हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नेपाली विश्वव्यापी भिडियो छन्द कविता प्रतियोगिताको नतिजा,(खसखस सम्वाददाता)

वासिङ्गटन डिसी । अमेरिकाबाट हरेक महिना प्रसारण हुँदै आएको छन्द अलङ्कार कार्यक्रमले गत वर्ष अर्थात २०१७ को अन्त्य तिर आयोजना गरेको प्रथम नेपाली विश्वव्यापी भिडियो छन्द कविता प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ। 
प्रतियोगिताका निर्णायक समितिका प्रमुख डा देवी नेपालले छन्द अलङ्कारको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्दै निर्णय सार्वजनिक गरेका हुन्। 
नेपालबाट डा देवी नेपाल, अमेरिकाबाट दुर्गा रिजाल र बेलायतबाट नारायण गाउँले रहेको निर्णायक समितिले गरेको निर्णयानुसार मोरङकी मेनुका चापागाईंको यही स्वर्ग मेरो स्वर्ग शीर्षकको कविता प्रथम भएको छ। 
यस्तो छ नतिजा 
१. प्रथमः यही स्वर्ग मेरो, मेनुका चापागाईं, मोरङ् नेपाल ।             
२. द्धितीयः फर्कन्छु आफ्नै घर’, सविना रेग्मी, जापान ।             
३. तृतीयः नफर्कने साथीसित’, गोविन्दगोपाल खतिवडा, तनहुँ नेपाल ।         
४. सान्त्वनाः युवालाई आह्वान’, रोहित पराई, मोरङ नेपाल ।             
५. सान्त्वनाः राष्ट्र वन्दना’, भवानी खतिवडा, उदयपुर नेपाल ।             
छन्द अलङ्कारका व्यववस्थापक ज्ञानु विद्रोहीका अनुसार प्रतियोगितामा प्रथम पुरस्कार ३११ अमेरिकी डलर र प्रमाणपत्र, द्धितीय पुरस्कार २०३ अमेरिकी डलर र प्रमाणपत्र, तृतीय पुरस्कार १०१ अमेरिकी डलर र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार ५१ अमेरिकी डलर र प्रमाणपत्र रहेको छ। 
पुरस्कृत कविहरुलाई पुरस्कार वितरण गर्ने मिति र समय भने तय नभइसकेको निर्णायक समितिका दुर्गा रिजालले जानकारी दिए। उक्त पुरस्कार वितरण भने नेपाली नयाँ वर्षको आसपासमा हुन सक्ने बताइएको छ। पुरस्कृत कविहरु स्वयंले बाचन गरिएका कविताहरु छन्द अलङ्कारको आगामी अंकहरुमा पनि प्रसारण गरिने रिजालले जानकारी दिए। 
नेपाली छन्द कविता लेखन, अध्ययन, अनुसन्धान, अध्यापन, र प्रशिक्षण गरिरहेका कवि डा देवी नेपालका अनुसार जम्मा १०२ वटा कविता मध्ये ७५ वटा कविता निर्णयका लागि तय गरिएको मापदण्ड भित्र परेका थिए। 
यिनै ७५ वटा कविताहरुलाई मात्र प्रतियोगी कविताको रुपमा मान्यता प्रदान गरिएको थियो। विश्वका ११ वटा देशबाट प्रतियोगितामा कविहरुले सहभागिता जनाएका थिए भने ८० भन्दा बढी उमेरदेखि युवा पुस्तासम्मका कविहरुको सहभागिता रहेको थियो। उक्त प्रतियोगिताको नतिजा पारदर्शी र निस्पक्ष ढङ्गबाट गरिएको निर्णयक पक्षले जनाएको छ।
भिडियो छन्दमा डा नेपालले भने, ‘‘छन्दलाई शिलोक परम्पराबाट बचाउनु पर्नेछ। परम्परागत स्तुतीबाट बचाउनु पर्नेछ । छन्दका कवितामा युग बोल्दैन, समाज आउदैन भन्ने भनाइलाई जवाफ दिनु नै पर्छ’’ उनले नेपाली छन्द कविताको ग्रन्थप्रकाशन गर्न लागिएको समेत जानकारी गराए। उनका अनुसार आगामी भानु जयन्तीसम्ममा यो ग्रन्थ प्रकाशन गरिने छ। 
उक्त प्रतियोगिता र यसको नतिजाको सम्बन्धमा छन्द अलङ्कार तथा निर्णयक समितिको तर्फबाट डा नेपालले प्रत्यक्ष प्रसारण गर्दै विज्ञप्ती समेत सुनाएका थिए। 
सो विज्ञप्ती जस्ताको त्यस्तै :


आदरणीय कविताप्रेमी महानुभावहरू !
साहित्यिक अभिवादन ।
विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता-२०१७ को मूल्याङ्कनका लागि हामी पाँचजनाले विशेष जिम्मेवारी पाएका थियौँ । मेरो संयोजकत्वमा कवि दुर्गा रिजाल (अमेरिका) र कवि नारायण गाउँले (बेलायत) गरी तीनजनाको निर्णायक समिति र कविद्वय पुरानाघरे (अमेरिका) र ज्ञानु विद्रोही (नेपाल) गरी दुईजनाको कार्यकारी निर्णायक समितिबाट पटक पटक भिडियो श्रवण र शब्द पठन गरी पटक पटक अनलाइन बैठक बसी तयार भएको सर्वसम्मत निर्णयको घोषणा गर्ने जिम्मेवारी मैले पाएको छु ।
यस प्रतियोगितामा विश्वभरिबाट १०२ वटा छन्दकविताहरूको सहभागिता रहेको थियो । त्यसमा कार्यकारी निर्णायकद्वयले प्रथम चरणमा छन्द मिल्दै नमिलेका २७ वटा कविताहरूलाई प्रतियोगिताबाट हटाएर हामीलाई ७५ वटा कविताको भिडियो उपलब्ध गराउनुभएको थियो । नेपाली छन्दकविताको इतिहासमा यो सामान्य उपस्थिति होइन । त्यसमा पनि कवितालाई प्रविधिमुखी बनाएर प्रस्तुत गर्ने र भिडियो हेरेर कविताको मूल्याङ्कन गर्ने काम आजभन्दा अगाडि कहीँकतै भएजस्तो लाग्दैन । त्यस कारण पनि यस प्रतियोगिताको ऐतिहासिक मूल्य छ भन्ने हामीलाई लागेको छ ।
यस प्रतियोगितामा नेपाल, भारत, भुटान, अमेरिका, बेलायत, जापान, यूएई, बर्मा, इजरायल, क्यानडा, दक्षिण कोरिया गरी ११ वटा देशमा रहेका नेपाली छन्दकविहरूको सहभागिता रहेको थियो । दुई छिमेकी देशका बिचमा हुने प्रतियोगितालाई त अन्तर्राष्ट्रिय भन्नुपर्ने हुन्छ भने दूरीका हिसाबले पनि नेपालदेखि सात समुद्रपारिसम्मका ११ वटा देशमा रहेका नेपाली छन्दकविहरूको सहभागिता निकै प्रशंसनीय कार्य हो । यो प्रतियोगिता साँच्चै विश्वव्यापी बनेकामा हामी गौरवान्वित छौँ ।
यस प्रतियोगितामा १३ वटा छन्दहरूको सहभागिता रहेको थियो । त्यसमा शार्दूलविक्रीडित छन्दका ५० वटा कविताहरू सहभागी थिए भने पञ्चचामर छन्दका ७, भुजङ्गप्रयात, अनुष्टुप् र मन्दाक्रान्ता छन्दका ३-३, शिखरिणी छन्दका २ र स्रग्विणी, उपजाति, तोटक, वसन्ततिलका, स्रग्धरा र चर्चरी छन्दका १-१ कविताहरू रहेका थिए । एउटा कवितामा भने विविध छन्दको प्रयोग गरिएको थियो ।
यस प्रतियोगितामा हजुरबादेखि नातिसम्मका तीन पुस्ताको सहभागिता रहेको थियो । शेषराज आचार्य, रोहिणीविलास लुइटेल, होम सुवेदी, हरि न्यौपाने, विष्णुकुमार भट्टराई, हरि बस्ती, दामोदर नालाङी, शालिग्राम अर्याल, विरही अधिकारी, डिल्ली नेपालजस्ता अग्रज पुस्ताका कविहरूको सहभागिताले नयाँ पुस्ताका सर्जकहरूमा हौसला बढाएको छ । यसले सिर्जनामा उमेरको विभेदलाई अन्त्य गर्ने कार्यको समेत थालनी गरेको हुनाले म सर्वप्रथम उल्लिखित सम्पूर्ण अग्रज स्रष्टाहरूलाई नमन गर्दै हार्दिक आभार व्यक्त गर्दछु ।
प्रस्तुत भिडियो प्रतियोगिताका लागि निर्णायक समितिले कविता मापन र मूल्याङ्कनका स्पष्ट आधारहरू तयार पारेको थियो । जसमा विषयवस्तुलाई २०, शीर्षक सार्थकतालाई १०, भाव,विचार,कवित्व,क्तीकरणलाई ३०, भाषिक शिल्पलाई १०, छन्दविधानलाई २० र प्रस्तुतीकरणलाई १० अङ्क प्रदान गरी एकजनाले जम्मा १०० पूर्णाङ्कमा मूल्याङ्कन गर्ने गरी अङ्कव्यवस्थापन गरिएको थियो । नेपाल, अमेरिका र बेलायतबाट छुट्टाछुट्टै गरिएकोे मूल्याङ्कन पत्रमा दिइएका अङ्कहरूको कार्यकारी निर्णायकहरूबाट योगफल निकालेपछि तिनै अङ्कका आधारमा अन्तिम निर्णय सार्वजनिक गर्न लागिएको हो । हाम्रो निर्णय प्रक्रिया पूर्वनिर्धारित मापदण्डअनुकूल र पारदर्शी छ भन्ने प्रमाणस्वरूप पूर्वघोषित उत्कृष्ट २० जना कविहरूको समग्र योगफलसहितको निर्णय तालिका कार्यकारी निर्णायकज्यूहरूले यो मूल्याङ्कनको घोषणापछि तत्काल सार्वजनिक गर्नुहुने छ ।
आज सन् २०१८ को पहिलो दिन । हामीले आज नेपाली छन्दकविताको इतिहासमा एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरेका छौँ । यति मात्र नभएर हामी सन् २०१७÷०१८ तथा वि.सं. २०७४÷०७५ लाई नेपाली छन्दकविताको इतिहासमा एउटा कोसेढुङ्गो साबित गर्ने महान् लक्ष्य र सङ्कल्पका साथ आएका छौँ । त्यसको पहिलो पाइलोस्वरूप हामीले विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता-२०१७सम्पन्न गरिसकेका छौँ । निकट भविष्यमा यसको पुरस्कार वितरणका लागि भव्य समारोहको आयोजना नेपालको काठमाडौँमा गर्ने छौँ । यसका साथै हामी प्रतिनिधि नेपाली छन्दकविता’ (भाग१) बृहत् ग्रन्थ प्रकाशनको तयारीमा जुटिसकेका छौँ । त्यस ऐतिहासिक कृतिमा नेपाली साहित्यमा लेखिएको पहिलो छन्दकवितादेखि भानुभक्त आचार्य हुँदै आजको पुस्तासम्मका र नेपालभित्रका मात्र नभएर विश्वभरि जहाँ जहाँ नेपाली छन्दकविहरू छन् तिनका छन्द मिलेका र सूक्तिपूर्ण सम्पूर्ण कविताहरू समावेश गर्ने छौँ ।
यस बृहत् ग्रन्थलाई नेपाली कविताको इतिहासमा एउटा आधिकारिक, मानक र समावेशी छन्दकविता सङ्ग्रह बनाउने हाम्रो लक्ष्य रहेको छ । यसका लागि आवश्यक शक्ति र सीमासहितको सूचना हामी तत्काल प्रकाशन गर्ने छौँ । उक्त बृहत् ग्रन्थ आगामी भानुजयन्तीका दिन विश्वका सातवटा देशमा एकसाथ विमोचन गर्ने लक्ष्य राखिएको छ । यस कार्यका लागि यहाँहरूका स्तरीय सिर्जनाका साथै रचनात्मक सहयोग र सुझावको अपेक्षासमेत हामीले राखेका छौँ ।
प्रस्तुत विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिताको मूल्याङ्कन गर्ने क्रममा हामीले अब लेखिने छन्दकविता विषय र शिल्प दुवै दृष्टिले परम्पराभन्दा केही परिष्कृत र निर्दोष हुनुपर्छ भन्ने मान्यतालाई पहिलो प्राथमिकतामा राख्यौँ । छन्दकवितामा युग बोल्न सक्दैन, छन्दकविताहरू सामाजिक विषयभन्दा टाढा रहेर परम्परित स्तुति, प्रशस्ति र भजनमा केन्द्रित हुन्छन् र छन्दकविताले भाषिक नियमलाई तोडफोड गरेका छन् भन्ने आरोपहरूबाट छन्दकवितालाई मुक्त गराउन एक ठाउँमा पनि छन्दभङ्ग भएका र ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व गराइएका अथवा खुट्टा काटेर छन्द मिलाइएका प्रतियोगी कविताहरूलाई हामीले प्राथमिकताबाट बाहिर राख्यौँ । यसरी हेर्दा कुनै कविताको प्रस्तुति अत्यन्त राम्रो छ तर कतै कतै छन्दभङ्ग छ । कुनैमा छन्दविधान अत्यन्त राम्रो छ तर भाव तरल छ । कुनैमा भाव सशक्त छ तर प्रस्तुति कमजोर छ । यी सबै कुराहरूलाई केन्द्रमा राखेर मूल्याङ्कन गर्दा र तीनैजना निर्णायकहरूको योगफल र कार्यकारी निर्णायकहरूसँगको लामो बहसपछि निर्विवाद र सर्वसम्मत रूपमा निम्नलिखित कविताहरू यस प्रतियोगिताबाट पुरस्कृत भएका छन्:
प्रथम: मेनुका चापागाईं, मोरङ,     यही स्वर्ग मेरो     २५४.५ 
द्वितीय: सविना रेग्मी, जापान     फर्कन्छु आफ्नै घर     २५३.५
तृतीय: गोविन्दगोपाल खतिवडा तनहुँ,     नेपाल नफर्कने साथीसित २५१
सान्त्वना:  रोहित पराई मोरङ, नेपाल युवालाई आह्वान २५०.५
              
भवानी खतिवडा उदयपुर, नेपाल राष्ट्रवन्दना २५०.५
अन्त्यमा, यस्तो गम्भीर, महत्त्वपूर्ण र ऐतिहासिक जिम्मेवारी हामीलाई प्रदान गर्नुहुने छन्दअलङ्कार परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै र प्रथम नेपाली छन्दकविता भिडियो प्रतियोगितामा सहभागी हुनुहुने विश्वभरिका सम्पूर्ण छन्दकविहरूलाई हार्दिक बधाई तथा अझै परिष्कृत, अझै युगीन र अझै मानक छन्दकविता सिर्जनाका लागि सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

डा. देवी नेपाल
संयोजक
विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता, निर्णायक समितिका तर्फबाट
काठमाडौँ, नेपाल
जनवरी १, २०१८ 


 


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |