हालसालैका लेखहरु : शक्ति पूजा,(बासु श्रेष्ठ) आइदेउ नव वर्ष हर्ष बटुली नेपाल हाँस्ने गरी,(दुर्गा रिजाल) नयाँ वर्षको शुभकामना,(भरतमणि मरहट्टा ) गजल,(इन्जिनियर राकेश कार्की) ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम)

‘अर्की आइमाई’ डायस्पोरिक चेत,(प्रा.डा. खेम दाहाल )

प्रारम्भ

नीलम कार्की निहारिका (२०३१) को आख्यानमा प्रवेशले एक सुन्दर मार्ग समाउने आशा गरिएको छ । उनी कथाकार भएको नेपाली कथाको इतिहास (२०६९) मा डा. लक्ष्मणपसाद गौतम र ज्ञानु अधिकारीको संयुक्त लेखनबाट स्पष्ट भएको छ । निहारिकाको कथाकार प्रतिभाले कविता र उपन्यासमा प्रवेश गरेको देखाइन्छ । निहारिकाले पृथक शैलीको अवलम्बन गर्दै सामाजिक समस्यालाई सूक्ष्म रूपमा वस्तु बिम्बन गर्ने शिल्प देखाएर हवन (२०६२), कागजमा दस्तखत (२०६६), बेली (२०६८) जस्ता कथाका पुस्तकहरू प्रकाशनमा ल्याएकी छन् (गौतम र अधिकारी २०६९:२१६) । उनका कथामा नारीहरूका समस्या, मातृत्वको चेतना, नारी स्वभावको गम्भीर चित्रण भएको छ । उनी अहिलेको समयसित परिचित कथाकार रहेकी छन्, बेलीमा विपन्न वर्गका केटाकेटीको कथा लेखिएको छ । बालमनोविज्ञानसम्बद्ध कथाहरू, पत्रिकामा आएका बार्सिलोना सभिन्यू जस्ताविदेशी भूमिका कथा, जेलमान्छे जस्ता व्यङ्ग्य कथा लेख्ने निहारिकाले अब उपन्यासमा विदेशी र स्वदेशी भूमिको पीडा समेट्ने आशा छ ।

अर्की आइमाई उपन्यासमा (२०७०) उनको आख्यान लेखनमा नारी र उनको मातृत्वको विशेष चर्चा, सूक्ष्म विश्लेषणबाट स्फुरण हुन्छ । नारीले छोराछोरी नहुँदा, आफ्नी सौताका छोराछोरीले बोक्रो बोली बोल्दा कति परसम्म मन दुखाउँछे, उपन्यासको अग्रभाग त्यस सन्दर्भमा उपस्थित हुन्छ (निहारिका २०७०:६६) । यस कृतिमा मदर्स डेभित्रको घटनाले आफ्नो सन्तान र अरूको सन्तानमा पाइने अपनत्वको परीक्षण गर्छ, आमा बनेकी ईभाले तरुको अपमान गर्छे, छोरी डेस्टिनी कारण बन्छे । अर्की आइमाई शीर्षकलाई उचित परिभाषा दिन मदर्स डेको घटना माध्यम बन्न सक्छ । यसलाइ अझ परसम्म छेड्न र अर्की आइमाई बनाउन आशुतोष र नन्दे जुवाइ लागि परेका हुन्छन् । स्थान र मनको परिचयबाट प्रारम्भ शीर्षक बनेको छ । बहराइनको जहाज पर्खिएर दस घन्टा कटाउनु कुनै सजिलो कार्य होइन, प्रतीक्षा कठिन विषय हो । दोहा जाने जहाजमा यात्रा गर्ने यात्रीहरूका झोलाको परीक्षण गर्ने कार्य लगभग हुँदैछ । यो विदेशीभूमिको चालामाला हो । यसरी यात्रामा जादा कुनै नेपाली भेटियो भने त्यहाँ पहिले पुगेर भुक्तभोग गरेका पात्रसित आवश्यकभन्दा बढी प्रश्न सोधेर हायलकायल गराउने गरिन्छ । त्यस्ता अवस्थामा निकै जटिल समस्याको भुक्तभोगी पात्र बोल्दै हुन्छे । यस यात्राले दुःख मात्र दिँदैन, सुखको अनुभूति पनि गराउँछ । यसमा इलिनाह जस्ती सरल चरित्रकी महिलासित मिल्ने अनुहारकी कोही पाएमा मन शान्त हुनेछ । फेरि फेरि ईलिनाह आउने आशामा पाठकको ध्यान पुगिरहन्छ ।

 

पर्यावरण

               देश, काल र परिस्थितिबाट कथामा आउने बीजले ठाउँ पार गर्दै उचाई ग्रहण गर्दछ । त्यस पर्यावरणमा समय र स्थानको स्वाद दिन सक्ने सामथ्र्य रहेको पाइन्छ । आख्यानको भूमि, रहनसहन मिलेर पर्यावरण परिचयमा आउँछ । भाषा, भाषिका, चलन, रीतिस्थिति र भौगोलिक बरदानको एक सूत्र प्राप्त हुनु पर्यावणको प्राप्ति हो (शर्मा २०५५:४०१) नीलम कार्की निहारिकाले एक पात्रको अनुभूतिलाई हिउँ परेको समय र ठाउँतिस जोडेर देखाएको प्रसङ्ग उपन्यास अर्की आइमाईमा पाउन सकिन्छ । मेरो हिउँसँगको साक्षात्कार पहिलो पटक हो भन्ने हेक्कै नराखी मलाई ड्राइभवेको हिउँ हटाउनका लागि साबेल दिएकी थिइन्, सासूले (निहारिका २०७०:४) ।केन्याबाट अमेरिका आएकी घर नम्बर २७२१ मा काम गर्ने ईलिनाह पनि बेल्चाले हिउँ हटाउँदै थिइन्, उनी त्यस घरका तीन केटाकेटीको रेखदेखको आप्रवासी जागिरेको काम गर्थिन् । यस प्रसङ्गले अहिले अमेरिका स्वर्ग हो भनी जान खोज्नेहरूले भोग्ने सास्तीको एउटा अत्यन्त झिनो उपमा हिउँ र बेल्चा सितको युद्ध हो । लोग्ने ओनियागो र छोरासँग अमेरिका झरेकी ती इलिनाह भनिने नारीको अठार वर्षको अनवरत सेवा र अमेरिकाको पर्यावरण आप्रवासीका लागि निकै उकालो पर्ने सतह बोकेको धरातल भई बोध हुनेछ ।

         मानिस व्यस्त भएपछि आप्रवासीलाई त्यहाँका रैथानेको काम दिने अमेरकी संस्कार हुन्छ, मिस लोराका पति सेनामा काम गर्छन्, मिस लोरा आफैँ व्यस्त हुन्छिन्, त्यसैले तीन सन्तानको रेखदेख र घरको हेरविचार पुर्याउने काममा ईलिनाहले काम पाउनु त्यहाँको सामाजिक पर्यावरण हो ।

               डायास्पोराको एउटा धर्म आफ्नो पुरानो ठाउँसितको स्मरण हो । आफूले इच्छा भएर नभएर पुरानो ठाउँ, मातृभूमि छाडेपछि त्यसैको मोहले तानेर उड्ने मन हुनु डायस्पोराको धर्म हो, किनकि बलले धपाइएका यहुदीहरू आफ्नो भूमिको सम्झना गरिरहन्थे । यमपुरीको महल उपन्यासमा होमनाथ सुवेदीले प्रेम भनिने पात्रलाई नेपालको राखूको सम्झना गराउँछन्, उता दुःख भएपछि यता सम्झने विशेषता हुन्छ । प्रेमले अमेरिकामा आफूलाई सधैँ असुरक्षित ठानेको छ । यो असुरक्षाको चेतना डायस्पोरिक चेतना हो (कोइराला २०६४:५७) । आज पनि प्रेमले नेपाल सझिरहेको शैलीमा केन्याबाट अमेरिका आएकी महिला ईलिनाहले सम्झनामा लिएको पन्ध्र कोठाको ठूलो आफ्नो घर, आफ्नो व्यापार, नोकरी बस्ने बेग्लै घर, मिठो भान्सा बनाउने पैडिन (नोकरको नाम)की पत्नी, भिक्टोरिया ताल यी सम्झनामा आएका विषय हुन्” (निहारिका २०७०:६) । इलिनाहका माध्यमबाट डायस्पोराको जीवनशैली निचाउँदा विधवा नारी, छोरा र बुहारीको बसाइ टाढा, उमेर साठीभन्दा बढी, जन्मिएको सहर मुम्बासा, हुर्किएको सहर नैबोरी र केन्या स्वाधीन भएको दिनमा खुसी भएको सम्झना गर्ने महिलालाई भाइले अमेरिका बोलाएर अमेरिकी जीवनशैलीको स्वाद चाखाइदिएको छ । यसबाट त्यस्तै ठूलो आपत्विपत् नभएसम्म जन्मभूमि नछाड्ने विचार उठ्छ ।

               कुनै कारण नभएसम्म कसैले देशको माटो परित्याग गर्दैन, देशमा बस्न नसकिने भएको छ, त्यसैल अनन्त र उसकी पत्नीले माओवाद चम्किएका समयमा खती बेहोर्नु परेको कुरा ताराकी आमाले बताइन् (निहारिका २०७०:१२५) ।

बहुविवाह र अनमेल विवाहको अवशेष

               उपन्यासको विषयसूत्रले महिला र उनको खोसिएको अधिकार, पुरुषसत्ताको अत्याचार तथा अमेरिका स्वर्ग हो भन्ने धारणाको आलोचनात्मक व्याख्याबाट बीजको काम सुरु गर्छ । यस उपन्यासको बीजमहिला र उनलाई अत्याचार गरिएको विषय तथा अमेरिका भूमिमा पुगेका आप्रवासीले गरेको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रयास हो । यस विषयलाई समाख्याता आफैँबाट सम्झनाः आफ्नै विदाइको भन्ने उपशीर्षकबाट समाख्यान गर्न थालिएको छ । सम्झनाका रूपमा भिनाजु (दलाल प्रकारको नाता पर्ने भए पनि पैसामुखी पात्र) र एक प्रौढ अपरिचित पात्र (सुवर्ण) काका, वडाध्यक्ष, मितिनीका बाबु, छिमेकी ठूलो बाबु र मास्टर मामाको उपस्थितिमा अमेरिकी भूमिको सुखभोगको प्रलोभन देखाउँदै कक्षा १११२ मा अध्ययन गर्ने युवतीले एक प्रौढ पात्रकी पत्नी हुनुपर्ने अवस्था र त्यसको पर्यावरण प्रारम्भको आख्यान अंश हो । पात्र बा यसको अध्ययन, अवलोकन तथा मूल्याङ्कन गरिएको अनुभूति प्रकाश गरिएको छ । दाजुभाउजू समेतको रोहवरमा, माता र पिताको उपस्थितिमा कुनै अनुमतिको प्रसङ्ग नउठाई नेपाली भए पनि अमेरिकी नागरिकलाई एक नेपाली युवती समर्पण भएको, बिहेको नाटक गरिएको र उताको चलनअनुसार घरमा काम गर्न लगाउने तर सन्तान अघिल्ली पत्नीका माथि भर पर्नुपर्ने स्थितिलाई नाटकीय ढङ्गले अगाडि सारेर सम्पन्न गरिन्छ । यसमा गाउँमा गरिने बनावटी विवाह गराइन्छ, कागजी विवाह हतारमा गरिन्छ, अमेरिकामा बस्ने, उताका नागरिक, धनी मान्छेसितको सम्बन्धबाट परिवारका सदस्यहरू दङ्गदास रहेका हुन्छन् । बिहे भएको थिएन, बिहे भएको नाटक थियो । छोरीको भविष्य बनाउने कुराको कल्पना, बालिकाले देखेको सपनाजस्तो स्थितिमा जन्ती र सिन्दुरविना सुवर्णसित एक युवती (तरु/तारा)को यात्रा अगाडि बढेको छ ।

               विवाह भयो, अनौठो विवाह भयो, “न कोही जन्ती, न कुनै बाजा, न आँगनीमा जग्गे, न सिउँदोमा सिन्दुर, न गलामा पोते” (निरारिका २०७०:१६) । यसरी नारी अर्काकी हुँदा मन दुख्छ । यो घटना सत्यतामा रूपान्तरण हुँदा हृदय विदीर्ण हुन्छ । यस्तो अनमेल विवाहको मूल कारण आर्थिक विपन्नता नै हो । यस्ता अनमेल विवाह अविकसित देशमा अर्थतन्त्रका कारणले हुने गर्छन् ।

               अनमेल विवाह भएका उदाहरण नेपाली उपन्यासले समेट्नु समाजको बिम्ब कोर्ने प्रयासभित्र दौतलविक्रम विष्टले मञ्जरी (२०१५) मा सफलता प्राप्त गरेका छन् । एक चिहान उपन्यासमा हृदयचन्द्र सिंह प्रधानले सुरमान सुब्बा (५६ वर्ष) का साथ नानीथकुन (१७ वर्ष) को विवाह गराउन मानेनन्, शिवनारानलाई विद्रोह बनाएर भिडाए । अब हामीले पनि त्यतातिरको बाटो समाउँदा उचित हुन्छ भन्ने ठहर गरिन्छ । यहाँ ईभा र उनकी दिव्यप्रभा उपस्थित छन् (निहारिका २०७०:११५) । सुवर्णका हजुरबाका तीनवटी पत्नी थिए, मर्दका कति कति भन्ने कहावतको आलोचनात्मक व्याख्या गरिन्छ ।

डायास्पारेरिक चेतना

               डायास्पोरा शब्द प्राचीन समय र यहुदीहरूसित जोडिन्छ, यसको शब्दार्थ त्यहीँबाट ग्रहण गरिए पनि अर्थमा व्यापक विस्तार रहेको पाइन्छ । प्राचीन बेबिलोनियामा त्यसबेला प्यालेस्टाइन भूमि थियो, त्यहीँ यहुदीहरूलाई इसापूर्व ५८६ दखि ५३८ सम्म बन्दी बनाइएको थियो र चालीस वर्षपछि उनीहरू मुक्त भएका थिए” (भट्टराई २०६४:११७) । त्यसपछि यहुदीहरू भागेर यत्रतत्र छरिए, त्यहीँबाट यो डायस्पोरा शब्दको जन्म भयो । यहुदीहरूले जस्तो पीडा भोगेर भूमिबाट पलायन भएको जीवनशैलीलाई डायस्पोरा भनिएको हो । डायस्पोरा सन् ७० मा रोमनहरूले लडाइँमा हराएर धपाइदिएपछि यहुदीहरूको अन्य जेन्टायल राष्ट्रतिरको निर्वासन हो, त्यो निर्वासन सन् १९४८ मा इजरायलको स्थापनापछि समाप्त भयो” (दीक्षित २०५७:१२७) । यही शब्दकोशले दिएको शब्द अब व्यापक अर्थमा डायस्पोराको साहित्य हुँदै आएको छ । यसमा सबै कारणले परदेश गएर दुःख भोगेर उतैको भूमिमा पुगेपछि सिर्जना भएको आफ्नो भूमिसितको आस्थाको सिर्जना र वर्तमानमा आप्रवासी भूमिमा पुगिसकेपछि प्राप्त भुक्तभोगको रचना सबैको साझा नाम डायस्पोरिक सिर्जना हो । प्राचीन अर्थलाई नछाडी अलिक पर पुगेर अर्को शब्दकोशले दिएको सूत्रअनुसार डायस्पोरामा आफ्नो राष्ट्रिय समुदायलाई छोडेर विभिन्न समुदायका मानिसहरू भएको मिश्रित समाज अथवा क्षेत्रमा प्रवेश हुने कार्य भन्ने बुझिन्छ (समर्स १९९५:३७२) । आफ्नो संस्कार र राष्ट्रको माटो कसैलाई छोड्ने रहर हुँदैन, त्यसमा युद्ध, बाढी, साम्प्रदायिक पीडा, शीतयुद्ध, भोकमरी, अनिकाल र खडेरी आदिले नागरिकलाई पलायन हुन बाध्य गराउँछन् । त्यसरी पलायन भएर आफ्नो संस्कृति सम्झँदै मिश्रित संस्कृतिमा जीवनको गुजाराले डायस्पोरा चिनाउँछ । त्यसरी गएकाहरू फर्किएर आउन नसक्ने भएपछि लामो अनिर्णयको स्थिति हुन्छ, त्यहाँ ससानो समाजको निर्माण हुन्छ, त्यो समाज डायस्पोरा हो भनिन्छ (भट्टराई २०६४:११८) । यस्ता सिर्जना नेपाली साहित्यमा यात्रा निबन्ध, कविता, उपन्यासमार्फत् हुँदै आएको दुई दशक हुन गएको छ । होमनाथ सुवेदीको यमपुरीको महल (२०६३) यस विषयको सजीव उदाहरण हो । यसमा नेपालको जागिर खोसिएको मध्यम आर्थिक अवस्था भएको पात्रले अमेरिकाको भूमिमा भोगेको भुक्तमान, कमाएको धन, सम्झना र आस्थाको नेपाली चिनाउने सबल प्रयास रहेको छ । प्रेम नामक युवकलाई धनको मोहले, राजधानीमा घर बनाउने इच्छाले गैरकानुनी ढङ्गबाट अमेरिका पुगेको देखाएर त्यस देशका नागरिकको मात्र होइन, अरू देशबाट अगाडि गएका मानिसको दास हुँदा प्राप्त सुख र पीडा यमपुरीको महलमा पढिनेछ । उपन्यासमा शोभा भट्टराईको अन्त्यहीन अन्त्य, कृष्णराज खनालको पातालकी प्रेयसी जस्ता अनेक पुस्तक छापिएका हुन सक्छन् । नीलम कार्की निहारिकाको पुस्तक अर्की आइमाई पनि एउटी युवती अस्पष्ट रूपमा कुनै प्रौढ पात्रकी पत्नी भई अमेरिका पुग्दा हरतरहको भोगाइ भोग्न बाध्य जीवनको आख्यान डायस्पोराको परिभाभाषाभित्र पर्न सिर्जना हो । यसमा मिश्रित किसिमको संस्कार हुन्छ, इलिनाहले बूढो मालिक (केनेडी)सँग बिहे गर्छे । जीवनको लागि बूढेसकालमा साथी चाहिन्छ । केनेडी सैनिक सेवाबाट निवृत्त पात्रको बैशाखी बन्न पाएका अर्काकी नोकर्नी बन्न पर्दैन (निहारिकाका २०७०:४६) । डायस्पोराका विशेषतामा मिश्रित धर्म र संस्कृति देखिन्छन्, अमेरिकामा पुगेका तरुका समाजमा हेप्पी हलोविन’, ‘थ्याङ्कस गिभिंगभित्र नेपालीको दशैँ र तिहार घुसेका छन् (निहारिकाका २०७०:६२) । त्यस ठाउँमा छोराले पाँचपाँच स्वास्नी बाहिर राख्छ, आमा सोझी केटी नेपालबाट झिकाएर नोकर्नी उस्तै, बुहारी उस्तै पार्ने इच्छा राख्छे (निहारिका २०७०:९१) । गीत बजेका ठाउँमा भारती, चिनियाँ ...बज्छन् । त्यस्तै यस सिर्जनामा पुरानो परिपाटीझैँ उपशीर्षकहरू दिइएका छन्, नेपाली उपन्यासको इतिहासमा यस्तो चलन रूपनारायण सिंहको भ्रमर (वि.सं. १९९३) मा पनि पाउन सकिन्छ ।

नेपाली नारीको प्रिय संस्कृतिभित्र सिन्दुर

               नेपाली महिलाले बिहे गरेपछि सिउँदोमा सिन्दुरी लगाउँछन्, त्यो संस्कारमा विवाहित नारीको प्रतीक हो । सुवर्णसित विवाह हुन सकेको प्रमाण राजदूतावासले माग्ने भएपछि सिन्दुर लगाउने कार्य अनिवार्य ठानियो तथा सिन्दुर हाल्न आफैँले आफैँलाई प्रेरित गर्नुपर्यो । यसमा निकै कमजोरपना प्रकाश हुनेछ, किनकि अहिले कक्षा १११२ सम्मको अध्ययन गर्न थालेकी युवतीले तिमी सिन्दुर हालिदेऊ नभए म तिम्रो राजदूतावास जान्नभन्न सक्छे । यति भन्ने क्षमता तारामा पनि हुनुपर्ने मान्यता पाठकको रहन्छ ।

               अघिल्लो दिनसम्म पर्खाल अझ अग्लो भैदिएको भए हुने भन्ने लाग्थ्यो । त्यो दिन (सिन्दुर हालेको समय)पछि पर्खाल होचो लाग्यो” (निहारिकाका २०७०:२१) । यस भनाइमा नेपाली नारीले सिन्दुरको संस्कारगत प्रतिष्ठा गर्छे, सामाजिक मान्यता तोडेर गणिकावृत्ति गर्न लुकीलुकी आएकी होइन भन्ने आधारको अर्थ लुकेको हुन्छ । सहरको घरमा एउटी युवती, जामासुरुवाल लगाएर एउटा पचास वर्ष जतिको पुरुषका कोठामा सुत्न बस्न गर्न थाल्छे भने र उसका वरिपरि अरू नारीको भूमिका गौण र भने त्यो गणिकावृत्तिमा उपस्थितजस्तै हुन्छे, तर सिन्दुरजस्तो पवित्र प्रतीक सिउँदो भरि छ भने त्यो प्रतीक आफैँ बोल्छ, विवाह भएको सूचना गर्छ । सामाजिक धर्म, संस्कृति, परम्परा र समाजको इज्जतमा मेरो पूर्ण समर्थन छ भन्ने लक्षणाप्रधान अर्थ सिन्दुर र सिउँदोले दिनेछन् । यस कुरामा तरुलाई चेतना भयो ।

प्रत्यक्षवादको प्रभाव

               साहित्यको समाजशास्त्रको अध्ययनको खोजीको कार्य उन्नाइसौँ शताब्दीको प्रारम्भमा भएको पाइन्छ । त्यसबेला प्रत्यक्षवाद नामको आलोचनात्मक चेतनाबाट जलवायु, भूगोल र जातिको तथ्य र साहित्यका बीचमा वैज्ञानिक दृष्टिबाट अवलोकन गर्न सकिने कारण कार्यको आधार खोजी हुन लाग्यो । यस तथ्यमा व्यापक रूपमा दर्शन र राजनीतिको पनि अन्तभावि साहित्यमा रहन सक्ने अवस्थाको खोजी हुन लाग्यो । प्रत्यक्षवादीहरूले साहित्यलाई पनि अरू तथ्यको सरह स्थान दिएर एउटा सत्यका रूपमा स्वीकार गर्न लागे र कलात्मक मूल्याङ्कन समग्र रूपमा देश, काल र प्रयोजनमा निर्भर हुन लागे (जैन १९९२:१९) । यस प्रत्यक्षवादी विवादग्रस्त धारणाका समर्थकहरूमा इपिली तेन, मेडेम डे स्टेल जस्ता चिन्तकहरू छन् र यिनको उत्तरवर्ती चेतनाले यस मान्यतामाथि आलोचना र विवाद थपेको छ । प्रत्यक्षवादमा कमजोरी भए पनि सामाजिक र भौगोलिक वातावरणबाट प्रभावित विषय साहित्यमा प्रतिबिम्बित हुन्छ । प्रत्यक्षवादको खण्डनमा उभिने लुसियन गोल्डभ्यानजस्ता विचारकहरूले भने वैज्ञानिक तथ्यजस्तो सोझो रूप साहित्य र समाजको सम्बन्धमा हुन कठिन रहने ठानेका छन् । उनीहरू अव्यक्त ईशवरको शक्तिले साहित्यको प्राण भरेको ठान्छन् । प्रसङ्गले नीलम कार्की निहारिकाको अर्की आइमाई उपन्यासमा सिन्दुरको महŒवलाई पात्रले दिएको र्सास्कृतिक मूल्यसँग कुनै खास समाज जोडिन सक्छ र नेपाली समाजको एक वर्ण विशेषमा यसले पार्ने असरमाथि वैज्ञानिक तथ्यपरक कार्यकारण खोज्न सकिन्छ ।

सिमल फाँग गाउँ तरुको प्रजाति, मुहूर्त र पर्यावरणको खोजी साहित्यका समाजशास्त्रीहरू गर्दछन् । यो प्रत्यक्षवादमा पर्ने अध्ययनको मुहूर्त पक्ष निहारिकाको उपन्यासमा प्रतिबिम्बित भएको छ। समयको गतिसित स्रष्टाको सम्बन्ध हुन्छ अथवा स्रष्टा तिनका अर्थसँग पूर्ण परिचित हुनुपर्छ । निहारिकाको आख्यानकारले नेपालबाट अमेरिका, बेलायत, अस्टे«ेलिया आदि ठाउँ जानेहरूको एउटा लामो लाम लाग्ने समयसँग नाता जोडेको पाइन्छ । त्यस नाताबाट सिलम फाँटको एक पात्र (ब्राह्मण युवक) अमेरिका पुगेर आएपछि कथाजस्तो अनुभव सुनाउन उभिँदा सुन्ने श्रोताको भीडलाई यसको प्रमाण मान्न सकिन्छ । क्रिसमसमा उपहार दिने संस्कृति रहेछ । अमेरिकी भूमिका हिउँ पर्छ, लगातारको हिउँ वर्षाले छिमेकी लोराको घर ढाकिँदै थियो । प्रकृतिसित डराएर बस्नुपर्छ । त्यस्तो अनुभव सुनेकी भए तरुलाई पनि यात्रामा होलो पर्ने थियो ।

बुहार्तन र संस्कृति

               संस्कृति मिचेर मिचिँदैन, त्यसलाई उखेलेर फाल्न सकिँदैन । त्यसको अनुभूति तरुले गरेकी छन् तिमीले यहाँ सिन्दुरबिन्दुर केही नलगाउनूभन्ने वाक्य सुवर्णकी आमाले बोलिन् । तर यसलाई अमेरिकी भूमिमा पनि नेपाली नारीको अपमानजन्य अभिव्यक्ति मानियो (निहारिका २०७०:३०) । त्यहाँ सिन्दुर कोही लगाउँदैनन्, अमेरिकी भूमिमा सिन्दुर लगाए पनि नलगाए पनि बुहारी बनाए पनि, नोकर्नी बनाए पनि शक्तिवालाहरूको हाताबाट तरुले भुक्तभोग भोग्नुपर्छ । सासूले अघिल्ली बुहारीका सन्तानको रेखदेख गर्न, घरको धन्दा सम्पन्नगर्न, सुवर्णको रातलाई कमनीय बनाउन लगिएकी नारी र अर्की आइमाई तारा हो । त्यसैले आफूभन्दा अगाडिका पत्नीहरूका सन्तान डेस्टिनी, स्यान्टियागो आदिको सुसारेका रूपमा लगिएकी तारा विवाहको प्रपञ्चमा झुक्याइएकी नारीको सिन्दुर लगाएर पत्नीपना देखाउन नपाएकी हुँदा गुनासो गर्नुपर्छ । अगाडिदेखि चलन बलनमा आएका अर्धाना कपडाहरू लगाउन पाएर अमेरिकी भूमिमा बुहारलिे गर्ने काम ताराबाट सम्पन्न हुन्छ । तरुले भोगेको बुहार्तनको प्रतिक्रिया छ, “म आफूले गर्भ नै नबोकी, सन्तान नै नजन्माई आमा भइसकेकी थिएँ, दुई सन्तानकी आमा (निहारिका २०७०:३१) । त्यसभित्र अरू छसात केटाकेटीको सिहारमा निकै असहज बुहार्तन त्यस भूमिमा गरे पनि गर्भधारण माता बन्ने भाग्य नपाउँदा नारीले दुःखी हुने ठाउँ रहन्छ, विद्रोह गर्ने ठाउँ छ, गरिएको भने पाइँदैन । सासूबाट भान्सा र लुगा धुने कामको तालिम गरियो, त्यसपछि भाँडा माझ्ने मेसिनको प्रयोग भनेसिकाउन बाँकी भयो, तरु नै भाँडा माझ्ने यन्त्र बनिदिइन् (निहारिका २०७०:३२) । शुक्रबार बिहाहदेखि बेलुकासम्म भोज र मोज अरूको हातमा हुने, सेवा जति नयाँ बुहारीका हातमा हुने संस्कार हुन्छ । संस्कार र संस्कृतिको व्याख्याताका रूपमा चर्चित समालोचना लियो लावेन्थल हुन् । उनको भनाइमा संस्कृतिको आधार एकमूल्य व्यवस्था हुन्छ र त्यसको मूलाधार वर्ग वा समुदायको जीवनको वास्तविकता तथा आकाङ्क्षाहरूको अभिव्यक्तिबाट प्रकाशमा आउँछ (पाण्डेय १९८९:१४३) । साँचो लोकप्रिय साहित्यमा जीवनका वास्तविकता हुन्छन्, जनताका बारेको सत्यपना हुन्छ र त्योजनताका लागि हुन्छ । यस भनाइले बुहारी हुन लेखेको ठान्ने नेपाली नारी स्वदेश र परदेशमा यहाँ र त्यहाँ बुहारी हुन्छिन् । दिनभरि, महिनाभरि र वर्षभरिका कामको प्रकृतिलाई संस्कृति भनिन्छ (पाण्डेय १९८९:१४३) । त्यही संस्कारको रूपमा अमेरिकी संस्कार भूमिले दिएको अनुमतिकै रूपमा मानिसहरू युवक र युवती वर्षवर्षसम्म सँँगै बस्छन् तर पतिपत्नी होइनन् । एकजोडी पाहुनाउपशीर्षकमा यसको प्रमाण पाइन्छ । युवक र युवती पाँच वर्षदेखि सँगसँगै बसेर पनि अझै विवाह गर्ने नगर्ने सोचाइमा पूर्ण भएका छैनन् । कृष्ण भनिने पात्रले तीन सन्तानकी मातासित बिहे गर्छ, किनभने उसले त्यस देशको नागरिकता पाउन त्यससित बिहे गरेको तथा तलबको बढी हिस्सा त्यसैलाई तिर्ने गरेको छ  (निहारिका २०७०:५९) नागरिक बनेपछि बिदा पनि दिइन्छ ।

पुरुष स्वतन्त्रता कि नारी स्वतन्त्रता

               तरुले समाख्यान गरेको परिवारमा नारीको स्वतन्त्रता रहरलाग्दो र मायालाग्दो छ । त्यसमा देवरानी पात्रले लगाउने लुगा, खाने पिउने शैली र बोल्ने चालामा नेपालीपनाको अपमान हुने गर्छ । त्यसभन्दा पनि महिलले भोगेको स्वतन्त्रताभन्दा ठूलो स्वतन्त्रता सुवर्णले अनुभूति गरेको बताइन्छ । सुवर्णले अर्कीसँग एक पक्ष बिताउँछ र एक पक्ष तरुसित मनमोजी जीवनयापन गर्छ (निहारिका २०७०:३६) । संयुक्त परिवारभित्रको विचित्रतामा पात्रहरू जति छन् त्यति नै विशेषता कमाउँछन् । तरुले पाँच बजे उठ्ने, घर सफा गर्ने, सासूको लागि पूजा सामान तयार गर्ने, सबेको इच्छाअनुसारको ब्रेकफास्ट तयार गर्ने, कसैलाई चिया, कसेलाई ग्रिन टि, कसैको लागि सादा चिया, कसेका लागि आइस कफी बनाउनु नित्य कार्य हुन्छ, विकेन्द्र (हप्ताको अन्त्य)मा भने भोजको तयारीजस्तै हुन्छ । तर देवरानीले सहयोग नगर्ने, पातला र थोरै लुगा लगाएर पश्चिमी सभ्यताको अबलम्बन गर्ने गरेको विषयमा सहन गर्न नहुने अवस्था प्रस्तुत हुन्छ (निहारिकाका २०७०:३७) ।

               खाने पिउने सामग्रीभित्र डायस्पोरिक लक्षणको प्रत्यक्ष प्रमाण भेटिन्छ । ठूलाका जिबेलाई भने बिहान साँझ आफ्नै जन्मदेशको स्वाद चाहिनेभन्ने वाक्यमा केटाकेटीलाई पिजा, हट डग, बर्गर, एप्पल पाई चाहिए पनि प्रौढहरूले आफ्नो निजत्वको संसारलाई भुल्दैनन् । कान्छी देवरानीले पतिसित ठुस्सिएर गर्ने व्यवहार र बनावटी कार्य शैलीका पछाडि विकृतिको चरम स्वाद पाइन्छ । कान्छीको पति पनि पत्नीको चाकरझैँ देखिन्छ, तरुको पतिको प्रसङ्गले आफ्नो गल्तीका कारणले पत्नीसित सरल व्यवहारको आधार टेक्छ ।

               नेपाली नारीले ऋतुधर्मको सयममा चार दिन केही छुँदैनन्, त्यो मुलुकमा पुगेपछि त्यसको परित्याग र अपमान् गर्नुपर्छ । सासूको आदेशले पाखेपना छोड्नुपर्छ । बहुपत्नीका धनी सुवर्णकी अर्की पत्नी ईभा (गोरी)सँग साधारण विषय छोराछोरीको हेरविचारका कुरामा झैझगडा हुन्छ र छुटानामसम्म पुगिन्छ । ईभा (दिव्यप्रभा)का सन्तानको रेखदेखमा लागेकी झगडामा नेपालीपनाको विपरीत चेतना पाइन्छ । मानिस नेपाली, व्यवहार पश्चिमी भएपछि यताको संस्कार नछुटेको तथा उताको संस्कारसँग अनुकूल हुन बाँकी समयभित्र डायास्पोरा टल्कन्छ ।

नारी मनोविज्ञान

               अमेरिकी जीवनशैलीमा केटाकेटीलाई स्कुल लान र ल्याउन आफ्नो गाडी र चालकको खाँचो पर्छ । त्यसको लागि सुवर्णले तरुलाई उपयोग गरेका छन्, एउटा सन्तानको कुरा आउँदा सौताका छोराछोरीतिर इङ्गित गर्ने गरेका छन् । यो मनको धरातलमा ब्लेडले चिरिएको घाउ जस्तै भएको नारी मनको बिम्ब निहारिकाबाट कोर्न खोजिएको छ ।

पितामाता र सन्तान

               उपनयासमा पवनलाई सुम्निमाले लेखेको प्रेमपत्रमा देशका बूढाबाको मृत्यु र अमेरिका पुगेको छोराको बिहे एकै समयमा भएको देखाइन्छ । देशमा असुरक्षा छ, अध्ययन गर्न विदेश जान्छु भनी गएको छोरो घर फर्किएर आउँदैन । प्रतिमासित फर्किएर आउने बाचा गर्छ तर यी वाचालाई बीचमा भत्काएर म नआउने भएँभनेर सहजै भन्न सक्छ । यी सबै व्यक्तिवाद र चरम स्वार्थका खेलहरू हुन् । बुबालाई तुलसीको मठमा सारेर तिम्रो भाइ, तिम्रो बिहेको सामान पु¥याउन एरपोर्ट गएको थियो (निहारिका २०७०:८५) । छोराले अमेरिकाबाट बिहेका लागि दौरासुरुवाल र दूबोको माला झिकाउनु तथा बाबुको प्राण निस्कने समय एउटै हुनु संयोगको एउटा उपमा हुन सक्छ । विदेश गएको छोराले बिहेको सामान नेपालबाट मगाएर बिहे गर्ने गर्दैन, गर्छ भने त्यो अति नै एकोहोरो र अनाधुनिक पात्रको एक उदाहरण हो ।

               संसारमा के छ, नेपाल भारतजस्ता देशमा बूढाबूढीको समस्या चर्को ठान्न लागिएको छ, त्यसलाई समाधान दिन वृद्धाश्रमले सकेको छैन । दुबोको मालाउपशीर्षक राख्दै अर्की आइमाई उपन्यासले समस्या उठाएको छ । तरुले आफ्ना बाबु बितेको सुनिन् विदेशमा खबर पुगे पनि आफू उपस्थित हुन सकिनन् । बाले धर्ती नै छाडी आमालाई एकल बनाएका छन् । हामी सन्तानले गाउँघर छाडेर आमालाई एक्ली बनायौं, अब भने मलाई आमासँग मनग्य बस्ने मन छ (निहारिका २०७०:१०३) । यो भनाइले कम्ती घोचेको छैन । सन्तान हुने आमा एक्लै परिन् तर अझै भन्न सकिछन् –‘सन्तान चाहिन्छ, बुढेसकालको सहारा हो सन्तान, होइन भने एक्लै परिन्छ ।आमाले लिन खोजेको खोजेको देउघाटको सहाराबाट के कुनै स्थायी समाधान हुन्छ । अबको समाधान भनेको कुनै स्थायी समाधान नपाएर आमाले भनिन्, “अबको उमेर भनेको भगवान्को शरण पर्ने हो, संसार भोगियो, बाँकी केही रहेन, अब तर्ने बाटो बनाउनु प¥यो” (निहारिका २०७०:११४) ।

कथानकमा वृत्ताकारीय शैली

कथानक प्रारम्भ, मध्य र अन्त्य भएर सरासर समयको रेखामा गएको भएमा रैखिक शैली हुन्छ । कुनै कृतिमा बीचको समयबाट सुरु भएको कथानक अन्त्यमा पुग्दा पहिलको समय देखाइन्छ । कुनै कृतिमा सुरुको समयबीचबीचमा देखाइन्छ, अर्की आइमाईमा बीचबीचको क्रम रैखिक छैन, पहिलेको घटनापछि आएर मिसिन्छ । आशुतोष डाक्टरसँगै घुमेको पुरानो घटना क्रम छोडेरपछि घुमाउरो वृत्त बन्न खोज्छ ।

               डाक्टर आशुतोषसितको भेटघाट पुरानो होला र फेरि पछि पनि जोडिएला । प्रसङ्ग छोराछोरी नभएको र पूर्व परिचित प्रेमी प्रेमिकाको जस्तो भेटघाटलाई हेर्दा बीचमा मिसाउन मिल्ने पारिएको छ । आशुतोषसित अमेरिकामा भेट भएको कारण छ, जसले गर्दा नेपालको पितृघर (मण्डिकारटार)मा एक्लै पारेर भेट गर्न सजिलो हुन्छ । यस भेटघाटमा एउटी महिला मण्डिकाटारको घरमा पूर्व परिचित डाक्टर तीन छोरीका बाबु आशुतोषसित भेट गर्नु एउटा नयाँ अध्यायजस्तै गरी एक सर्ग थपिएको पायन्छ (निहारिका २०७०:१३१) ।

               पूर्वस्मृतिमा मर्टलबिचपर्छ । समुद्रको छाल र बालुवामा खेलेको पूर्व सन्दर्भलाई बीचमा मिसाएर प्रेमिका र प्रेमीजस्तो आशुतोषसँगको परिचयलाई पर्दा खोलेर देखाइएको छ । यसरी पर्दा खोल्दा छोटाछोटा अनुच्छेद, क्रियाहीन वाक्यहरू, फिल्मी नायक र नायिका, रात्रिको भेटघाट तथा समुद्रको छालसित खेल्दाखेल्दै केटाकेटीलाई सम्झने काम एकैसाथ भएको छ । भाँडाकुटी खेलछन् । केटाकेटीहरू, युवक र युवती सबैका आँखा छलेर पानी, बालुवा तथा जूनसित खेलेको अमेरिकी समाजका तारा र अध्ययनमा गएका आशुतोषमा सिनेमा संसार रहेको सूचना पाइन्छ । त्यसप्रकारका पुराना प्रेमप्रसङ्गलाई वर्तमानमा ल्याउँदा मण्डिकाटारको रात्रि पनि उक शृङ्खला बनाएर जोडिएको छ (निहारिका २०७०:१५१) । यस्ता शृङ्खलाहरू जोड्ने कार्यलाई विलयनीय हुने भनिन्छ (दीक्षित २०५७:१८९) ।

               सिनेमाको कथामा जोडिने शृङ्खलाको सिउनी नदेखिने गरेर सिउँछन्, यस प्रसङ्गमा एउटा पुरानो र अहिलेको भेटघाटलाई तरु र आशुतोषमा सिउनी मिलाउने बल गरिएको छ, उस्तो प्राकृतिक सिउनी पाइँदैन ।

               नारीको रूप देखेर घनघस्याको उकालो चढ्ने आशुतोष तथा तीन सन्तानको पिता ठानेर बोल्ने ताराका यस शृङ्खलालाई जोड्ने सिउनीको कुरा हो । लोग्ने मानिसको लप्पटपनामा गम्भीर आलोचना गर्दै रात्रिमा ताराले आशुतोषलाई बाजा बजाएर आऊ भनी घरबाट बिदा गर्न सकेकी देखाइन्छ । सामान लिएर वृद्धावृद्धालाई सिविरमा उपचार गर्न आएका छन्, केही नर्सहरूका साथमा रमिला नामकी सेविका त्यस्तो सेवामा धर्म देखिरहेकी छन् । उनीहरू औषधि, फलफूल र कपडासमेत दान गर्न जान्छन् (निहारिका २०७०:१५७) । आमाले दिएको आशीर्वादमा एउटा सन्तानको वरदान ईश्वरसँग माग गरिएको छ । यस अंशलाई पाठबाट हटाए पनि फरक पर्दैन किनभने रमिलाले पहिले र अहिले पनि तरुको सहयोग तथा विरुद्धमा कुनै काम गरेको देखिँदैन । नहटाएको यस अंशलाई ताराकी आमा देवघाटमा पुगेकै प्रसङ्ग र उपशीर्षकमा अटाउँदा राम्रो देखिन्छ । खनाल परिवारकी पात्रबाट डिभोर्सको प्रसङ्ग उठाइएला भन्ने लाग्दैन, उनैले भनिदिइन् । तपार्यँको डिभोर्स हुने पक्का भो ?” यस्तो वाक्यले मानिसका अगाडि लाज मुर्न हुन्छ, अरूको लाजको बेवास्ता गर्ने गरी बोल्ने पात्रहरू धर्म बदल्छन्, फेरि ग्रहण गर्छन्, अस्थिर चरित्रको निर्वाह गर्छन् । छोराछोरीले लागु औषध खाएर आमाबाबुलाई सताएर फेरि देशको आवश्यकताले तान्ने गरेका उदाहरणहरू त्यहाँबाट नेपाललाई हेर्नुपर्ने कारणहरू हुन्छन् । खनालकी पत्नीले बोलेका समयमा विशाल र रमिला पात्रहरू आए, तिनीहरूको स्वभाव के हो र गोला तथा चेप्टा अनुकूल तथा प्रतिकूल, व्यक्तिगत तथा वर्गीय पात्र छुट्याउन नसकिने गरेर पात्रहरूका नाम आउँछन् तर तिनको भूमिका देखिँदेन । यसलाई गौणांशमा राखिन्छ । त्यस्तै यी पात्रले पछिको अंशमा काम गरे भने कुशलता बढ्छ । यहाँ सावित्री पात्रको उपस्थितिले पाठक सावित्रीलाई खोजिरहन्छन् । थोमसले के भनेर बूढी बाख«ीमा ¥याल चुहाएछ भन्ने संस्कार डायस्पोरामा अटाउँछ (निहारिकाका २०७०:१६५)। सावित्रीलाई थोमसले बिहे गर्छु भनेर लाग्छ र पछि गर्दिनँ भनी घुर्की लगाउँछ । यसभित्र आर्थिक भार, सामाजिक बदनाम, चरित्रको फालाफल, समाजमा नभएको संस्कार नराम्रा विषयभित्र जमिन मुनिको रेलयात्रा र सावित्रीका राम्रा पक्ष रहेका छन् । स्थानको नाम र खाद्य सामग्रीका नामतिर विचार गर्न कठिन हुन्छ, ढिँडो, साग, दाल, खोले भात, ओलन, सोल्लर भनेको जस्तो छैन । थोमसले अमेरिका लाने विषयमा सावित्रीसित बनावटी बिहे गर्ने धर्ममा ऊ सीमित नरहेको बुझिन्छ (निहारिकाका २०७०:१७०) । सावित्रीले देखाएको साहस र पतिले सुरुमा दिएको अनुमतिका विपरीत अमेरिका पुगेपछि पतिबाट प्रतिवाद भएको छ । तिमी नजिक नआऊ, आउन खोजे थोमसको डरलाग्दो अनुहार देख्छुभन्नेसम्मको स्थितिबाट पतिपत्नीमा पारपाचुके भएको बताइन्छ । पति र छोराछोरीले घीन मान्नेसम्मको तहमा गिरेर अमेरिका गएको परिवार सावित्रीको कष्टमा पुगेर समाप्त हुन्छ । यसलाई नेपाली संस्कारले घोर आपत्ति मानिदिन्छ । अर्कासित बिहे गर्न लगाएर, स्वास्नीलाई अर्काको अँगालोमा पस भनेर आफैँले अह्राएर काम सकिएपछि त्यागेर अर्की कलिली केटीसित बिहे गर्ने चेतन पनि ठूलो मन भएको मान्छे नेपाली हो भनेर सिद्ध गर्न खोजेको सन्दर्भ उच्च कोटिको उपकथा ठहर्छ ।

विदेश र रोजगारी

               पुरुषले विदेशमा गएर पैसा पठाउँदा पत्नीले स्वेच्छाचारी बनेका उदाहरण पाइन्छन् । पतिले पत्नीलाई विदेश जाऊ भनी पठाएर अर्कीसित बिहे गरेर धोका दिएको उदाहरण यहाँ प्रस्तुत गरिन्छ, यसलाई समयको चेतनाभित्र राख्न सकिन्छ । अप्रत्यक्ष रूपमा अवैध मार्गबाट अमेरिका जानेलाई बढी सास्ती रहेछ । कोही डुबेर, कोही मानसिक रोगले, कोही मालिकको प्रहारबाट मर्नेहरूका विषयलाई थपेर देशप्रेमको प्रयास, उत्साह र आवश्यकता सबै योजनाबद्ध छन् ।

भन्न बाध्य कुरा

               सरोजकी स्वास्नी, कल्पना, पुलिस, कर्मचारी, रिपा, रिपाको पति, रामशरण, दिवाकर, महाभारतको अर्जुन, नागरिकताको प्रमाणपत्रमा जन्ममिति मिलाउनेहरू, बाङ्देल र देवकोटाजस्ता नामहरूको बगरले कृतिको गरिमा खस्कन्छ । तरुको गम्भीर जीवनलाई छाप बस्ने गरी पाठकले ग्रहण गर्ने समयमा प्राञ्जलयताको निर्वाह गर्न खोज्दा हल्का फुल्का अनुभवतिर, परदेश र स्वदेशको अवस्था हास्यरसतिर अगाडि बढेपछि साहित्यिक कृतिको तौलमा आँच आउने छ ।

स्वैरकल्पनामा व्यङ्ग्य

               स्वैर कल्पनामा सावित्री, युवती, गर्भवती र युवतीका धेरै कुराले देशको स्थितिमाथि प्रकाश पार्छ । यहाँ बच्चा जन्माइन्छ केवल विदेश ढुवानी गर्नका लागि  भन्ने भाषणले नियात्राको अंश थपिन्छ । गर्भवती महिला र प्रसूति गृहको कल्पना रमाइलो गरी आउँछन्, पागलबस्तीमा सरुभक्तले त्यसै गरी थालेका छन् । स्वास्नीले लोग्ने र लोग्ने स्वास्नी किन्ने ठाउँ अमेरिका रहेछ । सुवर्णले ठूलो घर दिएर तरुलाई किनेका छन् । तरुको नन्देजुवाइँ तरुसित किनबेचनको दलाली गर्छ, नेपाल आएर पनि उहाँको दलाली बिर्सिएको छैन । त्यो दलाली सुवर्णले सिकएरको बुझिन्छ । अन्त्यमा लोगने मान्छेको शरीर भएका सुवर्ण, नन्देभाइ, राजीव, धनराज, दिनेश, रूपक, कृष्ण, जगन्नाथ यी सबैसँग नारीमाथि गिद्देदृष्टि लगाउने क्षमता छ, विवेक छैन । भाइको टीका लगाएको राजीव र नन्देभाइ (जुवाइँ) अझ पनि तयार हुनु तरुका लागि एक तीतो सत्य र पुरुष चरित्रमाथि ्को कलङ्क हो । यस अर्की आइमाई उपन्यासले नारीलाई दोषीभन्दा सोझी र पुरुषलाई मान्छेभन्दा ठूलो ब्वाँसो सिद्ध गर्न खोज्छ ।

निष्कर्ष

               अमेरिका गएर आएकी नेपाली युवतीले देखेको कुरा लेखेकी हुन् । एक तारा मल्ल नामकी अलिक सोझी युवतीका कोणबाट हेर्दा नेपाल, अमेरिका, डायस्पोरा, धन, विपन्न अवस्था, ओभरसिजका समस्याहरू सबै लेख्ने खोज्दा कति ठाउँमा हल्काफुल्का प्रसङ्गहरू आएका छन् । सुरुमा भने पाठकको युवतीमाथि गम्भीर सहानुभूति हुनेछ, बीचमा खेलाँची जस्तो प्रस्तुतीकरण भएको छ । उत्तर भागका प्रस्तावहरूमा गम्भीरता बढेको छ, गम्भीरताको अभ्यासले यस्ता धेरै आख्यानहरू प्रशस्त लामो आयु लिएर आउने आशा गरिएको छ । गम्भीरतामा समाप्त भएको र सुरु भएको यमपुरीको पहल लामो आयुको कृतिले पाठ्यक्रममा स्थान पाइहाल्यो, अब अर्की आइमाईले केही समय पर्खन्छ होला ।    

 

सन्दर्भसामग्रीसूची

कोइराला, कुमारप्रसाद (२०६४), यमपुरीको महलमा पराऔपन्यासिक मोहिनी, गरिमा, (वर्ष २५, अङ्क १२, पू. ३००, मङ्सिर) पृ. ५३६२ ।

गौतम, लक्ष्मणप्रसाद र ज्ञानु अधिकारी (२०६९), नेपाली कथाको इतिहास, काठमाडौं: नेपाल प्रज्ञाप्रतिष्ठान ।

जैन, निर्मला (सम्पा. सन् १९९२), साहित्य का समाजशास्त्रीय चिन्तन

(दो.संस्क.) मूल लेखक एलन स्विंगउड), दिल्लीः हिंदी माध्यम कार्यान्वय निदेशालय, दिल्ली विश्वविद्यालय ।

दीक्षित, नरेन्द्रमणि आचार्य (२०५७), अङ्ग्रेजी नेपाली साझा संक्षिप्त शब्दकोश (संस्क. पाँचौँ) ललितपुरः साझा प्रकाशन ।

निहारिका, नीलम कार्की (२०७०), अर्की आइमाई, भक्तपुरः शब्दहार  क्रियशन्स) ।

पाण्डेय, मैनेजर (१९८९) साहित्य के समाजशास्त्र की भूमिका, चण्डीगढः हरियाण साहित्य अकादमी ।

भट्टराई, गोविन्दराज (२०६४), उत्तरआधुनिक विमर्श, काठमाडौं: मोडर्न बुक्स ।

शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

Summers, Della and Others (1995) Longman Dictionary of Contemporary English (Second Ed.) EnglandM Longman Group Ltd.

 

–––

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |