हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

कोक- गोष्ठी

हरि घिमिरे, (भर्जिनिया)


कोठे कविता-गोष्ठी नेपालमा सञ्चालन गरेका अनुभवका आधारमा अमेरिकामा पनि यहाँका केही प्रबुद्ध साथीहरु मिलेर आजभन्दा छ: वर्ष अघि सुरु गरिएको थियो।
तर एक-दुइ श्रृङ्खला चलेपछि जिम्मेवार लिने साथीहरुबाट जिम्मेवार पूरा नगरेका कारणले त्यो त्यसै क्रमभङ्ग भएर स्थगित भएको थियो। छ: वर्ष पछि नेपाली भाषा र साहित्यमा अहोरात्र चाख दिएर खटिने मित्र वासु श्रेष्ठले फेरि यही डिसेम्बर २०१० बाट यो कोक(कोठ-कवि) गोष्ठीलाई सुचारु गर्नु भयो र अहिलेसम्म चारवटा श्रृङ्खला सकिएको छ। पहिलो वासुजीले, दोस्रो मैले, तेस्रो गोपाल रेग्मीजीले र चौथो आनन्द शर्माजीले सञ्चालन गरुञ्जेल यो गोष्ठी कुशलतापूर्वक अघि बढि रहेको छ र पूर्ण आशा छ-अब यो क्रिया निरन्तर अघि बढिरहन्छ। अहिले देखिएको उत्साह हेर्दा अमेरिकामा यसले सशक्त भूमिका निभाएर एउटा नयाँ इतिहास रच्न सक्छ।

अमेरिका जस्तो व्यस्त जीवनमा केही समय निकाली उस्तै-उस्ता साथीहरु मिलेर आफ्ना मनका भाव साटासाट गर्ने माध्यममात्र होइन नयाँ-नयाँ सिर्जना गर्ने थलो बनेको पनि छ-कोक गोष्ठी। प्रत्येक दुइ-दुइ महिनामा सञ्चालन गरिने यस गोष्ठीले सुतेका साथीहरुलाई ब्यूँझाएको छ।ब्युझेकालाई उठाएको छ। उठेकालाई दौडाएको छ। साथीहरुका नयाँ-नयाँ भाव प्रकट भएका छन्। परिष्कृत शैलीको विकास भएको छ। छन्दका बारेमा चाख बढेको छ। अनुभवका साटासाटले सिर्जनालाई गहकिलो मलजल पुगेको छ। यो एउटा काव्य-पाठशाला पनि हो। लगभग चार घण्टा कविताकै बारेमा छलफल हुन्छ, विचार-विमर्श हुन्छ र त्यसैमा डुबुल्की लगाइन्छ। आफ्ना कमी-कमजोरीलाई हटाउन असल सल्लाह-सुझाव पाइएको छ। चिन्तन-मनन र मन्थनबाट साहित्यिक गन्तब्यमा पुग्न दिशानिर्देश भएको छ। नित्य-नविन आविष्कारले नेपाली साहित्यको भण्डार भर्न महत्वपूर्ण योगदान दिएको छ। यो एउटा भेटघाटको थलो पनि हो। प्रत्येकपल्ट हल भाडामा लिएर कार्यक्रम गर्न सकिदैन; यो संभव पनि छैन। त्यसैले प्रत्येक साथीहरुले पालैपालो गरी दुइ-दुइ महिनामा आ-आफ्ना घरमा कार्यक्रम गर्दापनि एक जनालाई साढे दुइ वर्षमा एकपल्ट पालो आउँछ। फेरि हरेक दुइ महिनामा औसत १५ जना साथीहरुले दुइ-दुइ कविता रच्ता पनि वर्षको ९० वटा कविता नेपाली साहित्यले पाउनु भनेको चानचुने उपलब्धी होइन। तर यी सिर्जनालाई ब्यवस्थित गरेर सुरक्षित तुल्याउनु पनि उत्तिकै चुनौति चाहिं छ।

अहिलेसम्म कोक गोष्ठीमा सहयात्री भई हिडेका कविहरु हुन् आनन्द शर्मा, कपिल सिटौला, गोपाल रेग्मी, गोविन्द गिरी प्रेरणा, प्रेम सङ्ग्रौला, वसन्त श्रेष्ठ, वासु श्रेष्ठ, डा.मोहन जोशी, शरद निरौला, सुदीपभद्र खनाल, हरि घिमिरे,  हेमन्त श्रेष्ठ, होमनाथ सुवेदी। यी सबै कविहरु खारिएका छन्,परिपक्व छन् र अमेरिकाको भूमिमा स्थापित छन्।सबैले लेखेका कविताभित्र देश बोलेको छ, माटो मग्मगाएको छ, सँस्कृति ब्युँझेको छ। बाहिर बस्नु परेको पीडा छ, जीवनको  असामान्य भोगाइ छ र सङ्घर्षशिल दैनन्दिनीको कथा छ। भाषा-शिल्प र संवेदनालाई सबैले समातेका छन्। विसङ्गति र विरोधाभासपूर्ण समाजमा बाँचे पनि प्रेम, उत्सव, आनन्द, उल्लास र भविष्यको सुनौलो सपना सबै कविका कलमले बोकेको छ। जीवनको नैसर्गिकता, निर्मलता र निष्कलुषित-मौलिकतालाई आजको भूमण्डलीकरणको प्रविधि रुपी बुल्डोजरले बढारे लान खोजे पनि कविहरुका कलमले सुरक्षित राख्न भरमग्दुर प्रयास गरेको छ। यी सबै समानता हुँदा पनि प्रत्येक प्रतिभाको प्रवृत्ति फरक-फरक छ। आनन्द शर्मा र सुदीपभद्र खनाल छन्दमा जुन काव्य-सौन्दर्य प्रकट गर्छन् वासु श्रेष्ठ र कपिल सिटौलाले गद्यमा त्यत्तिकै व्यङ्ग्य-विद्रोह र आक्रोश व्यक्त गर्छन्। प्रेम सङ्ग्रौलाले मानवीय सम्वेदनालाई मानवेतर प्राणीबाट जसरी उजागर गर्छन् शरद निरौला र गोपाल रेग्मी प्रकृति र प्रेमलाई आधुनिकतामा व्याख्या गर्छन्। डायस्पोराको चेतनाले छोएका होमनाथको अभिव्यक्तिमा जुन असन्तोष छ गोविन्द गिरीको कलमले विश्वब्यापीकरणको प्रभावलाई त्यत्तिकै पछ्याएको छ। हेमन्त श्रेष्ठ विकृति र विसङ्गतिमा जति ठूलो स्वरले कराउँछन् मोहन जोशी जीवन-चिन्तनको गहिराइभित्र त्यती डुबुल्की मार्छन्। वसन्त श्रेष्ठले जीवन-जगतलाई हेर्ने जुन आँखीझ्याल तयार पारेका छन् हरि घिमिरेको त्यहीं जस्केलामा उभिएर अनिश्चित भविष्य हेरिरहेछन्। कतै न कतै प्रवासी-चेतनाले सबै कविहरुलाई सताए पनि कवि होमनाथको डायस्पोराउनकै पर्यायवाची बनेर आएको हुन्छ। देशबाहिर बसेपछि देशको चिन्तन ज्यादा हुँदो रहेछ र चिन्ता पनि ज्यादा लाग्दो रहेछ; त्यसमा गोपाल रेग्मी, कपिल सिटौला, वासु श्रेष्ठ, हेमन्त श्रेष्ठ, गोविन्द गिरीको कलम सचेत छ र सजग पनि छ। जीवनको सहजता र सरलतालाई तुच्छ, स्वार्थ र सङ्कीर्णताले जकडेर अमानवीय बाटामा हिडेको समाजको कथा छ- हरि घिमिरेसँग।

यसरी आजसम्मको सङ्गतले मोटामोटी चिनिएका यी प्रवृत्तिका कविहरुको अनवरतको सृजनाले साहित्यको फाँटमा हरित क्रान्तिल्याउने वातावरण कोक गोष्ठीले गर्न सक्यो भने इतिहासका पानाभरी सबै बधाइका पात्र हुनेछन् र नेपाली साहित्य पनि कृतज्ञ हुनेछ।

Comments

सुन्दर जोशी

प्रबासमा अती अनुकरणीय ! गोष्ठी पछि हुने छलफलका बिषय बस्तु र बिचारहरुलाई पनि सार संछ्यपमा खसखसले  दिन सक्यो भने कविताको बार्हखरी सिक्दै गरेकाहरुलाई धेरै सहयोगी हुने छ !  आम संचारको बिकशित प्रबिधिहरु प्रयोग गरि 
येस्ता कोठे गोष्ठीहरुलाई फेसबुक र ट्वीटरको माध्यमबाट प्रतेछ्य प्रसारण गर्ने तिर पनि गोष्ठी आयोजकहरुको ध्यान जान सकोस 
भन्ने कामना सहित
सुन्दर जोशी  

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |