हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

"दुई हरफ" का लागि दुई शव्द,(भीष्मराज ढुंगेल)

 
 
स्याङ्जाली-पोखरेली साहित्य सर्जकहरुको फाँटमा फुल्दै गरेका 'चमेली' हुन्-दुर्गावहादुर शाह 'वावा'  । यो परिचित नामको कलमबाट कृतिहरु क्रमशः प्रकाशित भइरहेका छन् । ती मध्येको एउटा हो - 'दुई हरफ' जसमा शाहजीका अनुभव र अनुभूतिहरुको प्रकटीकरण कवितात्मक रुपमा भएको छ ।
 
भनिन्छ भावनाको लयात्मक प्रस्तुति भएको भाषिक कृत्ति नै कविता हो । यो गद्य वा पद्यमा लेखिन्छ । कवितामा मानव जिवनका उकाली ओराली भित्रका सुसेली र सुस्केराहरुका साथै हृदयमा गुम्सेर रहेका भावना र कल्पनाहरु पनि प्रतिविम्वित हुन्छन् ।
 
आफ्ना मनका भावनाहरुलाई कवितात्मक रुप दिइएको कृत्ति हो - 'दुइ हरफ' यी कविताहरु गद्यमा छन् र यस कृत्तिमा प्रायः लघु आकारका कविता नै छन् । आफ्ना अनुभव र अनुभूतिहरुलाई कविले ज्यादै सरल भाषामा पस्केका छन् । ५३ वटा कविताहरुमा कुनै आभ्यासिक जस्तो लाग्ने, कुनै ठिकै खालका र कुनै परिष्कृत भाषाशैलीमा प्रस्तुत भएका छन् । अविधात्मक अर्थमा प्रकटित कविताहरु भन्दा प्रतीकात्मकरुपमा आएका कविताहरु बढी मार्मिक हुन सक्छन् । गाली गरिएका र सोझै लेखिएका कविताहरु नारा र भाषणजस्ता मात्रै लाग्ने भएकाले कवि यसबाट अलग्गिदै प्रतीकात्मक बनाउन साधनारत रहेका देखिन्छन् ।
 
यस कृत्तिमा कविले सवैजसो उमेर समूह र स्तरका मानिसले बुझ्ने गरी विभिन्न भाव भुमिमा कविताहरुलाई लिपिवद्ध गरेका छन् । 'आमाको माया' मार्फत राष्ट्र प्रेम र कुनै स्थानको चर्चा मार्फत प्रकृतिप्रेम प्रकट भएका छन् । यसर्थ देशप्रेम र प्रकृतिप्रेमलाई हृदयमा सजाउँदै समाज सुधारको चाहना राखेका छन् कविले ।
 
यस भित्रका केही भावहरुलाई नियाल्दा ……………
 
१) सुगमको हाँसो के हाँसो
     हिमाल पारिको जिल्लामा
     वसेर हाँस्न सकेपो हाँसो
     (हाँस्न सिके यहाँ शीर्षकबाट)
 
२) मनले बाँधेको साङ्ला
     नरम हुन्छ
    मन हुन्छ
    दिगो हुन्छ
    त्यही भएर
    साङ्लाले बाँध्दै नबाँध
   (मनले बाँध ……बाट)
 
३) मेरो आश्रयस्थल
     विश्राम स्थल
     मेरो अस्तु
    यही सेलाउनु छ ।
    (मेरी आमा मेरो मातृभूमिबाट)
 
४) धनी गरिब
     बाल वच्चा
     बुढा बुढी
     सबैलाई आफ्नै फैसलामा लगी छोड्छ
     धन्य यमराज
    (धन्य यमराजबाट)
 
यस कृत्तिमा प्रकाशित भएका कविताहरु गद्यात्मक छन् र प्रायः एकै खालका छन् तर प्रकृत्तिप्रेम देशप्रेम र मानवतालाई हृदयमा सजाउँदै समाज सुधारको चाहनाको चौबाटो बन्न खोजेको यो कृत्ति । भाषा ज्यादै सरल भएकाले यसमा सम्प्रेषणीयता भने बढी नै छ । लेखक आफु वित्तीय क्षेत्रका कर्मचारी पनि भएकाले सोझै गाली गलोजको भाषा प्रयोग नगरी आफ्नो पदीय मर्यादालाई कायम राखेका छन् ।
 
पुस्तक हतार हतारमा छापिएर होला यसमा वर्ण विन्यासको ख्याल कम मात्रामा गरिएको छ । शुद्धाशुद्धि नमिल्दा कताकति खल्लो लागे पनि कवितामा प्रयुक्त भावनाले त्यसलाई बिर्साई दिन्छ । यस कृत्तिमा प्रकाशकीयका साथै प्रकाश सायमीका भावनाहरु छन् । अन्तिम भागतिर कविको यस भन्दा अघिको कृत्ति 'समयले कोरेका रेखाहरु'को बारेमा विभिन्न व्यक्तिका समीक्षाहरुपनि प्रकाशित छन् । 'गजल यात्रा साथी समूह पोखरा' र 'सुभारम्भ काठमाण्डौं' प्रकाशक रहेको यस कृत्तिको भित्रि पानाहरु राम्रा र बाहिरी गाता आकर्षक छन् । पुस्तकको मूल्य रु। १००।- परिवर्तित समय अनुसार ठिकै मान्नु पर्छ ।
 
कविका कलमबाट आगामी दिनहरुमा नेपाली जनजीवनका ढुकढुकी र यथार्थताको उद्घाटन अझै कलात्मकरुपमा प्रकट हुनेछ भन्ने आशा गर्न सकिन्छ ।
 
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |