रो देश जहां वेला न मौसमका आन्दोलन र विद्रोहका कारण सोह्रौं हजार नेपाली युवाहरुले आफ्नो जीवन गुमाउनु पर्यो । आखिर यसको परिणाम के भयो त ? सर्जक कल्पना सुवेदीले भने झैं देशमा रगतको होली खेलियो, हत्या र हिंसाका डोवहरु पुरिन पाएका छैनन् अनि समाजको चित्र कुरुप मात्र बनेको छैन हाम्रो समाजका महिलाहरुको सिउँदो बाँझो बनाइएको छ । कसैको सत्ताको नक्कली खेलमा हजारौ दिदी बहिनीहरुको वास्तविक जीवन चकनाचुर भएको छ । कल्पनाको कलमले औंल्याएको यो समस्याले नेपाली समाजमा नेपाली नारीहरुले भोग्नु परिरहेको वास्तविक विभत्सपनलाई छर्लङ्ग पारेको छ ।
यो हाइकुको पंक्ति हालै न्यूयोर्कमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्धारा आयोजित प्रथम अन्तरराष्ट्रिय नेपाली नारी साहित्य सम्मेलनमा विमोचित हाइकु र तान्काहरुको संग्रह “मधु” बाट लिइएको हो । “मधु” नेपाली साहित्यको क्षेत्रमा एक सरस महकै रुपमा देखा परेको छ । मधुमा लेखिकाले जापानी शैलीका हाइकु र तान्काको प्रयोगमात्र गरेको नभई सम्पूर्ण जीवन जगतप्रतिका आफ्ना बुझाइ, भोगाइलाई स्वछन्द रुपले छताछुल्ल पारेकी छिन् ।
यस संग्रहमा छोटा र शुक्ष्म अर्थ बोकेका हाइकु र तान्कारुपी टुक्काहरू पढौंपढौं लाग्ने खालका छन् । व्यंग्य र स्वच्छन्दताबादी, यथार्थवादी धारलाई अंगीकार गरिएकोले पढ्दै जांदा अव अर्को टुक्कामा कसले प्रहार खाने हो भनेर अभिरुचिपूर्वक पढ्न मन लाग्दछ । भएका र भोगिएका कुराहरुलाई बस्तुगत रुपमा मसला सहित पस्किनु यस पुस्तकको महत्वपूर्ण विशेषता हो । लेखन प्रवृत्तिको हिसावले हेर्दा कविताले आदर्शोन्मुख यथार्थबादी, स्वच्छन्दताबादी, सामाजिक यथार्थताबादी, मनोविश्लेषणवादी एवं प्रततिशील धारलाई मूलतः अंगीकार गरेको देखिन्छ ।
प्रगितात्कम शैलीका यी हाइकु र तान्काले प्रयोगको माध्यमबाट नेपाली डायस्पोरा वा प्रवासका समस्या, जीवन जगतका विविध उहापोह, नारी समस्या, प्रणय परिवेश, राष्ट्रिय भावना, आधुनिक प्रविधि एवं जीवनका जटीलता तथा साहित्य र राजनीतिका असंगत चरित्रप्रति व्यंग्यात्मक चित्रण गरेको छ । यसका साथै प्रकृति, प्रविधि, संस्कृति र बद्लिंदो जीवन शैलीका विषयबस्तुहरूलाई निकै खंदिलो तरीकाले समेटिएको छ । तान्का वा हाइकु दुवैमा सर्जकका भावनाहरू एकैएकै तरीकाले अभिव्यक्त भएका छन् । यसैले हुन सक्छ हाइकु र तान्का दुवैको संकलनलाई एउटै संग्रह “मधु”मा समेटिएको छ । यसरी हाइकु र तान्कालाई मात्रै समेटेर अमेरिकी प्रवासबाट प्रकाशन गरिएको यो नै सायद पहिलो पुस्तक हुन सक्छ । नभए पनि यस शैलीको यो नै पहिलो कृति हो भन्दा दुई मत नहोला । 
अमेरिकी नेपाली डायस्पोराको प्रतिविम्वः
मधुमा सर्जकको झण्डै पच्चीस वर्ष लामो अमेरिका बसाइको प्रतिविम्मको रुपमा नेपाली प्रवासी अमेरिकनहरूका सच्चा समस्या एवं विसंगतिलाई  व्यंग्यको रुपमा चित्रित गरिएको छ । यसले गर्दा यो कृति नेपली डायस्पोराको एक विशिष्ट सम्पत्ति बन्न पुगेको छ । प्रवासी नेपालीहरूले यस कृतिलाई आफ्ना भावना समेटिएको आफ्नै कृति भन्न सक्छन् भने स्वदेशबाट विदेशलाई बुझ्ने माध्यमको रुपमा लिन सक्दछन् । मधुमा मुखरित भएका प्रवासी वा डायस्पोरिक अभिव्यक्तिहरूलाई तीन तहमा विभाजित गरेर हेर्न सकिन्छ । (क) सिंगो अमेरिकी जीवन पद्दति एवं जीवन शैलीको विष्लेषणमा खरो भएर उत्रनु । (ख) नेपाली अमेरिकनहरूका वर्तमान बोकेका सार्थक समस्यालाई जस्ताको तस्तै राख्नु । (ग) अमेरिकी डायस्पोराबाट स्वदेशप्रति तिख्खर रुपमा हेरेर नेपालीका वास्तविक मनोदशाहरुको चिरफार गर्नु । यी हाइकु र तान्काहरुलाई हेरौं न—

"गलाको पासो
अमेरिकाको वास
फूलको माला ।"

"तरङ्गी मन
मरुभूमिको बास
कुवाको खोज ।"

"मेरो देश यो
म परदेशी होइन
साक्षी अक्षर"

"लक्ष्य विहीन
हाइवे अनगिन्ति
घुमेको घुम्यै ।"

"मोर्गेज मेरो
दाई भाउजु राज
मोटो जोगाऊ
विष पिएछु मैले
घरैले मार्छ होला"

नारीवादी स्वर एवं सामाजिक जटीलताः

समाजमा ब्याप्त नारी समस्याहरुलाई पर्गेल्नु, नारीवादी मुक्तिका स्वरलाई शंखनाद गर्नु एवं नारी अस्तित्वको खोज गर्नु “मधु” को महत्वपूर्ण विशेषता हो । लेखिका आफैंमा एक अध्येता नारी हुनुले पनि यस संग्रहमा उनले आफ्नो चेतनाका आवाज बुलन्द गरेकी हुनुपर्दछ । समाजमा हुने तथाकथित आन्दोलनहरू वा कुरीति र कुसंस्कारले कसरी नेपाली आमजीवनमा नारीहरूलाई पिल्स्याएको छ भन्ने कुरालाई मधुमा राम्ररी चित्रण गरिएको छ । यस्तै सिंगो समाजको आधि हिस्सा बोकेका भए पनि अनि देश, समाज र परिवारको विकासमा जतिसुकै योगदान गरेपनि आखिर नारीहरुको नाम र सहभागिता कतै पनि उल्लेख्य नभएकोप्रति गुनासो गर्दै लेखिका हाइकु मार्फत भन्छिन्—

“अस्तित्व बोध
म हुनुको चेतना
म अनामिका ।”

“पोते गलाको
सिउँदोको सिन्दुर
मायाको बोझ ।”

मधुले ब्यंग्यको रुपमा नारी र पुरुषवीच हाल कायम रहेका असमानताहरुलाई पनि पर्घेल्ने कोशिष गरेको छ । यसको लागि उनले मनोविश्लेषणको वृत्तिलाई अंगीकार गरेकी छिन् । यसै गरेर आफ्ना तान्का मार्फत नारीहरु कसरी जेल जीवनकै रुपमा रहन बाध्य छन् भनेर उनी लेख्छिन्—

“जेलको जेल
स्वतन्त्रताको जेल
मायाको जेल
माइती घर जेल
लोग्नेको घर जेल ।”

साथै मधुमा आधुनिकताको नाममा स्वदेश र विदेशमा रहेका नेपाली नारीहरुमा देखिएको भड्किलो प्रवृत्ति र नानाभातीका श्रृंगारहरुलाई औल्याउंदै नेपाली संस्कृति खंस्कंदै गएको प्रति पनि सचेत गराइएको छ । उनी हाइकुबाट भन्छिन्—

“जीर्ण शरीर
गुन्द्रेउली कपाल
तर्सिएँ आफैं ।”

भातृत्व भाव, भाइचारा एवं शान्तिको कामनाः
कल्पनाले आफ्ना हाइकु र तान्कामा विश्व शान्ति र व्यापक रुपमा भाइचाराको चाह पनि व्यक्त गरेकी छिन् । उनी यसको नमूनाको रुपमा प्रथम विश्व युद्धमा एकापसमा दुष्मनको रुपमा लडेका जापान र अमेरिकाको बीचमा चेरी नामक फूलले साइनो जोडेको प्रसंग अभिव्यक्त गर्दै भन्छिन्—

“मनका भाव
चेरी फुले झैं फुल्दा
जापान, डि.सी.।”

उनका यस्ता अभिव्यक्तिहरुले नेपाल र नेपालीहरुले पनि संसारमा असल मित्र र असल मानवको रुपमा प्रस्तुत हुनुपर्दछ र मनैले अरु विश्वमा मानवहरुलाई जित्न सक्नु पर्दछ भन्ने शन्देश दिएको देखिन्छ ।
 
प्रविधिको प्रयोग
विकास र प्रविधिले मानिसको जनजीवनमा समेत प्रत्यक्ष असर पारेको अमेरिकी समाजमा रहेकी हुनाले पनि हुनुसक्छ सर्जक कल्पना सुवेदीले आफ्ना तान्का र हाइकुहरुमा आधुनिक प्रविधि र जीवनको प्रसंगलाई लिएर निकै राम्रा व्यंग्यहरु कसेकी छिन । यसको ज्वलन्त नमूनाको रुपमा यी तान्का र हाइकुहरुलाई लिन सकिन्छ ।

“तिमी बाहेक
आकांक्षाको आकार
इन्टरनेट ।”

“तारिख तिम्रो
फेसबुकको वाल
जीवन शुरु
गर्न चाहन्छु यही
तर्पण यही वाल ।”

आधुनिक प्रविधि र जीवन शैलीलाई आफ्ना रचनाहरुमा समेटेर उनले उत्तर आधुनिक कविताहरुले बोक्ने गरेको अत्याधुनिक प्रयोगको सिद्धान्तलाई निरन्तरता दिएकी छिन् । यसबाट उनी एक प्रयोगबादी कवयत्री हुन भन्ने पनि प्रष्ट भएको हुन्छ ।

पारिवारिक जीवनका ज्वलन्त समस्याहरू:
कल्पनाले अति नै शुक्ष्म रुपमा हाम्रो समाजमा घट्ने गरेका आर्थिक, सामाजिक तथा पारिवारिक समस्याहरुलाई नियाल्ने प्रयास गरेकी छिन् । यसको लागि समाजका बुढाबुढी, केटाकेटी, सासु, बुहारी, छोरा, छोरी र उनीहरुका थरिथरीका दाउपेचलाई अघि सारिएको छ जुन साच्चिकै वास्तविकतामा आधारित छन् र सार्थक छन् । यो तान्कालाई नमूनाको रुपमा लिन सकिन्छ ।

"अंशको लोभ
सासूको रक्षा छैन
आत्माको हत्या
बुहारी साथ छैन
छोराको हात छैन ।"

प्रणयमुखी ब्यंग्यहरु:
मधुमा प्रणयमुखी ब्यंग्यहरु गजलै शैलीमा अभिव्यक्त भएका छन् । त्यसमा पनि डायस्पोराको विशिष्ट परिवेशलाई  दृष्टिगोचर गरिएको छ । एकातिर डायस्पोरामा हरेक जीवनले गर्नु पर्ने कडा संघर्ष र परिश्रम अनि धेरै किसिमका जिम्मेदारीहरुले गर्दा दैनिक जीवन अति जटील बन्दै गएको प्रसंग उल्लेख गरिएको छ भने अर्कोतिर आपसी विश्वासको संकट अनि नचाहिंदो स्वतन्त्रताले प्रेमको यात्रा त्यति सहज नभएको देखाइएको छ । प्रेमको अंगीकार भनेको एक भारी कै रुपमा रहनु तथा आंशुको खेतीमै रुमल्लिनु डासइपोराको नियति बन्दै गएको तर्फ सचेत गराइएको छ ।

प्रेमको रोग
अमेरिकाको बास
गधाको भारी ।

समुद्री छाल
नयनबाट आंसु
मोतीको खोज

दार्शनिक पक्ष
हाम्रा जीवन प्रक्रियाहरुलाई मनोवैज्ञानिक दृष्टिबाट मसिनो तरीकाले विश्लेषण गर्दै कविताले मधुमा आफ्नो दार्शनिक पक्षलाई पनि अगाडि सारेकी छिन् । डायस्पोराको जीवन एक दिशाविहीन हाइवे भएको र यसबाट फर्किने ठाउं नरहेको तर्फ इंगित गर्दै यसमा भनिएको छ— यसको विकल्प नै मृत्यु हो । अर्थात हामी विदेशी भूमिमा भासिंदै गएका छौं । यहांका समस्याहरुले हामीहरुलाई जकड्याउंदै लगेको छ, यहींका भारीहरुले हामीलाई थिच्दै गएको छ र यो जंजालबाट तुरुन्तै निस्किने अवस्था छैन भन्ने तर्फ मधुका कडा स्वर प्रतिध्वनित भएको छ । भनिएको छ —


“समाप्त भयो
हाइवेको बाटो त
एग्जिट मौत ।”

यस्तै नेपाली राजनीति र साहित्यका क्षेत्रमा देखिएका विकृतिलाई पनि मधुले हाइकु मार्फत प्रष्ट रुपमा औल्याएको छ—

“पूर्ण रुपले
भाषण विग्रे नेता
नत्र अक्षर ।”

के हो र कस्तो हुन्छ त हाइकु र तान्का?
जापानमा सोरौं शताब्दीमा विकसित भएका हाइकु र तान्का कविता कै प्रकार हुन । हाइकु तीन हरफको हुन्छ जसमा पहिलो हरफमा ५ अक्षर दोस्रोमा ७ र तेस्रोमा फेरि ५ अक्षरहरु रही जम्मा १७ अक्षरको संरचना हुने गर्दछन् । यस्तै तान्का भने पांच हरफले बनेको हुन्छ । यसमा पहिलो हरफमा ५ अनि दोस्रोमा ७, तेस्रोमा ५ र चौथो र पांचौ हरफमा ७ अक्षरहरुको संरचना रहन्छ । 

जापानमा जसरी प्रयोग भएको भएता पनि यनीहरुलाई नेपाली साहित्यको सन्दर्भमा भने आप्mनै तरिकाले लिनुपर्छ । मेरो विचारमा हाइकुको लागि धेरैभन्दा धेरै विशेषणमुखी शब्दहरूको खाँचो पर्दछ । अक्षर गन्ती गरेर मात्र हँदैन । खुकुरीभन्दा कर्द लाग्ने भने झैं कवितामाभन्दा हाइकुमा बढी तीक्ष्णता हुनुपर्दछ । हाइकु संसारमा प्रसिद्ध भएको पनि विषयवस्तुप्रतिको यसको तिक्खर प्रहार र खँदिलो सम्प्रेषण नै हो । एउटा कविताले दसौं हजार शब्दको ओजन बोकेको हुन्छ भने एउटा लघु संरचनै भएता पनि हाइकुले पनि सूक्ष्मतामा विशालता समेटेको हुन्छ । एउटा सलाइको काँटीले जङ्गलै जलाएर सखाप पार्न सक्छ भने असल हाइकुले पनि सिङ्गो समाज र संसारलाई सम्बोधन गर्न सक्छ ।
नेपाली भाषा र जीवन पद्धतिमा पाइने उत्कृष्ट चुट्किलाहरूले झैं हाइकुले पनि च्वास्स मुटुमै छुने खालका व्यङ्ग्यलाई बोकेको हुन्छ । जसरी कुनै कडा सुगन्ध पैmलिनासाथ हाम्रो नसानसा र मष्तिष्कमा त्यसको अनुभूति हुन्छ त्यसरी नै १७ अक्षरका यी हाइकुहरूले सुन्नासाथ हाम्रो मथिंगललाई छिचोल्न सक्नु पर्छ । प्रस्तुति र शब्द संयोजनका हिसाबले भन्नुपर्दा हाइकुलाई विषको पुरियाकै रुपमा पनि लिन सकिन्छ । यसका व्यङ्ग्यहरूले डस्न पायो भने साँच्चिकै विष लाग्दछ । यसै हुनाले हाम्रा समाज र जीवनजगत्का विविध विसङ्गतिहरूलाई छताछुल्ल पर्न कल्पना सुवेदीले हाइकुलाई अँगालेकी हुन सक्छिन् ।

नेपाली भाषा यति सहज र उदार किसिमको छ कि यसमा संसारमा देखिएका जुनसुकै साहित्यिक प्रवृत्तिहरूलाई पनि प्रयोगको रुपमा भित्र्याउन सकिन्छ । चाहे छन्दका कुरा गरौं चाहे गद्यका कुरा या हाइकु तान्का, वाका नेपाली झर्रा शब्दहरूको भण्डारले गर्दा तिनीहरूलाई परिस्कृत र सुन्दर बनाउन सहज रुपमा मदद्त पुर्याएको हुन्छ । तर हामी लेखक वा सर्जकले कति मात्रामा नेपाली शव्दहरूमा डुबुल्की मार्न सक्दछौं भन्ने कुरा हाम्रै खुवीमा भर पर्दछ । शाव्दिक र भाषिक रुपले अलिक मरिच बनेका रचना कृतिहरू बजारमा आउनुमा नेपाली भाषाको कुनै पनि दोष होइन, बरु यसमा प्रयोगकर्ताहरूकै बढी कमजोरी हुन सक्दछ ।
सुधारिनु पर्ने पक्षः
मधुका हाइकु र तान्काहरुमा कतिपय हिन्दी शव्दहरूको प्रयोग अन्जानमै भएको जस्तो देखिन्छ । जस्तैः फूल मुर्झायो, सादी, अम्मर, जल्लाद आदि । कतिपय साहित्यकारहरूले भारतीय या दक्षिण एशियायी लेखनलाई शाव्दिक रुपमा पनि सम्मिश्रण गर्ने गरेका छन् । विशेषतः गजलमा यो प्रवृत्ति सहज रुपमा भित्रिदै आएको छ र यसका बारेमा धेरै नै आलोचना र समालोचना पनि भइसकेका छन् । तर हाइकुलाई विशुद्ध रुपले जापानबाट टिपेर ल्याइएको र नेपाली साहित्यले आफ्नै ढंगले प्रयोग गरेको हुंदा सकेसम्म यसमा विदेशी शब्दहरूको प्रयोग नभएकै राम्रो हुन्छ ।

यस्तै सामान्य लाग्ने र आजकल नेपाली बोलीचालीमै पनि प्रयोग गर्न थालिएका अंगे्रजी शव्दहरूलाई सहज स्वीकार गरिएको छ । जस्तो कि सेभ, डिलिट, हाइवे, एग्जिट आदि । कहिंकहिं अंग्रेजीको  एब्रिभिएसन पनि प्रयोग गरिएको छ । एउटा स्मरण के गराउन चाहन्छु भने विशेषतः कविता विधामा एब्रिभिएसनको प्रयोग गर्नु हुंदैन, यसको प्रयोग कथा, निबन्ध, उपन्यास विधामा गर्न सकिन्छ । यस सम्बन्धमा करीब ३ चार दशक अघि नै अक्स्फोर्ड विश्वविद्यालयको पहलमा पश्चिमा साहित्यका अगुवा समालोचकहरूले सुझाव प्रस्तुत गरिसकेका छन् ।

८३ पृष्ठमा फैलिएको यो पुस्तक अन्तरराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रले प्रकाशन गरेको छ । यसमा सो समाजकी अध्यक्ष गीता खत्री, सो समाजका बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुवेदी, नेपाली साहित्यकी समालोचक तथा महिला साहित्य विशेषज्ञ लीला लुइटेल र हाइकु तथा जापानी शैलीका रचना विज्ञ प्रकाश पौडेल माइलाले सारगर्भित समीक्षा तथा प्रकाशकीय मन्तव्य दिनु भएको छ । पुस्तक परिचयको क्रममा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले यस पुस्तकमा “माक्र्सवादी क्रान्तिकारिताका स्वर” स्वरित भएको भन्नु भएको भएता पनि मैले यस रचनामा माक्र्सवादी क्रान्तिको स्वर कतै पनि भेट्न सकिनँ । लेखिकाले आफ्नो विद्रोही अर्थात यथार्थबादी स्वरलाई उठानसम्म गरेकी छिन् वा यस्तो विसंगति छ है भनेर सवैलाई प्रष्ट पर्ने कोशिस गरेकी छिन्, त्यसमा व्यंग्य पनि गरेकी छिन् तर त्यसको निरुपणसम्म पगेकी छैनन् । त्यसको निरुपणको लागी वर्गीय चिन्तन र संघर्ष अनि परिणामको संकेत कतै पनि छैन । यथार्थवादी हुनु वा प्रगतिलाई औल्याउनुलाई माक्र्सबादी क्रान्तिकारी भन्न अलिक नसुहाउला कि?

कल्पनाले कभर पृष्ठमा भर्जिनियाको प्रसिद्ध लेस्सभेनिया पार्कको तस्वीर राखेर पनि डायस्पोरालाई बढी महत्व दिएको देखिन्छ । ३०० वटा हाइकुहरु र ४३ वटा तान्कालाई क्रमशः राखिएकोले साजसज्जाको पक्षलाई अलिक कमजोर तुल्याएको छ । बीच बीचमा विश्राम वा विषयगत विभेदमुखी शिर्षकहरु राखिएको भए अझ आकर्षक हुन्थ्यो होला । पुस्तकको मूल्य नेपाली १५० र अमेरिकी ५ डलर राखिएको छ ।

संक्षिप्तमा भन्नु पर्दा एकै साल मधु र अनामिका दुई कविता संग्रह प्रकाशित गरेर कल्पना सुवेदीले अमेरिकी डायस्पोरामा आफूलाई सशक्त नारी लेखिकाको रुपमा खडा गरेकी छिन् । उनीबाट भविष्यमा कथा, उपन्यास तथा नयां प्रवृत्ति बोकेका थप कविता संग्रहहरुको आशा गर्न सकिन्छ ।

अस्तु ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |