हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पानीको चमक,(बासु श्रेष्ठ)

कुरा २०३६ २०३७ सालको हो । जालिम मियाँ हट्टाकट्टा उमेर झण्डै २८ २९ वर्षको हुँदो हो । त्यतिबेला उमेरको हिसाबले मैले दाजु भन्नुपर्ने । पेशाले उ मैले रौतहट गौरको काम गर्ने बैकमा पियन थियो । जातले उ मेहतर अर्थात च्यामे थियो । तर उसको जिउडाल र लुगाको साजसजावटले उ मेहतर हो भन्न गाहारो पथ्र्याे । किनभने उ सँधै सफा र चिटिक्क भएर अफिस आउँथ्यो ।   
  
उ अनुशासित र हँसिलो थियो । जसले जतिखेर पनि लगाएको काम गरिहाल्ने जतिखेर पनि "हस् साहेब" भन्थ्यो । मिजासिलो, फरासिलो, हँसिलो र मिलनसार जालिम भएपनि उसमा एक प्रकारको अलगपन म देख्ने गर्थेँ । मैले उसको अन्तःकरणमा हिन भावनाले स्थान बनाएको पाएँ । किनभने उ जातले मेहतर । उसले छोएको पानी या खानाहरु हामीजस्तो उपल्लो जातलाई नचल्ने कारणले उ सदा हाम्रो टेबुलमा पानी या कुनै खानेकुरा छ भने उ परै बस्थ्यो सावधान भएर । जब कि पदमा उ सरहका अन्य पियनहरु खाना भएको हाम्रो टेबुलमा निर्धक्क छुवाछुत गरिरहेका हुन्थे । उसले टेबुलमा कुनै खाना या पानी नभएको बखतमात्र छुने गथ्र्याे । बैकका कागजात फाईलहरु एक टेबुलबाट अर्काे टेबुल गर्दा खाना भएको नभएको विचार गथ्र्याे । उसको यो सावधानी मलाई पाच्य भएको थिएन । किनभने उ र ममा मैले केहि फरक देखेको थिईनँ ।   
  
हामी दुई बिच फरक भनेको नाम जिउडाल र थरमात्र थियॊ । जन्मस्थान फरक भएपनि देश एकै थियो अनि मातृभाषा पृथक भएपनि राष्ट्र्भाषा एकै थियो । र हामी दुबै उस्तै हाडछाला र रगतबाट बनिएका थियौ । उसको शरीरमा जे जति प्रत्यङ्गहरु छन् त्यति नै र त्यस्तै प्रत्यङ्गहरु मेरा शरीरमा छन् र उसका अन्य सहकर्मीहरु उ र ममा पनि केहि फरक थिएन भने किन यो भेदभावको र सङ्कोच भन्ने मेरो मनमा लागीरहन्थ्यो । त्यसकारण उसले छोएको खाना खानुपर्ला भन्ने डरले म अरुजस्तो सचेत थिईन । तसर्थ यो सङ्कोच भेदभाव र दूरी मेटन मैले उसको पानी चलाउने निधो गरेँ ।  
  
मैले बैकको सहप्रबन्धक दिनेश कुमार सुवेदीसँग सल्लाह गरेँ र भने "दिनेशजी आजदेखि हामी जालिमको पानी चलाईदिउँ ।"  तिनले पनि सहर्ष मेरो प्रस्तावमा राजी भए । मैले उनकै अफिसबाट जालिमलाई बोलाएँ । उ हतार हतार अगाडि आएर उभियो र निर्देशन पाउन तयार रह्यो ।   
  
मैले भनेँ "जालिम आज हामी तिम्रो हातबाट पानी खान्छौँ ।"  यो कुरा जालिमलाई पत्यारिलो लागेन बरु उसको आत्मालाई चोट पुर्याउन मैले त्यसो भनेको जस्तो लाग्यो शायद र भन्यो 'कस्तो कुरा गर्नुभएको सर मैले छोएको पानी चल्दैन भन्ने हजुरलाई थाहै छ नी' । मैले प्रत्युत्तरमा हक आदेश र मित्रताको स्वरमा भनेँ "त्यसैले त हामी आज तिम्रो हातबाट पानी खाने भनेको नि तर गिलास र पानी चाहि सफा हुनुपर्छ ।" 
  
एकछिन सम्म उ अन्यमनस्क भावमा र अविश्वासको परिस्थितिमा दुवै हात मल्दै उभिई रह्यो । दिनेशजीले भन्नुभयो "जाउ छिटो पानी ल्याउ हामीलाई तिर्खा लागेको छ ।" 
  
अब चाहिँ उसलाई विश्वास लागेछ क्या रे उ दुईवटा गिलास लिएर धारातिर लाग्यो धारा हामी बसेको कोठाबाट देखिन्थ्यो । हामी उसले थाहा नपाउने प्रकारले उसलाई हेरिरहेका थियौँ । उसले दुबै हात र गिलास साबुनले माझ््यो र सावधानी पूर्वक पानी भर्याे । दुई हातमा एक एक गिलास समातेर हामी भएतिर आउन थालेपछि हामी व्यग्रतापूर्वक तिर्खा मेट्न बसे झै गरेर बस्यौँैँ । उ अझै विस्मित देखिनुका साथै अनुहारमा लुकाएको खुशीका लहरहरु प्रष्टै देखिन्थ्यो । दुबै गिलास पालैपालो दाँया हातले हामीतर्फ बढाएपछि हामीले आआफ्नो गिलास लिएर तुरुन्तै घटघट गरेर पानी खायौँ ।  
  
पानी खाएपछि मैले भनेँ "जालिम आजदेखि हाम्रो टेबुलमा खाना पानी छ भने तिमिले छोइएला कि भनेर सङ्कोच मानेर हट्नु या टाढा बस्नु पर्दैन । तिम्रो पानी हाम्रोलागी चलेको छ ।"
  
उ साह्रै खुशी भएको हामीले अनुभव गर्याैँ । हामीले उसमा भएको हीन भावना आशिँक रुपमा घटेको पायौ । उ खुशी भएकोमा हामी आफैपनि गद्गद भयौँ । मनमा एक प्रकारको आनन्द र सन्तोषका लहरहरु तरङ्गित भयो । त्यसभन्दा पनि बढि उसको हातबाट पानी खाउाजेल उसका आँखामा देखिएको हर्षको चमक बिस्रनै नसकिने प्रकारको थियो जुन चमक आजपनि मेरो आँखा सामुन्ने चम्कन्छ ।  
  

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |