हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

क्यानभासमाथि कोरिएका कहानीहरु,(जनार्दन वराल)



'जीवन इन्द्रणीझैं छ जीवनको क्यानभासमा कहिले कहाँ खुशी कोरिन्छ कसलाई के थाहा हुन्छ र !' एउटा कथाकारको आफ्नो कथाको मनपर्ने कथाकारलाई लेखेको अन्तिम वाक्य हो यो । शर्मिला खड्का दाहाल नवीन कथासङ्ग्रह ुसमयको क्यानभासु बाट यो वाक्य यहाँ सापटी लिइएको लिइएको हो । जीवनका रङ्गीन क्यानभासमा प्रममय जीवनमा खुसीको खोजी गरिरहेका कथाहरुको सङ्गालो हो- 'समयको क्यानभासमा ।'

'समयको क्यानभासमा' मोफसलमा बसेर नेपाली साहित्यमा समर्पित स्रष्टा शर्मिला खड्काको २४ वटा कथाहरुको नवीनतम् सङ्ग्रह हो । यस सङ्ग्रहमा उनले विविध विषयवस्तुका कथाहरुलाई स्थान दिए पनि उनको कथाको मुख्य भावभूमि चाहिँ प्रेम नै बनेको छ अझ विशेषगरी असफल प्रेम । संसारमा प्रेमका विषयमा लेखिएका प्रेमकहानीहरु विशेषगरी असफल वा अव्यक्त प्रेमकहानीमै आधारित भएर लेखिएका पाइन्छन् । ती कुराहरु शर्मिलाका कथाहरुमा पनि पाइन्छ तर उनको लेखनीमा बेग्लै किसिमको नवीनता र मिठास पाइन्छ ।

यिनको कथासङ्ग्रहको पहिलो कथा 'समयको क्यानभासमा' सिङ्गो सङ्ग्रहलाई शीर्षक प्रदान गर्ने कथा हो । मनोवादीय र पत्रलेखन शैली अंगालिएको यस कथामा आफ्नो मन परेको लेखक भेट्दा र अनायासै फेरि छुट्दा एकजना नारी प्रसंसकले गरेको अनुभूतिहरु सँगालिएको छ । आफ्नो पिय लेखकप्रति एकजना नारी प्रशंसकको झुकाव लगाव र प्रेम शक्तिलाई यस कथाले खोतलेको छ । यस कथामा बुझिने किसिमले यौनलाई पनि संङ्केत गरिएको छ ।

'कल्पनाको क्यानभासमा' कथा यसै कथाको प्रत्युत्तर हो । यो कथामा पनि मनोवादीय शैली अँगालिएको छ भने प्रसंशक नारीमा भएको झुकाव लगाव र प्रेमाशक्ति प्रसंशित लेखकमा पनि भएको देखाइएको छ ।

'पवित्र सम्बन्ध' पनि समग्रमा प्रेम र यौनकै वरिपरि घुमेको कथा हो । यस कथामा पनि एकजना लेखकलाई उभ्याइएको छ जुन पहिलो कथामा थियो । यस कथा पनि मनोवादीय शैली प्रयोग गरेर लेखिएको छ यसमा एक केटा साथी र एक केटी साथबीचको नजिकको सम्बन्ध र स्वयम् केटीको स्वतन्त्र साहित्यलेखनका कारणले उनको श्रीमानसग पारपाचुकॆ भएको प्रसङ्ग छ ।

'असम्बद्र्धित शान्ति' नारीसङ्घर्षको कथा हो भने यसमा प्रकृतिजनित कारणले पनि नारी पीडित हुनुपरेको कुरा कलात्मक ढङ्गले उठान गरिएको छ ।

'निश्चय अनिश्चय'ले परिवार तथा समाजमा छोरी पाउदा एक स्वास्नीमान्छेले झेल्नु परेको समस्या अनि समाज र परिवारले गर्ने व्यवहार र छोरी मात्र जन्मिएका कारण पुरुष प्रवृतिको भण्डाफोर गरेको छ ।

अर्को कथा 'सुकन्या उर्फ निलिमा' एउटा सशक्त द्धन्द्धकथा हो । यस कथाले माओवादीको १० वर्षे जनयुद्धको ताजा स्मरण गराउँछ । यस कथामा एकजना महिला माओवादी छापामारले आफ्नो जीवन तिलाजली लिएर एउटा सीडिओको ज्यान बचाएको प्रसङ्गलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । आफुलाई नागरिकता नदिने सिडिओ जसका कारणले ऊ माओवादी बन्न बाध्य बनी त्यही सीडिओलाई घाइते अवस्थामा पारेर उपचार गरेर समय विताउनु र आफ्नो ज्यान जोखिममा पारेर हिड्नु जस्ता घटनाहरु आदर्शवादी लाग्छन् । यद्यपी एउटी नारी कति कोमल हृदयी हुन्छे भन्ने शन्देश भने कथाले निकै राम्रो संग दिएको छ । वास्तवमा यस कथामा वन्दुक वोकेर जंगल पसे पनि र मृत्युसँग लुकामारी खेल्न अभ्यस्त भए पनि आफ्नो जीवनमूल्य चुकाएरै भए पनि उसलाई आश्रय दिन्छ भन्ने शन्देश कथाले भरपूर दिएको छ ।

'ओ अपराजिता' कथामा एकजना स्वाभिमानी नारीलाई हराउन एकजना पुरुषले गरेको प्रयासहरु पुरुषकै डायरीका माध्यमबाट प्रस्तुत गरिएको छ । मनोवादिय शैलीमा लेखिएको यो कथामा अमूर्त शैली प्रयोग गरिएको छ । स्वाभिमानी र निडर नारीलाई सयौं प्रयासले पनि हराउन नसकिने कुरा यहाँ प्रस्तुत गरिएको छ ।

'अनिर्णयको बन्दी' कथा स्वतन्त्रताको खोजीमा अमेरिका पुगेकी केटीले अनेक हन्डर ठक्कर खाएपछि विवाहका लागि बाबुआमाले रोजिदिएको केटा स्वीकार्न पुगेको घटनालाई प्रस्तुत गरिएको छ । अनेक सम्वन्धको असफलतालाई प्रस्तुत गरेर रुप यौवन र बौद्धिकताको अभिमानले दिने हण्डर ठक्करलाई यस कथामा प्रस्तुत गरिएको छ । जति नै घमण्ड गरे पनि जीवन भनेको सम्झौता हो र सम्झौता गरेर नै जीवन जिउनुपर्छ भन्ने कुरा यस कथामा देखाइएको छ ।
ुबासुरीको धुनु कथा एकजोडी असफल प्रेमिप्रमिकाको कथा हो । यस कथामा कथाकारले 'नोस्टाल्जिया'को प्रयोग गर्ने खोजेका छन् । तीन वर्षको अन्तरालमा माइत पुगेर राती आफ्नो पतिसँग सुत्दा बाँसुरीको धुनले विगतमा आफ्नो प्रेमिले वजाएको बाँसुरीको धुनको स्मरण गराउँछ नायिकालाई । उनी आफ्नो पीडादायी प्रमकहानी स्मरण गर्दै निदाउँछिन र भोलिपल्ट विहानै आफ्नो पूर्व प्रेमि बसेको कोठामा पुग्छिन् । त्यहाँ उनको पूर्वप्रेमि हुदैन तर उनको चिठि हुन्छ  'सानु म तिम्रो जीवनदेखि धेरै टाढा जान चाहन्छु । त्यसैले यो ठाउँ छोडेर जाँदैछु……।' यो असफल प्रेमकहानीले एकपटक मनमा चसक्क बनाउँछ ।

यसरी यो कथा संग्रहमा सङ्ग्रहित कथाहरुले विशेष गरेर असफल प्रेमकहानीलाई आफ्नो कथ्य बनाएका छन् । कथा सिर्जनाका परम्परित मान्यतालाई भङ्ग गरेर लेखिएका कथा भए पनि यी कथामा छुट्टै किसिमको कलात्मक नविनता पाउन सकिन्छ । यस कुरामा परशु प्रधान पनि सहमत देखिन्छन् । प्रधान भूमिकामा लेख्छन् 'आजको इन्टरनेट युगमा कथाले खोजेको जुन नयाँ हाँक छ त्यसलाई शर्मिलाका कथाले पछ्याएका छन् इन्टरनेटलाई बुझेका छन् ।

शर्मिलाले आफ्ना कथाहरुमा प्रायशः सहरी परिवेशको प्रयोग गरेकी छन् । पश्चिमा आधुनिकता र नेपाली परम्पराको सङक्रमणबाट गुज्रेका नेपाली सहरी वातावरणलाई उनले आफ्नो कथामा टपक्के टिपेकी छिन् र आफ्ना कथामा त्यहि संक्रमणकालीन समाजलाई घटनाप्रवृत्तिहरुलाई उनकी छन् । उनका कथामा विशेष गरी त्यहि संक्रमणकालिन समाजमा देखिने प्रेमका घटनाहरु प्रतिनिधि घटना बनेर आएका छन् । यद्यपि उनका कथा परिवेशका दृष्टिले नेपाली गाउँदेखि अमेरिकाका भव्य शहरसम्म नै नफैलिएका भने होइनन् ।

पात्रप्रयोगका हिसावमा उनका प्रायः कथामा सम्भ्रान्त परिवारका पात्रहरुको प्रयोग गरिएको छ । नारी लेखक भएरै हुनसक्छ उनले अधिकांश कथामा नारी पात्रलाई प्रमुख पात्र बनाएकी छन् भने दृष्टिविन्दु पनि नारी नै प्रयोग गरेकी छन् । उनले आफ्ना रचनामा वर्तमान समाजको नारीस्वरलाई नवीन विद्रोह र मूल्यचेतना सहित सशक्त रुपमा उठाएकी छन् ।

भाषागत हिसावले पनि कथाहरुमा नवीनता भेटिन्छ । उनले प्रयोग गरेको एकालापी वा मनोवादीय शैलीले कथाहरुलाई निबन्धात्मकता प्रदान गरे पनि त्यो असहज लाग्दैन ।

राम्रो कागज राम्रो साजसज्जा र राम्रै छपाइका साथ आएको पुस्तकको सम्पादन कमारप्रसाद कोइरालाले गरेका हुन् भने पुस्तकको प्रकाशन उत्खनन नारी साहित्य प्रतिष्ठानले गरेको हो । बालसाहित्यमा आफ्नो छुट्टै स्थान बनाइसकेकी शर्मिला खड्का दाहाल ले यसअघि पनि एउटा लघुकथासंग्रह नेपाली आख्यान साहित्यलाई दिईसकेकी छन् । आफ्नो लेखनीमा नवीन चेतना र प्रयोग बोकेर नेपाली आख्यान साहित्यको यात्रामा यात्रारत खड्काको लेखनजादुको स्वाद लिँदा उनका कथामा भेटाइने प्रेमको असफलता उनको आख्यानयात्रामा भेट्टाइने छैन भन्न सकिन्छ उनले सधैं पाठकको प्रेम पाइरहनेछिन् - पाइरहून…………

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |