वरिष्ठ साहित्यकार दीक्षितको निधन,(बासु श्रेष्ठ)
वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार गुठिका अध्यक्ष कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा डिसेम्बर २८ का दिन काठमाण्डौँको बि एण्ड बि अस्पतालमा निधन भएको छ । केहि समय देखि श्वासप्रश्वासमा समस्या देखिएको कारणले अस्पताल भर्ना हुनुभएका दीक्षितमा फोक्सोमा क्यान्सर भएकोपनि थाहा भएको विश्वस्त सूत्र बताउँछ । तर, वहाँको निधनको कारण भने निमोनिया रहेको छ । वहाँको जन्म भदौ कुशे औँशीका दिन काठमाण्डौको गैह्रिधारमा भएको थियो ।
साहित्यिक अनुसन्धानमा थुप्रै कलम चलाउनु भएका दीक्षितले हिमालखबर पत्रिकामा पुस्तक सम्पदा स्तम्भमा २५ लेखहरु प्रकाशित गराउनु भएको थियो । ति सबै लेखहरु नेपाली भाषामा प्रकाशित ऐतिहासिक २५ कृति जसले देश र समाजमा अहँ भूमिका खेलेको थियोका बारेमा चर्चा गरिएको थियो । र यि लेखहरुको सँग्रह प्रकाशन गर्ने तरखरमा हुनुहुन्थ्यो । यसका साथै “जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास” नामक कृतिपनि प्रकाशन गर्ने तरखरमा हुनुहुन्थ्यो । यसकोलागी वरिष्ठ समालोचक दयाराम श्रेष्ठ लगायतका कतिपय वरिष्ठ लेखकहरुको सँलग्नता रहेको यस पँक्तिकारलाई बताउनु भएको थियो ।
मदन पुरस्कार गुठिका अध्यक्ष रहेर नेपालको नोबेल पुरस्कार मानिने मदन पुरस्कार तथा जगदम्बा पुरस्कार वितरण गरेर नेपाली साहित्यमा प्रत्यक्ष र अग्रज भूमिका खेल्ने दीक्षितले करिब ७५ कृतिहरु (प्रायशः अनुसन्धानात्मक) प्रकाशित गर्नुभएको छ । छन्द कवितामा विशेष दखल राख्ने र छन्दको प्रचार प्रसार, सँबद्र्धन र प्रयोगमा दत्तचित्त दीक्षित काठमाण्डौमा हुने कोठे कविता गोष्ठिको सँरक्षकपनि हुनुहुन्थ्यो । त्यसैले सो गोष्ठिका अध्यक्ष तथा कवि रमेश खकुरेल भन्नुहुन्छ “मैले त अभिभावक नै गुमाएँ ।”
यस समाचार लेखकसँगपनि प्रत्यक्ष सम्पर्कमा रहनुभएका दीक्षित असाध्य मिलनसार र मृदुभाषी हुनुहुन्थ्यो । नयाँ लेखकहरुलाई आफै सम्पर्क गरेर तिनका कृतिप्रति टिप्पणी गरेर हौसला प्रदान गर्ने गरेको अनुभव धेरै पटक गरेको छ । मदन पुस्तकालयमा दर्ता हुन आएका कृतिहरुको आफैँ दर्ता गर्दै ति लेखकहरुलाई दर्ता नम्बर पठाउने काम गर्नुहुन्थ्यो ।
एकै परिवारका पाँचै पुस्ता लेखक रहेका अन्त कतै नसुनिएकोले यस विषयलाई गिनेज वल्र्ड रेकर्डमा दर्ता गराउने वहाँको निकै ठुलो रहर थियो । सोकोलागी यस लेखकले सो सँस्थासँग पत्राचारपनि गरेको थियो । तर लामो प्रक्रियाको कारणले यो योजना त्यसै थन्कियो ।
वहाँकी श्रीमति अन्जुदेवी दीक्षितको लामो समय कोमामा रहेर गत वर्ष पुष ३ गतेमात्र निधन भएको थियो ।
साहित्यकार दीक्षितका दुई छोरा कनकमणि दीक्षित तथा कुन्द दीक्षित र छोरी रुपा जोशी रहेका छन् ।