हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ध्रुबचन्द्र गौतम र म,(प्रकाश सायमी)



साहित्यकार डा. ध्रुबचन्द्र गौतमले श्रीलङ्का जाने निर्णय गर्नुभएकै दिन मैले अष्ट्रियाको भ्रमण रद्द गरेँ ध्रुबचन्द्रजी श्रीलङ्कामा गएर जे बोल्नेवाला हुनुहुन्थ्यो त्यस्तै र त्यही विषय म अष्ट्रियाको लिन्जमा गएर बोल्नेवाला थिएँ ।
अष्ट्रिया जानका निम्ति पेन नेपालको बैठकले डा रामदयालय राकेश र मलाई तोकिएको थियो । तर पत्राचारको माध्यमबाट निकै नजीक पुगिसकेर पनि मैले नजाने स्वनिर्णय गरेँ । लामो समयसम्म अष्ट्रिया पेनका अध्यक्ष मेर्टिनगरसित इमेल मार्फत् सम्पर्क राख्दा पनि उनले दर्ता-दस्तूर नेपालका लागि मिनाह गर्न सक्तिनँ भनेपछि मैले एक किसिमले नेपालको अपमान सम्झेँ ।
पेन-नेपालका सचिव प्रकाश ए. राजलाई फोन गरेर मैले भनिदिएँ "म जान्नँ भनिदिएँ ।"  उहाँले साचोको स्वास फेर्नुभयो र अर्को महोदयलाई चुन्ने अवसर पाउनु भयो ।
भोलिपल्ट खबरकागजमा अष्ट्रिया जाने स्रष्टाको त होइन श्रीलङ्का जाने स्रष्टाको नाउँ छापामा देखियो । यो सेप्टेम्बर एक दुई हजार नौको खबर हो ।
बरु मैले पनि नजाने खबरलाई एउटा स्क्यान्डल बनाएर छाप्नुपथ्र्यो कि भन्ने मनमा लागिरह्यो तर गरिनँ । त्यो क्षमता र मनोबृत्ति मेरो कहाँ ?  हुन त नेपालमा हिमाल चढेर आएपछि होइन हिमाल चढ्नुअगि नै समाचार बनाउने चलन छ । त्यो कल्पनाकशुलता ममा कहिले आएन । जे होस् डाक्टर साहब जाने खबर चैँ अखबारमा पढियो । मैले त्यही दिन पढेँ ढिँडो खाँदै एउटा थकाली भोजनालयमा ।
डाक्टर साहब जहाँ गएपनि समाचार त बन्छ त्यो चाहे रुस होस् वा रौतहट । त्यो पस्रनालिटी उहाँको बनेकै छ ।
उहाँले एकपटक मलाई कान्तिपुरु दैनिकको शनिवासरीय देखाएर भन्नु भएथ्यो "हेर्नुस् सायमीजी ! अरुको प्रशंसामा लेखिन्छ यहाँ मलाई नाश गर्न पनि यो अखबारले चालीस हजारभन्दा बढी खर्च गरेको छ । कम ठूलो लगानी छ ममाथि ।"
समीक्षा उहाँसितै पूर्वपरिचित कुनै एक साहित्यिक गोविन्दले गर्नुभएको थियो । आधा पृष्ठ डा. गौतमको र आधा पृष्ठ अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी रोन्ढमको लिभिङ हिस्ट्रीको चर्चा थियो ।
मैले पनि थपेँ "तपाईलाई ठाउँ पनि कस्तो दिएको छ डाक्टरसाहब , मिसेज क्लिन्टनको छेवमा । कम हो र यो ?"
डाक्टरसाहबको त्यो बेलाको ठहाका मेरो कानमा अझै पनि गुन्जे जस्तो लाग्छ तर त्यो हाँसो नौवर्षअगिको हो । जतिबेला भर्खरै वहाँको तथाकथित बजारमा आएको थियो ।
यो निकै पुरानो सम्झनाजस्तै हो ।
कालक्रमको आधारमा म कुनै एउटा मात्र घटना जोड्न सक्ने शक्ति देख्तिनँ तर पनि यसको चित्रमय शुरुवात् मेरो आँखामा कोलामय भएर आउँछ । त्यतिवेला केही कारणले म समीक्षा साप्ताहिकमा मदनमणि माड्साबसित कार्यरत थिएँ शायद म भन्दा अगाडि मेरा अग्रज अशेष मल्ल वा त्यसभन्दा अगाडि किशोर नेपाल पनि त्यसरी नै माड्साबको टेबिल अगाडितिर मजस्तै खुम्चिएर बसेकाथिए होलान् म अनुमान सम्म लगाउन सक्छु ।
मदनमणि माड्साबका छोरा बिनोद दीक्षित जो त्यतिबेला शाही नेपाल चलचित्र संस्थानबाट बन्ने फिल्मका लागि कुनै कथा बुझाउँदै थिए त्यो कथामा फिल्म बनेन बरु बिजय मल्लको कथामा बद्लिँदो आकाश नामक फिल्म बन्यो । यही समयतिर बिनोदजीसित ध्रुबचन्द्र गौतमजीलाई मैले एकाधपटक देखेको हुँला । कारणवश उनी चर्चामा त थिएनन् तर एउटा चर्चाको बीजारोपण मदन पुरस्कारले थप्न लागिसकॆको थियो ।
अचानक उनको किताब अलिखित बजारमा आयो र समानुपातिक रुपमा चर्चा भयो पनि । म त्यही समय ध्रुबचन्द्रजीको अन्तर्वार्ताका निम्ति समीक्षाबाट खटाइएँ । धेरै कारणले धेरै पटक सम्पर्कमा आएर पनि मैले गौतमजीको अन्तर्वार्ता गर्न सकिनँ । समय बित्यो पछि माड्साब आफैले एक विशेष लेख लेख्नुभो त्यो लेखको बोध नै अर्कै थियो । त्यो लेखले बजार ततायो ।
डाक्टरसाहेबसित मेरो भेट सैंत्तीससालतिर भएको हुनुपर्छ परिचय पनि त्यही समय वा त्यसपछि शायद परिचय नै नभइ हामी बीच कुराकानी शुरु भएकोथ्यो । उहाँ साप्ताहिक विमर्शमा एउटा स्तम्भकार हुनुहुन्थ्यो । त्यतिबेला स्तम्भ संचालन गर्न पाउनु आर्थिक रुपले भन्दा प्राज्ञिक रुपले अलि फरक खालको परिचय मानिन्थ्यो त्यो मैले सम्झेअनुसार एउटा लोकप्रिय  कोलम मानिन्थ्यो । त्यतिवेला भर्खरै उहाँले दिनमानका सम्पादक कन्हैयालाल नन्दनसित कुराकानी गरेर छपाउनु भएको थियो आफ्नो खातामा । नेपालमा राजनीतिक वृत्तमा अत्यन्त पढिने दिनमानका सम्पादक नन्दनले त्यतिवेला नेपालप्रति हल्का आक्रोश पनि पोख्नु भएथ्यो । मलाई याद भएसम्म त्यस लेखको शीर्षक नै उनको नेपालप्रतिको विद्रोहमा आधृत थियो भनिएको थियो 'थाह छैन नेपालमा किन यति विध्न भारतको विरोध हुन्छ ?'
त्यो अन्तर्वार्ता छापिएपछि उहाँ र मेरो बीचमा धेरै कुरा भो तर उहाँले याद गर्नु भएन । तर म उहाँलाई सम्झाइरहन्थेँ ।
एकदिन वहाँले आफ्नै स्तम्भमा लेख्नुभो "मैले यसपालि मेंहदी हसनलाई भेट्न पाइँन । भेट्न पाएको भए… "
भेट्न पाएको भए उहाँले तहल्का मात्र मचाउनुहुन्थेन  । उहाँका रुचिसम्पन्न पाठकका निम्ति अबर्णनीय खुराक त हुने नै थियो । कुनै कारणले वहाँ विरगंज पर्नुभयो समयमा काठमाण्डू आउन सक्नुभएन क्यार !
उहाँले नभेटे पनि मैले मेंहदी हसनसित भेटेर लामो अन्तर्वार्ता गरेको थिएँ । वहाँको खिन्नता देखेर मैले एकदिन वहाँलाई भनेँ "तपाईले नभेटेपनि मसित सुरक्षित अन्तर्वार्ता छाप्ने हो कि ? म तपाईलाई रेकर्ड उपलब्ध गराउँछु ।"
"हुन त हुन्थ्यो तर त्यो पनि कसरी गर्ने एउटा लेख त छापिसकेँ । …?" यस्तै केही भनेर उहाँले टार्नुभो । त्यो एउटा राम्रो काम हुन सक्थ्यो, भएन । मेरो उदारतालाई उहाँले नादानीपनमा लिनु भयो जस्तो लाग्यो । यो चालीससालकै कुरा हो जतिबेला नारायणगोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा उनकै पहलमा रत्न रेकर्डिङ संस्थानले पाकिस्तानी गजल गायक मेंहदी हसनको एकल साँझ अट्ठारह दिनसम्म आयोजन गरेथ्यो त्यो बेलाको प्रज्ञा प्रतिष्ठानमा । म हरेक शोमा सहभागी थिएँ कलाकार र गजलप्रेमी भएको कारणले ।
म त्यतिबेला मेंहदी हसनका सबै गीत गजल र नज्म गाउँथे आजजस्तै । तर त्यतिबेला म पंकज उधास, गुलाम अली र अनूप जलोटाका पनि गजल पनि सुन्थेँ र गुन्गुनाउँथे जुन आजकाल मेरो रुचि बाहिर भइसक्यो ।
त्यो त्यतिबेलाको कुरा जतिबेला रत्नराज्यलक्ष्मी क्याम्पसमा रबीन्द्र मिश्र, राजीब उपाध्याय, बिजय चालिसे र म पत्रकारिता पढ्थ्यौँ । पत्रकारिताका बिद्यार्थी भएका कारणले यस्ता सबै कार्यक्रमा सहभागिता जनाउनुपर्छ भन्ने सहभावनाले उत्प्रेरित भएर म पुग्थेँ जहीँतहीँ । मैले यही बेला कलाकार आवाजको निम्ति पंकज उधासको अन्तर्वाता पनि लिएको थिएँ । अनूप जलोटासित लिएको अन्तर्वार्ता त एउटा अद्भुत घटना नै भयो ।
यस्ता कुराहरु डाक्टरसाहब र मेरो पिपलबोट वरिपरि नै भएको थियो त्यो बेला । तर हाम्रो भेट त रुपरेखा कार्यालय ढोकाटोलमा पनि हुन्थ्यो किशोर कुँवरको कोठामा । रुपरेखा मा उहाँ त्यतिबेला साहित्यिक सन्दर्भमा कलम चलाउनु हुन्थ्यो । मेरो घर नै मरुढोका भएको कारणले म रुपरेखा पुगिरहन्थेँ र त्यही नजीक मेरा मित्र नबीन्द्रराज जोशीको पनि घर भएकोले पनि ढोकाटोल आवतजावत मेरो दिनचर्या नै थियो त्यो बेला ।
ढोकाटोलमै एउटा छिमेकीको घरमा मैले पहिलो पटक जीवनमा मेंहदी हसनको गजल र उनको मधुर वाणी सुनेकोले त्यो परिसरको अमिट सम्झना छ मेरो अतल हृदयमा । पहिलोपटक मैले मेंहदी हसनको गजल सुन्दा उनी भन्दै थिए "मलाई खास गाउन त आउँदैन जे-जे आउँछ, उल्टा-पुल्टा सुनाउँछु तपाईहरु ले मिलाएर सुनिदिनुहोला ।
यस्तो भनाइ आजकाल जसले पनि भनेको सुन्छु तर मेरो कानमा पहिलोपटक मेंहदी हसनले नै हालेका हुन् ।
अनि उनले आफ्ना दुई छोरा कामरान हसन र अर्काेको परिचय दिँदै भनेका थिए "यी मेरा छोरा । तबला र गीटार बजाउँछन् जसरी बिरालोले आफ्नो बच्चालाई बोकेर घरघर डुलाउँछ त्यसरी यिनलाई लिएर मपनि म घुम्दैछु ।"
मेँहदी हसनले बोलेको त्यो एल्बम चैँ लण्डनको कार्यक्रमको सङग्रहण रहेछ । लण्डनको रोयल अल्बर्ट हलमा माचस्थ हुने सौभाग्य पाएका त्यतिबेलाका पहिलो एशियन कलाकार उनी नै रहेछन् । उनले फैज अहमद फैजको कलम गुलोँ में रंग भरे गाएको पनि त्यही बेला सुनेको हुँ आज तीन दशक पुगिसकेछ ।
यी सबै घटनाले तीन दशकको चित्रमय आकार लिइसकेछ । यो तीन दशकमा डाक्टर साहब र मेरो सम्बन्धको दूरी त्यति नजीक पनि छैन, त्यति टाढा पनि भएन ।
डाक्टर साहब पनि मेंहदी हसनका गजल खूब मनपराउने मान्छे । डाक्टर साहबको साह्रै मनपर्ने गायक मेंहदी हसनभन्दा बढी मुकेश । मलाई पनि मुकेशको स्वर खूब मनपर्ने । पछि थाहा भयो मेंहदी हसनको पनि प्रिय गायक मुकेश नै रहेछन् ।
मलाई मुकेशले राजकपूर होस् वा अमिताभ बच्चनका लागि गाएका कुनै पनि गीत त्यतिकै मन पर्ने । राजकपूर मलाई साह्रै मनपर्ने अभिनेता कहिलेकाहीँ दिलीपकुमार जति कहिलेकाहीँ दिलीपकुमार भन्दा कम । तर निर्देशकका रुपमा राजकपूरको तुलना न दिलीप कुमारसित हुन सक्छ न देव आनन्दसित । संयोगले राजकपूर डाक्टर गौतमका पनि असाध्य मनपर्ने कलाकार रहेछन् । डाक्टर साहब सस्तोमस्तो पत्रिका पनि पढ्ने ब्ल्याक् ह्यूमर पनि मनराउने ।
मलाई लाग्छ वहाँ भारतमा मोहन राकेश कमलेश्वर र राजेन्द्र यादवका दोस्ती दुश्मनी र ती दिनका सिर्जनात्मक शक्तिसित भित्रैदेखि अभिप्रेरित हुनुहुन्थ्यो । वा शायद त्यही कारणले उहाँ र उहाँका मित्रहरुले एउटा बाहुबन्धन बनाउनुभो । त्यो शायद बेलाबेलामा मौसम अनुसार टुकि्रयो पनि । नगेन्द्रराज शर्मा, ध्रुब सापकोटा, बिनोद दीक्षित आदिआदि यसमा सहभागी भइरहे । त्यतिबेला उहाँहरु को जमघट हुने थलो न्यूरोडको रश्मी, इन्दिरा रेस्टुराँ, बैँगलोर कफी हाउसजस्तै ठमेलको उत्से पनि चर्चित थियो ।
वहाँ र मैले गर्छु भनेर गरेका कुनै काम पुरा भएनन् भने ठट्टैमा शुरु गरेका कामहरु सफल पनि भएका छन् । त्यसमध्ये नेपाली उपन्यासको शतवार्षिकी मनाउने वहाँ र मेरो सोचले करामत गरॆको छ । निर्णायकका रुपमा पाँचजना उपन्यासकारलाई सम्मानित गर्ने कुरो भो, उहाँले एकजनाको नाम प्रस्तावित गर्नु भो मैले त्यो नाम काटेर सरुभक्त श्रेष्ठको नाम प्रस्तावित गरेँ । रँगमचका दुःख-सुखका दिनका साक्षी सरुभक्तलाई म भक्त श्रेष्ठ भएको समयदेखि नै चिन्थेँ र त्यही मायाले मैले उनलाई मेरै मोबाइलबाट पोखरा फोन गरेँ अनि राजधानी आउन निम्ता दिएँ । त्यस प्रस्तावमा डाक्टर साहबले नाइँ नास्ति गर्न सक्नुभएन उहाँ मेरो कुरालाई सहजै मान्नु हुन्थ्यो । हामीले यो निर्णय गंकी बसुन्धराका अध्यक्ष अरुण सायमीसित त्रिपुरेश्वस्थित राइस एन्ड बौलमा बसेर गरेका थियौँ दीवान्त भोजन सहित । शायद त्यो दिन हामी दिउँसै डा. अरुणले ल्याएको नीलो वर्णको लेबलमा झुमेका पनि थियौँ केही बेरपछि ।
"सरु बाहेक गोविन्द गोठाले, गीता केशरी र ध्रुबचन्द्र पनि सम्मानित हुनु पर्छ ।" धुस्वाँ सायमीले अर्को प्रस्ताव ल्याउनु भएको थियो त्यो दिन ।
"अनि सरको नाम ख्वै त ?"  डाक्टर साहब धुस्वाँलाई खूब आदर गर्नुहुन्थ्यो । त्यसपछि यी पाँचैजना स्रष्टाको सम्मान सोल्टीको मेघ मल्हारमा भव्य रुपमा सम्पन्न भएको थियो । म त्यसको संयोजक मात्र थिएँ ।
त्यो कार्यक्रम हामीले ठट्टैठट्टामा च्यानल नेपालको तीनसय सात नम्बरको कोठामा बसेर निर्णय गरेका थियौँ ।
च्यानल नेपालमा डाक्टर साहब र मैले करीब डेढवर्ष सँगै काम गर्यौँ म कार्यक्रम निर्देशक उहाँ कार्यक्रम सहायक भएर । हामी दुवै सहज कर्मचारी थियौँ त्यो अफिसका निम्ति । अनि त्यो अफिस पनि हाम्रो निम्ति केवल हाम्रो निम्ति सापेक्षिक रुपमा सहज र सुलभ थियो ।
म क्यामेरा बोक्थेँ, शुटिँग भनेर हिँड्थे डाक्टर साहब पनि मेरो पछि-पछि हिँड्नु हुन्थ्यो शुटिँग स्थलमा । हामी यसरी कैँयौ ठाउँमा गयौँ गीतकार नगेन्द्र थापाको घर सङ्गीतकार अम्बर गुरुङको घर कहिले डा. राममान तृषितको घर । कहिले ठमेल कहिले बुढानिलकण्ठ । जहाँ गएपनि हामी मध्यान्तरपछि बिदा हुन्थ्यौँ कारण त्यसपछिको समय डाक्टरसाहब र मेरा निम्ति स्वास्थ्यकर हुँदैनथिए । साँच्चै भन्ने हो भने ती दिनहरु हामीले बिद्यार्थीले शीतकालीन बिदा मनाएजस्तो गरेर मज्जाले बिताएका थियौँ ।
साठीवर्षको बलहीन अवस्थामा पुगिरहेका डाक्टर साहब कहिलेकाहीँ घरबाटै फोन गरे "सर आज तो हम आ नहीँ पाएँगे स्कुटर से गिर गये । आप इसी को हमारा हाजिरी मानिए सर ।"
त्यसपछि उहाँको कुरालाई मैले प्रेमपूर्वक स्वीकारिदिन्थेँ । यस्ता धेरै घटना छन् । एकदिन यस्तै भयो उहाँले मलाई अफिस समय शुरु हुनु अगि फोन गर्नुभयो र भन्नु भो र फेरि अफिस आउन नसकिने पूर्वसूचना दिनु भयो । तर फोन राख्नेबेलामा उहाँले स्नेहास्पद भएर भेट्न मन भएको आग्रह राख्नु भो ।
मैले भनेँ भेट हुन्छ आज ।
त्यसपछि क्यामेरा बोकेर उहाँकै घर पुगेँ उहाँकै अन्तर्वार्ता गर्न । त्यो दिन पनि हामीले पुरै समय उहाँको घरमा बितायौँ त्यसपछि केही क्षण बाहिर नजीकको रेस्त्राँमा आएर अभिशप्त भयौँ ।
ती सबै भेट गफ गाफ हाम्रा पुराना कुरामा बढी केन्द्रित हुन्थे । कहिलेकाहीँ म उहाँको स्तम्भ लेखनको कुरा झिक्थेँ कहिले उपन्यास वा कथाको । विशेष गरेर मैले उहाँको र शबाना आजमीको पूनाको भेटको चर्चा खूब दोहोर्याउँथे जसका कारण उहाँको र डा. बाणीरा गिरीको लामो समय बोलचाल नै बन्द भयो । त्यसबारे मैले धेरै पटक जान्न खोजेँ । डा.बाणीरा, जीवन आचार्य र उहाँ भारतको पुणे जाँदा उहाँहरुको भ्रमणको सिलसिलामा फिल्मी शहर मुम्बईबाट त्यहाँ पुगेकी अभिनेता शबाना आजमीसित भेट भएको रहेछ । त्यो भेटका बारे डाक्टर साहबले साप्ताहिक विमर्शमा लेख्नु भएपछि विवादको रुप लिएछ । त्यो घटना शबाना आजमी लायन्स क्लबको निम्तोमा दोस्रो पटक नेपाल आउँदा शुरु भएको जस्तो मलाई लाग्छ । मेरो त शबानाजीसित ठूलो झगडा नै भएथ्यो त्यो झगडाको सानो रुप पछि कामना पत्रिकामा छापियो ।
शबाना, अमिताभ, राजकपूर गुरुदत्त, नूतन, सार्त्र, क्यामू, मनोहरश्याम जोशी, सैम्युअल बैकेट …। आदि-आदि सबैका बारेमा रुचि राख्ने डाक्टर गौतमसित मेरो धेरै रहर र रुचि मिल्थ्यो ।
डाक्टर साहब लामो समय धोबीधारामा डेरामा बस्नुभयो कल्याण रिमालको घरमा । म पनि धोबीधारामै बसेँ मोहन खनालको घरमा । मैले त्यतिबेला सिनेमा लेखेँ जुन बेला डाक्टर साहबले लेख्न छोड्नु भो । डाक्टर साहबले रमेश बुढाथोकीसित लामो समय काम गर्नु भयो जुन बेला मैले उनीसित काम गर्न छोडिसकेको थिएँ ।
डाक्टर साहब पूणे धेरै बस्नु भयो म मुम्बई धेरै बसेँ । हामी दुबै नयाँ नयाँ पुस्तक पढ्न खूब रुचि राख्थ्यौँ । त्यो रुचि हामी दुबैले एकआपसमा शेयर गरेर साटेर पनि पढ्थ्यौँ । त्यसमध्ये मेरो एउटा पुस्तक वृत्तचित्र सम्बन्धी डाक्टर साहबको घरमा छ भने उहाँको एउटा पुस्तक अलका सरावगीको कलिकथा मेरो घरमा छ । तर अलका सरावगीको पुस्तक उहाँलाई धुस्वाँ सायमीले उपहारस्वरुप दिएको रहेछ ।
धुस्वाँ सायमी डा. गौतमको पुस्तकप्रेमका बारेमा मलाई सधैँ भन्नु हुन्थ्यो "ध्रुबे तँजस्तै खूब पढ्छ । त्यो त मान्नैपर्छ अनि ऊ पढेको कुरा प्रयोग गर्न सक्छ ।"
धुस्वाँ सरले डा. गौतमलाई प्रेमपूर्वक हजारौँ हजार रुपैँयाको पुस्तक पनि उपहार दिनुभएको रहेछ ।
डाक्टर साहेब जस्तो पनि पुस्तक प्रेमपूर्वक पढ्न सक्नुहुन्छ, त्यो मेरो जन्मजात स्वभाव हो । डाक्टर साहेब हरेक किसिमका सिनेमा हेर्न रुचाउनु हुन्छ । टेलिभिजनमा आएका कुनै पनि कार्यक्रम वा रेडियोमा आएका अन्तर्वार्ता उहाँ सदैव सम्झिन सक्नुहुन्थ्यो मसितको  संगतताका उहाँ बच्चनपुत्र अभिषेक बच्चनको एउटा टेलिवात्र्तामा करिश्मा कपूरका वारे सोधिएको एउटा प्रश्नको उत्तर कण्ठै पारेर हिँड्नुहुन्थ्यो। यो उहाँलाई खूब मनपरेको मन परेको डायलगमा पर्दोरहेछ ।
मेरो र उहाँको नमिल्ने रुचि एउटै छ त्यो हो पुरस्कारको । उहाँ हरेक किसिमको पुरस्कार लिन रुचाउनु हुन्छ मेरो जीवनमा पुरस्कारप्रति त्यस्तो कुनै आकर्षण नै रहेन र पछि पनि रहने छैन ।
डाक्टर साहेब धेरै पछि कुनै मित्रसितको नयाँ कारोबार एउटै सम्बादबाट शुरु गर्थे "ख्वै त्यो दिनजस्तो एकदिन बस्नु पर्ने । कहिले होला मिलाउनुस् न । म त जहिलेपनि तैयार छु ।"
त्यस्तै एउटा भेट मेरो उहाँसित एकदिन भयो लामो समयपछि कुमार आलेको फोटो प्रदर्शनीमा । अन्य स्रष्टाहरुका माझ हामी दुबैको फोटो त्यहाँ राखिएको थियो बेजोडले हाँसेको । सबैले मेरो र डाक्टर साहबको हाँसोको तारिफ गरे प्रदर्शनी अवधिभर । मैले भने ल डाक्टर साहब बधाई छ । यति बधाईले कहाँ टर्छ र यसो बस्न पाए हुन्थ्यो अभिशप्त भएर ।
यो अभिशप्त हाम्रो पुरानो थेगो थियो च्यानल नेपालको दिन देखिको । त्यो दिन हामी कोपूण्डोलस्थित सामुराईमा गएर अभिशप्त भयौँ । उहाँ गएर बस्ने बित्तिकै त्यहाँको वेटर राजेन्द्र भाइले ओहो हजुरलाई त आज धेरै दिनपछि बल्ल भेट्न पाइयो नमस्कार । ॥ राजेन्द्रभाइले एकै सासमा उहाँको उपन्यासको चर्चा शुरु गरे घामका पाइला…
वहाँ मेरो दाइ हो,  उहाँले स्पष्टीकरण दिनुभो । तर दाजुको बारेमा त्यति चर्चा गर्न चाहनुभएन । त्यो बेला दाजुभाइको एककिसिमको शीतयुद्ध चरममा थियो रचनामा दाजुको अन्तर्वार्ता छापिएपछि । करीब तीनघन्टा पछि हामी उठ्यौँ । मैले उहाँलाई एउटा राम्रो ट्याक्सी ड्राइभरसित लगाएर बिदा गरेर पठाइदिएँ । त्यसको एक हप्तापछि धनुषचन्द्र गौतम बित्नु भयो ।
म सामुराईमै बसेर डाक्टर साहबको देशान्तर साप्ताहिकमा छापिएको लेख पढ्दै थिएँ सामुराइका राजेन्द्र आएर भने उहाँको दाइ त यता नआइकनै जानु भएछ । त्यसपछि डाक्टर गौतमसित मेरो बस्नेगरि भेट भएको छैन । शायद त्यो संयोग मैले नै मिलाउने पर्ने होला ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |