हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पहाडहरु पहाडजस्तै हुन्,(प्रकाश सायमी)

 

यसपालि फोनमै एउटा यात्रा तय भयो । साहित्यिक यात्राको । फोन गर्ने मित्र कवि भूपिन व्याकुल थिए भने स्वीकृति लिने मित्र थिए सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहन प्रधान । जो कुशल गायक सँगीतकार पनि हुन् र साह्रै असल मित्र पनि । चित्तवनमा मैले कमाएको सम्पत्ति । फोनमा कथोपकथन भए लगत्तै मैले बुद्ध एयरको टिकट सुनिश्चित गरेँ शुक्रवारका निम्ति । शुक्रवार मेरा निम्ति प्रिय दिन हो । शुक्रवार गिरिजाप्रसादले जति खतरानाक भनेपनि विश्वका निम्ति यो यादगार दिन हो । थाहा छैन पूर्वप्रधानमन्त्री गिरिजाप्रसादजीलाई शुक्रवार किन त्यस्तो लाग्छ । मान्छे त यति सम्म भन्छन् 'थ्यांक्स गड् इट इज् फ्राइडे ।' नेपालको एउटा भारतीय लगानीको छापाले त यही शीर्षकमा अतिरिक्ताङ्क नै प्रकाशित गर्नेगर्छ ।

शुक्रवार म हिँडे । सिनर्जी एफएमको आठौँ बार्षिकौत्सवको पहिलो दिन भरतपुरबाट हामी बाइसजना कवि-लेखक छापा र विद्युतीय साचारमाध्यमका मसिजीवी मिलेर करीब दुई घण्टाको बसयात्रा अनि त्यसपछिको चार घण्टाको पैदल यात्राको उकालो चढ्यौँ । उकालो त उकालो नै थियो नाक ठोकिने र चाक चिप्लिने उकालो । यो यात्राभरि मैले रमेश बिकलको सात सूर्य एक फन्को कैँयौ फन्को कैँयौ रन्कोमा सम्झेँ । यात्रा कष्टकर त थियो नै स्मृतिकर र मधुर पनि रह्यो विभिन्न कारणले । हिँड्दा हिँड्दै थाकेर कैयन् पटक धनराज गिरी र इन्द्र रेग्मी छुट्नुहुन्थ्यो । कवि सरिता तिवारी साम्ब ढकाल सुवास अधिकारी र म धेरै बेर सँगै र साथै नै रह्यौँ । पिपल डाँडा पुगेपछि हामी धेरैजना थाक्यौँ । धेरै साथीले ग्लुकोज पानीको प्रयोग त्यहीँ पुगेर गरे । मलाई काठमाण्डूबाट हिँड्नुअगि आयोजक सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहन प्रधानले बारम्बार दाइ उकालो निकै गाह्रो छ बस्ने ठाउँ अलि चिसो र अव्यवस्थित छ भन्दा पनि मैले 'नाइँ वा सक्तिन' भन्न चाहिनँ । किनकि मलाई पूर्वसिनर्जीयन बासुदेव मरहट्टाको विशेष आग्रह सदैव रह्यो 'दाइ हजुर जसरी पनि सिनर्जीको कार्यक्रममा जानुपर्छ ।' त्यसैगरि अहिलेका चर्चित कवि तथा संयोजक भूपिन व्याकुलको विशेष स्नेहादर नै रह्यो । काठमाण्डूबाट बुद्ध एयरको उडान तालिका ढिलो हुँदा म भरतपुर ओर्लिन करीब डेढ घण्टा ढिलो भएकोथिएँ । मेरो ढिलाईले गर्दा मित्रहरु आत्तिएका थिए नै । म पनि त्यत्तिकै आत्तिएको थिएँ । भरतपुर विमानस्थलमा मलाई लिन आएका संचारकर्मी प्रवेशकिरण अधिकारीले त्यति ढिलो नभएको भने पनि ढिलो चैँ भइसकेको बुझियो ।

शक्तिखोरबाट हामी हिँड्दा फेसबुकमा चढाउने भनेर सहनजीले एउटा सामुहिक फोटो खिँच्नु भो । त्यो फोटो छिटै यहीँपनि देख्न पाइएला । शक्तिखोरबाट हामीलाई गोपीनारायणजीले नेतृत्व गर्नुभयो । शक्तिखोरसित म भलिभाँति परिचित थिएँ कारण मेरी जीवन सँगिनी लामोसमय माओवादीका लडाकूको व्यवस्थापनका सिलसिलामा यहाँ बसेकी थिइन् । उनले एकदिन भेरीफिकेशनको काम सकेर यहाँबाट फोन गर्दा गुनासो पनि गरेकी थिइन् 'मैले गरॆको नम्बरमा कल् व्याक् नगर्नू यहाँ माओबादीका साथीहरुले फोन उठाउन सक्छन् ।' उनी चूलाचुलीको शिविर पछि त्यहाँ आइपुगेकी थिइन् । त्यो सम्झना फेरी एकपटक दोहोरियो । बसमा पोषराज पौडेल र इन्द्र रेग्मी त्यस शिविरका वारेमा चर्चा गर्दै थिए ।

बाटोमा म बब डायलन्को आत्मकथा पनि पढ्दै र हिँड्दै थिएँ । बसमा यस पुस्तकका वारे संचारकर्मी एवम् कवि मित्र भूपिन व्याकुलसित आत्मीय चर्चा पनि भइसकेको थियो । बब डायलनका वारेमा म पोखरा छँदा कवि भाइ रोशन शेरचनले अन्नपूर्णा एफएममा आउँदा मलाई सोध्नु भएको थियो "दाइ यिनले गाएको गीतलाई कस्तो गीत भन्ने प्रश्नमा म अल्मलिएको थिएँ । भाइ रोशनलाई अति माया गरेर अर्का कवि एवम् संचारकर्मी भाइ अमित रिजालले खूब बोलाइरहन्थे । त्यही स्नेहले रोशन भाइ रेडियो अन्नपूर्णाको प्रिय पात्र बनेको त्यो समय समय थियो । रोशन अचेल काठमाण्डू छन् क्यारे । काठमाण्डू ठूलो शहर हो, मान्छे हराउँछन् यो भीडमा । रोशन भाइसित मेरो पहिलो भेट काठमाण्डूमै भएथ्यो सर्वनामको कार्यालयमा । त्यहाँ भर्खरै प्रकाशित उनको किताब बारे बोल्नु थियो मैले ईश्वरवल्लभले र शायद मंजुलले । कार्यक्रमको आयोजना शशि लुमुम्बूले गरेका थिए । पुस्तकको नाउँ सरुभक्तहरु हुनुपर्छ । म त्यतिवेला भर्खर सिनेमाबाट टाढा र कवितासित नजीक हुन थालेको मध्यान्तर थियो । बब डायलन्को पुस्तक किनेको समय मैले कवि/ गायक मंजुललाई पनि सम्झेँ । र उहाँलाई मैले प्रेमपूर्वक फोन पनि गरेँ तर उहाँले मलाई गुनासोपूर्वक भन्नु भो 'खोइ आजकाल प्रकाश भाइले मलाई माया नै गर्नु हुन्न ।"

त्यो कुरा त्यति नै असत्य थियो जति नेपालमा समयमा सम्बिधान लेखिन्छ भन्ने कुरा असत्य हो । विमानस्थलबाट उड्ने बेला मैले उहाँलाई यो पुस्तक आएको छ भनेर फोन गरेको थिएँ । पुस्तकका वारे मेरो प्रेम उहाँलाई थाहा छ उहाँको प्रेम मलाई थाहा छ त्यसैले म यस्तो बेला पहिलो फोन उहाँलाई सदैव गर्छु । गरेकै छु । त्यो चाहे हिमालय बुक्समा ज्ञानपीठको पुस्तक आउँदा होस् वा एजुकेशनलमा निर्मल बर्माको पुस्तक आउँदा । ती कुनै पनि समय म उहाँलाई फोन गरिरहेकै हुन्छु । तर मैले तपाईहरुजस्तै गीत गाएर हिँड्ने बब डायलन्को पुस्तक आएको छ चैँ मौकामै भनिदिएँ । उहाँले सोधी हाल्नुभो 'उनले आफैँ लेखेको कि अरुले लेखेको ?'
मैले भनें 'यो अटोबायोग्राफी हो आत्मकथा ।'

प्रायः पाठक आत्मकथा र जीवनीमा झुक्किन्छन् । जसरी काठमाण्डू पोस्टकी चर्चित कलमिष्ट कुमारी लामा पनि लामो समय बायोग्राफी र अटोबायोग्राफीमा झुकिन्थिन् उनलाई प्रायः उनका मित्र गायक शैलेश सिंहले सच्याइरहेको हुन्थ्यो । त्यो समयको मलाई एक किसिमले सम्झना आयो सम्झनै जस्तो गरेर । शैलेश नेपालमा राम्रा किताब पढ्ने राम्रा गायक हुन् । शायद उनी अम्बर गुरुङ, गोपाल योन्जन, नारायणगोपाल, योगेश वैद्य पछि पढ्ने रुचि भएका गायकमा गनिन्छन् । उनको बानी अरु गायक कलाकारमा पनि सरोस् भन्ने उनको कामना छ । हालै उनको नयाँ एलबम सन्धि हिटस् एफएमको म्युजिक अवार्डमा बेस्ट अल्बम अफ् दि इयर मा परेको छ । उनलाई पनि बब डायलन्को यो पुस्तक किन्दा सम्झेँ । बब डायलन्को यो पुस्तक क्रोनिकल्स मसित छ भनेर थाहा पाएपछि साचारकर्मी समा थापाले पनि पढ्न मागेकी थिइन् । कान्तिपुरमा समाचार पढ्ने समा यस अगि कालिका एफएमसित आवद्ध थिइन् । समा लगायत अरु पच्चीसजनालाई भाइ हरिशरण लामिछाने र मैले विक्रमाब्द २०५९ को आश्विनमा चित्तवनमा तालिम दिएकाथियौँ । तिनी मेरो त्यो समयकी शिष्या थिइन् । कालिका छोड्न अगि उनले मलाई काठमाण्डूमा आउन धेरै पटक फोन गरिन् । मैले पनि चाहेजस्तो र सकेजस्तो सहयोग गर्छु त भनें तर उनी पछि काठमाण्डू आएपछि भेट सम्म पनि भएन ।

काठमाण्डू ठूलो शहर हो यहाँ मान्छे हराउँछन् । एकजना खेलकूदविद शरद्च्चन्द्र शाह भन्ने गर्थे "काठमाण्डू चाँदीको कचौरा हो, मान्छे यहाँ कमिलाजस्ता छन् ।" यो शहरमा हराउन सक्नुपनि ठूलो कला हो । समा थापा पनि त्यसरी नै हराइन् काठमाण्डू आएपछि । अस्ति उनको विवाह भएछ उनको विवाहको फोटो फेसबुकमा हेरेँ । हाम्रो यो यात्रामा समा थापाको पनि केही क्षण चर्चा चल्यो । उनी चित्तवनकै भएकीले पनि । समालाई एकपटक स्रोता क्लबबाट सम्मानित हुने कार्यक्रम थियो । सम्मान गर्न प्रमुख अतिथिका रुपमा मलाई बोलाइएको थियो । आयोजकले मेरो निम्ति वायुयानको टिकट बुक गर्न नसकेपछि मैले यात्रा यन्त्रवत् रद्द गरेँ । समाले पछि मलाई भनी 'सरले दिने भनेर पो मैले त्यो सम्मान स्वीकारेको । तर सर नआएर बोर भयो । सर किन नआउनु भएको ?' संयोगले त्यो सम्मानमा बासुदेव मरहठाजी पनि सम्मानित हुनु भएको थियो । यो कुरा पनि एकछिन चल्यो । समा भूपिन व्याकुलकी शुभाङ्गिनी ज्योतिकी पनि साथी रहिछिन् । ज्योति हालका दिनमा हाम्रो एफएमसित आवद्ध छिन् त्यो कुरा पनि चल्यो । धेरै कुराका बीच हामी उपरदाँग गढी पुग्यौँ उँभोबाट हिँडॆको करीब चार घन्टा पछि । यो ठाउँको नाउँ कण्ठ पार्न मलाई धेरै गाहारो नै पर्यो उपरखुट्टे दाँग, उपराँगी गढी के के जोडेपछि मात्र मेरो स्मृतिमा यो नाउँ कोरिन सक्यो । माथि पुग्ने टोलीमा पहिलो दल सहन प्रधान, दीपक प्रधान, शेखर प्रधान, चिन्तामणि सिलवाल, लक्ष्मण अधिकारीजी शर्मा लगायत सिनर्जीका साथीहरु थिए भने त्यसपछि मात्र म र कवि विपीन कोइराला पुग्यौँ । पोषराज पौडेलजी र मसितै हिँड्ने शक्तिखोरका स्थानीय वासिन्दा बलबहादुर विकले मेरो ल्यापटप बोकिदिन मलाई करीब पन्ध्र मिनट सघाउनु भो उहाँलाई धन्यवाद स्वरुप केही रकम दिन खोज्दा उहुले मित्रवत् अस्वीकार नै गर्नु भो ।
हामी पुगेको टुप्पोमा गोविन्दराज विनोदी र पोषराजजी आराम गर्न थाल्नु भो । म यो आरामले हराम गर्ला भनेर मलाई लिन आएकी सानी फुच्ची सँगीता परजासित अगि बढेँ । सँगीता कक्षा दुईमा पढ्दिरहिछिन् । उनले बताए अनुसार यहाँ साँझ परेपछि सेतो घोडाले तर्साउने गर्छ रे । सँगीता आफू तर्सेको कुरा सुनाएर बालसुलभ तरिकाले मलाई तर्साउन  खोज्दै थिई । मैले पनि बेला बेलामा तर्सेको आभाष दिएँ उनलाई ।

माथि थाप्लोमा टेक्ने वित्तिक्कै मलाई धनकुटाको सुन्तलेको डाँडाको याद आयो यो ठाउँ त्यो जत्तिकै सुन्दर रहेछ । नुवाकोटको कविलास जस्तै रहेछ । आफ्ना समकालीन पहाडहरुसित रमाइरको यो उत्तरदाँग मेरा निम्ति मनपर्ने पहाड रहेछ मधुर शान्त र स्निग्ध । बोर्खेसका कविताजस्तै । वा जब वी मेटकी नायिकाको सुबोधपनाजस्तै । वा उनले सोही फिल्ममा बोलेको सम्बादजस्तै तिनी भन्ने गर्छिन् मलाई पहाड एकदम मनपर्छ । उनी आफ्ना प्रेमीसित शिमला घुम्न जान मन गर्छिन् । तर हाम्रा पहाडहरु शिमलाजस्तो सुव्यवस्थित छैनन् । म पुगेपछि धारावादी कवि बालकृष्ण थपलिया, संगीत आयाम, शाम्ब ढकाल, सरिता तिवारी, नमूना शर्मा, भावना पाठक, रमेश प्रभात, पोषराज पौडेल आदि पर्नु भो भने । सबभन्दा पछि परेर धनराज गिरीले रेकर्ड बनाउनु भो ।

कति साथीले छिटो पुगेर सूर्यास्त अवलोकन गर्न भ्याए भने कतिले फोटा खिँचेर क्यामेरामा लोड पनि गरिसकेकाथिए । मेरा प्रिय मित्र लक्ष्मण अधिकारीले सूर्यलाई खाउँजस्तो गरेर खिँचेको फोटो पनि मलाई चिन्तामणीजी पौडेलजीले देखाउनु भो । उक्त तस्वीर हेरेपछि ढिलो आइपुगिएकोमा दुःख र पछुताउ नै लाग्यो । तर उपाय केही थिएन । हामी दुइटा होम स्टेका बीचमा सुकुलमा फैलिएर बस्यौँ ।

आयोजक मित्रहरुले अण्डा अनि केही खाजाको व्यवस्था गर्नुभयो । हामी त्यसमा प्रेमपूर्वक सरिक भयौँ । कारणवश त्यो खाजा मिठो र स्वादिष्ट नै लाग्यो, त्यो समय नै त्यस्तै थियो । म त्यही समय ल्यापटप खोलेर जोन लेननको इम्याजिन गीत सुन्न र सुनाउन थालेँ । यो कवि भूपिन व्याकुलजीको पनि प्रिय गीतमा पर्दछ । उनले यस गीतलाई साह्रै मनपराएको मैले पाएको छु । फेसबुकमा एकछिन अल्मलिने कोशिश गरेँ तर सम्भव भएन । असम्भव्यताको कारण उँचाई पनि एक हुनपुग्यो । यस उँचाईबाट हेर्दा नारायणगढको बजार सानो र झिलिमिली देखियो । कति साथीहरु त्यसैमा रम्न थाले । मलाई त्यो क्षण त्यो अँध्यारोमा रम्न मन लाग्यो । त्यसैवीच मलाई झल्याँस्स एक परम प्रिय मित्रको सम्झना आयो जो भन्ने गर्थे पहाड चढेर हामी आफूमा एक उँचाई थप्छौँ । आज त्यही उँचाईमा हामी छौँ नतमस्तक । रातितिर एउटा रमाइलो सांस्कृति कार्यक्रको संयोजन भयो जसमा सिनर्जीका साथीहरुले केही आकर्षक गीत गाए । केही कविमित्रहरु नेपाली शैलीका गीतको नाचमा सरिक भए । म बेतमाश आफ्नै अतीतमा झुम्न थालेँ । मैले आफूभित्रको पागलपनलाई र आफ्नो बेहोशीपनलाई समेटेँ ।

रात गहिरिंदै गएपछि हामी सबै आआफ्ना निम्ति सुत्ने व्यवस्था गरिएको होमस्टेतिर लाग्यौँ । त्यो समय निद्राले आँखामा बास माग्न थालिसेको थियो । निस्तब्ध र निशान्त । गोपीनारायणजीले मलाई, पोषराजजी र इन्द्रजी सुत्नुभएको पलंगमा सेट गर्नु भएको रहेछ । म ती दुवै अग्रजीसित छाती तन्काएर खुट्टा खुम्च्याएर सुतेँ । सुत्नुअगि कसैले टिप्पणी गरे आज धनराजजी पनि यही कोठामा हुनुहुन्छ । रात कस्तो हुने हो धनराजजी घुर्नमा माहिर हुनुहुन्छ भन्ने व्यापक चर्चा रहेछ । धनजराजजी हामीभन्दा पल्लो पलंगमा विनोदीजीसित सुत्नु भएको रहेछ । उहाँ आफै पनि आफूमाथि गरिएको व्यँग्यमा दिल फुकाएर हाँस्नुभयो । यो उहाँलाई पाच्य भइसकेको विनोद प्रसंग रहेछ । गुडनाइट भनेर पलंगमा ढल्दा त्यो कोठामा हामी नौजना थियौँ । बिहान उठ्दा त्यो कोठामा मैले पन्ध्रजना देखेँ । कोठाको क्षमतामा भन्दा मानवीय धैर्यता र सम्झौता गर्न सक्ने बानीमा मैले गर्व गरेँ । म सुतेको पलंगमा पनि थप एक प्राणी सुत्नुभएको रहेछ । यस गाविसका अध्यक्ष अर्जुन पगेनीजी । उहाँ कतिवेला घुसृनु भयो त्यसको अडकल मैले लाउन सकिनँ । उहाँ उठेर गएपछि को कतिवेला राति आए त्यसको सानो र समीक्षात्मक टिप्पणी चल्यो । कतिले दिनभरिको उकालोको बखान गरे । धनराजजीले तत्काल त्यसको प्रतिवाद गरे भो उकालोको कुरा नगरौँ बन्धु । अब त्यो उकालो झर्नु पनि छ । धनराजजीको सावसचेत माथि कालातीत पनि भयौँ ।

मलाई बाटोभरि विभिन्न किसिमले सहयोग गर्ने कवि मित्र बालकृष्ण थपलियाजीले अचानक दुवै वृद्ध पुरुष पोषराज र इन्द्रजी - धनराजजीको भाषामा पोइ लाई सोध्नुभयो 'यात्रा कस्तो रह्यो त इन्द्र सर ?' माओवादी पार्टीप्रति अत्यन्त आस्था भएका पोषराजजी र एनेकपामा प्रवेश गरेका इन्द्र रेग्मी खुशी व्यक्त गर्दै भन्नु भो 'रमाइलो र उत्कृष्ट' । उहाँहरुको जवाफबाट चित्त नबुझेर धीमा गतिमा सँगीत आयामले बोल्नुभयो 'यात्रा कस्तो भयो भन्दा कतिको बर्गीय रह्यो ।' त्यसपछि जोडदार हाँसो कोठाभरि गुन्जियो । त्यो हाँसोलाई रोक्न धेरै गाह्रो भो । त्यो हाँसोको रौनक अर्को घरमा समेत फैलियो । कति साथी कुदेर हेर्न आइपुगे । लामो कविता लेखेर ख्याति कमाएका आयामले यो छोटो टिप्पणीमा नयाँ आयाम थपे । उनको टिप्पणीले मिनी हाइकुको उपाधि नै पायो । आयामले शुरु गरेको विहानीको हाँसोले हामीलाई स्वस्थ नै बनायो । हामी सबै सबै पालैपालो सबैजना प्रसाधन कक्ष गयौं जुन मानवीय क्षमता अनुसार सीमित नै थियो र त्यसैमा हामीले धान्नुपर्ने वाध्यता थियो । बिहानको पूरा तयारीपछि हामीले साढे नौ को हाराहारिमा तत्क्षण कविता लेखेर वाचन गर्ने कार्यक्रममा सहभागी भयौँ ।

 

Comments

prasanna ghimire

very nice, marvallous writeing. i am a fan of prakash sayame traval  writing

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |