
कलियुगको युद्धको यो कोरोना
न सजीव न निर्जीव
महाभारतको युद्धको शिखन्डी जस्तो
न स्त्री न पुरुष, तर पनि
युद्धको समीकरण नै बदलिदिने
एउटा अपत्यारिलो योद्धा ।
यो कोरोनाले मेरो आचार बदलिदियो
मेरो बिचार बदलिदियो
जीवनको रोजाई बदलिदियो
मस्तिष्कको सोचाई बदलिदिने
अरु के भनुँ खै
मेरो संस्कार नै बदलिदियो ।
अतिथि देवो भव: भनेर हुर्केकी म
शबरीको बयरको कथा सुनेर फुर्केकी म
पाहुना आउँदा ढोका थुन्न थालेँ
आफन्तीसँग पर भाग्न थालेँ
यो कोरोनाको आगमनले
मेरो संस्कारको परिभाषा नै बदलिदियो ।
ब्रम्हाण्डमा राज गर्न हिडेकी म
टेके जति मेरै हो भनेर बुझेकी म
देखे जति आफ्नै हो भनेर जानेकी म
पृथ्वीले पुगेन मंगल नि धाँउछु भनेर बढेकी म
यो कोरोनाको आगमनले
घरको आँगन नै आफ्नो हुन्न भनेर सिकायो ।
अरु त के भनुँ खै?
यो कोरोनाले प्रकृतिको नियममै प्रश्न उठायो
सुर्य उदाउदैमा बिहानी हुँदैन भनेर सिकायो
बिहानी हुँदैमा बिउँझिन सकिन्न भनेर सिकायो
तारा आँउदैमा रात हुँदैन भनेर सिकायो
रात पर्दैमा निदाउन सकिन्न भनेर पनि सिकायो ।
धेरै के भनुँ र खै?
सही गलत रहेछ भनेर सिकायो
गलत सही पनि रहेछ भनेर सिकायो
त्यसैले त,
लडेकालाई हात दिन छोडेँ मैले
छुटेकालाई साथ दिन नि छोडेँ मैले ।
जन्म एक्लो, त्यो सत्य थियो
मरण एक्लो, त्यो पनि सत्य नै छ
बाँच्नु पनि एक्लै पर्छ, त्यो सिकायो कोरोनाले
न जिउँदाको जन्ती, न मर्दाको मलामी
सबै सिकायो यो कोरोनाले
धेरै सिकायो यो कोरोनाले ।