हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बर्षादी दिनहरू,(प्रकाश सायमी)



स्थान:  बम्बई

समय : वर्षादी दिनहरू

पात्रहरू: म र मेरो एकाकीपन

जुलाई १३, सन् १९८५ का दिन घामको पहिलो किरणसँगै म बान्दरा रेलवे स्टेशनमा ओर्लिएको थिएँ— एउटा सुन्दर भविष्यको अभिलाषा लिएर । सौभाग्यले भनौँ वा दुर्भाग्यले आजसम्म म यहीँ छु । धेरै मुकामहरू बदलेपछि यो मेरो अन्तिम सहर हो । यो अदालतमा मेरो जीवनको फैसला हुनु छ, मेरो भाग्यको घोषणा निश्चित छ ।
आमा भन्नुहुन्थ्यो— “तँलाई जन्म दिएँ तर कर्म दिन सकिनँ । ” दुई वर्षदेखि एउटी अर्कै आमाको काखमा हुर्किएँ— अठार वर्षसम्म, नख्खु जेलको किनारमा । नख्खु जेलभित्रै प्राथमिक शिक्षा भयो— निः शुल्कमा । पैदा हुने धर्म, काठमाडौँमा भयो, हुर्किने–बढ्ने अधिकार पाटनमा पाएँ, होश सम्हालियो— रमाइलो मेलामा, कलेजका दिनमा । फेरि होश सम्हालेँ बम्बईको प्लेट फर्ममा ।

"मा जवान्डी सत पार
करम णे डेन्डी बन्द"

अर्थात् एउटी आमाले सातवटा सन्तान जन्माउन सक्छिन् तर कसैलाई उनको कर्म र भाग्य दिन सक्तिनन् ।

गुरुले सुनाउने गरेको पञ्जावी कविताको यो अंश मलाई औधी मनपथ्र्यो र अझै पनि मन पराउँछु । गुरु सबको साथी तर उसको असली नाम चैँ गुरु हैन । श्रीमती इन्दिरा गान्धीको हत्या पश्चात् सिखहरूको शिरमाथि छाएको काल–आतङ्कबाट बच्न रातारात ऊ हरबिन्दरसिंह निरुलाबाट गुरुमा परिणत भयो । ऊ सबैको गुरु बन्यो— जन्मँदाको नाम फेरेर । म त उसलाई मेरो जन्मजातै गुरु मान्दथेँ । गरिबीमा बाँच्ने र विवशतामा हाँस्ने उसित एउटा कला छ । बम्बईमा जिउनुलाई उसले एउटा आर्ट बनाएको छ— ‘आर्ट अफ लिविङ्ग’, कसैगरी बाँच्ने— म पनि उसको यो कलाको अनुयायी हुँ ।

बाँच्नको निम्ति गुरु हरदिन एउटा नयाँ उपाय निकाल्थ्यो— आज खाना कहाँबाट र कसरी आउँछ ? आज कसले र किन रक्सी पिलाउँछ ? कहिले ऊ महबुव स्टुडियोमा फोन गर्छ र सोध्छ— त्यहाँ के चल्दैछ ? को–को कलाकार छन् ? र त्यसमध्ये एकजनासित उसको सम्पर्क वा भनौँ नाता बनिहाल्छ । बम्बई नगरीमा कुनै पनि स्टुडियोमा पस्न प्रवेशपत्र चाहिन्छ, या त चिनेको मान्छे हुनुपर्छ । त्यसमध्ये दोस्रो उपाय गुरुको हतियार हो । ऊ टाढैबाट एउटा कलाकारलाई चिनेको मान्छे बनाइहाल्छ, त्यसपछि त स्वागतको नाटक थालिन्छ ।

यसरी हामीले उसको धेरै सूत्र–नाटकमा भाग लिएर विनासम्मानको थुप्रै महाभोज खाएका छौँ । एकदिन यस्तै एउटा नाटकमा भाग लिन उसित म अँधेरीस्थित कमाल स्टुडियोमा पुगेँ । त्यहाँभित्र स्टुडियोमा ठूलै तामझामकासाथ महान् सिरियल ‘महाभारत’को छायाङ्कन भइरहेको थियो । मुसा पनि पस्न नसकिने स्थिति थियो— ठूलै सुरक्षा र सतर्कता अपनाइरहेका थिए— बी.आर.फिल्म्स्का सुरक्षा अधिकृतहरू ।

कमाल स्टुडियो.... आफैमा एउटा इतिहास हो । मीनाकुमारी त्यहीँभित्र अस्ताइन्, मदिरा अनि वियोगको कारणले । आजका कैयन् ठूला–ठूला निर्माता–निर्देशक एवम् स्टारहरू त्यहाँ कुनै दिन भुईँ पुछ्थे । कैयन् सानातिना कलाकारहरू एक छाक जुटाउन बाहिर निर्देशक कमाल आमरोहीलाई पर्खेर बस्दथे । हिरोहिरोइनको आवतजावत त्यहाँ घडीको सुईजस्तै चलिरहन्छ । बाहिर उभिरहनेलाई भित्र जान कहिलेकाहीँ एकदिन पूरै लाग्थ्यो वा कसैको जिन्दगी नै बित्थ्यो । ‘पाकिजा’जस्तो कालजयी फिल्मको न्वारान अनि निर्माण यही भवनबाट भएको थियो— स्टुडियोको माथिल्लो तल्लामा मीनाकुमारीले प्रयोग गरेका अमूल्य पोशाकहरू र त्यसभित्र लुकेका गहनाहरू राखिएका छन् । मीनाकुमारीले पाएका कति पुरस्कारहरू त त्यसै फ्याँकिएका पनि छन् ।

म उभिरहेको थिएँ— गुरुलाई पर्खेर । निक्कै सुरक्षा प्रबन्धका बीच पनि गुरुले मलाई लिएर भित्र पस्ने व्यवस्था कुनबेला कहाँ मिलाई सकेछ, मलाई ज्ञानै भएन । हतारहतारमा उसले मलाई भनी पनि हाल्यो— “तुम सुरेन्द्र पाल हो, याद रखना ।”

सुरेन्द्र पाल को हो ? म किन सुरेन्द्र पाल हुँ ? मलाई केही थाहा भइरहेको थिएन । उसले मलाई एउटा युनिट(शुटिङ्ग इकाई)सँग हुलिहाल्यो । कोही मलाई ‘आप कौन है, भाइ ?” भनेर सोध्दै थियो, गुरु जवाफ फर्काइरहेको थियो । यसरी म नक्कली सुरेन्द्र पाल नामक एउटा कलाकारको प्रतीक्षा वा भनौँ खोजी भइरहेको रहेछ ।

मलाई प्रतीक्षालयमा राखेर गुरु नयाँ साथीहरू खोज्ने क्रममा गयो—प्राविधिक, निर्माण प्रबन्धकहरूका बीचमा । यो उसको भित्री हतियार हो— लामो समयसम्म टिक्नको लागि । ऊ अर्को नाटकमा हराएपछि म यतापट्टिको सूत्रधार भएँ । निर्देशक बी.आर. चोपडाकी तृतीय सहायक निर्देशक अनिला शास्त्री भगीरथ प्रयत्नले मेरो स्वागतसत्कार गर्दै थिइन् । म परिणाम सम्झेर डराइरहेको थिएँ । तिनी सेवामा भूल होला भनेर डराइरहेकी थिइन् । सुरेन्द्र पाल त्यति स्थापित कलाकार थिएनन्, त्यसैले अनिला मसँग झुक्केकी हुनुपर्छ । सुरेन्द्र पाल आइहाले भने के गर्ने ? भन्ने चिन्ता भेरो हैन, गुरुको हो । यदि सुरेन्द्र पाल साँच्चै आएनन् भने मैले अभिनय गर्नुप¥यो भने कसरी गर्ने ? त्यो मेरो चिन्ताको विषय भो । म त्यसैमा अल्मलिइरहेँ ।

मेरो मन पर्ने निर्देशक बी.आर. चोपडा ठूल्ठूला हल्केला पड्काएर कराए, “स्टार्टं साउण्ड !” उनको आदेश सुनेपछि ध्वनि सञ्चालक कराए— “रनिङ्ग !”

“क्यामरा !” पुनः चोपडा साहेब कराएपछि क्यामराम्यान शान्त पार्छन्— “रोलिङ्ग !”

फेरि निर्देशक हुकुम दिन्छन्— “क्ल्याप !” र एउटा फुच्चे केटो जोडले सिनेमाको नाउँ लेखिएको क्ल्याप बोर्ड बजाएर अँध्यारोमा भाग्छ तर कतिबेरसम्म उसको आवाज प्रतिध्वनित भइरहन्छ “सिन नं फिफ्टी फोर बाई टेक वन् ।”

त्यो भाइले क्ल्याप बोर्ड बजाएपछि क्यामराको अघिल्तिर रङ्गमञ्चकी एउटी अभिनेत्री आफ्नो बलशाली कला देखाउँछिन्— एउटा लामो संलापमा । क्यामराको पछिल्तिर पलङमा सुतिरहेका(ढल्किरहेका) एकजना वृद्धमान्छे अचानक चिच्याउँछन्— “कट इट् ।”

सबै स्तब्ध ! सबै आश्चर्य चकित !

अभिनेत्रीको रुवाइ यन्त्रवत् रोकिन्छ । उनी निर्देशकतिर फर्किन्छिन् । निर्देशकतिर घिसिँदै वृद्धपुरुष भन्छन्— “टोन इज वेरी ब्याड, देयर इज नो इनर प्ले, वन मोर सट !”

निर्देशक पुनः अर्डर गर्छन्— वृद्धपुरुषको आग्रहमा । ठूलै मान्छे रहेछ कि क्या हो ? मनमा एउटा प्रश्न उठ्छ । निर्माता पो हो कि ? मनमा अझै शङ्का हुन्छ । बी.आर. चोपडाप्रति मेरो अति नै श्रद्धा छ कुनैदिन उनी दिल्लीको चर्चित पत्रकार थिए— एम. जे. अकवर र अरुण शौरीजस्तै । आज उनी सफल फिल्मकार हुन् । निकाह, इन्साफ का तराजु, वक्त, नयाँ दौर पछि चोपडाको नाम पर्याय बनिसकेको थियो । आज उनलाई एउटा विद्यालयको रूपमा हेरिन्छ तर यो निर्माता को ? सङ्गै रहेकी अनिलालाई सोध्न मन थियो, फेरि मेरो पो पर्दाफास हुने हो कि भन्ने डरले सोधिनँ । एकछिनपछि मैले अरू कसैबाट थाहा पाएँ, ती वृद्धपुरुष त त्यस धारावाहिकका लेखक महाने उपन्यासकार राही मासुम रजा पो रै’छन् । खुट्टामा पक्षघातका कारण उनी शुटिङस्थलमा सुतेर नै बस्दारहेछन् । उनी मेरा अत्यन्त प्रिय लेखकमध्ये एक हुन् । उनको उपन्यास आधा गाँव मैले कलेजका दिनहरूमा दुईपटक पढिसकेको थिएँ, म अझै पनि त्यो उपन्यास लगन र प्रेमले पढ्न सक्छु, जस्तो लाग्छ ।

मभित्र अझै डरको पत्र बढ्दै गयो । यी मेरा प्यारा दुई हस्तीहरूका अगाडि कसरी म झुठमूठको अभिनय गर्न जाने ? यदि म पक्रिएँ भने कति ठूलो बेइज्जत हुने हो । त्यो सम्झेर मलाई गुरुसँग झनै रिस उठ्न थाल्यो । म त आफ्नै नजिक भएका आफ्ना प्रिय व्यक्तित्वहरूसित हाँस्न–खुल्न पाइरहेको थिइनँ । म कसरी आज गुरुको यति ठूलो जञ्जालमा परेछु— झन् चिन्ता बढ्न थाल्यो । मेरो बारेमा कसैले चाल त पाएका छैनन्, सन्देहको लङ्का फैलिँदै गयो । मेरो अगाडि आएर एउटा मान्छे हाँसेर अनि फेरि मसित हात मिलाएर गयो ।

यो मप्रति व्यङ्ग्य हो कि जस्तो लाग्यो । त्यसले मलाई पक्कै चिन्यो होला, म झन् डरका कारणहरू समेट्न थालेँ । फेरि मनमा एउटा झिनो आश पलायो— त्यसले मलाई साँच्चै सुरेन्द्र पाल पो सम्झ्यो कि ? हुनसक्छ, मैले आफैलाई सान्त्वना दिएँ— अनिलाजस्तै यो पनि झुक्केको हुनसक्छ । म त्यतिबेला लागूपदार्थको स्मगरलरजस्तो भएर विमानस्थलको सुरक्षा अधिकृतकहाँ अभिरहेको महसुस गर्दै थिएँ ।

अनिला साँच्चै मसित झुक्किएकी हुन् त ? शङ्का बढ्दै गएपछि मैले आफूलाई नियन्त्रणमा लिन सकिनँ । अनिला मसित कसरी झुक्किई त ? त्यति ठूला निर्देशककी सहायक । अनिला साहै्र राम्री थिई— रूप र व्यवहार दुवैले ।

मैले यति गुणी मान्छेलाई किन ढाँट्ने ? तिनको अगाडि म आफ्नो सारा भेद खोलिदिऊँ कि भन्ने निद्र्वन्द विचार पनि मनमा आयो । अनिलाप्रति मेरो दया र माया बढ्न थाल्यो— कसरी यिनी फसिन् त मेरो जालमा ? तिनीसित भारतीय महिलाहरूमा पाइने चलाकी र छलकपट पटक्कै थिएन । झन् बम्बई महानगरका युवतीहरू त कम्प्युटर माइन्डेड हुनुपर्ने, त्यस्तो पनि पटक्कै छैन । अझै फिल्ममा काम गर्ने महिलाहरू त असाध्य क्याल्कुलेटिभ र म्यानपुलेटिभ हुनुपर्ने होइन र ! त्यो पनि शून्य ! म अनिलालाई अब सहानुभूतिको नजरले हेर्न थालेँ— बम्बई सहरमा यति सोझी केटी ! छक्क पर्न थालेँ । कसरी अनिला मसित झुक्किई त ?

“यो मेरो पहिलो फिल्म हो । तरुण साहबले गरेर म फिल्ममा आएकी । यस अघि म गोवामा एउटा घडी कम्पनीमा काम गर्थेँ ।” मैले साह्रै उत्सुकता जगाएपछि अनिलाले आफ्नो बारेमा लजाउँदै भनी । खादीको कुर्ता र जिन्स पाइन्ट लगाएर पनि तिनीभित्र स्मल टाउन गर्लको गाउँले छवि चाहिँ थियो । पारिवारिक लाज(इज्जत ?) र नारीसुलभ सङ्कुचन तिनको हँसाइ र लजाइमा बारम्बार झल्किरहन्थ्यो । म त्यति नजिक हुन पनि सकिरहेको थिइनँ तर बम्बईमा देखिने आम युवतीहरूभन्दा अनिला अत्यन्त पृथक् थिइन् ।

स्टुडियोमा हल्ला–खल्ला भइरहेको थियो । आवत–जावत पनि बढिरहेको थियो ।
“हे लाइट्स लाना ।” अर्डर चलिरहेको थियो ।
“मल्टी–अन करो ।” बत्तीहरू निभ्ने र बल्ने क्रम चल्दै थियो ।
“मेक अप ।” कलाकारहरू ऐना हेरेर कराइरहेका थिए ।
“चाय लाओ ।”

सम्पूर्ण वातावरणले एउटा रङ्गमञ्चको भन्दा पूर्वोत्तर भारतीय रेल वे स्टेशनको आभास दिइरहेको थियो । सबै जोश–होशमा काम गरिरहेका थिए । सबै रमाई–रमाई, जिस्की–जिस्की कायबद्ध भनौँ व लयबद्ध थिए, आ–आफ्नो सुरमा । मेरो अलग्गै संसार थियो— म घण्टौँ आफ्नै अगाडि भएको सहयात्रीसँग डराइरहेको थिएँ, भागिरहेको थिएँ ।

”लञ्च ब्रेक ।” निर्देशकले भोजनको घोषणा गरेर काम रोके तर म चाहिँ पटक्कै भोकाएको थिइनँ, स्वागत–सत्कारमा निक्कै खाइसकेको थिएँ । भोजनको समयपछि सबै इतरबितर भए । अनिला पनि भीडमा हराई तर पनि तिनी मलाई चोपडा साहबसित भेट्नुस् भन्दै थिइन् । म साथीलाई ओज्नु छ भनेर उम्किएँ । अब मेरो डर भोजन हैन, बी.आर. चोपडा पनि हैन, मेरो डर हो सुरेन्द्र पाल । उनी कतैबाट त्यहाँ आए भने भेरो कत्रो बेइज्जत हुने होला, त्यो सम्झेर म थर्थरी भइरहेको थिएँ । गुरुलाई भैले त्यहाँबाट भगाइहालेँ ।

”किन डराएको तँ ?” गुरुले स्टुडियोबाहिर आएपछि सोध्यो ।

”सुरेन्द्र पाल आएको भए, सोच त ।” मैले पनि धम्क्याएँ । गुरु चुरोटको लामो कस तान्दै भन्दै थियो, “सोच्दिन ! सुरेन्द्र पाल पनि आउँदैन ।” “किन ?” म छक्क परेँ ।

“ऊ कानपुर गएको छ यार ! मैले यो सब सोधखोज गरेर प्लान गरेको बुझिस् । कानपुर गएर सुरेन्द्र पाललाई भेटेछस् ?” मलाई उसले खिज्याउन थाल्यो । मैले गम्भीर भएरै भनेँ— “सुरेन्द्र पाललाई त हैन । अनिलालाई भेटेनु छ ।”

“प्रेमी हृदयका कवि गम्भीर हुनु भो नि ।” उसलाई मेरो हालतमाथि व्यङ्ग्य गर्ने मौका भइरहेको थियो । “होइन गुरु ! म अनिलासित लज्जित छु । माफी माग्नु छ ।”

“चुप् !” ऊ बेस्कन चिच्यायो चुरोट फ्याँकेर । उसमा एउटा बोसपन अझै थियो । खुट्टामा ठोक्किएको एउटा ट्वाक्कलाई पेलेको हिम्मतले फुटबल हानेजस्तै हुइँक्याएर कमिजको कलर तन्काउँदै भन्यो— “ये है बम्बई मेरी जान् !” आपतको घडीमा ऊ दुईवटा गीत खुब गाउँथ्यो— एउटा यो र अर्को ‘ये है बम्बई नगरीया तु देख बबुवा ।’

बम्बईमाथि कैयन् गीतहरू थिए । यी दुई गीत उसको निम्ति अदृश्य शक्ति हुन् भन्ने भ ठान्दछु । सङ्गीतप्रेमी त ऊ थियो नै तर ज्यादा रोमान्टिक हैन । “जिन्दगीको उद्देश्य जिन्दगीको भिन्नतासम्म मात्र पुग्नु हो— अनि मायालुपन त्यसकोे एउटा मात्र बाटो हो ।” खलील जिब्रानको भाषा सम्पूर्णतः गुरुमा लागू हुन्थ्यो ।

म बम्बई आएको दुइ वर्ष भइसक्यो, न बस्नुको ठेगान छ, न खानुको । त्यसो त सानोतिनो फिल्ममा हजार रुपियाँमा सम्वाद लेखिसकेको छु । कहिलेकाहीँ असिस्टेन्ट भइदिन्छु, कहिलेकाहीँ विज्ञापनतिर डविङ्ग गरिदिन्छु । कहिले गायक मुरलीधरसित मिलेर ‘मरौ’(शोक समारोह) मा समूह गीतमा कोरस भइदिन पुग्छु । कहिले उदितनारायण झाले ठेक्का मिलाएको कार्यक्रममा उद्घोषण गरिदिन्छु । कुमार कान्छा, सोमनाथ, सुरेश विश्व, बी.के. शाही, उदितनारायण हामी सबै नेपालीका निम्ति नेपाली भाषाको विज्ञापन वा रेडियो जिङ्गल खोजिदिने काम महेश शर्मा नामक एजेन्सीले गर्थे र पचास प्रतिशत आफैँ खान्थे । उदितले एकदिन उसको विरोध ग¥यो— ऊ निकालियो । तर उसका दुइटा दैलो खुला थिए— बस्नका निम्ति दीपा गहतराजको फ्ल्याट र गाउनका निम्ति राम्रो गला । विवाहपछि ऊ हामीबाट छुटेर गयो, हाम्रो भीड झन् सानो भयो ।

.....आज दादरमा एउटा निर्माताकहाँ पैसा माग्न आएको छ । अफिस बन्द छ । बर्सोवा फर्केर जानुछ— निक्कै टाढा । पैसा यति मात्रै बाँकी छ, टिकट काटूँ या त चना खाऊँ । चना किनेर खल्तीमा हालेँ र पैदल हिँड्न सुरु गरेँ । एउटा ठूलो होटल अगाडि आएर थाकेर उभिएँ— भोक पनि लाग्यो ।

गुरु भन्थ्यो— “हिटलरले भनेको छ, यदि तिमी सफल भयौ भने दुनियाँलाई क्यै बताउनै पर्दैन, यदि विफद भयौ भने कसैलाई क्यै बताउनै पाउँदैनौ ।” यो भनाइ सम्झेर कहिलेकाहीँ खुब चित्त बुझाउँछु, कहिलेकाहीँ खुब आत्तिन्छु पनि— “...यू फेल यू उड नट बी दियर टु एक्सप्लेन ।” तिमी त्यहाँ बयान गर्नको निम्ति पनि हुँदैनौ विफल भयौ भने.....! आम्मै, सम्झेर डर पनि लाग्छ— बम्बई कति ठूलो सहर छ र म कति सानो मान्छे छु । मान्छेले जतिसुकै हिम्मत गरोस् कहिले त एकदम डर लाग्छ, मुटु कँपाइदिन्छ । यहाँ मान्छे रातारात आकाशमा पुग्छन्, स्टार बन्छन्— उसका कथा सुन्नेहरू र सुनाउनेको भीड हुन्छ । उसको कथा अस्वाभाविक रूपमा रचिन्छ, संसारभरका मान्छेले पढ्छन्, सुन्छन् । हिजोसम्म कहाँ थियो, कसैलाई थाहै हुँदैन ।

......रातको शायद दुई बजेको हुनुपर्छ । बम्बईको बर्षाद, लाग्छ आकाशबाट समुद्र झरेको हो । म एउटा अँध्यारो कोठामा कमजोर बल्बको धिमा प्रकाशमा बसेको छु । बाहिर पानीमा भिजेर दर्जनौँ मान्छेहरू सुतिरहेका छन्, कुकुरका हालत झनै खराब छ । लाग्छ पानी अब रोकिँदैन । भन्छन् ‘बम्बईकी बर्षात्, पुलिसवालोँ की लात, फिल्मवालोँ की बात...., कभी भरोसा मत करना ।’ अब यो कुरा मैँले बुझेजति पत्याइसकेको छु ।

मैन बिल्डिङका उज्यालाहरू कहिले निभिसके । मान्छेहरू आ–आफ्ना घरमा सुतिसके होलान् । म भित्तामा टाँसिएको आचार्य रजनीशको श्लोक पढ्दैछु ।
”शेयर योर लभ इफ यू डुनट फाइन्ड एनिबडी, टु शेयर इट, शेयर विथ रक बट शेयर । शेयर विथ डग, बट शेयर ।”

आजै दिउँसो ‘युसिस’मा ‘द लास्ट मैट्रो’ हेरेँ । एउटा कुरा स्पष्ट भयो, मलाई फिल्म हेरेपछि,...“प्रेम गर्न र घृणा गर्न दुवै स्थितिमा दुईजनाको जरुरत पर्छ ।” मलाई अत्यन्त प्रेम गर्ने एउटी सहृदयीको पत्र सिरानीमा लडिरहेछ—

प्रिय प्रकाश,

जीवनलाई बाँध्ने वा समेट्ने कोसिस नगर, जे चल्दैछ त्यही सत्य हाृे, त्यही यथार्थ हो, बाँकी सब झुठ । बहावको विपरीत पौडी खेल्न मैले पनि धेरै कोसिस गरेकी थिएँ । तर एउटा स्पष्ट छ— बहावसँगै बगेर पनि दिशा खोज्न सकिन्छ ।

तिमीभित्र त्यो हतासा कस्तो ? वर्जनाहरू त हरेकसित हुन्छन्, खास गरेर म सम्झिन्छु— एउटी स्त्रीका निम्ति वर्जना शब्द कति व्यापक र घातक प्रद छ । आत्मस्थलका वर्जनाहरू त सबैसित छन् र सबैलाई तोड्छन् पनि । मलाई लाग्दैन, तिमीलाई अरूको हिम्मत र शक्ति चाहिन्छ । तिमी स्वयम्मा सक्षम छौ । नयाँ वर्षको शुभकामना लेऊ मसित । नयाँ सालको पाँच दिन पनि बितिसके । मलाई थाहा हुँदैन, कहिले दिन हुन्छ कहिले रात । व्यस्त छु म आफ्ना व्यस्तताहरूमा । दुई तीन महिनाअघि दक्षिणी भारतको यात्रातिर गएकी थिएँ । कन्याकुमारीको फैलिएको विशाल समुद्र, डुब्दो–उदाउँदो सूर्य— सबथोक देखेँ मैले । त्यतिबेला विचारमा यति मात्रै थियो— जीवन रोकिई जाओस् र म यो विशाल सागरमै आफ्नो जीवन पलछिन गरिदिऊँ । तिमीलाई हौसलाको निम्ति पनि म केही लेखिरहन चाहन्छु, परन्तु मेरा व्यस्तताहरू मलाई त्यो सबथोक गर्नबाट रोक्छन्, जुन गर्न मलाई राम्रो लाग्छ । हुन त यो जीवन मैले स्वयम् चुनेकी हुँ, फेरि पनि कहिलेकाहीँ अन्तरविद्रोह गरिदिन्छु ।

रेडियोमा गजल बजिरहेको छ— ‘वह चाँदनी सा वदन खुशबूओँका साया है, बहुत अजीज हैँ हमेँ मगर पराया है,....।’ ‘मिर्जा गालीव ’ हेर्छौ कि हेर्दैनौ ? मिर्जा गालीवमा नसीरुद्दीन शाह समक्ष शिर झुकाउन मन लाग्छ । अभिनय त्यो हस्तीको लागि मात्र खेलौना हो । रेडियोमा अझै गजल चालु छ, ‘उसे किसीकी मोहब्बतका ऐतबार नहीँ, उसे जमाने ने शायद बहुत सताया है, वो चाँदनी सा वदन....।” बस् ! जवाफ लेख्नू ।

—दुर्भाग्यवश तिम्रो किन्नू
६/१/१९८७ वाराणासी

“....यो जीवन मैले स्वयम् चुनेकी हुँ, फेरि पनि कहिलेकाहीँ अन्तर विद्रोह गरिदिन्छ” यो पङ्क्ति कताकता आफ्नै स्वगत जस्तो लाग्यो । किन्नूले विवाह गरे पश्चात् लेखेको यो पहिलो पत्र हो । पत्र पढेर मैले एक कुनामा थन्काएँ, कमिजबाट खसेको टाँकजस्तै । भोलि बिहानै मलाई छिटो उठेर एउटा निर्देशकलाई भेट्न जानुछ— त्यहाँ नयाँ कथामा काम हुँदैछ।
आज बिहानै गुरु आएको थियो, निक्कै खुसी छ— ‘रामायण’मा काम पाएछ , कमाइ पनि निक्कै भएछ । तर गुनासो पनि धेरै थपिएछ । मैले सोधेँ— “के भो ? किन दुःखी छस्, पैसा कमाएर पनि ।”
“खाना नखाएको चार दिन भइसक्यो ।”
“किन नखाएको त । पैसा त निक्कै छ नि !”
“कहाँ यार, बाँदरको रोल पाएको छु । मेकअप(गेटअप) उतार्न र बिगार्न हुँदैन— कन्टिन्युटीले गर्दा । मुख खोल्नै मिल्दैन— तरल पदार्थ मात्र पिउँदै छु पाइपले तानेर । पहाडबाट लड्ने र खस्ने काम धेरै छ, जिउ दुखेर.....।” गुरुको दुःख गाथा सुनेर माया पनि लाग्यो र हाँसो पनि , “तर अब तीन दिन सुटिङ छैन मेरो । म ढुक्क छु— जाऊँ हिँड् तँलाई आज म चाइनिज लञ्च खुवाउँछु ।” मैले प्रतिवाद गर्न सकिनँ— उसको खुसीमा, आग्रहमा । रोवर्ट फ्रस्टको एउटा कविता सम्झिँदै म अघि बढेँ—

"द उड्स आर लभ्ली, डार्क एन्ड डिप
बट आइ ह्याभ प्रमिसेस टु कीप
एन्ड माइल्स टु गो बिफोर आइ स्लिप,
एन्ड माइल्स टु गो बिफोर आइ स्लिप !"

Comments

samba dhakal

संस्मरणले आकर्षण गर्‍यो बा!!!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |