हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

राजदरवारमा —हिजो र आज,(नम्रता गुरागाईं)

ए तिमीले एकेडेमीको पुरस्कार पायौ अरे हो...? लिन कहिले जाने त...? पुरस्कार त दरवारभित्र पो दिने भन्छन् ...? लौ नसकिने भयो तिमीलाइपनि .... भेट्नासाथ साथीहरु जिस्क्याउन थाले । उनिहरुको हातमा नयाँ पत्रिका देखेर हैन के भन्छन् यिनिहरु भन्दै अलि तन्किएर पत्रिकामा आँखा दौडाएँ । लौ हेर हामीले ढाटेको भए! भन्दै उनिहरुले पत्रिकाको पातो नै मेरो हातमा राखिदिए । पत्रिकाको सिरानमै राजकिय प्रज्ञा प्रतिष्ठानको समचार रहेछ । खरखरी पढदै गएँ । पुरस्कार पाउनेहरुको नाममा आफनोपनि नाम पढेपछि अनुहार त्यसै त्यसै उज्यालियो । साथीहरु ल अब पार्टी चाहियो पार्टी ? भनेर कराउन थाले आफनो भने आंखा पत्रिकामा भएपनि मन केही महिना अघिमात्र भएको कविता महोत्सबमा जांदै आउंदै गर्न थाल्यो । समचार हेरेपछि खुशीले हांसौं कि, नाचौं, उफ्रिउं कि भुइमा लडिबढी गरौं, के गरौं गरौं भयो ।  त्यतिबेला कविता पढनेहरु धेरैको चित्र आंखाभरी आयो । तिनिहरु मध्ये धेरैलाइ जितेर आफु अगाडि आएको सपना हो कि विपना छुट्याउनै गाह्रो भयो एकछिन । मनलाइ बांधेर सिरानदेखि पुछारसम्मै पढें । विजेताहरुले राजदरवार गएर राजाको हातबाट पुरस्कार लिनुपर्ने कुरासम्म पढेपछि बल्ल ढुक्क भयो ।

               भोलिपल्टदेखि एकेडेमीको पुरस्कार लिन जाने भुतले खेद्न थाल्यो है अब । दैनिक समस्याहरुमा फेरी अर्र्को समस्या थपिएझैं भयो । ए रातै...कसरी जाने होला त राजाका अगाडि...? लुच्ची र छुच्ची भएर त जानै भएन, न झ्याम्ली भएर जान भयो न त फ्याङ्गली नै । के कस्ती भएर जाने होला सोच्न थालें । एक मनले आ... कलेज जांदा लाउने कुर्तासुरुवाल लाएर गए भैहाल्छ नि... भन्यो । अर्को मनले तुरुन्तै हुदैन? कुर्ता सुरुवालमा त पटक्कै हुदैन? देखिनस् रानी ऐश्वर्य हिंडेको ...? छपक्क शरिर छोप्ने गरि सारी लाएर...? सारी त हाम्रो राष्ट्र्रिय पोषाक हो नि, छिमेकीको नक्कल गरेर हाम्रो दरवारमा जाने...? त्यसरी त हुदै हुदैन, सारी नै लाउनु पर्छ भनेर अडान लियो । अब सारी चाहिं कंहा बाट ल्याउने नि....? न आमा काठमाडौमा न त सानिमा नै ?

               समस्याको सामधान त कहिलेकाहिं साथीहरुबाटपनि हुन्छ भनेर सुस्मितालाइ फोन गरें । सारी नै लाउनु पर्ने कुरा उनलेपनि भनिन । लु खा... अब ...? भात खाने पोइसो छैन, नयां सारी किन्ने तं..? त्यो पनि पुरस्कार लिन जानका लागि मात्र...? सोच्दासोच्दै आफैंभित्र घम्साघम्सी पर्ला जस्तो भयो । कसैले पैंचो दिए त मेरो काम चलिहाल्थ्यो, भोलीपल्ट फिर्ता गरिहाल्थें । कस्ले मेरो खांचो टारिदेला त अब भन्दै आफुले चिनेका मान्छेहरु सम्झिन थालें । फ्याटटै सपना भाउजुको नाम आयो । तुरुन्तै फोन गरेर भाउजुलाइ आफनो खांचो सुनाएं । भाउजुले सजिलै हुन्छ भनिदिनुभयो । क्लास सकिएपछि टि.यु.बाट म सिधै घट्टेकुलो हानिएं । पुग्नेवित्तिकै भाउजुले ठिक्क पारिदएको ब्लाउज भिरी हालें । ब्लाउजपनि भनेजस्तै जीउमा ठीक्क मिल्यो । ब्लाउज त नन्दले पुरस्कार जितेपछि दिन्छु भनेर राखिदिएको रहेछ नी भाउजु...? कोठाभित्रैबाट भाउजुलाइ जिस्क्याएं । ठिक हुन्छ कि हुदैन भनेर डराइराखेकी थिएं, खोइ हेरुं....? भन्दै भाउजु भान्साबाट कराउंदै निस्कनुभयो । आफैंलाइ नापेजस्तो नी....? यति भएपछि त कसो दरवार नगइएला त हगी भाउजु....? भन्दै म आफनो बाटो लाग्न हतारिएं । धेरै दिनदेखिको आफनो समस्याको समाधान भेटेपछि म दंग पर्दै दाजुको घरबाट निस्किएं । 

               २०५४ सालमा भएको राष्ट्र्यि कविता महोत्सबको नतिजामा परेकाहरुको पुरस्कार लिन जाने दिन आयो । सेतो भुइमा राता बुटटा भएको सारी र रातो ब्लाउज लाएर ऐनामा उभिदा म त महारानीकै हाराहारीमा पो पुगेंछुं । आहा... लाउन खान पाए सबैको पालो आउंछ भन्थे आज चाहि मिल्यो है मिल्यो भन्दै एक्ले बोलिरहें । ऐनालाइ घरी ठाडो पारेर आफुलाइ हेरें त घरी तेर्सो । जताबाट हेरेपनि आज महारानीभन्दा कम देखिनँ आफुलाइ । यति भएपछि त कसो नहोला भनेर तुरुन्तै एकेडेमीमा हानिएं । एकेडेमीको घरको तल नै दौरा सुरुवालमा ठांटिएका हेमन्त दाइसंग भेट भयो । पुरस्कार विजेताहरु फटाफट आइरहेका थिए । एकैछिनमा रोशन श्रेष्ठ निरब, सुस्मिता नेपाल, आर आर चौंलागाईं, भिमराना जिज्ञासु र म सबैजना असारको अन्तिम दिन अर्थात भानुजयन्तीको दिन राजदरवार जान एकेडेमीमा भेला भयौं । हेमन्त दाइ एकेडेमीको कर्मचारी भएकोले हामीलाइ नजानेको कुरा सोध्न साह्रै सजिलो भयो । कौतुहलता र आश्चर्य दुबैले मेरो दिमाग रन्थनिरिह्यो । के मपनि अरुसंगै सांच्चै राजालाइ भेटन जान लागेकी हो त ....? प्रश्नहरु एकपछि अर्को आएर मन हुडलिरहे धेरैबेरसम्म । सपना हो कि विपनाको दोसांधमा भइरहेको बेला एकेडेमीका उपकुलपति मदनमणी दिक्षित दरबार जानका लागि छुटटै गाडीभित्र पस्नुभयोे । हेमन्त दाइले हामीलाइपनि भित्र गएर बसे हुन्छ भनेकाले हामी गाडीभित्र छिर्यौं । शिक्षामन्त्री बिष्णु पौडेलपनि दरवार आउने कुरा हेमन्त दाइबाटै थाहा भयो ।

               गाडीले एकेडेमी छोडेपछि हेमन्त दाइले हामीलाइ दरवार जांदाका आफना अनुभब अनुशासनका भाषामा सुनाउनु थाल्नुभयो । छिटोपनि जान हुँदैन र ढिलो त झन हुंदै हुंदैन रे । पानीको बिल तिर्न पुरानो बानेश्वरमा एकघण्टा लाइन बसेपछि बिल लिने मान्छे नभएको थाहा भएको कुरा आलै छ दिमागमा, कसरी पत्याउनु । कहि कतै केही कामपनि समयमा हुदैन तर दरवारमाचाहिं सबैकुरा भनेकै समयमा कसरी हुन्छ ? के उनिहरु नेपाली होइनन ? सुन्दापनि अचम्म लागेर आयो । नियम पालना गरे त हुने रहेछ त । दरवारमा हुने अन्त किन नहुने ? प्रश्नहरुले मेरो दिमाग खाइरहे । धेरै ठुलो स्वरले बोल्नु हुदैन, अरुले बोलेको सुन्नुपर्छ रे हेमन्त दाइले फेरी थप्नुभयो । त्यसपछि हामीले हाम्रो गफको भल्युम घटाउन थाल्यौं । भल्युम सानो पार्दापार्दै बेटरी त डाउन नै पो भएछ । केही समयपछि त हामी एक अर्काले श्वास फेरेकोमात्र सुन्न थाल्यौं । सुनसान भएपछि मनमा खेलेका बिभिन्न कौतुहता छताछुल्ल भए बाटा भरी । भित्रभित्रै राजासंग बोल्न परे के भन्ने होला भनेर अभ्यास गर्न थालें । फोटामा देखेको राजालाइ उठाएर प्राक्टिस गर्न थालें होइन हौ सरकार सन्चै हुनुहुन्छ...? रानीचाहिं कता...? भेट गर्न पाए हुन्थ्यो, दिपेन्द्रलाइ त कलेजमा अस्ति भेटेकी थिएं, कान्छा चाहिं कत्रा भए ...? के भनेकी मात्र थिएं यो त ठाडो बोली भयो ! होइन तंलाइ आदर शब्द खोजेर बोल्न आउंदैन ? स्कूल पढदा सिकेको आदरार्थी शब्दहरु पोलिखाइस ? तिनै

संझिन कोशिस गर्, त्यसै दरवार जान्छु भनेर हुन्छ झ्याउरी! भनेर भित्रि मनले झपार्यो । आफूलाइ सियोधागो लाएर बोल्न आउंदैन । अब के खोजेर बोल्ने त भनेर मनका अन्तर कुन्तरमा भएका सबैभन्दा आदारार्थी शब्द खोजखाज गरेर सरकार!!!! साथमा आराम छ..? अनि गाथमा नि ? के भन्न खोजेकी मात्र थिएं जिब्रो लटपटिएर मुखभित्रै पसुंलाझैं भयो । अनुहारमा खलखली पसिना आएपछि पो झसंग भएं । यस्तैमा हेमन्त दाइले बोल्दै नबोल्नु भनेको त होइन त भन्दै हाम्रो सुनसान यात्रालाइ थोरै भएपनि चिरेपछि बल्ल हामी अलिअलि बोल्न थाल्यौं । तैपनि हामी ठुलो श्वरले हांसेनौं ।

               एकेडेमीको गाडी राजदरवारको पश्चिम ढोकामा पुगेर टक्क रोकियो । केही समयपछि शिक्षामन्त्री विष्णु पौडेल र उपकुलपति मदनमणी दिक्षित चढेको गाडीपनि त्यही पुगेर रोकियो । हामी आएको खबर ढोकामा बस्ने पालेदाइले भित्र लगिदिए । त्यहां बस्दा कविता क्यालेण्डरलाइ विज्ञापन माग्न मन्त्रालयमा सचिबलाइ भेटन जांदा बाहिर बसेको याद आयो । अगाडि बढेका पाइला रोकिए केही बेर । पाइला रोकिएका बेला मन चाहिं छिटोछिटो हिडन थाल्यो । उ भित्र बाहिर गरिरहयो । आफना केही घण्टाहरु नारायणहिटी राजदरवाररुपी अर्कै संसारमा दिन पाएकोमा असाध्यै खुशी लाग्यो ।

               करिब करिब १५ मिनेटपछि दरबारभित्रबाट बोलावट भयोभन्ने खबर पालेदाइले ल्याएपछि हामी अघि बढयौं । बाटाको दांयावांया मिलाएर रोपेका फुलहरु, फुलहरुको बीचमा हरियो गलैंचा ओछयाएजस्तो लाग्ने दुबो, फुकेर खान बस्नु जस्तो सफा बाटो, ठाउं ठाउंमा पानी झरिरहेका साना साना धारा, धाराको छेउमा राखेका आराम गर्ने बेन्चहरुसंग आफुले बांचिरहेको जीबन कतै कुनै हालतमा मेल त के कल्पना सम्ममापनि आएन । कलेज जांदा मिनिबसमा चढदाको ठेलमठेल, बसमा चढन पाइहालेपनि सिट नपाएर डण्डीमा झुण्डिदा भाडा दिनु अघि नै ब्याग टाकनटुकन भएर रुनु न हास्नुको अबस्था, रत्नपार्क नजिकै फालेको फोहोर डंगुरको गन्धले नाक बटांर्दै हिडनु पर्ने दैनिकिहरुसंग दांज्न त के मनको कुनै कुनाबाट अनुमान गर्नपनि सकिन । हामी हिडिरहेको बाटो, बसिरहेको घर र राजाले हिडने बाटो र बस्ने घरमा मा नै १०० वर्षभन्दा बढिको फरक जस्तो लाग्यो । कल्पनाको संसार जस्तो लाग्ने त्यो रमणिय ठाउंमा हाम्रा राजा हिडदा रहेछन कस्तो अचम्म ! त्यस्तो बाटोमा जनता भएर हिडनुपनि ठुलै कुरा रहेछ जस्तो लाग्यो । केही समय उनि हिडने बाटो हिंडेर हामी सबैजना दरवारमा पुग्यौं । हामीलाइ त्रिभुवन सदनमा तोकिएको कोठामा लगेर बसाइयो । एकेडेमीमा बोलिरहेका साथीहरु गाडीमा चढे देखिनै थोरै बोल्न थालिसकेका थिए । भित्र पुगेपछि त झन बोल्नै छोडे । सियो खसेपनि चाल पाउने भएर बस्नु साह्रै गाह्रो हुंदोरहेछ । गल्ति गरेपछि सरका फेला परेका विद्यार्थिजस्ता भयौं हामी सबैजना ।

               भित्र पुगेको २० मिनेटजतिपछि दरवारका सचिव र अरु कर्मचारी सहित राजा आए । कहिलेकाहि परवाट देखेका राजालाइ आफनै सामु उभिएको देख्नुपनि ठुलो अबसरजस्तो लाग्यो । सिधै आंखा जुधाउन नसकेपछि घोइरो घोइरो पाराले मैले राजालाइ हेरें । घोइरो पाराले हेर्दा हेरेको धित नमरेर बेला बेला आंखा जुध्न खोज्थे । जुध्न आंटेका आंखालाइ तल झारेर छेउछाउका सजावट लान्थें । तैपनि राजालाइ अघांउजी हेर्न पुगेको थिएन । यस्तो जानेको भए त बरु कालो चस्मापनि सापटी माग्थें नी ! जस्तो भइराखेको बेला दरवारका सचिबले राजालाइ सम्बोधन गर्दै बर्षेनी हुने राष्ट्रिय कविता प्रतियोगिताको परिचय दिए । त्यहीबेला मैले राजालाइ सुटुक्क अघांउजी हेरें । अग्लो कदका गहुंगोरा राजा दौरासुरुवालमा सांच्चै सुहाएका थिए । उनले लगाएको निधारको सानु कालो टिकोपनि त्यतिकै खुलेको । अब उनले के बोल्लान मेरो खुलदुलीको विषय भयो । सचिबले एकएक गरे नाम बोलाए । हामी एकएक गरेरै राजाका अगाडि गयौं । उनले बधाइ छ भन्दै मुसुक्क हांसेर पुरस्कार स्वरुप हामीलाइ प्रमाणपत्र दिए । राजा बोलेको अलि धेरै सुन्न पाए हुन्थयो भैरहेको बेला सचिबले पुरस्कार दिने कार्यक्रम सकेको जानकारी दिए । कार्यक्रम सकिएपछि सबैसंग फोटो खिच्न राजा आंफैले अनुरोध गरे । अचम्म लाग्यो । एकेडेमीका उपकुलपति मदनमणी दिक्षित, शिक्षामन्त्री बिष्णु पौडेल र राजा सबैसंग फोटो खिचिसकेपछि राजा फेरी भित्र पसे । मनपरेको सिनेमा थक्कथक्क मान्दै सकिएजस्तो भयो । हामी जसरी भित्र पसेका थियौं त्यसरी नै बाहिर आयौं । छोडन मन नलागेको फुलैफुलको बगैंचाबाट फर्कियौं । गाडीले एकेडेमीमा ल्याएर छोडिदियो । पुर्नमुसिको भबः भने झैं फेरी हामी उस्तै धन्धुकारी बाटोबाट नाक बटार्दै आफना डेरातिर लम्कियौं क्रमश.... क्रमश.....।  

               राजासंगको पहिलो भेट नै अन्तिम हुन्छ होला भन्ने सोचेकोपनि थिईन । त्यसपछिपनि धेरै कविता प्रतियोगिता भए । साथीहरुले कविता पठाए, पुरस्कार जिते । त्यो क्रम अरु ४ वर्षसम्म चलिरहयो । ४ वर्षपछि अर्थात २०५८ जेठ १९ गतेको राती कसैले नसोचेको घटना घटेछ दरवारभित्र तर काठमाडौ बिउंझेकै थिएन । दरवारको समचार सि.एन.एन. र विविसीले भनिसकेछ तर काठमाडौं मस्त निन्द्रामै थियो । सधैंभन्दा अलि चांढै अमेरिकाबाट बुढाको फोन आयो । ओहो किन यति चांडै फोनको घण्टी? केही त भएन? मन ढक्क फुल्यो । हतार हतार उठाएं । उनलाइ त सबै ठीक रहेछ तर नेपाललाइ बेठिक भैसकेछ । दरवारमा हत्याकाण्ड भएको खबर अन्तराष्ट्रिय समचारमा दिइराखेको छ रे । हत्यारा पत्ता लागेको छैन रे, बुढाले फेरी थपे । कुरा गर्दागर्दै फोन काटियो, फेरी लागेन । ओछ्यानबाट उठनै मन लागेन । हत्यारा पत्ता लागेको छैन भनेपछि त शरीर कामेजस्तै भयो । मनमा शंका उपशंका बढन थाले । झिसमिसेमा झ्याल खोलेर बाहिर कान थाप्दा काठमाडौमा फाट्टफुट्ट मान्छेहरु बोल्न थालेका रहेछन ।

               उज्यालो भुइमा खसेपछि बाहिर निस्किएं । मान्छेहरु गाईगुई कुरा गरिरहेका रहेछन । कसैले खानेपानीमा विष हालेको छ, पानी नखानु अरे भने त कसैले खानेकुरामा विष हालेको छ, नकिन्नु अरे भने । पसलमा दुध लिन जांदा पसलेलेपनि हत्यारा थाहा भएको छैन अरे भन्यो । त्यसै त्यसै श्वास प्रश्वास रोकिएजस्तो भयो । गाग्रीभरी हिजै थापेको पानी भएकोले एकदुइ दिनलाइ त ढुक्क थिएं म तर पकाउने तरकारी  थिएन । तरकारी किन्न जाने कि नजाने दोधारमा भएं । फोनमा जसलाइ सोधेपनि बाहिर ननिस्कनु खतरा छ भन्छन कहां जाने होला र ! हामी आफनै घरभित्र कैदी भयौं । भित्र बस्दाबस्दा केही नलागेर बाहिर निस्कियौं । मान्छेको भिडमा खोज्दै हिडनु पर्ने बाटो खाली छ, बजार शुन्य छ । खाली बाटोमा धेरैबेर हिडन मन नलागेर फेरी हामी डेरैतिर फर्कियौं । राजा, रानी, श्रुती र निराजन मरिसके रे, कफ्र्यु लगाएर लासहरु पशुपति लांदैछन रे । गोली लागेको रानीको मुख राती नै प्लास्टिक सर्जरी गरे रे भन्ने गाइगुइ समचार आयो । टिभीमा ज्ञानेन्द्रले घटनामा दिपेन्द्र चाहिं जिबित भएकाले उनलाइ राजा भएको घोषणा गरे । राजा घोषणा गरेको केही घण्टापछि दिपेन्द्रकोपनि मृत्यु भएको भन्दै ज्ञानेन्द्रले आफु राजा भएको घोषणा गरे । उनलाइ राजा बनाएर रथमा बशन्तपुरबाट राजदरवार ल्याएको टिभीमा देखायो । उनको राज्यभिषेक हेर्न आंखाहरु मानेनन । शोकको बेला सहानुभति विरेन्द्रका सन्तानमा गएकोले जनताहरु ज्ञानेन्द्रलाइ राजा मान्न भित्रबाट तयार भएनन । राजा नहुंदा गद्दी खाली हुन्छ र ? भनेको सावित भयो । ज्ञानेन्द्र राजा भए । उनि बशन्तपुरबाट नगर परिक्रमा गर्दै राजदरवार गएको हेर्न नरुचाएपनि संचारको माध्याम त्यही एउटा टिभी भएकोले लाचार नेपालीहरु टुलुटुलु हेरिरहयौं ।

               मनमा धेरै प्रश्नहरुले एकैचोटी घोच्न थाले दुखले नदेखेको, समस्याले नजेलेको फूलजस्तो शरिरभित्र बन्दुकका गोली कसरी पसे होला ? कल्पना गरे मात्र पुग्ने, सबैकुरा आंखा अगाडि नै आइपुग्ने छुमन्तरको क्षमता भएको राजपरिवारलाइ कसरी बारुदले खायो होला ? पुलिस र सेनाले घेरिएर हिडने मान्छे घटना घटेको बेला कसरी एक्लै भए होला ?  राजपरिवारको एउटा सदस्य नभएर परिवार नै मारिनुमा कस्को र कस्तो षडयन्त्र थियो होला ? इतिहांसमा पढेको कोतको पटांगिन पो उठेर आयो कि ? जसलाइ सोधेपनि बासी उत्तर थाहा छैनकति सुन्नु । भित्ताकापनि कान हुन्छन, कसैलाइ केही नभन्नु भन्ने वाक्यहरु जनतामा पिलो भएर दुख्न थाले । नक्कली समचारले संचार र पत्रिका भरिए तर सक्कली उत्तरको खोजीमा दुखेको पिलो न पाक्न सक्यो न त थाक्नै सक्यो ।

               घटनाको विवरण माग्न प्रधानमन्त्रि सहितको आयोग बन्यो । घटना भएको तेस्रो दिनमा मन्त्री तारानाथ रानाभाटको नेतृत्वमा घटनालाइ सार्वजानिक गर्न सर्वसाधारणलाइ बोलाइयो । सम्बेदनशील कुरालाइ सम्बेदना नभएका भाटले हांसेर उढाए । उनको हाउभाउ देख्दा क्रुदद भिडमा अर्को घटना थपिएला जस्तै भयो । उनलेपनि घटनामा कसको हात छ भन्न सकेनन मात्र मरेको दिपेन्द्रलाइ दोष लगाए । जनताहरु नयां उत्तर सुन्न चाहन्थे तर मन्त्रीले अस्तिकै बासी समचार प्रसारण गरे । उनले आयोगमा बसेको भत्ता पचाउनु थिया पचाए तर जनताले उनको कुरा पचाउन सकेनन । दरवारको घटनामा सम्लग्न धैरैको ज्यान गयो, सबैकुरा नष्ट गरिए भन्ने हल्लाहरु बाहिर आइरहे तर दशी प्रमाणहरु केही आएनन । घटनापछिका धेरै महिनाहरु अन्योल मै बिते । जागीरमा जानु र घर आउनु बाहेक अरु नयां कुरा केही भएनन ।

 

               Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò Ò

दरवारमा आज

 

               घर बाहिर हुंदा घरभित्रका समचारले झन धेरै मन चिमोट्न थाल्यो । राजा ज्ञानेन्द्रले जनता हात लिन धेरै कोशिस गरे तर नेपालमा चलेको गृहयुदले चरम रुप लिएपछि उनले फेरी पुरानै सदनलाइ पुर्नस्थापना गरे भन्ने समाचार आयो । त्यसको दुइ वर्ष पछि अर्थात २००८ मा नेपालको संबिधानले गणतन्त्र नेपालको घोषणा गर्नुको साथै २०० वर्षदेखि बसिरहेको शाह बंशको अन्त्य अर्थात राजा हुने परिपाटीको अन्त्य भएको घोषण गर्यो रे । शाह बंशको अन्त्य भएको घोषणा भएपछि ज्ञानेन्द्रलेपनि दरवार छोडनु पर्ने निर्णयसमेत सदनले गर्यो । नारायणहिटी राजदरवारलाइ संह्रालयको रुपमा राखिने निर्णयपनि सदनले नै गर्यो रे । केही समयपछि ज्ञानेन्द्र आफनो घरमा सरे भन्ने समाचारसमेत छापामा आयो । देशको सम्पति जनताले देख्न त पाउने भए, जे भयो राम्रो भयो, एक किसिमले खुशी लाग्यो ।

               धेरैपल्ट घर जांदापनि संग्रहालय रुपमा राखेको राजदरवारलाइ हेर्ने चाहाना पुरा भएनन । भित्र जाने रहर जहिलेपनि अर्कोपल्टलाइ सर्थ्यो । अब त म एकबाट तीन भैसकेकी थिएं । मैले परैबाट मेरा छोराछोरीलाइ हेर उ त्यो राजा बसेको दरवार हो जहां मैले राजाको हातबाट पुरस्कार पाएकी थिएँ भन्दै गर्वसाथ सुनाएकी थिएं । हामीलाइपनि लैजानुन राजालाइ भेटन छोराछोरीले उनिहरुको उत्सुकता एकैचोटी फाले । अब उनि छैनन त्यो दरवारमा... उनको हत्या भयो भन्दा अमेरिकी राष्ट्र्रपति जोन अफ केनेडीको जस्तै...? छोरीले प्रश्न गरी । उत्तरमा केनेडीलाइ दिउसै मारेका रहेछन, हाम्रा राजा र उनको परिवारलाइ चाहिं राती । केनेडीलाइ मार्ने त थाहा भयो नी मामु ! त्यसलाइपनि मारे, मैले स्कूलमा पढेकी थिएं । नेपालको राजालाइ कस्ले मार्यो पत्ता लाग्यो त ..? भन्दै छोरी अर्को ठुलो प्रश्न मतिर फाली । पत्ता लागेको छैन छोरी ! खोजि भइराखेको छ मात्र भने मैले । आरोप लगाएको मान्छेमा आफैंलाइ बिश्वास थिएन । अब अझै नसोधोस भनेर मैले जतिसक्दो छिटो उत्तरको विट मार्नमात्र खोजें । मैले उनिहरुलाइ दरवारंभित्र एकपटक घुम्न लान्छु भनेकि थिएं तर कतिपटक जांदापनि समय मिलेको थिएन । गतवर्ष अर्थात २०१७ को फेब्रुअरीमा मौका मिल्यो । फर्किने अघिल्लो दिन सक्नु पर्ने धेरै कामलाइ थांती राखेर भाइ असिम, छोराहरु रबु, सगुन, छोरी सम्पदा र म गरी ५ जनाको टोली राजदरवार हानियो । टिकट लिनुपर्ने रहेछ भित्र पस्नलाइ । सानाको ८० ठुलाको १०० तिरेर रबुले टिकट लिएर आयो । आफुसंग साथमा भएका सामान केहीपनि लान नपाइने रहेछ । हामीले सबैथोक लकरमा राखेपछि पुलिसले चेक गरेर मात्र हामीलाइ भित्र जाने अनुमति दियो । भित्र जान उठेका मेरा हरेक पाइलामा २० वर्ष अगाडिका संझनाहरु आला भएर आए ।

               भित्र क्यामरापनि लान नदिएपछि त्यहांका तस्बीरहरुलाइ कति सकिन्छ आंखाभित्र अटाउनु थियो मैले । दरवारको अगाडिको गेटको बाटो पहिलो पल्ट हिडदा पुरस्कार लिन जांदा हिडेको पश्चिमपटिटको गेटको यादमा आयो । केही कदम अघि बढेपछि सानो पोखरीलाइ दांयां पारेर हामीले दरवारको भरयांग टेक्यौं । दरवार हत्याकाण्डपछि संझनामा बसेका डर त्रासहरु बल्झिएर आउन खोजे । नेपालमा गणतन्त्र घोषणा भएकोपनि धरै वर्ष भइसकेकोले डरहरु मात्र संझनामा आएर त्यसै हराए । कर्मचारीले हामीलाइ दांयांबाट भित्र पस्न देखाएकाले हामी दांयांतिर लाग्यौं ।

               दरवारभित्रका कुरामा मपनि नयां नै थिएं तरपनि म मेरा छोराछोरीलाइ दरवारको बारेमा देखिएका हरेक चित्रको बयान गरिरहे । बाहिरबाट हेर्दा उस्तै पहिलाजस्तै लागेको राजदरवार भित्र छिर्नेवित्तिकै सौन्दर्य खोसिएको मान्छेजस्तै देखियो । फुंग रंग उडेकाजस्तो कोठाहरु हेर्दै हामी अघि बढयौं । भित्तामाथि राजा विरेन्द्रका शुभराज्यभिसेकदेखिका फोटाहरु फ्रेममा सजिएर बसेका थिए । नजिकै राजारानीको फोटो । उ तिनै थिए हाम्रा राजारानी हेर त भन्दै छोराछोरीलाइ देखाएं । कति धेरै गहना लगाएको त ? छोरीले मतिर प्रश्न फाली । धेरै चाहिं उनिहरुका मानपदबीहरु हुन भने मैले । कोठाहरुलाइ जिल्लाको नामले बोलाइने चलन रहेछ । पर्वत, कास्की भन्दै हामी अघि बढयौं तर कहां के छ भनेर चिनाउने मान्छे थिएन । मैले जानेजति छोराछोरीलाइ चिनाउंदै गएं । हेर्न आउने मान्छेको आवतजावत चाहिं छ तर सरसफाइ छैन । ठाउंठाउंमा राखिएका टेबलहरु धुलोले टम्म भरिएकाले औंलाले लेख्नै मिल्ने लाग्थे । राजदरवारलाइ देशको सम्पत्ती स्वरुप संह्राँलय घोषणा गरेको १० वर्षपनि पुग्न नपाउदै दरवारको गति देख्दा साह्र टीठ लागेर आयो । थोत्रा धुलाम्य गलैंचाहरु, माकुराको जालो भरिएका ऐतिहांसिक तस्बीरहरु देख्दा उही २० वर्ष अगाडिको फुकेर खान बस्नुजस्तो हिडने बाटाहरु आक्रोस भएर पोखिन खोजे पाइला पाइलामा । त्रिभुबन सदनमा पुगेपछि फेरी एकपटक श्वाश बढेजस्तो भयो । त्यही ठाउंमा गोली चलेर विरेन्द्रका सन्तानको हत्या भएको रे । बालख छोरीहरुकी आमा श्रुतीलाइ समेत बांकी नराखेको ठाउं रे त्यो । हांडीमा भुटेको मकै पड्केजस्तो पड्केको गोलीले धेरैको ज्यान लिएको ठाउं रे त्यो । मन ढक्क फुल्यो एकछिन । त्रिभुबन सदनको भित्ताहरुको धेरैजसो भाग भत्किएपछि सबै भत्काएर एउटा ठुलो गोदामजस्तो बनाएको रहेछ । बाहिरपटि सबुत प्रमाण राख्न एक दुइवटा गोलीले छेडेका खोपिल्टा बांकी रहेछन । ति वास्तविक गोलीले छेडेका खोपिल्टा हुन या कृत्रिम हुन थाहा भएन । हामी तिनै खोपिल्टा भएको भित्ताहरु हेर्दै बाहिर निस्कियौं ।

बाहिर निस्कदा आंखाले २० वर्ष अगाडिको त्यही छोडन मन नलाग्दा नलाग्दै छोडेका रमणिय ठाउं खोजे । भर्खर किनेर ल्याएको हरियो गलैंचाजस्तो लाग्ने घांस कहिले मर्यो होला जहां ऐलानेलेले घर जमाइसकेछ । हावामा लुकामारी खेल्दै झुलेका सप्तरंगी फुलहरु कहिले मरे होला जहां तितेपातीले झांग हालिसकेछ । बाटोका दांया बांयाका साना साना धाराहरुमा पानी कहिले सुक्यो होला जहां लेउपनि घामले डढेर खरानी भइसकेछ । राजाको सन्तानले पौढी खेल्ने पोखरीहरुको पानी कहिले सुक्यो होला जसमा फेरी पानी आउने आशसम्मपनि मरीसकेछ । दरवारभित्र जति हिडयो उति पाइला पछि छोडिएजस्तो लाग्यो |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |