हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रशान्त महासागरका लहरहरु ,(बिनोद खडका )

नियात्रा

सन २०१४, जनवरी । क्लार्क, फिलिपिन्स । आफ्नो जीवनको कुनै समयमा लोकसेवाको परीक्षाको तैयारीका सन्दर्भमा सामान्य ज्ञानको प्रश्नहरुको उत्तर दिनका लागी होस वा ठाँउ ठाँउमा हुँने हाजिरी जवाफ प्रतियोगिताहरुमा भाग लिने सन्दर्भका तैयारीका लागी नै होस, फिलिपिन्समा अवस्थित अमेरिकी २ हवाई अड्डाका नाम सुविक र क्लार्क हुन भनेर सम्झनामा राख्नका लागी बेस्सरी घोकिने गरिनथ्यो । सम्झनामा राख्नैका लागी पनि घोक्नै पथ्र्यो । त्यतिखेर सायद कहिले पनि सोचिएन होला कि जिन्दगीमा कुनै दिन आफु यही ठाँउमा नै पुगिएला भनेर । आज तीनै दूईमध्ये एक स्थानमा आफुलाई व्यक्तिगत रुपमा पाउँदा एक प्रकारले रमाईलो पनि महशुस हुँदो रहेछ । नाम मात्रै सम्झनाका लागी पनि घोक्नु पर्ने त्यो क्षण र यथार्थमा आफुलाई पाउँदाको यो क्षण निश्चय पनि तुलनिय होईन । तर उतिखेर घोक्दाखेरी कल्पना गरिएको स्थान र यथार्थमा भोगिएको स्थानमा भने आकाश जमिनको फरक थियो । यो नितान्त रुपमा शान्तिमय र सरल थियो । थाहा छैन कस्तो थियो जब अमेरिकी सैनिकहरु यहाँ थिए । त्यसो त सहकर्मी मिर्ना बुआनले क्लार्कमा देखिने केटीहरु किन अरु औसत फिलिपिनी केटीहरु भन्दा सून्दरी देखिन्छन भन्ने प्रश्नको जवाफमा दुई फरक जातीका ससर्गबाट जन्मेका सन्तानहरु स्वभाविक रुपमा राम्रा देखिन्छन भन्ने जवाफ आफैमा अर्थपूर्ण थियो । धेरै प्रवासी अमेरिकी सैनिकहरुले त्यतिखेर त्यो क्षेत्रमा घरजम पनि गरेका थिए रे । थाहा छैन यो कहासम्म सत्य तथ्य हो ।
सिंगापुरतर्फ जाने यात्रुहरु बोर्डिंग गेटमा जम्मा भैसकेका थिए तर फिलिपिन्सको यो क्लार्क विमानस्थलमा भने अझै पनि सेबु प्यासिफिक एयरको एउटै पनि जहाज देखिएको थिएन । यात्रुहरु बोर्डिग गेटमा जम्मा भैसकेका थिए । कोही भर्खरै सकिएको एयरपोर्ट फर्मालिटीको काम सकेर सुस्ताई रहेका देखिन्थे त कोही त्यहीभित्रको पसलमा खानेकुरा किनेर खाईरहेका थिए । कोही भने घरि यता घरी उता गर्दै जहाजको प्रतिक्षा गरिरहेको देखिन्थे । मैले यही मौकाको फाईदा उठाउँदै त्यहीको सोभेनियर पसलबाट एउटा सानो काठको गितार किने, सो पिस । सायद भविष्यमा मलाई त्यो सानो गितारले क्लार्कको यो छोटो भ्रमणको संस्मरण गराउँछ होला ।
बिहानीको ११ बजे जतिको समय हुँदो हो । घमाईलो बिहानीमा विमानस्थलको क्षेत्र निकै रमाईलो देखिनथ्यो । मैले टर्मिनल बिल्डिंगमा प्रवेश गरेपछि आँखालाई ओल्टाई पल्टाई विमानस्थलको त्यो ठूलो भागलाई हेरिरहे । कुनै समय क्लार्क एयर बेस नामको यो ठाँउमा केवल फाईटर र सेनाका जहाजहरुलेमात्र उडान र अवतरण गर्थे । सन १९९१ मा अमेरिकनहरुले यो एयर बेसलाई छाडेपछि यो भूमिले क्लार्क अन्तर्राष्ट्र्यि विमानस्थल बनेर सर्वसाधारणहरुको सेवा गर्ने मौका पाएको थियो । रमाईलो कुरा के रहेछ त भन्दा मनिलाको अन्तराष्ट्र्यि विमान स्थलमा अवतरण गर्न नसक्ने जहाजहरु सबै क्लार्क विमानस्थलमा आएर उडान र  अवतरण गर्ने रहेछन । मेट्रो मनिलाबाट ४० माईल दक्षिण पश्चिममा पर्ने क्लार्क खासगरी फिलिपिन्सको लुजोन प्रान्तमा अवस्थित रहेछ । १४ दशमलव ३ स्कावयर माईलमा फैलिएको यो अमेरिकी बेस दोश्रो विश्वयुद्धको अन्ततिर अमेरिकी र फिलिपिनो सैनिकहरुको सयुक्त वेस बनेको र यहीबाट भियतनाम युद्धलाई सहयोग पनि पुर्याईएको रहेछ । अर्को उल्लेखनिय कुरा के पनि रहेछ भने यो ठाँउ अमेरिकी अधिनमा रहेको भनिएता पनि दोश्रो विश्वयुद्ध ताका भने यो बेस जापानीहरुको कब्जामा परेको रहेछ जसलाई अमेरिकीहरुले सन १९४५ मा फेरी आफ्नो अधिनमा फर्काएका रहेछन । अमेरिकीहरुले छोडेपछि अब यो क्षेत्र क्लार्क अन्र्तराष्ट्र्यि विमानस्थल, क्लार्क फ्रि जोन, र फिलिपिनी एयर फोर्सको एयर फोर्स सिटी सहित ३ भागमा विभाजन भएको रहेछ । यो क्षेत्रको तल्लो भाग जसलाई पातलो जंगल पनि भन्न सकिन्छ त्यहाँ रुख बिरुवाका पातलो उपस्थितीभित्र अवस्थित सैनिक र तीनका परिवारका शान्तिपूर्ण आवास गृहहरु र तीनका सून्दर बगैचाहरु हेर्न लायक देखिनथ्यो ।
फिलिपिन्सको लो प्रेसर एरियामा आएको मौसमी परिवर्तन र ठूलो बर्षाका कारण एयरपोर्टसम्म पुग्न नसकेर पछिल्ला उडानहरुमा दोहा उड्न नपाएका यात्रुहरुको चाप अघिल्ला उडानहरुमा अचानक बढ्न गएपछि मैले आफ्नो मेरो दोहातर्फको उडानको रुट बदल्नै पर्ने भएको थियो । साथीहरुको सल्लाह अनुसार मैले फिलिपिन्सको क्लार्कबाट सिंगापुरतिर झर्नु पर्ने भयो जहाँबाट मैले दोहासम्म जाने जहाजमा सिट पाउन सक्ने सम्भावना थियो । सेबु प्यासिफिक एयरको क्लार्कदेखि सिंगापुरसम्म जाने टिकट ईन्टरनेटमा अनलाईन खरिद गरियो । धन्य क्रेडिट कार्ड, कहिलेकाही कति ठूलो काम लाग्छ, कति ठूलो काम दिन्छ । तर रमाईलो कुरो के थियो भने यो नै मेरो बजेट वा लो कष्ट क्यारियरमा पहिलो उडान थियो । टिकटको रकम, ब्यागेजको रकम, खानाको रकम र जहाजभित्र सिट आफ्नो रुची अनुसार छनौट गरे बापत सबैको छुटृाछुट्टै रकम चार्ज भएको थियो । यसरी हरेक सेवाहरुको छुटृाछुट्टै रकम तिरेर यात्रा गरेको मेरो यो पहिलो अनुभव थियो ।
बोर्डिंग गेटको अगाडी प्रतिक्षारत यात्रुहरु कहिले घडीतिर हेर्थे त कहिले बाहिरको खुल्ला बिमानस्थलतिर । हेर्दा हेर्दै धावनमार्गको पल्लो छेउबाट फिलिपिनी लो कष्ट एयरलाईन्स सेबु प्यासिफिक एयरको एयरबस ए३२० ले क्लार्कको विमानस्थलमा अवतरण गर्यो । यात्रुहरुको अनुहारमा खुसीको संचार भयो । जहाज टर्मिनल बिल्डिंगको निकै नजिकै आएर रोकियो । यसै जहाजबाट आएका यात्रुहरु विमानस्थलबाट पैदलै टर्मिनलतिर आउन थाले । मेरो अनुमान थियो कि यही जहाजले हामीलाई सिंगापुरतिर लिएर जानेछ । ती यात्रुहरुको पैदल यात्रा सकिएको क्षणभरमै पहेला सुन्तला रंगको टिसर्ट र खागी प्रकारको पाईण्ट लगाएका केटीहरु फटाफट बोर्डिंग गेटतिर आए जो सेबु प्यासिफिक एयरका कर्मचारीहरु थिए । अरु केहीले पहेला छाताका बाकसहरु पनि लिएर आईपुगे । म अलमल्ल पर्दै थिए कि किन यिनीहरुले यति धेरै संख्यामा छाताहरु लिएर आएका होलान । एक मनले सोचे सायद यात्रुहरुलाई एउटा एउटा छाता उपहार दिने होलान । बोर्डिग गेट खुल्यो । केटीहरु बोडिंग पास हेर्दै यात्रुहरुलाई विमानस्थलतिर प्रवेश गराउन थाले भने एक हुल केटाहरु फटाफट छाता खोल्दै यात्रुहरुको हातमा नै दिन थाले । हेर्दाहेर्दै विमानस्थलमा बोर्डिंग गेटदेखि जहाजसम्म नै पहेला छाता ओढ्नेहरुको रमाईलो लाईन देखियो । मानौ बिहेको जन्ती जस्तो । मैले त सोचेको थिए यात्रुलाई घामबाट बच्नका लागी दिएको भएपनि छाता उपहार नै दिएका होलान, तर होईन रहेछ । अन्य केही कर्मचारीहरु जहाजमा उक्लने भरेंगसंगै बसेर छाताहरु फिर्ता संकलन गर्न थालिसकेका थिए ।     
१७ जनवरीको घमाईलो बिहानीमा क्लार्कको अन्तर्राष्ट्र्यि विमानस्थलवाट सेबु प्यासिफिक एयरको एयरबसले उडान भरेर दक्षिणतिरको आकाशमार्ग समात्यो । बादलले पर्दा हाल्नु पहिले नै आकाशमार्गबाट नै फिलिपिन्सको केही भूभागहरुको दर्शन गर्ने मौका पाईयो । पहाडै पहाड, खेति गरिएका ठूलाठूला भूमिहरु, डाँडा र खोल्साहरु, अहाँ कति सून्दर । कही कही निष्ठूरी भेल र जंघारले चिथोरिएका सेता बालुवाहरु टल्किरहेका बगर भूमिहरु पनि देखिन्छ । तर जब जब म पहाडी भूभागहरु देख्छु मलाई आफ्नै देशमा छुँ कि भन्ने भान पर्छ । यस्तै भान परेको थियो जब म केही बर्ष पहिले स्विजरल्याण्डमा जेनेभादेखि जुरिचसम्म ट््रेनमा यात्रा गर्दै थिए । साउथ अफ्रिकामा जोहानेसवर्गदेखि केपटाउनसम्म हवाई यात्रा गर्दा देखिएका चटृानी पहाडहरुले होस वा सिल्भियाको बिएमडब्लु ब्राण्ड नयाँ कारमा जेनेभादेखि फ्रान्सतर्फको माउण्ट ब्लान्कको आधार क्षेत्रसम्मको सडक यात्रा गर्दा होस मैले हरेकपल्ट ती भूमिहरुलाई बिर्सेर केवल आफ्नै देशमात्र याद गरिरहे अनुभव गरिरहे । अहा, कति सून्दर छन हाम्रा देशका ती पहाडहरु अनि अहिले त्यत्तिकै सून्दर लाग्यो मलाई फिलिपिन्सका पहाडहरु पनि ।

फिलिपिन्सको मौसममा अचानक परिवर्तन आउनु सामान्य नै हो रे । प्रशान्त महासागरलाई उत्तरदेखि दक्षिणसम्मका ठूला भागहरुले चुमिरहेको फिलिपिन्स यथार्थमा समून्द्री प्रान्त वा टाँपुहरुको देश पनि हो । प्रशान्त महासागरलाई सम्मुख परेका केही भागहरु सधै टाईफुनको सम्भावित प्रभावित क्षेत्रहरुमा पर्दो रहेछ । पछिल्लो पटक समुन्द्री टाईफुनले फिलिपिन्सको टाक्लोबानलाई ध्वस्त बनाईदिएको थियो । टाईफुनको मारमा परेको एउटा ठूलो पानी जहाज समुन्द्रलाई छोडेर निकै परको बस्तीमा पुगेको डरलाग्दो फोटो ईन्टरनेटमा देखिएको थियो । टाईफुनले त्यो विशाल पानीजहाजलाई समुन्द्रबाट उठाएर परको वस्ती नजिकै फ्याकीदिएको देख्दा त्यो टाईफुन चानचुने थिएन भनेर अनुमान लगाउन सकिनथ्यो । सहकर्मी डाईनाको त सबै सम्पत्ति नष्ट भएको थियो । त्यो विशाल टाईफुन आएको पछिल्लो हप्ता उसका परिवार फिलिपिन्सकै अर्को स्थान सेबुतिर अस्थायी वासस्थल खोज्दैछन भन्ने सुनिएको थियो । धेरै परिवारको उठिवास लगाएको हाईयान Typhoon Haiyan नाम दिईएको त्यो टाईफुनको सम्झनामात्रै गर्दा पनि मन नै झसंग हुन्छ । ८ नोभेम्बर २०१३ का दिन आएको उक्त टाईफुनले फिलिपिन्समा ६ हजारभन्दा बढिको संख्यामा मानविय क्षति भएको थियो भनेर भनिन्छ ।
फिलिपिन्सको यो क्लार्क भन्ने ठाँउको बसाई रमाईलो नै भयो भन्नु पर्यो । लोग्ने मान्छेहरुलाई “सर” भनेर सम्बोधन गरिँदो रहेछ । सर भनेर सम्बोधन गरिनका लागी सुकिलो वा टाईवाला हुनु पर्दो रहेनछ । महिलाहरुलाई मेडम भनिदो रहेछ । एकले अर्कोलाई बोलाउँदा सम्मानजनक सम्बोधन गरिँदो रहेछ । ठूला र कर्कश आवाजहरुमा संवाद गरेको वा कसैलाई गाली गरेको भन्ने पनि पटक्कै सुनिएन । विदेसीहरुलाई त अझै धेरै सत्कारजन्य व्यवहार गरिँदो रहेछ । मैले फिलिपिनाहरु यति नरम प्रवृतिका होलान भनेर त कहिले पनि सोचेको थिईन । मैले एकजना मान्छेले अर्को मान्छेसंग कुरा गर्दा ठूलो स्वरले कुरा गरेको पनि पटक्कै सुनिन । कुनै जमानामा अमेरिकीहरुको बेस क्याम्प रहेको यो क्लार्कको भूमिको एउटा ठूलो भाग फिलिपिना आर्मीको बेसमा परिवर्तन भएको रहेछ । तर त्यहाँ पनि सर्वसाधारणहरुका लागी सैनिक उपस्थितीको आभाससम्म पनि हुँदो रहेनछ । म बसेको होटल र शहर अर्थात क्लार्क मेन गेटबिचको यात्रा म त्यहाको स्थानिय यातायातको साधन जिप्नीमा गर्थे । त्यो जिप्नीको यात्रा त्यही फिलिपिनी एयर फोर्सको एयरफोर्स सिटीको बिचबाट भएर अगाडी बढ्थ्यो । तर पनि त्यहा मैले सैनिक उपस्थितीको भनक दिने खालका कुनै कृयाकलापहरु देखिन ।   
मैले फिलिपिन्सको यो छोटो यात्रामा आनीले भनेजस्तो पकेटमारा पनि भेटिन, अरु कुनै तरिकाले पैसा ठग्न आउने मान्छे पनि भेटिन । हाहा हुहु गर्ने टिनएजर ठिटाठिटीहरु पनि भेटिन । झैझगडा पनि देखिन । सायद यो मेरो हेराई थियो वा यथार्थ नै वा जुन ठाँउमा म थिए केवल त्यही ठाँउमात्र यस्तो थियो वा पुरा फिलिपिन्स भरी नै यस्तै हो त्यो त मलाई थाहा छैन ।  
म बसेको होटेल शहरको मूख्य भागभन्दा निकै पर थियो । यहाँ टेक्सीभाडा पनि निकै महंगो भएको महशुस भएको थियो । त्यसैले यहाँका सर्बसाधारणहरुले अत्याधिक रुपमा प्रयोग गर्ने जिप्नी मेरा लागी पनि यात्राको सहज विकल्प बनेको थियो । स्वभाविक रुपमा जिप्नीको यात्रा मेरा लागी यो यात्राको अर्को रमाईलो पाटो बन्न गएको थियो । तुलानात्मक रुपमा टेक्सी हरेक देशमा नै महंगो पर्छ । यहाँ अपवाद हुँने कुरै भएन । त्यसैले बहुजनले प्रयोग गर्ने जिप्नी मैले पनि प्रशस्तै प्रयोग गरे । क्लार्क मेन गेटदेखि क्लार्क फ्रिपोर्ट जोनसम्मको यात्रा गरे बापत १४ पेसो तिर्नु पथ्र्यो । यदि टेक्सीमा यात्रा गर्यो भने सिधै ७० पेसोबाट टेक्सीमिटर शुरु हुँदो रहेछ । त्यसो त टेक्सी यात्रा अरु कुन देशमा नै सस्तो छ र यहाँ फिलिपिन्समा पनि सस्तो होस ।
 समग्रमा भन्नुपर्दा मूल्यस्तर अलि बढि नै भएको महशुस भयो । सहकर्मी जनवरीका अनुसार पनि फिलिपिन्समा घरेलु पर्यटक भएर यात्रा गर्न पनि कम्ती महंगो छैन रे । सामानहरु अलि महंगै भएको महशुस हुँनथ्यो ।
एक दिन क्लार्क म्युजियम जाने कार्यक्रम बन्यो । हामीहरु जंगलबिचको सडकको छेउ छेउ हुँदै अगाडी बढ्दै गयौ । म बसेको होटेलबाट २० मिनेटमात्रै को पैदल दूरी भनिएकाले हिड्नु नै उपयुक्त विकल्प थियो । सडकको एक छेउमा सैनिक अधिकृतहरुको आवासस्थलहरु थियो । तर त्यो आवाश क्षेत्र नितान्त रुपमा शान्त थियो । तर पनि तापक्रम बढ्दै गएका कारण यो हिँडाई त्यति सहज भने थिएन । म्युजियम सानो भए पनि यहाँको वरिपरिको परिवेश रमाईलो थियो । वरिपरि सडक र त्यसका छेउमा लस्करै घरहरु अनि बिचमा निकै फराकिलो घासे मैदान र अनि पृष्ठभूमिमा परपर सून्दर पहाडी श्रृखलाहरु देखिनथ्यो । जिप्नीहरु सम्भावित ग्राहकको आशामा पैदल यात्रीहरु देख्ने बित्तिकै आफ्नो रफ्तार घटाई हाल्थे ।
 
जसै हामी म्युजियमको हाताभित्र प्रवेश गर्यौ तब सोभेनियर व्यापारीहरुको एउटा समूह हाम्रो वरिपरि आईपुग्यो । उनीहरुका हातमा हस्तकलाका सामानहरु खासगरी निंगालाका कप्टेराहरुबाट बनाईएका धनुष र काढहरु थिए । म्युजियमभित्र खासगरी सैनिक सामानहरु, तीनका बहादुरीका बखानहरु र मूर्तिहरुको प्रदर्शन गरिएको थियो । म्युजियम सानो थियो तर प्रवेश शुल्क भने कम थिएन सायद १०० पेसो हो कि क्या हो, झण्डै २ यु एस डलर बराबर । हाम्रो प्रवेशपछि एक हुल विद्यार्थीहरु प्रवेश गरे । नत्रभने म्युजियममा अरु आगन्तुकहरु भने देखिएन । चहलपहल अपेक्षाकृत रुपमा ज्यादा थिएन । 
क्लार्कसंग जोडिएको एउटा स्थान, फिल्ड एभेन्यु । यो स्थानले यदी यो नियात्रामा ठाँउ पाएन भने मलाई लाग्छ यो नियात्रा अपूर्ण हुँन सक्छ । फिल्ड एभेन्यु खासगरी रात्री जीवनको लागी क्लार्कको प्रसिद्ध स्थान हो जहाँ नाँचगान, खानपिन सबै कुराहरुको व्यवस्था छ । भनिन्छ यो क्षेत्रले रात्रिकालिन सबैखाले आवश्यताहरु पुरा गर्न सक्छ । कोही नाँच हेर्ने होलान त कोही मस्त पिउने होलान त कोही के । सबैका मागहरु पुरा हुँन सक्छन रे । कसै कसैले आफु पहिले बसेको होटेलको कमेण्टमा होटल राम्रो नलाग्नुका कारणमा पश्चिमे पर्यटकहरुले फिल्ड एभेन्युबाट उठाएर लेराएका युवतीहरुलाई आफ्ना अंगालोमा बेरेर होटेलको लवी हुँदै ओहोर दोहोर गर्दै गरेका द्धष्यहरु होटेलमा परिवार सहित बसेका पाहुनाहरुका लागी अलि असजिलो हुँने गर्दछ भनेर लेखेको पनि देखेको थिए । त्यसैले मलाई एक पटक फिल्ड एभेन्युमा पुगेर त्यहाको तमासा र डान्स हेर्ने रहर थियो । त्यो पुरा हुँन सकेन । त्यो किन पुरा हुन सकेन आफुलाई नै थाहा छैन । यर्थाथमा यो त्यही स्थान हो जहाँ रहरले वा वाध्यताले आफ्नो देह बेच्नेहरुको कथा व्यथा छरिएको छ अनि यो त्यही स्थान हो जहाँ एउटी महिलालाई समाजको एउटा बलियो हिस्सा भन्दा पनि मनोरन्जको साधनका रुपमा लिईने गरिन्छ । तीनीहरु मनोरन्जनका साधनका रुपमा प्रयोग गरिएका हुँन वा त्यो पनि एउटा समाजले मान्यता दिएको व्यावसाय हो, सत्य तथ्य सबैका सामु जगजाहेर छ । तर पनि मलाई त्यहाको व्यथाहरुलाई नजिकबाट अवलोकन गर्न नसकेकामा खेद भने छैन ।
म धेरै जसो एस एम मलतिर सपिंगका लागी र समय पास गर्नका लागी जान्थे । त्यहासम्म आवत जावत गर्नका लागी जिप्नीको यात्रा सरल र सहज थियो । मलमा सधै भिडभाड नै देखिनथ्यो । फिलिपिन्स आएदेखि खोकीले छोडेन । किन त्यसरी खोकी लाग्यो थाहा भएन । तर दोहामा पुगेपछि साथीहरुले भनेकि मेरो खोकीको कारण अरु केही नभएर त्यही जिप्नीकै यात्रा थियो । यात्रा अवधिभर क्लार्क मेन गेट क्षेत्रमा अवस्थित एस एम मल मेरो आकर्षणको थलो बन्न पुग्यो । म मौका मिल्यो कि यसै मलतिर लागी हाल्थे । स्वदेशीदेखि विदेशी ब्राण्डसम्म, सस्तादेखि महंगासम्म, खानादेखि कपडा, ईलेक्ट्रेनिक सम्मका सबै खाले सामानहरु यहाँ पाईनथ्यो । खाना र रेष्टुराहरुमा प्रशस्तै छनोट गर्न सकिने विकल्पहरु थिए । ग्राहकहरुको भीड पनि उत्तिकै थियो । मललाई सडकका पल्लो कुनासम्म र जिप्नीका पार्कसम्म छतसहितका खुल्ला पुलहरुले जोडिएको थियो । म त्यही खुल्ला पुलको कहिले यो छेउ त कहिले त्यो छेउमा रोकिएर त्यहाका मानिसहरुका जीवन यात्राहरुलाई चिहाउने प्रयास गर्थे । खासै फरक छैनन जस्तो लाग्छ जीवन यात्राका वाटोहरु अरु देशहरुका तुलनामा । फरक छन त केवल यात्रीहरु । यहाँ पनि अरु देशहरुमा देखिने जस्तै धनी र गरीबहरु र तीनका दिनचर्याहरु सजिलै अवलोकन गर्न सकिन्छ । साना छाप्राहरुदेखि ठूला ठूला महलहरु, महंगा निजी कारहरुदेखी जिप्नी र साना मोटर बाईकमा जोडिएका रिक्सा जस्ता सवारी साधनहरु, ब्राण्डेड फेसनहरुमा सजिनेहरुदेखि सामान्य पहिरन र आंग ढाक्न प्रयास गर्नेहरुसम्म देखिन्छन । यस्तो विभिदता मैले धनी र विकसित भनिने मुलुकहरुमा पनि देखेको हो । त्यसो त यो सामान्य अवस्था पनि हो । पूजिवादी अर्थ व्यवस्थामा गर्नेले नै कमाउने हो वा केही गर्न सक्नेले नै कमाउने हो । कस्ले अवसर पाउँछ कसले पाउँदैन त्यो अर्कै कुरो हो । शुसासन भएका देशहरुमा मात्र सबैले समान अवसरहरु पाएका हुँन सक्छन भन्ने मेरो ठम्याई हो । कहाँ शुसासन छ कहाँ छैन त्यो त जनताका विषम आर्थिक विभेदताले नै बताई हाल्छ, लेखिराख्नु पर्ने जरुरी छैन ।
एस एम मलको एउटा भागमा छाप्रा जस्ता साना साना कोठाहरुमा संचालित पसलहरु देखिन्छन । अनि संगै जोडिएको छ जिप्नीका मेन स्टेसनहरु । त्यो आर्थिक अवस्थाका वर्गहरु जसलाई एस एम मलले सम्बोधन गर्न सक्दैन, सायद यो स्थानिय बजारले गर्छ होला । साँझमा त यो अझै व्यस्त देखिई रहेको हुँन्छ, खासगरी बारबिक्युका स्टलहरु । यहाँको बजारले सबैखाले आर्थिक अवस्थाका मान्छेहरुलाई बराबर सम्बोधन गरेको मैले महशुस गरेको थिए । 
यात्रामा एउटा अर्को अनौठो पाटो जोडिन आई पुग्यो । म पूर्वयोजना विना नै सिंगापुर पुगेको थिए । माथी उल्लेख गरे अनुसार क्लार्कबाट सिधा दोहा जाने जहाजमा तत्काललाई सिट नपाउँने भैसकेपछि अन्य विदेशी मित्रहरुले विभिन्न खाले ट्रन्जिट प्वाईन्ट सुझाव दिए । कोही भन्थे हंगकंग हुँदै जाउ, कोही भन्थे बैंकक त कोही भन्दै थिए सिउल । मेरा लागी भने सिंगापुरभन्दा अर्को विकल्प थिएन । दक्षिणपूर्वी एसियामा फिलिपिन्सपछि हामी नेपालीहरुले आगमनमा भिसा पाउन सक्ने देश केवल सिंगापुर मात्रै बाँकी थियो । त्यसैले म सिंगापुरतिर झर्दै थिए । सिंगापुर विमानस्थलमा जसै एक शब्द पनि नबोलि अध्यागमन अधिकारीले मेरो पासपोर्टमा ३० दिनको भिसा लगाए मेरो मन साह्ै प्रफुल्लित भयो । प्रफुल्लित भिसा लागेकोमा वा अध्यागमन अधिकारीले केही पनि नसोधेकोमा होईन कि बरु यस मानेमा कि मेरो लागी अझै पनि सिंगापुर सहज ट्रन्जिट प्वाईन्टका रुपमा छान्ने सौभाग्य कायमै थियो । अझै पनि सिंगापुरले नेपालीहरुका लागी भिसा सहज गरिदिएको छ । सायद उनका नजरमा हामीहरु अझै पनि विमानस्थलमा नै भिसा पाउन योग्य छौ । तर अरु थुप्रै देशहरुले हामीलाई यस प्रयोजनका लागी किन उपयुक्त देखेनन यो निश्चय पनि छलफलको एउटा सही बिषय बन्न सक्छ ।
सिंगापुरको विमानस्थल अर्थात चांगी एयरपोर्ट मैले देखेको पहिलेको विमानस्थलभन्दा आकास जमिन फरक भैसकेको रहेछ । त्यसो त म पछिल्लो पटक झण्डै बाह् बर्ष जति पहिले गएको थिए । विकासमा जुटेका देशहरुका लागी १२ बर्ष भनेको ठूलो समय हो र यो अन्तरमा विकासका हिसावले आकास जमिन फरक हुनु स्वभाविक नै हो । निश्चय पनि यो विमानस्थल मेरा लागी मैले देखेका अरु विमानस्थलहरु भन्दा निकै उत्कृष्ठ महशुस भैरहेको थियो । अव त्यहा ३ छुटृाछुटृै टर्मिनलहरु रहेछन । चौथो टर्मिनल सन २०१७ सम्ममा तैयार भसक्छ रे । यो विमानस्थल, यसको संरचना र यसभित्रका सुबिधाहरुको बयान गरेर साध्य नै छैन । हुँन त मानिसहरुले भन्लान कि एउटा त्यस्तो देशको मान्छे जुन देशमा गएको २५ बर्षदेखि यो क्षेत्र उही विमानस्थल संरचना र उही सीमित सुबिधाहरुमा कुँजिएर रहेको छ त्यसका लागी अरु देशको न्युनतम संरचना पनि ठूलो लाग्न सक्छ । सायद त्यो पनि होला तर सिंगापुरको सन्दर्भमा त्यो होईन । त्यो देशले हवाई क्षेत्रमा गरेको विकासको पुरा विश्व नै साक्षी छ ।
कहिले काही अनौठो लाग्छ सम्झदाखेरी पनि । गएको २५ बर्षभन्दा बढी समयदेखि हाम्रो देशको विमानस्थल संरचनामा १९ को २० विकास पनि देखिदैन । हवाई क्षेत्रको आधारभुत संरचनाका कुरा गर्दा हामी जहाँ थियौ २५ बर्ष अघि र आज पनि हामी उही छौ खाली फरक छ त नेपालसम्म भ्रमण गर्ने रहर बोक्ने पर्यटकहरुको संख्यामा आएको बृद्धिको अनि वैदेशिक रोजगारीका बाध्यतामा लपेटिएका नेपालीहरुको हवाई यात्राका आवश्यकताले बढाएको हवाई यात्रुहरुको संख्याको, अनि उत्तिकै संख्यामा बृद्धि भएका विदेशी विमानसेवाका हवाई सेवाहरुको । हाम्रो देशमा यस क्षेत्रका विभिन्न निकायमा जिम्मेवारी बोकेर बस्ने पदाधिकारीेहरुका लागी तीनले पाएको पारिश्रमिकलाई जस्टिफाई गर्नैका लागी मात्रै भए तिनले कागजमा  देखाउने विकासको सांख्यिकीको प्रस्तुतीले सायद सिंगापुरको भन्दा पनि उत्कृष्ठ विकासको तथ्यांक नदेला भन्न सकिन्न । आखिर भ्रम नै श्रृजना गर्नु त हो । तर यथार्थमा हाम्रो विमान स्थल र यहाँ उपलब्ध सेवाहरु २५ बर्ष पहिले के थिए र आज के छन सबैलाई थाहा भएको तथ्य हो जो खुल्ला पुस्तक बराबर नै छ ।    
सिंगापुरमा दिनको ४ जति बजेको हुँदो हो । मैले तत्कालै मेरो सिंगापुरियन हाकिमलाई ह्वाट्सएप मार्फत सम्पर्क गरे । त्यसो त उनी दोहामा नै थिईन । मेरो उडान रातको दूई बजेमात्रै भएका कारणले मैले फैजाकै सल्लाह अनुसार मेट्रे चढेर कुनै नजिकको स्थानमा घुम्ने योजना बनाएको थिए । एयरपोर्ट टर्मिनल परिवर्तन गर्दा चढेको स्काई ट्र्र्ेन पनि मेरा लागी एउटा नौलौ र रमाईलो अनुभव थियो । स्काई ट्रेनबाट विमानस्थलभित्रका केही भागहरुको द्धष्यावलोकन पनि गर्न सकिनथ्यो । यो स्काई ट्रेन यस विमानस्थलको एउटा महत्वपूर्ण विशेषतामा पर्दो रहेछ । यहाँ विमानस्थलभित्र हिडिरहँदा म अनायासै चांगी मिलेनियर कार्यक्रम संचालन भैरहेको अवस्थामा कार्यक्रमको आयोजना स्थल अगाडी नै पुगिसकेको रहेछु । यो साक्ष्यात्कार पनि यो भ्रमणको एउटा रमाईलो पाटो बन्न गयो । कार्यक्रमले विमानस्थलको त्यो क्षेत्र भएर अगाडी बढ्ने हरेक यात्रुहरुको ध्यान खिचिरहेको थियो । हरेक बर्ष एक जनाले एक मिलियन सिंगापुर डलर जित्ने यो कार्यक्रमका अवधिभरमा वितरण गरिने अरु सानातिना पुरस्कारहरु त कति हो कति रे । मैले यो कार्यक्रमको रसास्वादन गर्ने मौका पनि छोडिन ।
चांगी विमानस्थलको विशिष्ट श्रेणीको लाउन्जको अनुभव अझै उत्कृष्ठ थियो । गएको चार पाँच दिनदेखि नभेटृाएको दालभात तरकारीको स्वाद मैले यही लाउन्जमा भेट्न सकेको थिए । लाउन्जमा टन्न पेट भरेर म त्यसै साँझको उडानबाट नै सिंगापुरबाट दोहातिर प्रस्थान गरेको थिए । अर्थात मैले बुक गरेको उडान भन्दा अर्को उडान पहिले नै उपलब्ध भएका कारण मैले शहरतिर घुम्न जाने कार्यक्रमलाई स्थगित गरेर पहिलो उडानबाट नै दोहातिरको यात्रा शुरु गरेको थिए । 
प्रशान्त महासागरका पश्चिमी लहरहरुले चुमिरहने फिलिपिन्सको यो यात्रा भने मेरो पहिलो होईन । म यहाँ यसपटक दोश्रो पटक पुगेको थिए । विश्वको मानचित्रमा, प्रशान्त महासागरको पश्चिममा ७७०७ प्रायद्धिपहरुमा छरिएर रहेको यो देश आफैमा मलाई रमाईलो लाग्छ । त्यसमाथी पहाड, समथर भूभाग, जंगल सबै कुराहरुको संयोजनले यो देशलाई भौगोलिक विविधता पनि दिएको देखिन्छ । भौगोलिक रुपमा लुजोन, विशायास, र मिन्डानाओ गरी तीन भागमा विभाजित यो देशको राजधानी शहर भने मनिला नै हो जुन मेट्रे मनिलामा पर्दछ । यस पटकको यात्रामा समुन्द्री किनारासम्म पुग्ने रहर पुरा नभए पनि यो भन्दा पहिले सेबु भ्रमण ताका गरेको समुन्द्री तटको यात्राको ताजा संस्मरण भने गराई रहेको थियो । साँझमा पानी परेपछिको मौसममा समुन्द्री किनाराबाट प्रशान्त महासागरका क्षितिजहरुलाई चिहाउनलाई कोशिस गरिरहँदा यसका लहरहरुले मलाई मनाहीका संकेत गरिरहेका थिए मानौ मैले एउटा कहिले नसक्ने वा नपुग्ने चाहना पालेको थियो । निश्चय पनि प्रशान्त महासागरको क्षितिज नियाल्नु मेरो वसको कुरा थिएन । तर पनि मैले प्रशान्त महासागरका लहरहरुलाई एउटा आज्ञाकारी बालकले झै धेरै बेर निहालिरहेको थिए । लागथ्यो प्रशान्त महासागरका लहरहरुले मलाई निम्तो गरिरहेका थिए । गरिरहेका छन र गरि नै रहनेछन ।  
मेरो अनुभवमा फिलिपिन्स भद्रहरुको बस्ती हो । आजसम्मको अनुभवमा भद्रहरुकै देश हो । तीनै भद्र फिलिपिनाहरुमध्येका एक भद्र मित्र जोई अग्विलरको सहयोगले मेरो यात्रामा सुनमाथि सुगन्ध छर्ने काम गरेको थियो । मैले होटेल बुकिंगका लागी उनको सहयोग मागेको थिए तर उनले त एउटा बहुत सुबिधासम्पन्न होटेलमा निशुल्क बस्ने व्यवस्था नै गरिदिए । मैले शुरुमा नै अस्विकार नगरेको भए म एउटा विशिष्ट व्यक्तिको रुपमा क्लार्कको मेयर कार्यालयवाट नै विमानस्थलदेखि नै स्वागत गरिने भएको थिए । मैले मसंग लो प्रोफाईल यात्राको चाहना भएको बताएपछि तामझामको व्यवस्था रद्ध गरिएको थियो । वास्तवमा लो प्रोफाईल यात्रामा जति रमाईलो हुँन्छ त्यति मज्जा तामझामको यात्रामा हुँन सक्दैन भन्ने मेरो अनुमान छ ।
जहिले देखि मैले विश्व मानचित्रमा फिलिपिन्स देखेको थिए त्यसै समयदेखि नै मलाई फिलिपिन्समा पदार्पण गर्ने रहर पलाएको थियो । सन २००६ को फिलिपिन्सको सेबुको यात्राले मेरो यो रहर मेट्न सकेन, र यसपालीको क्लार्कको भ्रमणले पनि सकेन । मलाई फिलिपिन्सको भौगोलिक अवस्थालाई उत्तरदेखि दक्षिणसम्म चहार्ने रहर छ, हिँउददेखि बर्षासम्म अनुभव गर्ने चाहना छ । प्रशान्त महासागरको एउटा पाटोमा छरिएर रहेका सून्दर प्रान्तहरुमा विभक्त देश फिलिपिन्स मेरो रोजाईको मुलुक हो । त्यो देशमा सडक र समून्द्री यात्रा गर्ने मेरा रहरहरु अझै मरेका छैनन । हेरौ, हेर्दै जाँउ कसरी जुर्नेछन मेरा रहरका लहरहरु फेरी फेरी पनि । पक्कै पनि प्रशान्त महासागरका लहरहरुले मेरा रहरहरुलाई फेरी फेरी पनि तान्नेछन तानिरहनेछन फिलिपिन्सको त्यो सून्दर र शान्त भूमिमा । मेरा आशाहरु कहिले पनि मर्ने छैनन भन्ने मलाई लागेको छ ।

२० जनवरी २०१४


Comments

Subhadra Shrestha

Binodji, Yo tapaiko Niyatrale malai ekdam ramaailo anubhuti bhayo, ali ali photoharu pani post garna mileko bhaye tyo Chaataa Odher biman tarfa laageko photo herna man thiyo, hehehe,tara tyo kalpana garda samet pani ramailo laagyo, bibhinna thauko tapaiko Niyatrako euta kitab nai banisakyo hola tyo chai herna man chha !! Ani khas khas.com lai pani dherai dherai dhanyabaad !!!yasto sasmaran haru padhne mauka diyeko ma !!!
Subhadra Shrestha from NAC

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |