मलाई त उड्ने रहर छ आमा
धेरै माथि पुग्ने रहर छ
बादल छुने रहर होइन आमा
बादल चिर्ने रहर छ ।
उड्न कोसिस नगरेको होइन
पंख फिजाएँकै हुँ
म त उड्नै सकिनँ
गर्हौँ रहेछु आमा म
हावामा उड्न खोज्दा
जमिनमा झरिरहेँ
मलाई पृथ्वीको गुरुत्वले तल तानिरह्यो ।
माथि उड्न तन हलुंगो हुनुपर्ने रहेछ आमा
कहिले खुट्टाको पाउजुले उड्न दिएन
कहिले हातको चुराले उड्न दिएन
कहिले नौगजको फरियाले उड्न दिएन
कहिले बाह्र हातको पटुकीले उड्न दिएन
कहिले घाँटीको घण्टीले उड्नै दिएन ।
माथी उड्न बन्धन खुकुलो हुनुपर्ने रहेछ आमा
कहिले परिवारको मर्यादाले उड्न दिएन
कहिले सन्तानको भविष्यले उड्न दिएन
कहिले समाजको रीतिले उड्न दिएन
कहिले आफ्नै कमजोर मनस्थितिले उड्न दिएन ।
माथी उड्न बारहरु भत्काउनुपर्ने रहेछ आमा
मलाई त कहिले सिन्दूरको धर्कोले छेकेर उड्न दिएन
कहिले ढोकाको आग्लोले रोकेर उड्न दिएन
जीवनभर कर्तव्यको भारीले गाँजिरह्यो
मलाई त जीवनभर दायित्वको शिलाले किचिरह्यो।
उद्देश्य मेरो ठुलो थियो आमा
माथि उडेर चन्द्र छुने नै थियो
उड्न त वजन हलुंगो हुनुपर्ने रहेछ
माथी उड्न सबै बोझहरु बिसाउनु पर्ने रहेछ
साँच्चै भनौँ
माथि उड्न त आफूले अरुलाई हैन आमा
माथि उड्न त आफुले आफैँलाई उछिन्नुपर्ने रहेछ।