हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रमेश विकल मरेका छैनन्,(अलकाआत्रेय चूडाल)




नेपाली साहित्यका पारखी सबैले रमेश विकल विकललाई सुनेका वा पढेका हुन्छन् । त्यस्तै मैले पनि नेपाली साहित्यमा एम. ए. गर्दा रमेश विकललाई साहित्यकारको रूपमा पढें, सामान्य परिचय पाएँ । त्यसैताका नेपाल टेलिभिजनबाट अविरल बग्दछ इन्द्रावती भन्ने टेलिश्रृङ्खला प्रसारित भयो । त्यो मार्मिक कथाले मलाई प्रगतिवादी रमेश विकलको अझ नजीक पु-यायो । त्यसको धेरै पछि काठमाडौंमा दश जोड दुईको कक्षामा नेपाली विषय अन्तर्गत मधुमालतीको कथा पढाउँदा म उनका कथाकी प्रशंसक भएँ ।
पाठ्यक्रममा भएका कथाहरूमा मैले पढाउने पहिलो कथा विश्वेश्वरप्रसादको सिपाही हुन्थ्यो भने अन्तिम कथा रमेश विकलको मधुमालतीको कथा हुन्थ्यो । सिपाही कथामा सिपाहीको स्त्रीलोलुपताको चरित्र र उसको व्यवहारले विद्यार्थी हाँसेर रमाउँथे भने मधुमालतीको कथामा शंकर र गौरीको दर्दनाक बिछोड भएपछि कक्षा स्तब्ध हुन्थ्यो । कथा पढ्न हामीलाई तीन दिन लाग्थ्यो । तेस्रो दिन कथा सकिन्थ्यो । शंकर र गौरीको मिलनको हाम्रो आशा पनि उसको आलु घोडा सरीनै किचीमिची हुन्थ्यो । सबैका आँखा रसाउँथे । सामाजिक असमानताप्रतिको विद्रोह उम्लेर आउँथ्यो । त्यत्तिकैमा घण्टी बज्थ्यो अनि रसिला आँखा लिएका विद्यार्थीहरू विद्रोहको आगो निभाउँदै कक्षाबाट बाहिरिन्थे ।
हरेक पटक कथा सकिंदा मलाई त्यो बालमनोविश्लेषकलाई अभिवादन गर्ने इच्छा जागेर आउँथ्यो । साथीहरू भन्थे – रमेश विकल आफै शंकर हुन् । यो रमेश विकलको आफ्नै कथा हो । अनि मलाई लाग्थ्यो, रमेश विकल शंकर नभए पनि शंकरलाई नजीकबाट देख्ने र चिन्ने चाहिं पक्कै हुन् । त्यसैले त साहित्य समाजको ऐना हो । नेपालीमा दुई चार अक्षर कोर्ने भएपछि म आफ्नो निर्णयमा अझ दृढ हुँदै गएँ ।    
२०६३ साल तिर मैले मेरो बाल्यकालको संस्मरण लेखें । त्यसको विमोचन गर्ने कुरा चल्यो । मेरो इच्छा रमेश विकलको हातबाट विमोचन गराउने थियो । तर यसको संभावना ज्यादै क्षीण थियो, मैले रमेश विकललाई व्यक्तिगतरूपमा चिनेकी थिइनँ । मैले लेखेको त्यो पुस्तक बुवालाई थाहा नदिई उहाँलाई समर्पण गर्ने हुँदा उहाँको सहयोग लिने पनि सम्भावना थिएन । तर मेरो यो इच्छा कवि मञ्जुलले पु-याइदिनु भयो । उहाँले कथाकार विकलसँग फोनमा कुरा गरेर मेरो परिचय गराइदिएर भेट्ने समय पनि मिलाइदिनुभयो ।
फुपू उपमा अधिकारी र म प्रमुख अतिथिलाई निम्तो गर्न आरूबारी हिंड्यौं । कवि मञ्जुलले उहाँको घर देखाउँदै भन्नु भएको थियो – "बौद्धबाट आरूबारीतिर लागेपछि जसले पनि विकलदाइको घर बताइदिन्छ ।" त्यस्तै भयो । हामी हरेक मोडमा सोध्दै जान्थ्यौं । मानिसहरू देखाउँदै जान्थे । घरमा त पुग्यौं । तर घरमा कोही रहेनछ । हाम्रो सबै उत्साह सेलाएर गयो ।
त्यत्तिकैमा बाटोमा एउटी केटीले हामी अलमलिएको देखेर भनिन् – "ए ! बुवा त पुरानो घरमा हुनुहुन्छ । आज उहाँका नातिको बिहा छ । म त्यतै जाँदै छु । हिंड्नुस् । तपाईँहरू पनि बिहामा आउनु भएको हो ?" हामीलाई देउतै भेट्टाएजस्तो भयो । तर फेरि अकस्मात् विचार आयो बिहामा बिना निम्ता कसरी जाने ? हामीसँग सोच्ने समय थिएन । जेसुकै होस् भनेर हामी उनका पछि-पछि गयौं ।
असारको महिना थियो । घाम चरक्क चर्किएको भए पनि चीसो बतासले त्यसको ताप बगाएर लगेको थियो । बर्षाले धूलो पखालिदिएकाले होला रुखविरुवाहरू घाममा विशुद्ध हरियाली प्रदर्शन गरेर हावाको तालमा नाच्दै थिए । खेतका कान्लामा धान बयेली खेल्ने प्रयासमा पाइताला उचाल्दै थिए । हामी खेतका आली हुँदै गन्तव्यमा पुग्यौं । बिहा घरमा रमझम थियो ।
एकै छिन पछि रमेश विकल आउनु भयो । किताबको फोटोमा देखेको जस्तै टोपी र चश्मा लगाएर । रमाइलो कुराकानी भयो । उहाँले नयाँ दुलहा-दुलही पनि चिनाइदिनु भयो । हामीलाई ननिम्त्याएको अनुभव भएन । बस्नासाथ खण्डे थालमा विभिन्न परिकार पनि आइपुगे ।
हामी विमोचन कार्यक्रमको कुरा गर्दै थियौं त्यत्तिकैमा तारा आइन् । तारा चालिसे मेरी सहपाठी हुन्, नेपाली एम. ए. पढ्दाकी । मलाई राम्ररी थाहा थियो उनी साहित्यकार विकलकी छोरी हुन् भन्ने । उनी मेरी मिल्ने साथी पनि हुन् । त्यो बेला मैले अचम्मसँग बिर्सेकी थिएँ, उनलाई । त्यहाँ उनलाई एक्कासि देख्दा म सपनाबाट बिउँझिए जस्ती भएँ । पद्मकन्यामा पढ्दाका दिनहरू एक-एक गर्दै चित्रपटझैं आँखा अगाडि आए ।
ताराले पनि थाहा पाइन् पुस्तक विमोचनको र बुवालाई प्रमुख अतिथिको रूपमा निम्ता गर्न हामी आएको कुरा । उनी अकस्मात् रिसाइन् र भनिन्- "बुवा कतै जानुहुन्न । उहाँलाई गाह्रो हुन्छ । कार्यक्रम लामा हुन्छन् । लाने बेलामा लान्छन् अनि पु-याउँदैनन् । यो कुरा हुँदै हुन्न ।"
म छाँगाबाट खसेर भुईँमा पछारिएँ । ताराको कुरा जायज थियो । तारा साथीको लागि भन्दा पनि बाबुको स्वास्थ्यको  कारणले चिन्तित एउटी छोरीको रूपमा बोल्दै  थिइन् । मैले पनि एउटी छोरी भएर हेरें । उहाँलाई कार्यक्रममा लाने साहस मलाई पनि भएन । म निराश भएँ । तर मेरो निराशाको बादल साहित्यकार विकलको स्नेही आवाजले फटाइदियो । उहाँले  भन्नुभयो- "म जान सकिहाल्छु नि । मलाई के भएको छ र ! म आउँछु नानी !" शायद एउटा वरिष्ठ स्रष्ट्राले  साहित्यमा बामे सर्न लागेको बालकको उत्साह मार्न चाहेन । शायद उहाँले त्यो नभनेको भए, त्यो बालक कहिल्यै टुकुटुकु हिंड्ने थिएन । मेरो द्रवित हृदयले त्यो ममतालाई साष्टाङ्ग प्रणाम ग-यो । 
त्यसपछि उहाँले भन्नुभयो – "यो मेरो छोराको घर हो । अब म बस्ने घर जाऊँ ।" हामी उहाँ सँगै अर्को घरमा आयौं । उहाँले हामीलाई कति खुशी भएर आफ्नो कोठा देखाउनुभयो । लेख्ने ठाउँ देखाउनुभयो । उहाँले बनाएका चित्रहरू देखाउनुभयो । हामीले बिहा घरमा भोज खाएर आएका थियौं तर त्यहाँ पनि केही त खानै पर्ने भयो । अनि हामीले घरकै मीठो दही खायौं । हामीलाई खुवाएर पनि उहाँलाई चित्त बुझेन । पटक पटक तपाईँहरूलाई के दिउँ भन्दै उहाँ केही खोज्दै हुनुहुन्थ्यो । उपमा दिदीले भन्नुभयो- "हामीलाई आशीर्वाद दिनुस् ।" उहाँले मुस्कुराउँदै हाम्रो टाउकोमा हात राख्नुभयो । उहाँले आफ्नो कथा सङ्ग्रह "हराएका कथाहरू" हामीलाई एक एक प्रति उपहार पनि दिनुभयो । उपमा दिदीसँग क्यामरा भएको मोबाइल थियो । उहाँले तस्वीर पनि खिच्नुभयो । त्यो दिन मलाई आफुसँग क्यामरा नभएको र क्यामरा भएको मोबाइल पनि नभकोमा साह्रै नमज्जा लाग्यो ।
त्यो २०६३ असार २२ को दिन थियो । विमोचन कार्यक्रम भोलिपल्ट असार २३ मा थियो । हाम्रो धेरै तयारी बाँकी भएकोले हामीले त्यहाँ बस्न चाहँदा चाहँदै पनि बिदा हुनुपर्ने थियो । साहित्यकार विकल भने अब गैहाल्ने र ? भन्दै हुनुहुन्थ्यो । अहिले त्यो आतिथ्य, त्यो प्रेम र आशीर्वाद अब इतिहास बन्यो भन्ने कुरा पत्याउन पनि गाह्रो लाग्छ । तर यो यथार्थ हो । जीवन अनित्य छ, विनाशी छ, शरीर मर्छ, तर साहित्यकार रमेश विकल कहिल्यै मर्दैनन् । उनी आफ्ना रचनामा मात्र होइन, उनले माया गरेका मजस्ता कैयौं नव साहित्यकर्मीका हृदयमा र तिनका कलममा सँधैं बाँची रहन्छन्, हाँसिरहन्छन् ।      
       
        

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |