हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

घर जानु : नेपाल संस्मरण,(मल्लिका शाक्य)


घर जानु भन्नु पनि आङ् हलुँगो हुनेगरी एउटा निश्वास छोड्नुजस्तै रहेछ। अथवा एउटा सम्मोहन जस्तै। घनघोर मुसलधारे दर्कन थालेपछि अनायासै घरतिर हुत्तिए जस्तो, रात परेपछि जहाँ कतै भए पनि घरैतिर पाइला तेर्सिए जस्तो।  दशैंमा आउनुपर्ने थियो।  तर टीकाले, घामले र चाडले भन्दापनि आफ्नोपनको न्यानोले मलाई नेपाल डाकिरहेथ्यो। त्यसैले आइपुगें दशैं सकिएपछि, तिहार नलाग्दै। दशैं गुमेकोमा त्यति पछुतो पनि थिएन, तिहार अझै नलागेकोमा ग्लानि पनि थिएन। घर आफै दशैंको कुछिभ्वे थियो, तिहारको न्हुदँ र म्हपूजा। त्यसकारण जिन्दगीको लडाईँ लड्दालड्दै एउटा सानो विश्राम लिन पनि घर हुत्तिएँ म।

काठ्माडौं उस्तै रहेछ -- बुङ्ग धूलोभित्र पारिलो घाम, बादलभित्र सफा नीलो आकाश र भीडभाडभित्र एउटा अनौठो सुकून्। जता हिंडेपनि नहराउने, जोसँग बोल्दा पनि नहिच्किचाउने। हुनत यो पाली केही रमाइला कुरा पनि देखिए।  एअर्पोर्टभरि पर्यटकहरु छन् सारौंहरु फर्केजस्तै।  हतियार बिसाएर लडाकूहरु मोलतोल गर्दैछन् -- चीजबीजको, विचार-सिद्दान्तको।  प्रहरीहरु कि कम देखिन्छन् कि एक किसिमको ढुक्क देखिन्छन्। बजारहरु, बाटाहरु, बसगाडीहरु, पेटीहरु सब भरिभराउ छन् -- चीजबीजले, आवतजावतले। घर पुगें -- घर उस्तै रहेछ -- घर जस्तै। जस्तो मुसलधारमा, हुस्सु, असिना र न्यानो घाममा घर घरजस्तै हुन्छ। नेपालमा पञ्चायत, प्रजातन्त्र, जनयुद्द, लोकतन्त्र, गणतन्त्र जेसुकैको लहर चलेको भएपनि घरमा घरैको लहर चलेको थियो ।  बा छोराछोरीका संसारहरु खोतलखातल पार्नुहुन्छ, आमा छोराछोरीका ह्र्दयका अन्तरकुन्तरहरु। केही नभनी मलाई बुझ्नुहुन्छ उँहाहरु, त्यसकारण म सधैं एक किसिमको संकोचले ग्रस्त हुन्छु । आमाको अगाडी एउटा बाक्लो मजेत्रो लाएर आफैंभित्र लुक्न पाएपनि हुन्थ्यो जस्तो लाग्छ तर सकिंदैन।

सानो काठ्माडौंमा म आइपुग्नु पनि आफैंलाई ठूलै कुरा जस्तो लाग्छ। यतिबिघ्न भरिभराउ छ काठ्माडौं। तर म भीडमा हराउँदिन। आफूलाई एउटा भिन्नै वस्तु भएर हिंडिरहेको पाउँछु -- अग्ले, अमिल्दो, असुन्दर, कंक्रिटको बिल्डिङ् जस्तै। तर हिजोआज त पुराना घरका लामहरुसँग मिल्ने नयाँ, दाछिअप्पाका घरहरु पनि बन्न थालेछन् काठ्माडौंमा -- तडकभडकको बाइस नाघेर तीसको स्निग्ध, उकाली चढेको उमेर जस्तो।  म पनि अलिक अझै उमेर ढल्केपछि काठ्माडौंको भीडमा मजाले मिसिन्छु होला। त्यो दिनको अझै पर्खाइमा छु म।

धेरै कामकाजहरु छन् काठ्माडौंको एक-हप्ते बसाइमा सक्नैपर्ने। लडाईंमा विश्राम पनि लडाईं नै हो। त्यसकारण चाहिए जसरी आफूलाई सिंगार्छु र बेला-बेलामा मोर्चाहरुमा ठड्याउँछु। अरु बेला भने आमाको छायाँमा आफूलाई लुकाउँछु। उहाँ मीठो-मीठो पकाउनुहुन्छ; म खान्छु - बस् - कहिंलेकाहीं खुशी यति सजिलरी पाइन्छ।

हाम्रो घरभरि स्वास्नीमान्छेहरु छन् र घर पनि स्वास्नीमान्छे नै छ। आमा, ठूली बहिनी, सानी बहिनी, कुकूर्नी। बुबा बाहिरबाट आउनुहुन्छ, दाई पनि, अनि परेवा मार्ने चुलबुले केटौले बिरालो पनि। उहाँहरु भएको बेला घर संसार जस्तै हुन्छ -- हामी धेरै बोल्छौं, सोध्छौं, जवाफ दिन्छौं, नयाँ कुराको खोजतलाश गर्छौं। उहाँहरु नभएको बेला घर घरजस्तै हुन्छ -- हामी कम बोल्छौं, धेरै सुन्छौं, महसूस गर्छौं र सम्झनालाई खोतलखातल पारेर पुराना दिनहरु बाँच्छौं। र घरभरि एकतमासको कंचन स्त्रीत्व छाएजस्तो हुन्छ।

म निनीलाई गएर भेट्छु। म जितेको बेला मसँग बोल्न समयै नहुने तर म हारेको बेला मेरो लागि समयको सीमै नहुने निनी आज पनि व्यस्त हुनुहुन्छ -- काठ्माडौंका शिशुहरुको जन्मकरण गर्न, काठ्माडौंका अजात मृतकहरुको काजक्रिया गर्न -- जसलाई पर सारेर उहाँ म हारेको बेला मलाई जित्न सिकाउनुहुन्थ्यो -- "मल्लिका, तिमी छोरीमान्छे हौ; जबसम्म तिमी संसारसँग लड्छौ, तबसम्म हारिरहन्छौ। आफूलाई यी स-साना झडपहरुभन्दा भिन्न गराउ। अनि तिमी देख्नेछौ कसरी तिम्रो दृष्टि पर सीमान्तबाट सर्दासर्दै केन्द्रको ह्र्दयभित्र आएर विराजमान हुनेछ।" उहाँले यसो भन्नुभएको दिन एउटा पारिलो तर धूलाम्मे बिहानी थियो। त्यसपछिका वर्षहरुमा म जतिपल्ट निनीलाई भेट्छु, त्यही पारिलो तर धूलाम्मे बिहानीलाई जिउँछु।

त्यसपछि साथीहरु भेटिन्छन्। पुराना, जीवनका ठूला-साना मोडहरुमा सँगसँगै हिंडेका साथीहरु। नयाँ भए पनि पुराना जस्तै लाग्ने साथीहरु।  उनीहरुसँग बस्दा म छिट्छिटो बोल्छु र धेरै सुन्छु किनभने उनीहरुको जीवन मेरो भन्दा धेरै रफ्तारमा हिंडेजस्तो लाग्छ। नयाँ केटाकेटीहरु जन्मिएछन्; भएका केटाकेटीहरु पिपलजस्तै हलक्क बढेछन्; ब्यापारहरुले कोल्टे फेरेछन्; घरहरुमा तल्ला थपिएछन् -- कति आनन्ददायक, कति प्रेरणादायक! जीवनको सुन्दरता उनीहरुका संसारमा कति ढकमक्क फूलेको छ।

अनि एक दिन हतारिंदै, अनकनाउँदै म मामाघर अजिकोमा पुग्छु। अजि पन्चानब्बे काटेर छयानब्बे लाग्नुभएको छ। मसँग भएका सम्पूर्ण समयहरु अब उहाँकै पोल्टामा हालिदिन पाएपनि हुन्थ्योजस्तो लाग्छ मलाई। यद्यपि उहाँसँग बिताएका छोटा पलहरुमा पनि बेला-बेला आँसु थाम्न नसकेर म गर्‍हुँगो हुन्छु। मलाई अरु महत्वपूर्ण काम भएको बेला उहाँसँग बस्न मन पर्दैन किनभने उहाँसँग बसेको बेला मलाई अरु केहीको बारेमा पनि सोच्न मन पर्दैन। सखारै ताराहरु अलप नहुँदै म उहाँको ढोका घच्घच्याउँछु। उहाँ उठेर तम्तयार डसनामा पलेटी मारेर बस्नुभएको छ -- मानौं उहाँको पलेँटीले नै मलाई सम्मोहित डोर्‍याएर ल्याएको हो। अजिको अनुहार उही प्रेमको दियोले धपक्क, उही दुखसुखका अनुभवले कच्याककुचुक्क। उहाँ पुराना लुगा फरिया मात्र लाउनुहुन्छ आजकल; मानौं पुरानो जीवन उहाँमा ओजले फूलेको छ, फलेको छ। गएसाल म आउँदा उहाँले आजभोलिका ठूल्ठूला कुरा बिर्सीसक्नुभएथ्यो तर हिजोअस्तिका सस्याना कुराका चप्पा-चप्पा सम्झिनुभएथ्यो। म उहाँलाई उहाँको सोर्‍हसालका पूजाआजा-बर्तबिज्ञानका कुराहरु सोध्थें; उहाँ मलाई पूजाविधि बताउनुहुन्थ्यो। म दशकौंपहिला बित्नुभएका हजूरबाका कुरा सोध्थें; उहाँ हजूरबाको ल्हासा बसाइका कुरा, र त्यो बेलाआफूले बर्षौं काठ्माडौंमै कुरेको कुरा सुनाउनुहुन्थ्यो, सहनशीला बुहारी भएरभन्दा पनि सघन प्रेमिका भएर। गए बर्खा म आउँदा उहाँका स्मरणहरु अलिकति धमिलिएछन् । उहाँलाइ मलाई चिन्न अलिबेर लाग्यो, तर उहाँको हेराइमा उही मायालुपन थियो, बोलीमा उही मप्रतिको पीरको लचकता।

यो पालि वर्खाको झरीसँगै उहाँका नानी र श्रवणजाली धमिलिएछन्। म उहाँको डसनासँगै पलेंटी कसेर बसें र उहाँको सन्चो-विसन्चो सोधें, उहाँले बताउनुभयो। तर स्मरणले उहाँलाई धोका दिइरहेको थियो। उहाँ आँखा गढेर मलाई नजीकबाट हेर्नुहुन्थ्यो, तर मेरो अनुहार ठम्याउन सक्नुहुन्नथ्यो। मेरो स्वरका शब्दहरुलाई ठम्याउनुहुन्थ्यो तर आवाजलाई हैन। उहाँ जपमाला घुमाउनुहुन्थ्यो तर मलाई सानो बेला जप सिकाएको, विदेश जानअघि प्रज्ञापारमिताको पाठ गर्न कर गरेको उहाँले बिर्सनुभएछ। मलाई कर गरेर फरियाको कुर्ता सिलाउन लगाउनुभएको पनि बिर्सनुभएछ। तर यी सबै विर्सेर पनि उहाँभित्र कुनै केही सम्झना अझै यथावत् थियो। उहाँका द्रिष्टि, श्रवण, हातखुट्टा र स्मरणले उहाँलाई धोका दिइरहेको थियो तर अन्तस्करणले हैन।  यी सबै सीमाहरुभन्दा भिन्न कुनै कतै नामै नभएको सतहमा उहाँ र म उभिइरहेथ्यौं - एक अर्कामा आबद्द र समर्पित। उहाँ मलाई आफ्ना कुराहरु सुनाइरहनुभयो। मलाई चिन्नुभएन र पनि हामीबीच एक किसिमको एकरुपता गहिरिरह्यो। शायद यिनै आखिरी आयामहरुमा प्रकट हुन्छन् हाम्रा जीवनविन्दुहरु, जुन विन्दुहरुका खोजमा हामी जीवनभरि भौंतारिन्छौं।

अजि र म कौसीमा गएर बस्यौं। आकाश फाटेर गाढा नीलो भएथ्यो, घाम छिप्पिएर सुनौलो न्यानो। छेउछाउका घरहरु भीडभाड छिचलेर लामबद्द र अनुशासित। रुखहरु पालुवा लागेर हरिया। ढुंगेधारा सुसाइरहेथ्यो, हावा सर्सराइरहेथ्यो, अजि बोलिरहनुभयो, म सुनिरहें। जसरी झण्डै एक शताब्दी गुज्र्यो, त्यसैगरी यी अनमोल पलहरु पनि हामीलाई विदा गर्दै एकएक विलय भइरहे।

मलाई जानु थियो। म उठेर भर्‍याङ् ओर्लें। अजि उठेर कौसीको ढोकामा ठिङ्ग उभिनुभयो। भर्‍याङ्गमाथि ढोकाको दलानमा अजिको शरीर एउटा अमर्त्य स्तम्भ भएर घरलाई सहारा दिइरहेजस्तो देखिन्थ्यो। उहाँको पछाडि घाम उदाइरहेथ्यो, उहाँको अगाडि छायाँ। उहाँका तेजिला आँखामा पन्चानब्बे वर्षको इतिहास थियो, मेरा कमजोर हेराइमा पचास वर्षको भविष्य। उहाँ ढोकामा ढोकै भएर उभिइरहनुभह्यो जसभित्र छिरेर घाम शीतल छायाँमा परिणत भइरहेथ्यो, चीसो हावा न्यानोपनमा, अनि बाहिरको संसार भित्री घरमा। म दैलो ढप्क्याएर भविष्यतर्फ बढिरहेथें,मानौं यो कुनै रिले दौड हो -- उहाँको ज्योतिलाई मैले निभ्न नदिइ अर्को पात्रको हातमा सुम्पनु छ। जीवन ज्योतिसँगै बलिरहेछ, मृत्यूपनि त्यसको छायाँसँगसँगै सर्दै सर्दै गइरहेछ। कहाँ सकिन्छ ज्योति र छायाँलाई अलग्याउन?  मैले भर्‍याङ्ग ओर्लेर अर्को ढोका बन्नुछ जहाँबाट घाम छिरेर फेरि छायाँ होस्, चीसो हावा छिरेर न्यानोपन र संसार छिरेर घर। हामी ढोकाको जीवन बाँचिरहेछौं निमित्त भएर; र ढोकाको जीवन साटिरहेछौं सप्रेम सविश्वास।

घर आउँदा आजकल मलाई यस्तै लाग्छ।

 

Comments

netra atom

Mallika ha power to present place, time and feelings in her memorire. Her prose is lucid and impressing. Keep it up.

Mohan Khadka

dherai ramro lagyo

मल्लिका शाक्य

सुस्मिता, तिम्रो मेसेज पाएर मलाई एकदम खुशी लाग्यो । मैले भर्खरै मात्र नेपाली टाइप गर्न सिकेर यो पुरानो लेख टाइप् गरेथें। अब हौसला पाएपछि त झन् अझै लेखुँला। उता सबैलाई मेरो माया, है त।

सुस्मिता नेपाल

       मल्लिका मैले तिमीले लेखेकी संस्मरण पढेँ।साह्रै आनन्द लाग्यो। एकछिन् त तिमीसँगै भएको महसुस पनि भयो। तिमीले लेख्‍न नछाड्नु है।                         

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |