हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कृष्ण बजगाईंका उम्दा कथाहरू,(मणि लोहनी )

कृष्ण बजगाईं विदेशमा बस्छन् । उनी नेपालबाहिर बसेरै नेपाली भाषा–साहित्यमा काम गरिरहेका छन् । कृष्ण विदेश गएर लेखक बनेका होइनन् । उनी स्वदेशमा छँदा नै साहित्य लेख्दथे । कथा र कवितासँगको उनको सम्बन्ध पुरानो छ । विदेश गएपछि र त्यहाँका नेपालीका पीडा देखेपछि उनको कथाकारिताले थप मलजल प्राप्त गरेको हो । त्यसो त नेपाली भाषा–साहित्यका लागि उनी विभिन्न सङ्घसंस्थासँग आबद्ध रहेर पनि काम गरिरहेका छन् ।
मलाई उनको कथाकार व्यक्तित्व प्रिय लाग्छ । कमरेड भाउजू कथासङ्ग्रह पढेपछि म केही उत्साहित पनि भएको छु । मैले उनलाई फेसबुककै इनबक्समा लेखेँ, ‘तपार्इंका कथाहरू मलाई निकै मन परे ।’
‘फुक्र्याउनुभएको त होइन नि ?’
‘राम्रो भएरै मन परेको हो ।’ मैले फेरि लेखें । उनी खुसी भए । मलाई उनको कथाजत्तिकै मन प-यो उनको त्यसबेलाको खुसी पनि ।
सन्दर्भ हो, कृष्ण बजगाईंको नयाँ कथासङ्ग्रह कमरेड भाउजूको । यो युरोपको यान्त्रिक जीवनशैली र त्यहाँ देखेका, सुनेका कुराहरूको सङ्ग्रह हो । प्रत्येक कथामा नेपालका सन्दर्भ भेटिन्छन् । तर, कथाको आधारभूमि छ– युरोप ।
डेढ दशकदेखि नेपालबाहिरै बसेर साहित्य–सिर्जनामा रमाइरहेका बजगाईंले नेपाली पात्रमार्फत नेपाली मनोदशालाई कथामा उतारेका छन् । यसभित्रका अधिकांश कथामा विदेशमा बस्ने नेपालीको जीवनशैली, वेदना र जीवनयापनका क्रममा भेटिने उतारचढावहरू समेटिएको छ । विदेशमा रहेका नेपाली र तिनका तानाबानाहरूले सङ्ग्रह भरिएको छ ।
‘कमरेड भाउजू’ नेपालमा क्रान्तिको बाटो छाडेर लन्डनतिर पलायन भई त्यहीँको समाज र नेपालीहरूमाझ भिज्न सफल एक भूतपूर्व क्रान्तिकारीको कथा हो । यसकथाको पात्रलाई उसको पार्टीले कारबाही गर्छ । उसैकी पत्नी लन्डनस्थित नेपालीबीच कमरेड भाउजूकी नामले चिनिन्छन् । र, लन्डनमा कमरेड भाउजूको अधिक चर्चा हुन्छ । मूलतः यो कथाले विदेशमा सपरिवार बसोबास गर्दै आइरहेका नेपालीको भित्री पक्ष र उनीहरूको मनोदशालाई शब्दमा उतार्ने काम गरिएको छ । अर्को कथा छ ‘पलायन कमरेड’ । ‘कमरेड भाउजू’ र पलायन कमरेड दुवै कथामा कम्युनिस्ट चरित्रको राम्रै चिरफार गरिएको छ । आफूलाई कम्युनिस्ट राजनीतिमा सक्रिय पनि राख्ने, आफैँले दलाल र सामन्ती भनेको विस्तारवादकै गुलाम भएर गर्वका साथ काम गर्ने दोधारे चरित्रलाई ‘पलायन कमरेड’ कथामा देखाइएको छ । आदर्श र व्यवहारमा सामञ्जस्य हुन नसक्दा धर्मप्रसादको पार्टी सदस्यता खारेज भएपछि उनकी श्रीमतीलाई कमरेड पद बोक्नु न टोक्नु भएको सन्दर्भ ‘कमरेड भाउजू’ कथामा उठाइएको छ । यहाँनेर कथाकार बजगाईं निकै सचेत भएर राजनीतिक ढोङ र आडम्बरको मुखुण्डो उतार्न प्रयत्नशील छन् र उनको यो प्रयत्न खेर गएको छैन । व्यङ्ग्यको प्रचुरता रहेको यी दुवै कथाले क्रान्तिकारीहरूको जीवनशैलीमा आएको आकाश–पातालको फरकपना र उनीहरूमा भित्रिएको पुँजीवादी प्रवृत्ति र संस्कृतिबारे बेजोडले बखान गरेको छ ।
अर्को कथा ‘मिडिया मुस्कान’ले भने मलाई निकै रन्थन्यायो । म आफैँ पनि मिडियामा कार्यरत मानिस । मनभित्र जतिसुकै पीडा, छटपटी र बेचैनी भए पनि टेलिभिजनको पर्दामा मुस्कुराउनुपर्ने बाध्यताबाट म पनि पटकपटक गुज्रिएको छु । यो द्वन्द्वकालीन समयमा बाबु–आमा गुमाएका एउटी टेलिभिजन प्रस्तोताको रहस्यमयी जीवन उतारेको छ । मूलतः जीवनमा असङ्ख्य पीडा भए पनि मिडियामा मुस्कुराउन बाध्य प्रस्तोताहरूको कथा हो यो । श्रीमती लेस्बियन भएपछिको पुरुषपीडा पढ्न पाइन्छ ‘म सिसिफस’ शीर्षकको कथामा । यो कथाले केही मनोवैज्ञानिक र शारीरिक पाटोहरूलाई केलाउने काम गरेको छ । अर्को बेजोड कथा हो ‘गणतन्त्रपछिको प्रेम’ । हिंसात्मक युद्धसँग जोडिएको यो कथा निकै रोचक र पठनीय छ ।
कथाकार बजगार्इंले पश्चिमी सभ्यताका नकारात्मक पक्षहरूलाई कथामार्फत सार्वजनिक गरेका छन् । युरोप पुगेका अधिकांश नेपालीले महसुस गर्ने अप्ठ्यारो र असजह व्यवहारलाई कथामा ल्याइएको छ । नक्कली बिहे, सम्झौताको बिहे, गे बिहे, लेस्बियन बिहे, कन्ट्रयाक्टको बिहे यी सबै नेपालीमनले सहजै स्वीकार्न सक्दैन, हो यही स्वीकार्न नसकेका परिस्थितिहरूका कथा यस सङ्ग्रहमा छन् ।
सबैजसो कथा विदेशी पृष्ठभूमिमा लेखिएको हुँदा कथाकृतिभित्रका हरेक कथा विदेशमा बस्ने नेपालीको वास्तविक तस्बिर उतार्न सक्षम देखिएको छ । पारिवारिक विघटन कथासङ्ग्रहको थिम भने पनि हुन्छ । थातथलोबाट टाढिएर पनि आफ्नो माटो, संस्कृति र राष्ट्रियताबाट विच्छेदित हुन नचाहने मनोदशाभित्र लेखिएका कमरेड भाउजूका कथाहरूले विरानोपनको ऐंठन, विभाजित मानसिकता र पारिवारिक विचलनलाई प्रस्ट्याएका छन् । जन्मभूमिबाट विच्छिन्नताको बोध र असुरक्षाको आभास प्रवासी नेपालीको सामूहिक पीडा हो । यही पीडालाई कथाकार बजगाईंले मुखरित गरेका छन् । उनले परदेशको रोमाञ्चक अनुभूति र बिछोडिनुको मनोदशालाई आख्यानको अवलम्बनबाट उजागर गरेका छन् ।
विषय छनोटमा उम्दा देखिएका कृष्णको अर्को सबल पक्ष भाषा नै हो । उनको सरल र सीधा बुझिने भाषाले कथालाई दुर्बोध्य हुनबाट जोगाएको छ । छोटाछोटा वाक्यको प्रयोगले कथालाई पठनीय बनाएको छ । कथालाई हिँडाउने शैली पनि बेजोडको छ । प्रत्येक हरफपछि त्यसको समाप्तिसँगै जोडिने अर्को वाक्यले कथालाई रोचक बनाएको छ ।
जसरी सङ्ग्रहको नामले समग्र नेपालको पछिल्लो अवस्था र त्यसपछि प्राप्त उपलब्धि र मानिसमा आएको विचलनलाई प्रतिविम्बित गर्छ त्यसैगरी यसभित्रका सबै कथाको शीर्षकले विशेष महत्व बोकेको छ । कथाको शीर्षक छनोटमा कृष्ण सचेत छन् । शीर्षक चयन, विषयवस्तुको प्रस्तुति र समापनमा कृष्णको क्षमता प्रस्टिएको छ । कति विषय कृष्णले नयाँ उठाएका छन् । ‘मौन युद्ध’ नूतन विषय हो । यस कथामा निरुत्तर र अकल्पनीय घटनाले पात्रहरू प्रताडित छन् । यस कथाका पात्रहरू अभिशप्त लाग्छन् । नेपाली समाजका लागि सर्वथा नयाँ यस विषयमा कथाकारले आफ्नो लेखनमार्फत न्याय गरेका छन् ।
कमरेड भाउजू उम्दा कथाहरूको राम्रो सङ्ग्रह हो । तर, यो पूर्ण छैन । यस सङ्ग्रहका पनि केही सीमाहरू छन् । कृष्णले यसलाई डायस्पोरिक कथाहरू भनेका छन् । डायस्पोरिकको परिभाषा के हो यसमा आफ्नै किसिमका विवादहरू छन् । यो शब्द आफैँमा कत्तिको गहन हो वा होइन भन्ने पनि मतभेदहरू छन् । यस शब्दले उठाएको बहस अझै नेपाली साहित्यमा टुङ्गिएको छैन । त्यसो त नेपाल प्रज्ञा–प्रतिष्ठानमा डायस्पोरिक डेक्स नै राखिएको छ । तर, यी उम्दा र राम्रा कथाहरू हुन् । सबै डायस्पोरिक कथाहरू हुन्– म भन्न सक्दिनँ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |