हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

लेखक हुनुको पीडाले ‘देश बोक्नुको पीडा’लाई बोक्दा,(शर्मिला खड्का (दाहाल))


लेखक जहिले पनि पीडाको भारी बोकेर हिँडछ । जो पीडा बोक्दैन ऊ लेखक हुनै सक्दैन । जो पीडा बोकेर हिँडछ ऊ जताततै पीडैपीडा को भारी मात्र देख्छ । म लेखक भएर काठमाडौ आएको झण्डै एक वर्ष भइसकेको थियो । ह्वाइटहाउस कलेजको अगाडिको एउटा स्टेशनरी पसलमा लेखक हुनुको पीडा झुण्डिएको झण्डै एक वर्षेखि निरन्तर रुपले म हेर्दै आएकी थिएँ । एक वर्ष देखि धूलोमैलो लागेर झुण्डिएको पुस्तकको हालत देखेर म लेखक हुनुको पीडामा अर्को पीडाले थिचिएँ ।लेखकले कति दुःख पीडा खपेर पुस्तक लेख्छ अनि तयार गर्छ तर त्यसको समाजमा कुनै महत्व नै छैन । किन हो किन त्यो पीडाले मलाई निकै थिच्यो आफनै पुस्तकको पीडालेझैँ । त्यो पीडा थियो - विश्वासदीप तिगेलाको 'देश बोक्नुको पीडा' । यसो हेरेँ लेखकको नाम सुनेकै हो । पुस्तकको बारेमा चर्चा परिचर्चा पनि कही कतै सुन्दै आएको हुँ । पक्कै पनि पुस्तकको लेखकले देश बोक्नुको पीडालाई निकै ठुलै भारी बनाएर बोकेको हुनुपर्दछ, त्यसभित्र सरसरी छिर्न मन लाग्यो । घरमा पुस्तक ल्याएको केही दिन पछि म 'देश बोक्नुको पीडा'लाई छाम्न पुगेँ । म त्यसभित्र पीडाका पत्रपत्र उत्काउदै छिर्न थाले । भित्र छिर्दाछिर्दै म अतीतको स्मृतिमा हराउन पुगेँ ।

वि
.सं. २०३८ - २०३९ सालतिरको कुरो हो - त्यसवखत म हाईस्कुलमा पढ्थे । मेरो बाल्यापन यौवनकालको सँघारमा थियो । हाम्रो घरवरिपरिका खाली जग्गामा भकाभकी लाहुरेहरूका घरहरू बन्न थालेका थिए । हाम्रो घरमा ढुवानी गर्ने ट्रकहरू भएकाले घरहरू बन्दै गरेको चर्चा सुनिन्थ्यो । बिस्तारै लाहुरेहरूको घरले हाम्रो टोल छपक्कै ढाक्यो । हामी उनीहरूको रहनसहन, लवाइखवाइप्रति अत्यन्तै आकषिर्त हुन्थ्यौ । त्यो बेला लाहुरेसँग किनेको हाम्रो क्यासेट प्लेयरमा 'शोले' हिन्दी फिल्मको डायलग र 'सिन्दुर' नेपाली फिल्मको डायलग दाजुहरू बजाइरहनुहुन्थ्यो । विशेषतः हामी छोरीहरू लाहुरेका छोरीहरूले लगाउने लुगामा खुबै आकषिर्त थियौं र त्यस्तै किनी माग्थ्यौ । मुश्किलले लुगा किन्ने अनुमतिसहित पैसा पाउदा पनि बजारमा कतै भनेजस्तो लुगा नपाउँदा हामी हिस्रिक्क पथ्र्यौ अनि लाहुरेको छोराछोरी हुनु नि भनी मनमा आकांक्षाका बिउ उमार्न थाल्दथ्यौ ।

लाहुरेले भोग्ने विलासी जीवनप्रति हामी अत्यन्त लालयित थियौं । तर उनीहरू बारे एउटा गलत धारणा के थियो भने उनीहरू पढेका,लखेका  हुदैनन । लामो समयसम्म विदेश बसेर नेपाल आउँदा यहाँको रितिथिति , नियमकानून बारे थाहा नपाएर धेरै ठगिदा रहेछन् मलाई पछि यो कुराको ज्ञात भयो । मसँगै पढ्ने लाहुरेका छोराहरू हामीलाई 'लाहुर जाने हो किन पढ्ने' भन्थे भने छोरीहरू 'लाहुरेसँग विवाह गरेर विदेश जानुपर्छ किन पढ्नुभन्थे । यसरी लाहुरे समाजको माझ रहेको हाम्रो घर लाहुरेहरूका धेरै जसो सामाजिक चालचलन र रहनसहनबाट प्रभावित थियो । हेर्दाहेर्दै धेरै केटा साथीहरू लाहुरेमा भर्ती हुँदै गए । केटी साथीहरूको एक छुटटी आएको लाहुरे , दुर्इ छुटटी आएको लाहुरे भन्दै लाहुरेसँग विवाह हुन थाल्यो । त्यो बेला बेरोजगार को समस्या आजको जस्तो चुलिएको थिएन तर पनि लाहुरेहरूको पहाड , गाउँघरतिर हुने इज्जत , प्रतिष्ठा र मानसम्मानले गर्दा जनजाति समुदायमा लाहुरे हुने एउटा ठूलो सपना हुन्थ्यो । अविकसित देशमा जन्मेर  विकसित मुलुकको रहनसहन देखेर, भोगेर सकेसम्मको सम्पत्ति लिएर आउनु एउटा ठुलै सौभाग्य ठहरिन्थ्यो । त्यसैले पहाडका कुनाकुनाका र गाउँघरका सबै नवयुवकहरू लाहुरेमा भिड्नका लागि आफूलाई तम्तयार पारेर राखेका हुन्थे । जब म 'देश बोक्नुको पीडा' को अनुहार उघारेर हेर्न थाले मलाई तिनै मेरा साथी भाइहरू पढ्दापढ्दै लाहुरेमा भर्तीभई विदेश पुगेका साथीभाइहरूको सम्झना आउन थाल्यो । तर अनुहार सँगसँगै जब म लाहुरेको हृदयको ढुकढुकी उर्घार्न पुगे अनि थाहा पाए लाहुरेको विलासी जीवन भित्र कति ठूलो पीडा रहेछ भनेर । अध्ययन गर्दागर्दै केही बन्ने सपना बोकेका विश्वासदीप लाहुरेमा भर्ती भइसकेपछि रमाउनुको सट्टामा आफनो सपना भताभुङ्ग भएकोले रुदा बेमज्जाले मुटु चिरियो मेरो । किनभने विश्वासदीपको लाहुरे हुनुपर्ने बाध्यतात्मक जीवनले उनको अध्ययन गर्ने इच्छा अधुरो रहेजस्तो त्यो बेला आफु पनि छोरी भएर अध्ययन गर्न नपाई चाडै विवाह गरेर अर्काको घर जानुपर्ने पीडाले मलाई नराम्ररी दुखायो । आखिर पीडा एउटै थियो । तर उदेश्य के लिनु उडी छुनु चन्द्र एक भने जस्तै हृदयमा गहिरोगरी गरिएको प्रतिज्ञाले एकदिन अवश्यै व्यक्तिलाई आफनो उदेश्यमा पुर्याउँदो रहेछ । विश्वासदीप लाहुरे जीवनको विभिन्न व्यवहारिक कठिनाई नाघ्दै अनुभूति र भावनाहरूसँग खेल्न सक्षम भएका छन् । देशको माया छातीभरि राखेर आफना गाउँघर , आफन्त बाआमा छाडी विदेशी भूमिमा परिचयको ढोका खोल्नु चानचुने कुरो पक्कै होइन । लेखकीय संवेहनशीलता बोकेर विदेशको लागि आफनो श्रम, शक्ति र पौरख खर्चनुपर्ने बाध्यतामा उनी पिल्सन्छन् । विदेशीहरूले नेपालीहरूलाई एकातिर बहादुरहरूको देश भनेर चिनेकैमा उनी गौरव महसुस गर्छन भने अर्को तिर गरीबहरूको देश, चेलीबेटी वेश्यालयमा बेच्ने देश भनी भन्दा नराम्ररी विरक्तिन्छन् । उनको देश बोक्नुको पीडालाई म यसरी पत्रै पत्रमा उर्घार्न चाहन्छु ।

पहिलो पत्र
- सधै मन घोच्ने केही गुनासाहरू :-
नागरिकको देशबाट विदेशजाने पहिलो संघार देशको सीमाना हुन्छ कि अन्तराष्ट्रिय विमानस्थल । उनी त्रिभुवन विमानस्थलमा आउँदा जाँदा नराम्ररी दुख्न पुग्छन् । विमानस्थलको अव्यवस्थित व्यवस्थापनले उनलाई नराम्ररी घोच्ने गर्दछ । विदेशी विमानस्थलको व्यवस्थित विमानस्थलसँग नेपालको विमानस्थल दाज्न पुग्छन् - उनी भन्छन् "लन्डनको हेद्रो एयरपोर्टमा ५ वटा जहाजका यात्रुहरू कागजपत्र चेक सकेर बाहिर निस्कने समयभन्दा बढी नेपालको त्रिभुवन विमानस्थलको एम्रि्रेसनमा एउटा जहाजको यात्रुहरू छिर्न समय लाग्छ । यो कस्तो विडम्बना - उनी विडम्बै विडम्बाको भारी बोकेर जहाजमा उचालिन्छ । यो उनको पीडाको पहिलो भारी हो जुन उनीसँग सधै देशविदेश घुमिरहन्छ अनि नेपाल आउदा उनलाई त्यो पीडाले उठ्नै नसक्ने गरी थिचिदिन्छ ।

दोस्रो पत्र
- कोसभो यात्रा : जिउँदी आमाको चिहान तयारी :
वास्तवमा विदेश घुमेर आउनेहरूले विदेशमा हुने गृहयुद्धको कारणहरू यसै गरी र्छलर्ङ्ग पारिदिने हो भने धेरै पाठकहरूले धेरै कुरा थाहा पाउँथे । वास्तवमा यो पत्र पीडैपीडाको पत्र हो । एकातिर कोसोभो राज्य कसरी गृहयुद्धको चपेटामा पर्यो भन्ने कुरा सम्पूर्ण नेपालले थाहा पाउनु पर्ने अवस्था छ भने अर्कोतिर गृहयुद्धको कारण एउटा आमा मृत्युवोधको पीडाले कसरी पिल्सिरहन्छिन् भन्ने मनोवैज्ञानिक दृष्टान्त हो । आज नेपालमा भएको जातजातीको विभाजन भनौँ जातीय संघीयताको कुरा उठेको बेला कोसोभोको गृहयुद्धको कारण सबै नेपालीले थाहा पाउनु पर्ने अवस्था आएको छ । किनभने भोलि हाम्रो देश पनि कोसोभो राज्य जस्तै हुन कुनै बेर लाग्दैन । अनि गृहयुद्धबाट हामी जातजाति विदेशी हस्तक्षेपले गर्दा हामी हाम्रो चिहान खनेर आफनो मृत्यु कुरेर बस्न बाध्य हुन सक्छौं । कोसोभो गृहयुद्धको कसरी भयो भन्ने विषयमा लेखक भन्छन् - कोसोभो र्सर्वियाली र अल्वेनायाली बसोबास गरेको राज्य हो । पहिले कासोभो राज्य र्सर्विया, भन्टेन्रि्रो, बोनिस्या, क्रोसिया, स्लोभानिया र भेसोडोनिया एउटै शक्तिशाली राष्ट्र युगोस्लाभिया भनेर चिनिन्थ्यो । मार्सल ठिटोको कम्युनिस्ट शासनको बेला अत्याधिक विकास भएको तत्कालीन युगोस्लाभिया धेरै शक्तिशाली थियो । विभिन्न जातजाती मिलेर बनेको राष्ट्र भएपनि सबै जातजातिको आफनो साहित्य संस्कृति स्वतन्त्ररुपमा विकास भएको थियो । पछि राजधानी बेलग्रेडले एकात्मक योजनाहरू पुरै युगोस्लाभियामा लाद्न थाल्यो । त्यसपछि सबै राज्यहरू आफू आफू छुटिन पुगे । यसरी युगोस्लाभिया छ राष्ट्रमा टुक्रियो भने कोसोभो र्सर्वियाको एउटा प्रान्तको रुपमा रह्यो । आज कोसोभो स्वतन्त्र राष्ट्र हुनका लागि गृहयुद्धको चपेटामा छ । यहाँ र्सर्बेयन र अर्ल्वनियन बीच महामारी छ । यहाँ संयुक्त राष्ट्रसंघले अर्न्तर्गत ४४ राष्ट्रका सेना र प्रहरी संलग्न छन् । यहाँका जनताको जीवन अत्यन्त कष्टकर बनेको छ । लेखकले यहाँ बहुभाषा, धर्म, संस्कृति भएको हाम्रो देश पनि गृहयुद्धको चपेटामा परेर कतै कोसोभो जस्तै हुने त होइन भनी पीडाका कालोपत्रले मनलाई ढकमक्क ढाकी दिन्छन् ।

 एकजना वृद्धा त्यही गृहयुद्धमा पिल्सिएकी छिन । आफनो मृत्युपछि छोराछोरी सबै बसाइ सरेर र्सर्विया जाने सोचमा उनको लागि बनाइएको चिहान हेर्दै बाच्न बाध्य छिन् । कतै हामी पनि हाम्रो देशमा भएको जातीय द्धन्दले आफनो चिहान खनेर मृत्यु कुरेर बाच्न बाध्य त हुने छैनौ भन्ने पीडाको भारीले हामीलाइ थिचिरहन्छ ।

तेस्रो पत्र
- केन्या यात्रा एउटा सुन्दर क्षणको अन्त्यः-
केन्याको यात्रा लेखकलाई सुन्दर लागे पनि कतै न कतै उनलाई पीडाले पोलिहाल्छ । अफ्रिकाली गरीव मुलुक केन्यामा लेखक रोमाञ्चक यात्रासँगसँगै पानी पको विस्तिकै छाल लागेजस्तै एकैछिनमा दुखी हुनपुग्छन् । त्यहाँको धनी र गरीब बीचको असामान्य दूरी र एड्सबाट पीडित व्यक्तिको अवस्था थाहा पाएर उनी अत्यन्त चिन्तित बन्न पुग्छन् । धेरै बालबालिका एड्सबाट पिडीत थिए भने एड्स लागेपछि कपाल झर्ने हुँदा एड्स लागेको नचिनियासोस् भनी सबैले कपाल खौरने चलन थाहा पाएर लेखक आफै चकित बन्न पुग्दछन् ।

चौथो पत्र
- गरिब देशको नागरिक हुनुमा बढी मानवता
यस पत्रमा लेखकले ठूलै पीडाको भारी उचालेका छन् । यस पत्रमा उनले ब्रिटिस सेनामा भर्ती हुँदाको पीडादेखि लिएर साहित्यमा लाग्दाको पीडाको भारी उचालेका छन् । लेखकीय हृदय जति छोपेपनि छोपिदो रहेनछ भन्ने उजागर उनले यहाँ पोखेका छन् । पल्टनमा पढ्दा पढ्दै उनी साहित्यतर्फतानिएर पत्रिका निकाल्ने तरखर गर्न लाग्छन् । पत्रिका प्रकाशनको पूर्वसन्ध्यामा उनले खेप्नु परेको दुःख भारी उचालिनसक्नुको रहेछ । कम्पनी सरकारले पत्रिका प्रकाशनमा गरेको शंकाको घेराले उनलाई र उनको साथीलाई नराम्ररी बाधेको छ । तर पनि विदेशको भूमिमा विदेशीको साम्राज्यमा नेपाली भाषा साहित्यको पत्रिका निकालेर  साहित्यिक योगदानका लागि ठूलो साहासिक कार्य गर्न पुगेका छन् उनी । भाषा साहित्य मार्फत उनी लाइब्रेरियन हुन पुग्छन् र विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुनपुग्छन् ।

पाचौ पत्र
- गुफाको राजधानी मुलयात्रा:
लेखक मलेसिया पुगेर मुलुगुफा हेर्न जाने सौभाग्य पाउँछन् । सुन्दर दृश्यको रसास्वादन गर्दागर्दै उनी फेरि देश दुख्नुको पीडाले मर्माहत हुन्छन ।

उनी विभिन्न ठाउँको यात्रा सँगै पाठक लाई पनि सँगै लान्छन् । आफै पुगेर त्यो ठाउँको अवलोकन गरे झै लाग्ने उनको भाषा शिल्पले कतिखेर पाठकलाई देश दुख्नुको पीडाले मर्माहत पार्छन थाहा पाउन नै सकिँदैन ।

छैटो पत्र
- देश बोक्नुको पीडा:
यो पत्रको शीषर्क नै देश बोक्नुको पीडा छ । यहाँ लेखक आफनै भावनासँग खेल्छन् र आफनै पीडाको भारीले थाकित बन्दछ । आफू हुनुको पीडा सँगसँगै उनलाई देश बोक्नुको पीडाले दुखाउँछ । जब हरियो पासपोर्ट भएको कारणले उनी मेक्सिकोमा प्रवेश गर्न पाउँदैनन् तब उनी आफनो देशको पीडाले पिरोलिन्छन् । सँगै गएको अन्य देशका साथी विनारोकतोक मेक्सिको प्रवेश गर्न पाए तर नेपाली भएको कारणले लेखकले प्रवेश गर्न नपाउँदा जीवनको एक अवस्मिरणीय क्षणका रूप लिएको उनी बताउँछन् । उनी देशमा चलेको द्धन्दले पिडीत बन्न पुग्छन् । अझ हजारौ युवाहरू देशको माटो छोडेर विदेशमा आफनो पसिना बगाएको देखेर अझ पीडामा पिल्सन पुग्छन् उनी ।

सातौ पत्रः
- राम्रो सपना देखेको रात-
यो पत्रमा उनी देश दुख्नुको पीडामात्र बोक्दैन उनीभित्र, मानवीयता पनि जुरमुराएर उठ्दछन् । एड्स रोगले ग्रसित अफि्रकिली जनताको दयनीय अवस्था सामाजिक विभेद, धनी गरीव बीचको असमनताले दुःखी हुन पुग्दछन् । उनी पूर्णिमाको रात आफनी मायालुलाई यसरी सम्झन पुग्दछन् - पूर्णिमा आकारको चन्द्रमा आकाशमा देख्छु म सधै मेरी प्यारीलाइ सम्झन्छु र विगतसम्म पुग्छु । लाग्छ विगतलाइ सम्झेर दुख्नु पनि साहै मज्जा आउँछ । हो त्यही मेरो घरको आँगन, सिखुवा  अनि चन्द्रमाको सुमधुर प्रकाश मेरो मनभरि लागिरहेको छ । सोच्छु चन्द्रमाले र्छर्ने मधुर प्रकाशमा अर्थात पूणिर्माको दिन सबैभन्दा बढी म रमाउने गर्छु मेरो विगतको पन्नाहरूमा यही पल गाउँमा पीङ खेल्न गएको छु । मेला भर्न गएको छु । भोज भतेर गएको छु । मेरी प्रियसीलाइ धेरै पटक भेटेको छु । त्यति मात्र कहाँ हुनु यही बेला पहेँलै झुलिरहेको गैरीखेत र डाँडाखेतमा धान काट्न  गएको छु । यही बेला छिमेकी कहाँ आएका पाहुना सोल्टिनीसँग रातभर धान नाचेको छु । रातभर मायाप्रीर्तिको गफ गरेर विताएको छु । त्यसैले पूणिर्मा मेरो लागि विशेष उत्सवको कोसेली लिएर सधैँ आउँछ ।मलाइ रोमाञ्चित बनाइराख्छ । चन्द्रमा उदाएको रातमा सिधै मेरो ओछ्यानमा चन्द्रमाको प्रकाश आओस् र मेरो आँखाले चन्द्रमा हेर्दाहेर्दै निदाउन पाएँ हुन्थ्यो भन्ने अभिलाषा हुन्छ । साथीहरूसँग विदा भएर ओछ्यानतर्फलाग्छु । चन्द्रमाले रमाएर प्रकाश बाँडेझैँ मेरो मख रमाइरहेको हुन्छ ।

आठौँ पत्र - बेलायतमा खुसीको सपिङ बेखुसीको सामानः
यस पत्रमा लेखक खुसीसँग बेखुसीहरू साटन पुग्छन् । कुनै समयमा बेलायत अत्यन्त कम नेपालीहरू देखिन्थ्यो भने अहिले नेपालीहरूको घनाबस्तीले अचम्मित छन् । यहा नेपालीहरूको धराने टोल, पोखरेली टोल, सुब्बाटोल, आदि टोलहरू छन् । बेलायतमा नेपालीहरूको बसोबाससँगै विभिन्न विकृति र विसंगतिको  भारी पनि बढ्दै गएको लेखक उद्घृत गर्दछन् । बेलायतमा बस्ने नेपाली सुखी र खुसी नै भेटिएको कुरा लेखक बताउँछन् । तर सामान किन जाँदा मेड इन चाइना लेखेको मात्र पाउँदा उनी बेखुसी हुन पुग्छन् ।

नवौं पत्र
- साम्बुरु जाति एक पश्चिम:
यस पत्रमा आइपुग्दा लेखक अफि्रकाको एक सानो जाती सम्बुरु जातिप्रति अत्यन्त संवेदनशील हुन पुग्दछन् । अल्पसंख्या रूपमा रहेको साम्बुरु राज्यबाट धेरै उपेक्षित रहेको लेखक बताउँछन् । यी जाती परम्परागत जीवनशैली रुचाउने हुनाले उनीहरूमा शिक्षाको अभाव देखिन्छ । यस अन्तिम पत्रमा लेखकले साम्बुरु जातीको रहनसहन, सस्कार, संस्कृति धर्म र भाषा सम्बन्धित प्रशस्त जानकारी दिएका छन् ।

अन्त्यमा लेखकले देश बोक्नुको पीडालाई साम्बुरु जातीको अचम्मलाग्दा जीवन शैलीलाई शब्दमा कैद गर्दै
'देश बोक्नुको पीडा'लाई विर्सजन गरेका छन् । वास्तवमा जीवनको जटिलतामा बाधिएर आफू पोखिनुको मजा अर्कै हुन्छ । त्यो मजामा हामी जुनसुकै पीडाको भारी बोकेर पनि बिर्सजन गर्न सक्षम हुन्छौ । त्यो लेखकीय पीडालाई शब्दमा उतारेर विश्वासदीप तिगेला आफूलाई हलुको भएको महसुस गरेका छन् । विश्वासदीप तिगेला डायस्पेरामा साहित्यको दुवोलाई हृदयभरी सँगालेर मलजल गर्ने उदाहरणीय नाम हो । त्यस्तै आज देशको राजनैतिक अस्तव्यस्तताले हजारौँ विश्वासदीपहरू विदेशीनुको पीडाले पलपल प्रताडित छन् । कतिपयले आफनो पीडाको भारी शब्दमा उतारी सकेका छन् भने कतिपय प्रयासरत छन् । विश्वासदीप तिगेलाबाट जीवनको भोगाइ सँगै व्यक्त गरिने यस्ता विदेशी सस्कारहरू बारे लेखिएको नियात्राहरू अरु जन्मनेछन् भन्ने आशा गर्दै 'देश बोक्नुको पीडा'को भारी म यही विर्सजन गर्न चाहन्छु ।


sakhada4@yahoo.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |