हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

खप्तड ! तिमीलाई सन्चै छ ?,(कृष्ण प्रसाई)

खप्तड ! तिमीलाई सम्झनेबित्तिकै जहिले  पनि मस्तिष्कका कोषहरुमा सम्झनाका तरेलीहरु बयली खेल्न आउँछन् । तिम्रो सुकोमल स्पर्शको ताजा र न्यानो अनुभूतिले भावनाका अदृश्य रेषाहरु असङ्ख्य तरङ्गहरु र अनन्त उमङ्गहरु मनभरिभरि मुटुभरिभरि र सम्झने शक्तिभरिभरि जाग्राम भएर मडारिन थाल्छन् । म कसरी तिम्रो वर्णन गर्न खोजिरहेछु अनि कसरी तिम्रो सौन्दर्यको अक्षरी अनुकरण गर्न लागिरहेको छु तिमीलाई मेरा पङ्क्तिहरुसँग तादात्म्य हुनुपर्दा अचम्म लाग्ला तर पनि मेरा साना आँखाहरुले तिमीलाई जुन रुपमा त्यो बाह्र हजार फिटमाथिको डाँडामा आफ्ना समस्त शरीरका अङ्गहरु छरेर जसरी मुस्कुराउँदै पट्टा खेलिरहेको र प्रकृतिको अनुपम भू-स्वर्गभित्र नाचिरहेको देखेँ त्यो मेरा लागि कम गर्वपूर्ण साबित भएको छैन ।

मैले तिमीलाई पाउन एउटा कठिन दुःख झेल्नुपरेको थियो । एउटा अकल्पनीय यात्रामा आफूलाई हिँडाउनुपरेको थियो र अनेकौँ नागबेली बाटाहरु छिचोल्नुपरेको थियो । जीवनमा मैले धेरै उकालाहरु चढेको छु । धेरै बाटाहरु काटेको छु र सहस्र गल्छेडाहरु टेकेर आफ्नो गन्तव्यमा पुगेको पनि छु । हो, मैले बूढीमोरङ पुग्न लाबरबोटेबाट चढ्ने धारापानीको धनकुटे उकालो उक्लिएको छु । ताप्लेजुङको राँकेभीर नाघेको छु । अनि लालीखर्क र चिउरीबासका उकालाहरु पनि काटेको छु । भारपाको उराठिलो उकालो, च्याल्साको चिसो उकालो, सोलुबाट ओखलढुङ्गा पुग्दा उक्लिनुपर्ने पत्तालेको पातलो उकालोसहित रुम्जाटारेली ठाडे र टोड्केका उकालाहरुलगायत लामटाङ लमजुङ प्युठान र बैतडीका अनगन्ती उकालाहरु पनि चाहारेको छु । त्यतिमात्र होइन सिक्किमेली प्रवासभूमिका कितामे उकालाहरु, नाम्चीका ननिका उकालाहरु अनि रातमाटे र जोरथाङका जोखिमपूर्ण उकालाहरु हुँदै बदमताम भएर बेनेकवने भिरालाहरुको समेत मैले फड्को मारेको छु ।

सुनेको थिएँ रोल्पाली र मुस्ताङे उकालाहरु विकट र डरलाग्दा छन् । पढेको थिएँ घनघस्याको उकालो अति नै राक्षसी र मान्छे खाने खालको छ तर मैले भोगेका देखेका सुनेका र पढेका उकालाहरु त झिङ्ग्रानाको उकालोका अगाडि त्यसैत्यसै अदृश्य भएर हराउने र बिलाउनेजस्ता पो लागे । डोटीबाट बगलेख हुँदै तिमीलाई भेट्न आउने जोसुकै पदयात्रीले पनि झिङ्ग्रानाको उकालो नचढीकन, नउक्लीकन र नछिचोलीकन कसैगरी सुख छैन । आफ्नो नाकलाई आधा दिन पहाडी बुट्यान र आकासे भीरसित ठोकाएर बाटोविहीन बाटो पहिल्याउँदै हिँड्नुपर्दा जुन सास्ती र थकान जीवनमा भेटिएको हुन्छ त्यो बिरलै अरुथोकबाट पाइने गरिन्छ । यस्तो उकालो काटेर निगालोघारीसहित जङ्गलका नागबेली तरेलीहरु हुँदै दिनभरजसो स-साना उकाला-ओराला काटेर यात्रा गरेपछि सर्वप्रथम हामी तिमीलाई पाउन सफल भएका थियौँ । दिनभरको यात्रामा त्यतिखेर तिमीले पालेका मात लाग्ने झारहरु नागफनीका जस्ता फणा उठाएका स-साना माने जातका बिरुवाहरु र विभिन्न किसिमले फुल्ने विषालु झारहरुले आक्रान्त पारेका मेरा स्नायु र सुषुप्त भएका अरु अङ्गहरुका सम्पूर्ण थकानहरु त्यसैबेला मैले बिर्सन पुगेको थिएँ जब मैले तिमीलाई टाढैबाट हाँसिरहेको देखेँ ।

ओहो ! म कल्पनासमेत गर्न सक्दिनँ । कठिन बाटाहरु पार गरेर माथिपट्टिको रातमाटे जङ्गल चाहार्दै सानो खोला काटेर केही क्षण तल ओर्लिएपछि तिम्रो उज्यालो पाएको मेरो मनले अद्वितीय र अनुपम अनुभूति समेट्न पुगेको थियो । मेरा सहयात्रीहरुले हेर्दाहेर्दै म तिम्रो दुबैदुबो भएको एउटा चुचुरे छातीमा लडेर एकचोटि रमाइलोमा मात्तिएको थिएँ । त्यतिखेर छ्याङ्ग उघ्रेको आकाशले आफूमा सेतो चन्द्रमा ओढेको थियो । जून समीपमा आएझैँ भान परेको थियो मलाई । म अझै खुलेर भन्न सकिरहेको छैन त्यसपछि मैले आफ्ना सम्मुखमा के कस्ता चुचुराहरु देखेँ कति लचकदार भुइँहरुमा खेलेँ अनि कसरी यी आँखाहरुलाई सम्मोहनको टुनाले भर्ने तिमीभित्रका दृश्यहरुसँग अङ्कमाल गरेँ भनेर !
 
मलाई अहिले पनि सम्झना छ त्यति माथिको उचाइमा बग्ने ती तीन-तीन खोलाको मिलनथलो त्रिवेणीमा हामीहरुले हातखुट्टा थर्थराउँदै कमाएर नुहाएका थियौँ । यति अग्लो ठाउँमा नदीको दर्शन पाएको र त्यसैमा डुबुल्की मारेर पवित्र भएको मेरो जीवनले प्राथमिक अनुभवहरु बटुलिरहेको थियो । त्यसैदिन हुनसक्छ त्यति धेरै सङ्ख्यामा घोडाका बथानहरु एकछत्र भएर वरपर देखिने थुम्का र पाटनहरुभरि चरिरहेका देखिन्थे । त्यस्तो संयोग पनि मेरो जीवनमा पहिलोपटक नै समेटिएको थियो ।

प्रिय खप्तड ! तिमीले कसरी त्यति धेरै पाटन र तालहरु आफ्नो गर्भमा पालेर हुर्काउन सक्यौ हँ ? अनि कसरी पाटनैभरि पत्याईनसक्नु पाराले रङ्गीबिरङ्गी फुल्ने सहस्र स-साना पुतली फूलहरुलाई फुलाउन सक्यौ ? त्यतिमात्र होइन आँखाले भ्याउन्जेल देखिने पाटने चुचुरा र मैदाने पाटाभरि त्यस्तो अद्वितीय दुबोको खेती भर्न सक्यौ मलाई तिम्रो जाँगरिलो पौरखलाई देख्दा सारै अचम्म लागिरहेको छ ।

हो यी सबै मेरा जीवनका पहिला अनुभवहरु नै थिए । नौरङ्गी डाँफेका त्यति धेरैको सङ्ख्याले तिम्रो शोभा भर्ने जोडीका जोडी बथानहरु पनि मैले तिम्रै पिठ्युँको जङ्गलमा देख्न पाएँ । त्यति धेरै चराका सन्ततिहरुको लहर मेरो जीवनले तिमीभित्रै छिपेको देखें । अनि त्यति अग्लाइको नीलो दह तिम्रै आँखाको शान्त र गम्भीर मुद्रामा अल्झिएर सुतिरहेको भेटेँ र त्यति राम्ररी सृष्टिको सुन्दरता समाएर चुलिएका चुचुराहरु लहर मिलाएर मस्त मग्मगाएको पनि तिम्रै छातीमा भेटेँ ।

खप्तड ! तिम्रो अनुहारको मलाई भ्रम परेको छैन भने प्रत्येक बिहानको सूर्य उदाउँदा देखिने तिम्रो वक्षस्थलझैँ उठेका अनगन्ती फूलबुट्टे चुचुराहरुको सौन्दर्यमा एउटा वयस्क रोगन छिपेको मैले महसूस गरेको थिएँ । त्यही रोगनलाई मध्याह्नको सूर्यले काँचुली फेर्दा छुट्टै अर्को रौनक भरिने गरेको थियो । अनि बुढ्यौली लागेको सूर्यको कमजोर प्रकाशले त्यसमा स्पर्श लिँदा भिन्दै खालको अस्ताउँदो लालिमामा तिमी नाचेकाथियौ । मलाई सोध्न मन लागेको छ तिमीलाई त्यतिखेर तिमीले मेरा आँखाहरुलाई कस्तो मोहनी मन्त्रको जादूले तीनतीन दृश्य र रङहरुमा कसेका थियौ भनेर । मलाई प्रश्न गर्न मन लागेको छ तिमीलाई त्यति राम्रा गलैँचे झारहरुको लचकदार मुलायम तन्ना आफूमा बिछ्याएर तिमीले कुन भू-स्वर्गलाई हँसिलो आसनमा विराजमान गराएका छौ भनेर ।

तिमीलाई थाहा हुनुपर्छ हाम्रो त्यो चार दिनको बसाइमा तिमीले पाहुना सम्झेर त्यति धेरै खुसी बाँडेका थियौ जुन खुसी मैले अहिलेसम्म चाहारेका कुनै भूतलमा पाएको थिइनँ । कस्तो अकल्पनीय रहेछौ तिमी त्यही बसाइमा त हो मैले दिनहुँजस्तो तिम्रा नरम चुलीहरुमा खेल्नसम्म लडीबुडी खेलेको थिएँ । तिमीलाई लोभ लागेर तिम्रा पाएजति अङ्गप्रत्यङ्गहरुका लुकीछिपी तस्बीरहरु उतारेको थिएँ र छेउछाउको वनजङ्गलले घेरिएको छुट्टै माथिका सल्ला र धुपीका डाँडाहरुमा अचूक सम्मोहनका आँखाबाट सुकुमार दृष्टिहरु फ्याँकेर अजस्र आस्वादन चाखेको थिएँ । कस्तो विलक्षण गरिमा थामेर झुन्डिएका रहेछौ तिमी त ! मैले मनमनै तिमीभित्रको छटालाई ईष्र्या र डाहाहरुमा अनुवाद गरेको थिएँ ।
हो तिमीले त्रिवेणीजस्ता हिमनदीका वरदानहरु पालेका छौ केदारढुङ्गा र सहस्रलिङ्गजस्ता महिमाहरु संरक्षित राखेका छौ अनि तालैताल र पाटनैपाटनको परेड तेस्र्याएर अतुलनीय आभा छरेका छौ । त्यस्तै तिमीले खप्तडस्वामीजस्ता ओजस्वी महात्मालाई थामेर गर्व गर्दै हुर्काएका खेलाएका र आसनमा जमाएका छौ । तिमीभित्रको पुण्यभूमिलाई तपोभूमिलाई र देवभूमिलाई भेट्दा म गौरवान्वित भएको छु । हर्षले फुलेल भएको छु र सुन्दर सरोवरहरुको परम पारखी भएको छु । ममात्रै होइन रहेछु मैले सुनेँ तिमीलाई आफ्नो अधीनमा कस्ने जमर्काहरु गरेर आज तिमीभन्दा उत्तरको बझाङ तिमीछेउकै डोटी तिमीदक्षिणको अछाम र पूर्वतिर लम्पसार परेर तेर्सिएको बाजुरा अझै पनि पौँठेजोरी खेलिरहेका छन् रे । तिमीलाई आफ्नो भन्न पाउँदा आनन्दले अतिरन्जित हुने उनीहरु तिमीलाई आफूभित्र गाभ्ने सुरले उत्तिकै लगनशील भएर जोरजुलुमले जुटेका छन् रे ।

हो खप्तड ! नढाँटी भन्नुपर्छ तिमीभित्र पसेपछि मैले प्राचीन र युगीन आर्यसंस्कृतिको साङ्गोपाङ्गो नमुनाका झाँकीहरु देखेको थिएँ । स्वच्छन्द विचरण गर्ने जङ्गली जनावरहरुले मान्छेको कुनै बिगार नगरेको सुनेको थिएँ । त्यतिमात्रै होइन रोगाएका भोकाएका र हाडछालामात्र लिएर तिम्रो शरणमा पुगेका घरेलु जनावरहरु पनि छोटो समयमै तङ्गि्रएर मान्छेको सेवामा जुट्ने गरेको बुझेको थिएँ । कस्तो अदृश्य औषधिमा अमरत्व अन्मिएको अचूक उपचार छ हँ तिमीमा मैले त मान्छेले पनि तिम्रो संसर्गमा गएर आफ्नो आयु लम्ब्याएको भेटेँ अनि रोगीहरु गोठालाहरु र भरियाहरु पनि तिमीभित्र मन खोलेर सधैँ हाँसी नै रहेका पो देखेँ । हो तिमीभित्र सहस्र तालहरु छन् समग्र पाटने फाँटहरु छन् र युगौँदेखि आफ्नो राष्ट्रियता फुलाउँदै लाम लागेर लस्करै लालिमा भरिरहेका लालीगुराँसका अनेकरङ्गी फूलहरु छन् । सहस्रलिङ्गको डाँडाबाट वरिपरि हेर्दा जीवन्त र जाज्वल्यमान भएर पट्टा खेलिरहेका देखिने हिमगिरिका प्राकृतिक सौन्दर्यको शाश्वत सगुनलाई स्वर्गको साँध नभनेर के भन्ने त यहाँ बास्ने गरेका प्रत्येक बिहानीले आफ्नो प्रत्येक आगमनमा नौला-नौला छटाका शुभ साइतहरु अर्पेर धर्तीलाई अन्माएका हुन्छन् ।

मैले सुनें यसैपटकको हिउँदले तिमीमा सात-सात फिटसम्म हिउँ जमाएको थियो रे । झन्डै चालीस वर्षयता यसरी नराम्रोसँग चिसिनुपर्दा तिम्रो सौन्दर्यले निकै सास्ती पाएको थियो रे । यस्तै भए पनि बर्षेनी दशहरा बोलाएर हुनसम्म रमाइलो गर्न मनलाग्दोरहेछ तिमीलाई । त्रिवेणीमन्दिरको छेउछाउ मेला लगाएर त्यसैबेला अनेकौँ यात्रुहरुको ओइरो हिँडाउन मन लाग्दोरहेछ तिमीलाई । अनि धर्ममा बग्न मन जाग्दोरहेछ तिमीलाई । कस्ता रसिला धार्मिक सांस्कृतिक र आँचलिक पर्वहरुले बाँधेका रहेछन् तिमीलाई त ! यसैले होला मलाई तिम्रो ओज र आदर्शले अझै पनि अविरलरुपले उन्मुख गराएको गरायै छ ।

त्यसैले होला खप्तड ! अझै पनि तिमी सम्झना बनेर मभित्र बारम्बार आई नै रहन्छौ । तिमीलाई सम्झनेबित्तिकै म तिम्रो दर्शनार्थ आफूले काट्नुपरेको झिङ्ग्रानाको कष्ट सम्झन्छु । तर त्यो कष्ट तिमीलाई देख्नेबित्तिकै निरर्थक साबित भएको थियो । अनि उकालो काटिरहेका बेला खुई काढेर हिँड्ने एउटा बाजुराली भूतपूर्व भारतीय सैनिक पदयात्रुलाई सम्झन्छु जसले आफ्नो चार-पाँच वर्षे छोरालाई दिल्लीको उपचार सकेर मृत्यु कुराउन त्यही बाटो हुँदै आफ्नो काँधमा हालेर उकालो चढाइरहेका थिए । त्यति सानैमा अर्बुदरोगले समातेर टाउको र आँखाभरि पट्टी बाँधिए पनि ऊ हाँसेर रोटीको टुक्रा चपाइरहेको थियो । त्यतिमात्र होइन खप्तडस्वामीको दर्शन गर्न ठूलो विश्वास र आस्था बोकेर लौरो टेक्दै हिँड्ने दुई कोरी वर्षहरु सँगै पार गरिसकेका मिलनसार बन्दी दम्पतीको पनि मलाई त्यति नै झझल्को आउनेगर्छ । बिसर्ीनसक्ने हिसाबले माया गर्ने मृदुभाषी खप्तडस्वामीसँग बिताएका चार दिनका बाह्र घण्टाजति समयको झन् धेरै सम्झना बनेर आएका छन् जुन अपूर्व समयको सम्मुखमा जीवनमा पाइनसक्ने दर्शन ज्ञान र अध्यात्मको गतिलो अध्याय सुरु गर्ने आत्मबल बोकेर म पूर्व्रतिर बेगिएको थिएँ ।
 
खप्तड ! मलाई यतिखेर तिम्रो सम्झनाले असाध्य नियास्रो लागेको छ ।

के तिमीलाई सन्चै छ ?

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |