हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

नवराज सुब्बाको "बीच बाटोमा" ब्यूँझेर,(बद्री पलिखे)

नवराज सुब्बाको जीवन मेरो शव्दकोशमा -कवितासङ्ग्रह २०६३), मनको मझेरी -निबन्धसङ्ग्रह- २०६४) पछि तेस्रो कृत बीच बाटोमा ब्यूँझेर -कवितासङ्ग्रह- २०६५) प्रकाशनमा आएको छ । आफ्ना स्वर्गीय प्यारो भाइ दीपकराज सुब्बालाइ समर्पण गरिएको यो कवितासङ्ग्रहको भूमिका डा. गोविन्दराज भट्टराइको छ ।

यो कृति पल्टाउँदा शुभारम्भका समवेदनाका हरफहरूले नै मेरो मन छोयो । म भावविभोर भएँ ।

हेर !
मसंग तिमीलाइ
त्यहाँ कामलाग्ने
केही कुरा अब बाँकी छैन ।

नेपाली साहित्यमा जनजातिका कवि/कवियत्रीहरू देखापरेका छन् । अग्रग कविहरूको नाम लिनुपर्दा बैरागी काइँला, गणेश रसीक, वम देवान, विक्रम सुब्बा, भूपाल राइ, श्रवण मुकारुङ, व्याकुल माइला, विमला तुम्खेवा, घनेन्द्र नेम्बाङ आदि छन् । यिनै लहरमा नवराज सुब्बा प्रखर र सशक्त रूपमा देखा पर्नु भएको छ । नवराज सुब्बासंग मेरो परिचय वाणी प्रकाशन विराटनगरमा भएको हो । पहिलो भेट र भलाकुसारीबाट नै एउटा शालीन शिष्ठ भद्र र मिलनसार हितैसी मित्रको रुपमा पाएको छु । गत वैसाख ७ गते पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट आयोजित 'अध्यारो विरुद्ध' को कविता अभियानको कार्यक्रममा उहाँको स्वरमा कवितापाठ सुन्ने अवसर पाउँदा उहाँमा देखिएको गम्भीर भद्र र भावपूर्ण कवितापाठले मलाइ वम देवानको सम्झना आयो । वास्तवमा उहाँ हृदयकै कवि हुनुहुँदोरहेछ जस्तो लाग्यो । नवराजको कवितामा जीवनदर्शन छ । जन्मभूमि प्रति अनुराग छ । जीवन भोगाइ र अनुभूति छ । राष्ट्रले भोग्नु परेको द्वन्द्व, त्राशदी र विसंगतिको आलाप छ । विषयवस्तुको छनौट थिम, विम्व र कलात्मक शैलीले नवराजको कविताहरू बेजोड भएका छन् । हृदयग्राही भएका छन् । मन छुने भएको छ । कवितामा संदेश छ, आग्रह छ, आशा छ, भरोशा छ, उज्यालो भविश्यको कामना छ । शान्ति प्रगति र राष्ट्रियताप्रति, प्रजातन्त्र र स्वतन्त्रताप्रति समर्पणभाव झल्कन्छ । भूमिकामा डा. भट्टर्राईले उहाँको कविताहरूबारे पोख्नु भएको विचार ठिक लाग्यो । केही हरप उदाहरणार्थ प्रस्तुत गर्दछु ।

उनका कविता कलापूर्ण विचारका भावनाका र समयका टड्कारा आवाज हुन् । सरलताभित्रको सन्देशले नवराज सुब्बालाइ अग्रपङ्तीमा पुर्‍याएको छ । नवराज सुब्बाको कविताहरूमा पाइएको मिथक साँस्कृतिक विम्व र परम्परागत प्रथा जीवन र जगतप्रतिको दृष्टिकोणले अलग्गै छाप छोड्दछ । मुलुकको साँस्कृतिक, ऐतिहासिक, धार्मीक भूभाग पूण्यभूमिको अवलोकनबाट बटुलेका अनुभव सीमान्तकृत जाति संस्कृती, लोपोन्मुख जाति र पलायनप्रवृत्तिबाट दुःखी मनको दर्दमय भाव कवितामा छन् । नवराजले घुम्दै जाँदा जे भोग्छन्-देख्छन् अनुभव गर्छन त्यही नै विषयवस्तुमा कविता पोख्छन् । वास्तवमा नवराजको रचनागर्भ साझा अनुभूति हो ।

हो, ओथारो नबसी राम्रो कविता जन्मदैन । अध्ययन चिन्तन साधना र सिर्जना कविको ओथारो नै हो । नवराजको यो भनाइमा मेरो पनि समर्थन छ ।

नवराज सुब्बा जनस्वास्थ्यसंग सरोकार राख्ने र त्यसबारेको विज्ञ प्राविधिक पनि भएकोले भाइरस, एड्स, एच.आई.भी. जस्ता संक्रामक रोगको निदानको लागि स्वदेश भ्रमणको क्रममा जनस्वास्थ्यको जनचेतना दिंदै जाँदा पहाड मधेसका अति पिछडिएको विपन्न र अन्धविश्वासका प्रथाहरूलाइ नजिकबाट चियाउने मौका पाउनु भएको छ । नेपालको परम्परागत रुढीग्रस्त समाज र अन्धापरम्पराले सामाजिक, आर्थिक, साँस्कृतिक र धार्मिक क्षेत्रमा परेको प्रभावलाइ नवराज सुब्बाले नजिकबाट देख्नुभएको छ । नवराज सुब्बाको रचनागर्भ अथवा विषयवस्तु यिनै सेरोफेरोमा यिनै परिवेशमा चेतनामूलक रूपमा केन्द्रीत भएका छन् । नवराजको कवितामा उपमा, विम्व, कलात्मक शैली मलाई खूव मन परेको छ । म तारिफ गर्दछु ।

"म त
हिमालसितै हास्ने भैसकेको छु
हरविहान भालेसितै बास्ने भैसकेको छु"

मलाइ नवराज सुब्बालाई देख्दा, भेट्दा, भलाकुसारी गर्दा र उहाँको रचनाहरू पढ्दा यस्तो लाग्थ्यो एकखेपको हेराहेरमैं जीवनभरिको साथ बसेछ ।

"कोरेथें टेढा रेखाहरू
तर तिम्रो तश्वीर पो भएछ" (वद्री पलिखे)

'बीच बाटोमा ब्यूँझेर' नवराज सुब्बाको राम्रो कवितासङ्ग्रह हो । स्तरीय कागज आकर्षक आवरण, शव्द र सरल भाषामा प्रकाशित यस सङग्रहमा नवराज सुब्बाको २०६३ सालदेखिको ७७ ओटा राम्रा कविताहरू छन् । उहाँको सङ्ग्रहमा परेको सुरुको कवितामा 'बीच बाटोमा ब्यूँझेर' एकसुरमा, एकमूडमा, एक्लै-एक्लै, शान्त, सुनसान, चुपचाप हेरिरहेको बेला निन्द्राबाट अकस्मात एउटा भयले ब्यूँझिएको छ । त्यो भय हो सर्प । त्यो भय हो लक्ष्यसम्म पुग्न नदिने पो हो कि भन्ने शंका । त्यो भय हो भाग्य, परिस्थिति । त्यो भय हो दशा तर प्रस्तुति सरल र अर्थपूर्ण छ :

"सर्प कता लुत्त लुक्यो
सायद मैभित्र पस्यो कि !

..........

छाडिगएको मेरो भाग्य
कहाँ पुग्यो होला भन्दै
पर... लक्ष्यसम्म ।" (पृष्ठ २५)

'कठघरामा उभिएर' कवितामा कविको वयान अत्यन्तै राम्रो कविता हो । जो मार्मिक लाग्छ । आमा शव्दको परिभाषाभित्र मलाई लाग्छ अर्को शव्द भेटिदैन । कवितामा आमाको ममताको वयान गरिसाध्ये छैन ।

"म सत्य सत्य बोल्दछु
आमाको परिभाषा म केवल आमा बुझ्दछु"

आमा भनेको शव्दभित्र हृदयबाटै मुटु निचोरिएर कोखबाटै जन्मिनेबित्तिकै निस्कने वाक्य हो । 'आमा' शव्द मानिसमा मात्र हैन पशु तथा अन्य प्राणीका लागि पनि अति प्रिय शव्द हो । चाहे मदर भनुँ, आम्मा, माई, माँ, माता जे भनुँ जुनसुकै जाति र भाषाभाषी होस् उच्चारणको अर्थ एउटै लाग्छ ।

'मेरो पहाड' जन्मभूमिप्रति, मातृभूमि प्रति अगाध माया हो । पहाडमा जन्मी पहाडमा हुर्की पहाडमा मायाप्रिती लगाइ पहाडलाई उजाड बनाउने लाहुरे दाइ, वैदेशिक रोजगारीका लागि विदेशमा रमाउने भाइहरू पहाडलाई माया नमार ! फर्क ! नागरिकतामा पहाड, पासपोर्टमा पहाडको ठेगाना दिने तर बेठेगान हुनेहरू ! 'नमरिबाँचे दैवले साँचे भेटौंला है' भन्दै भाकलका पहाडलाई माया नमार है भनी कवि व्यथित मनले पहाडसंगको भाग्य, सपना, रगत, पसिनाको नाता छ भनी सम्झाउनु हुन्छ ।

उहाँको सतारको सम्बोधन पनि राम्रो कविता हो । सीमांतकृत जाति हो- सतार । अल्पसंख्यक जातिमा पर्ने पीडित जाति हो सतार । यो जातिको पलायनलाइ कवि सतारको सम्बोधनमा:

"मलाइ खोज्दै कोही आए भन्दिनु
यहाँबाट वनसाङ्लाका पीरले
दुखेको मन माटोमैं पुरेर
घरसाङ्लो कतै हिँडेछ" (पृष्ठ ३२)

'माझी' जीवनको परिभाषा हो । माझी लोपोन्मुख जाति हो । उसको पेशा नाउ खियाउनु यात्रीहरूलाइ नदी तार्नु, जाल फ्याँकेर माछा मार्नु र पनि अभावको जिन्दगी जिउनुको नियति भोग्नु हो ।

"नदी तार्दा पाएको भाडाले
अलिकति सन्तोष पनि साँटेको छु " (पृष्ठ ३७)

'आएँ गुरुजी आएँ' पाँच मिनेट सूचि गर्न गाडीबाट ओर्लिने यात्रीले गुरुजीलाई पर्खाएको शव्दचित्र । सप्तकोशी, तमरको छाल, साँम्वागाउँ, तागेरानिङ्वाफूमा, नाङ्खोल्याङ पहिरो, हाङपाङ प्यारो गाउँको सम्झना पुलमुनि बगिरहेको पानी, पानीमा बगेका गाग्री, साथीभाइको सम्झना, नदीछाल, जीवनयात्री, छालसम्झना, पर्खाइ पनि हुनसक्छ । यात्रा गर्दाको अनुभूति हो कविता अनेकार्थ, बहुआयामिक र बहुपक्षीय शव्द एवम् भावव्यञ्जनाको मीठो कविता 'आएँ गुरुजी आएँ' :

"पधेँरो जाने गाग्री पनि
नदीले सँगै बगाएर ल्याएछ
घरै छेउमा सँधै बल्झिरहने
एउटा पहिरो थियो
ऊ पनि मिसिएर झरेछ
मलाइ खोज्दै खोज्दै" (पृष्ठ ३९)

'आमाको तिर्सना' मा प्रयोग भएको जातीय शव्द, मिथक र सामाजिक मान्यता अरूको कवितामा कमै प्रयोग हुन्छ । जनजातिका कविहरूले आफ्नो जातीय सँस्कृती र सँस्कार, प्रथा, पर्व, मिथक, विम्व, स्थानीय विषयवस्तु र स्रोतसामग्रीहरूलाई आफ्ना कवितामा प्रयोग गरेर नेपाली साहित्यलाइ राष्ट्रिय पहिचानको रूपमा विस्तार गर्ने क्रम चलेको देखिन्छ । नवराज सुब्बाको कविताहरूमा पनि यो प्रयोग देखिन्छ जो प्रशंसनीय सोँचाइ हो । कविता जीवन जस्तै अपरिभाषित छ । त्यसमा पनि आजका कवितामा समयविम्व हुन्छ । आजका कविताको भाषा भनेकै भाव हो । भाव तरल हुन्छ, भाव हावाजस्तो उड्छ, वादलजस्तो आकाशमा भेंडाको बथानजस्तै चर्छ । नवराज सुब्बाको कविता भाव, विचार र दृष्टिकोणको त्रिवेणी हो । आजको कविता 'एव्स्ट्रयाक्ट आर्ट' हो । नवराजको कविता बुझ्न कवि हृदय चाहिन्छ । कलाको आँखा चाहिन्छ । संवेदन मन हुनुपर्छ । उहाँको कविता जुन पढ्यो त्यो लोभलाग्दो छ । जुन पढ्यो त्यसले हृदयलाइ छुन्छ । जुन पढ्यो त्यो महको रसजस्तो चखिलो, स्वादिलो र मीठो छ । तर उहाँको कविता क्लिष्ट छैन । स्वादिलो, रसिलो, भरिलो र चाखलाग्दो छ ।

वैंश बित्न लागेको यौवन ओतिन लागेको तर पनि कतै भँवरा रस चुस्न नपाएको कुनै लहराले पनि अँगालो हाल्न नपाएको, कुनै हाँगा रमाउन नपाएको, झरीले शरीरलााई भिज्न नपाएको सुख्खा भूमि, कसैले पनि ओंठमा छाप नलगाएको यौवन हो, अतृप्त चाहना र भोकले, प्यासले छट्पटाएको एउटा जीवन हो- 'बूढीकन्याको गन्थन्' । उज्याला छाँया, शीतल माया, अँध्यारा बैंश, सिँदूर नपरेको सिउँदो, निधारमा झुल्के घामको रातो टीका र मुस्कान नफक्रेको ओंठ हो- 'बूढीकन्याको गन्थन' । सजीव चित्रण बूढीकन्या र मनोव्यथा बूढीकन्याको गन्थनको भावहरूको विस्तारित हुँदै जीवनको मूल्य यौवनको महत्व र जीवित दृष्टि छ- यो कवितामा ।

अझै मेरो ओंठमा मुस्कान फक्रेको छैन
कोखबाट केही जन्मेको छैन
(पृष्ठ ४४)

यस कवितामा कुण्ठा बोल्छ, पीडा बोल्छ, उकुस-मुकुस मनको व्यथाले पोल्छ । बूढीकन्याको गन्थन एउटा अभाव हो, भोक हो, प्यास हो, अतृप्त चाहना हो, एउटा वर्तमान हो । आजका कविता प्रायः निजात्मक नै हुन्छन् पाठक आफैले बुझ्नुपर्छ, आफैले अर्थ्याउनु पर्छ, आफैले भोग्नुपर्छ, आफैले चाख्नु पर्छ र स्वाद लिनुपर्छ । आजका कवितामा पाठकको बुझाइ आफ्नै हुन्छ, प्राप्ती पनि आफ्नै हुन्छ । आजका कवितामा भानुभक्तीय भाषा खोज्नु हुँदैन । व्याकरणको झण्झटमा फस्नु हुदैन । कविले गोरेटो बनाउँछ भाव त्यसैमा हिँड्छ ।

'गाडी' हाम्रो सपना, हाम्रो चाहना, हाम्रो आवश्यकता बोक्ने साधन जसले चामल नून, किताव, कपडा, खेल्ने भकुण्डो, बैनीलाई चाचा, आमालाई बर्को सबथोक ल्याउँछ तर पैसा - पैसा खोइ - यो अभावले केही ल्याउँदैन, मनमा ब्रेक लगाउँछ, यो अभावले । यो अभावले हाम्रो रहर सपना, हाम्रो चाहना कुल्चदै गाडी सलल गुडिरहन्छ । कति मार्मिक यो कविता । कति यथार्थ छ यो कविता :

तिमीसंग यी सबै किन्ने पैसा छ ?
सवालले ब्रेक लगायो मलाई
(पृष्ठ ४७)

किन हामी लटरम्म फल्ने अम्बकको बोट जस्तो हुन सक्दैनौं ? एक्लैले सबै फल खान सकिदैन । सबैले खान पाउनुपर्छ । सबै अघाउन पाउनर्ुपर्छ । तर हाम्रो मनसंग अम्बकको मन मिल्दैन । अम्बकको जति पनि हाम्रो मन उदार छैन । हाम्रो छाती विशाल छैन ।

नहान जोर लात्ती छातीमा
आज देश जहाँ छामे पनि सारै दुखेको छ
(पृष्ठ ५८)

पुरानो मानसिकताका कर्मचारी नयाँ जमानाका हाकिम - 'हाकिम' कविता । जनआन्दोलन २०६२/६३ को चाहना 'मौसम' । नयाँ युगको पदार्पणमा नयाँ नेपालको सपना- 'नयाँ नेपाल' । अझै पनि परिवर्तनको माग 'झुसिलकीरा' कविताको वोल हो । 'सडकमा जन्मिने वुद्धलाइ स्वागत' शान्तिका कामना । द्विविधामा परेको मनलाइ वुद्धको उपदेश 'पीर नभएको घर पत्ता लगाऊ' तर नपाउँदा द्विविधा हट्छ पीर र न्याय यी दुवै मानवीय खोज हुन् जसका लागि वुद्धमार्ग जानुपर्छ । ढुङ्गा कठोर होइन मान्छेको मन कठोर छ । ढुङ्गा निर्दोष छ । मान्छे दोषी हो, अवगाले हो, अपझसे हो । उल्टो भन्छ- मेरो मन ढुङ्गा होइन, फूल हो । यो मान्छेको स्वभाव र चरित्र ढुङ्गा जत्तिको पनि छैन । ढुङ्गा सहन्छ, चुपचाप बस्छ, पीर दबाउँछ तर कसैमाथि पनि दोष थुपार्दैन । हामी ढुङ्गाबाट पनि पाठ सिक्दैनौं, उल्टो ठेस लाग्दा ढुङ्गालाई सराप्छौं । छोटो-मीठो छ यो 'ढुङगाको पीर' कविता ।

'२०६३ सालको आयातनमा' नववर्ष २०६३ को मूल्याङ्कन छ । पानजस्तो चपायो मलाई मोरङले 'मोरङको दिनचार्यमा' जागिरे जीवनको व्यस्तता र हतारोको सजीव चित्रण छ । जागिरको हतारोले पानजस्तो चपायो मोरङले कविको दुःखेसो पोखिएको छ यस कवितामा ।

वास्तवमा यो देशमा साँचो इतिहास दबाइएको छ, छोपिएको छ, पुरिएको छ । साँचो इतिहास लुकाइएको छ, हराएको छ । जनताले आफ्नो वीरगाथाको इतिहास खोज्नुपर्छ । झूटो इतिहास च्यात्नुपर्छ । स्तुति, भजन, प्रार्थना र जयगानको इतिहास रगतले षड्यन्त्र र हत्याले रंगिएको राजाहरूको मात्र इतिहास अब त्याग्नुपर्छ । साँचो र निष्पक्ष रूपमा सहीदहरूको, वीरहरूको, जनताको वलिदान र त्यागको इतिहास लेख्नुपर्छ र त्यो हराएको जनताको इतिहास खोज्नुपर्छ- 'इतिहास हराएको सूचना' ले यही सन्देश दिन्छ ।

'के हार्नेको इतिहास लेखिन्न ?
भन,
कति च्यातिरहन्छौ
इतिहास हराएको सूचना !
(पृष्ठ ८, ९)

विहानीमा विहानीसित कवितामा कविको अटल विश्वास, हद आस्था र आदर्श झल्किन्छ । 'कम्लहरी' एउटा दुःखान्त कथा हो । पश्चिम नेपालमा यो घिनलाग्दो प्रथा अझै कायम छ । सानै उमेरका वालिकालाइ साहुमहाजन, ठूला जमिन्दारलाइ छोरी बेच्ने प्रथालाइ 'माघी' भनिन्छ । बेचिने चेलीलाई 'कम्लहरी' भनिन्छ । त्यसैको चित्रण हो यो कविता । कवि यस संग्रहमा दुष्ट महाभारतका पात्रहरू दन्त्यकथा आफ्नो गाउँघर उपेक्षित जाति, कुप्रथा, साँस्कृतिक मिथक र वरिपरिको परिवेशबाट विषयवस्तुको खोज गरेर कवितामा घटित घटनाहरूको प्रस्तुती गर्न खप्पीस हुनुहुन्छ । 'कम्लहरी', 'मन्दिरमा', 'मुकुण्डो आतङ्क', 'नदी निदाएको बेला', 'राउटेको मन', 'सतारको सम्बोधन', 'जालहारी र माछा', 'सतीढुङ्गानेर अरुण', 'दन्त्यकथा' यस्ता- यस्तै कविताहरू हुन् ।

'राउटेको मन' राउटेको परिचय पहिचान र राउटेको मन बोलेको छ । जंगलमा बाँदरसंगै खेल्ने उप्रिmने बाघभालुजस्तै ओढारमा लुक्ने मृग, हरिणझैं जंगलमा हिड्ने चराहरूझैं स्वतन्त्र, स्वच्छन्द उड्न वनका खोला, नदी, पानीमा चोबलिने, कन्दमूल खाएर अघाउने यो जातिलाई जंगल नै मंगल हो । वनफँडानी र पुनर्वास आधुनिक सभ्यता र सुविधा यिनीहरूलाई मन पर्दैन । राउटे लोपोन्मुख जाति हो । यो वनजाति हो । यिनीहरू आरक्षण खोजिरहेछन् ।

'मलाई त मेरो माटो,
मेरो जंगल, मेरो बाँदर
अनि यिनै तरुल भ्याकुर नै मीठो छ'
(पृष्ठ १०८)

मलाई लाग्छ, कवि पाल टाँगेर बसेका यायावर जाति, घुमन्ते मान्छे, पुलमुनि तन्ना ओढेर बस्ने ती उपेक्षित जाति जो विहानै हातमा कूचो लिएर सडक बढार्छन, ठेलामा सिनो बोकेर बारमा पुर्‍याउँछन् साँझमा रक्सीले मातेर वासस्थान फर्किदा हल्ला गर्छन्, बाझ्दछन् र तिनै जातिलाइ 'रुपीहरू' को संज्ञा दिएर चित्रण गरिएको हुनुपर्दछ । कवितामा कविले 'अँगेनामा' आगो बाल्दा क्रोधले होइन तरुनी फकाए जस्तैगरी अँगेनामा आगो बाल्नुपर्छ भनी उपमा दिएर मान्छेको स्वभाविक प्रस्तुतीको चित्रण गर्न खोज्नुभएको छ । यस सङ्ग्रहको 'श्रद्धाञ्जली' कवितामा आफ्ना प्रियजनप्रति भावुक भएर लेखिएको शव्दसुमन हो जसमा चोखो माया छ । कवि नवराज सुब्बामा आमाप्रति अगाध श्रद्धा, भाईप्रति स्नेह, चेलीप्रति स्नेह, ससुराप्रति आदरभाव, माग्नेहरूप्रति दयाभाव, आफू जन्मिएको जन्मभूमिको सम्झना छ्याप्छ्याप्ती पाइन्छन् ।

नवराज सुब्बाको कविताहरूको बारेमा डा. गोविन्दराज भट्टराइ, प्रा.बालकृष्ण पोखरेल, दधिराज सुबेदी, डा.कृष्णप्रसाद दाहाल, डा.खेम दाहाल, दीनेश अधिकारी, कृष्णभूषण वल, परशु प्रधानका दृष्टिकोणहरू छन् । 'पहिलो अनलाई वेभक्याम विश्व कविता प्रतियोगिता २०६४' मा प्रथम पुरस्कार, बबरसिँह थापा सेवा गुठी सम्मान पुरस्कार २०६४, जयन्द्र प्रसाइ स्मृति साहित्यिक सम्मान पुरस्कार २०६४, मोहन रेग्मी स्मृति वाणी पुरस्कार २०६३, नवरङ्ग साहित्य प्रतिष्ठान र नाट्येश्वर नृत्यकला प्रशिक्षण प्रतिष्ठान कदर तथा सम्मानपत्र, गोरखादक्षिणवाहु २०४७ बाट सम्मानित तथा पुरस्कृत नवराज सुब्बामा रहेको कवितात्मक उर्वरता अझै बढ्दै जाओस्, साहित्यिक वातावरण र संगीत बढ्दै जाओस् । यस्तै अन्य राम्रा हस्तीहरूको प्रकाशन भइरहोस्, यही शुभकामना छ ।

 जेठ २०६६

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |