हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

५० औं मासिक साहित्यिक गोष्ठी सम्पन्न ,(खसखस डट कम)

१९ सेप्टेम्बर २०१६, मोरिस्भिल - नर्थ क्यारोलाइना
नेपाली साहित्य समाजले विगत चार वर्षदेखि निरन्तर रुपमा सन्चालन गर्दै आएको मासिक साहित्यिक गोष्ठीको ५० औं संस्करण गत शनिवार केरी शहरमा सम्पन्न गरेको छ। प्रत्येक कार्यक्रममा एक जना साहित्यिक स्रष्टाको बारेमा विस्तृत छलफल गर्ने परम्परा अनुसार उक्त गोष्ठीमा जनकवि केशरी धर्मराज थापाको व्यक्तित्व र कृतित्व माथि छलफल गरिएको थियो। समाजका सल्लाहकार डा. हरिहर भट्टराईले धर्मराज थापाबारे विस्तृत प्रस्तुति गर्नुभएको उक्त कार्यक्रममा अन्य सहभागीहरुले आ-आफ्नो जिज्ञासा तथा जानकारी राखेका थिए। प्रस्तुतिको क्रममा डा. भट्टराईले भन्नुभयो, "धर्मराज थापा त्यस बेलाको नेपाली समाजमा निकै लोकप्रिय कवि र गायक थिए। बलियोबाङ्गो जीउडाल र फरासिला व्यक्तित्वका धनी थापा साथीहरु माझ पनि उत्तिकै मन पराइएका थिए।" त्यसै गरि समाजका अर्का सल्लाहकार ईश्वर देवकोटाले थापासंगको व्यक्तिगत चिनाजानीका अन्तरंग प्रसंगहरु सहभागीहरुलाई सुनाउनु भएको थियो।

 

तीन चरणमा विभाजित उक्त गोष्ठीको दोस्रो चरणमा त्रैमासिक काव्यकृति विवेचना अन्तर्गत बुद्धिसागरको 'कर्नाली ब्लुज' पुस्तक बारे सहभागीहरुद्वारा आ-आफ्नो धारणा प्रस्तुत गरिएका थिए। पुस्तक बारे आफ्नो विचार राख्दै समाजका अध्यक्ष मनोज प्रधानले बाबुछोरा बीचको सम्बन्धको मनोवैज्ञानिक विश्लेषण गरिएको सो पुस्तक बाबु हुने सौभाग्य पाएका प्रत्येकले पढ्नु पर्ने जिकिर गर्नु भयो। त्यस्तै अर्का सहभागी विक्रम गौतमले पुस्तकले सबैलाई एकपटक आफ्नो बाल्यकालमा फर्काउने र बाल्यकालका बिठ्याईहरु बल्झाएर मनोरम अनुभूति दिने बताउनु भयो। सरल र सहज भाषामा लेखिएको बुद्धिसागरको पहिलो औपन्यासिक कृति कर्नाली ब्लुजले नेपाली आख्यान जगतमा नयाँ आयाम थपेको राय सहभागीहरुले प्रकट गरेका थिए। रात्रीभोज पछिको तेस्रो चरणमा सहभागीहरुले विभिन्न विषयमा आ-आफ्नो रचना पाठ गरेका थिए।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |