हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वर्तमान युगबोधको समिश्रण :अनामिका,(राम अधिकारी अविवेकी)

नेपाली साहित्यमा कविताको समसामयिक धारा चलिरहेको बेला देशबाहिर बसेर अस्तित्त्व, प्रणय, देशप्रेम, प्रकृतिप्रेम र विविध मानवीय संवेदनालाई समिश्रण गरेर रचना गरिएको कविता संग्रह देखापरेको छ -अनामिका । कवि कल्पना सुबेदीद्वारा रचित अनामिका कविता संग्रहमा उनन्चालीसवटा कविता संग्रहित रहेका छन् । देशको वर्तमान युगको परिस्थितिजन्यता होस् वा व्यक्तिभित्रको प्रेम, तरुणवय र उन्माद र अवसरको खोजीमा भौतारिरहेको नेपालीले संगै बोकेका भाषा, संस्कृति, आस्था र देशप्रतिको आस्थालाई यी प्रतिनिधि कविताहरुले मानवीय संवेदनाको गहिराईसम्म पुगेर दृस्टीगोचर गरेका छन् । संग्रहका अधिकांश कविताहरु व्यतिगत अनुभव, बुझाई र भावनाबाट निसृत छन् । व्यक्तिगत भोगाई र जीवनको उहापोहलाई सार्वभॊम अनुभव र भोगाईलाई मानवीय संवेदनाको नजिक रहेर प्रस्तुत गर्ने प्रयत्न गरिएको छ कविताहरुमा  । साथै मानवीय संवेदनाको सुनौलो पक्ष प्रेमलाई विविध आयामबाट नियाल्ने प्रयत्न गरिएको छ कवितामा । अधिकांश कविताहरु त्यसको मियो वरिपरि नाचिरहेका छन् ।

'अनामिका' कवितामा अस्तित्वको खोजि गरिएको पाइन्छ| देशबाहिर र जन्मभूमिदेखी टाढा हुँदा आफ्नै छुट्टै पहिचान हराएको र अवसर र ज्ञानको खोजीमा मानिस आफैभित्र निसास्सिएकोतर्फ संकेत गर्दै कविले अनाथालयको अनाथजस्तो भएर पनि पहिचान र अस्तिवको खोजीमा मानिस अनवरत दौडिरहेको कुरा यसरी अभिव्यक्ति दिएकी छन् :                                

पहिचान खोजिरहेछु
अनाथालयको अनाथजस्तो
लक्ष्यविहिन लक्ष्यको पछाडि   (अनामिका )

कविताले व्यक्तिगत अस्तित्वका साथै जात
,
भाषा र संस्कृतिगत अस्तित्वलाई पनि उठाएको छ | पहिचान खोज्नेले देश र भाषा संस्कृतिलाई अनन्तकालसम्म आफ्नो अस्स्तित्वसंग जोडेर हेरेको हुन्छ भन्ने वास्तविकतालाई पंक्तिहरुले व्यन्जनार्थ प्रस्तुत गरेका छन् । साथै व्यक्तिगत प्रेमप्रणयको अनुभवलाई बडो कलात्मक ढंगले अभिव्यक्ति दिइएको छ । कतिपय सन्दर्भमा प्रेमको समर्पणलाई उठाइएको छ भने नारीहरुको प्रेमप्रतिको समर्पणभावलाई मिहिन ढंगले केलाउने प्रयत्नका साथै मनभित्र चलिरहने कुतुहलतालाई आत्मालाप शैलीमा प्रकट गरिएको पाइन्छ र | कतै प्रेम जीवनका राग वा संयोगको अभिव्यक्ति छ भने वियोगले निम्त्याएको पीडा र एक्लोपनको अभिव्यक्ति कवितामा पाइन्छ। वियोगले निम्त्याएको निरासामा कतै कतै कवितामा प्रेमप्रतिको वितृष्णा पनि छरप्रष्ट भएको देख्न सकिन्छ साथै प्रेमको उच्च समर्पण यौनको पराकाष्टा हो भन्ने कविको आफ्नै खालको बुझाइलाई कवितामा यसरी अभिव्यक्ति दिइएको छ :
तिम्रा लागि सिर्फ तिम्रा लागि
कुमारित्वको पर्खाल भत्काईदिए
मन नभै नभै
के के स्वीकृति दिएँ      (सिर्फ तिम्रा लागि )
मानिस महत्वाकांक्षा र सपनाको खोजीमा दौडिरहेको छ । उच्च महत्वाकांक्षा मानिसलाई यहाँसम्म ल्याई पुर्याएको र सपना देख्दादेख्दै पनि आफू लक्ष्यबिहिन यात्रीजस्तै बन्न पुगेको बुझाई कविको छ र मानिस जन्मदेखि नै दौडमा रहेको अझ बैदेशिक जीवनले त्यसको गति झन् बढाईदिएको भान कविले गरेकी छन् र उनको बुझाइमा पनि जीवनको शाश्वत सत्य दौडलाई लिइएको छ यो अभिव्यक्तिले वैदेशिक भूमिमा सपनाको खोजीमा लक्ष्य र सपनाबिहिन बन्नपुगेका नेपालीहरुका परिवेशलाई नजिकैबाट नियाल्ने प्रयत्न गरेको छ संग्रहले ।

'हिमपात ' कवितामा प्राकृतिक सुन्दरताको चित्रण गर्दै मानवीय जीवन चक्रसंग प्राकृतिक शिशिर वसन्तको तुलना गरिएको छ । मानवीय सोचाईहरु सुन्दरताको पछि दौडने मानवीय प्रवृतिलाई हिउँको सुन्दरताको विशिष्ट पक्षसंग केलाइएको छ। मानवीय जीवन पनि अर्को हिमपातको प्रतिक्षामा कुरिरहने सौन्दर्यबोध कविताले मिहिन रुपमा गराएको छ । त्यसैगरी मृत्युको शाश्वत सत्यलाई आत्मसात गर्दै मानिस जीवनको शाश्वत सत्य मृत्यु भएकाले माया र घृणाको पक्षपाति नबन्न आग्रह गरिएको छ यहाँ । मानिसले जीवनलाई भोग गर्दै जाँदा जीवनको भुलभुलैयामा मानिसले आफ्नै जिन्दगीको परिभाषा गर्न नसकेको किमकर्तव्यमुढतालाई 'जिन्दगी'
कविताले अभिव्यक्ति दिएको छ ।

नेपाली भाषा संस्कृतिको छापसंगै राजनैतिक र विविध परिस्थितिले वैदेशिक जीवन बाँचिरहेका नेपालीहरुको प्रगति
, संघर्ष,
अभाव र सांस्कृतिक सापेक्षतालाई कवितामा प्रशस्त रुपमा उठाइएको छ । देशभन्दा बाहिर रहेपनि आफ्नो कर्मथलोका भौगोलिक र प्राकृतिक संरचनाहरु र आँखाले दिनहुँ देखिरहने अग्ला टावरहरु आफ्नो जन्मभूमिका बिम्ब बनेका छन् कवितामा । अमेरिकामा मोनुमेन्ट बन्द हुँदा आफ्नै आँगनको धरहरा बन्द भएको महसुस कविले गरेकी छन् । यसले साँस्कृतिक अन्तरघुलनलाई देखाएको छ भने भौतिक जीवन जति टाढा भए पनि मन भने आफ्नै पाखा र बारीहरुमा रमाईरहने स्वदेश प्रेमलाई कविताले बिम्ब र प्रतीकका माध्यमबाट छरप्रष्ट पारेको छ। त्यसैगरी आफ्ना सन्तानलाई आफ्नै काखबाट पर गर्नु परेको देशको बाध्यात्मक परिस्थिति र त्यसबाट मातृभूमिले भोगेको पीडा पनि यहाँ आएको छ । सन्तानहरु आफ्नो घर सम्झेर नफिर्दा मातृभूमिको पनि सन्तानप्रतिको दायित्व घट्दै गएको र सामिप्यता कम हुदै गएको वास्तविकतालाई यहाँ उजागर गरिएको छ ।

संग्रहमा आफ्नो देशप्रतिको कर्तव्य र आस्थालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफ्नो जन्मभूमिलाई सन्तानले नबिर्सने र आफ्नो गुँड सम्झेर फर्कने कुराप्रति कविले आश्वासन दिएकी छन् । आफ्नो देशको जस्तो चन्द्र सुर्य अंकित झन्डा संसारमा कहिँ पनि नभएको र विदेशमा जति सुखसयलमा बसेपनि त्यो आमाको काखजस्तो नहुने कुरातर्फ कविले संकेत गरेकी छन् । त्यसैगरी अमेरिकी नागरिक बन्न मानिस अहिले पनि मरिहत्ते गरिरहेको र अमेरिकी नागरिक बन्ने होडमा उसले गुमाएको सम्पूर्ण स्वतन्त्रता
, इमान्दारिता र झुटका खेतीहरु बोक्दै मानिस यहाँ बाँचिरहेको विकृतितर्फ कविले दृष्टिगोचर गरेकी छन् । मानिस पैसाको नाममा आफ्नो अस्तित्त्व नामेट गराउन र कुकृत्य गर्न प्रेरित गरेको भन्दै यसले निम्त्याएका विकृतिप्रति कविले औला ठड्याएकि छिन । कवितामा प्रस्तुत भावहरुले वैदेशिक जीवन भोगाई विकृति,
विसंगति र देशबाहिरको नेपालीको वैदेशिक संरचनालाई सचित्र प्रस्तुत गरेको छ ।

व्यंग्यात्मकता संग्रहको अर्को विशेषता रहेको पाइन्छ । सामाजिक विकृति र विसंगतिलाई व्यंग्य प्रदान गर्दै हास्यव्यंग्य शैलीमा केहि कविताहरु प्रस्तुत गरिएको पाइन्छ .
'जोइतिङ्ग्रे''कलिको परिवार 'कविताले हाम्रो नेपाली समाजका विकृति र विसंगतिप्रति व्यंग्य गर्दै मानवीय चरित्रको उद्घाटन गरेका छन् । मानिस सत्ताको लोभमा मानवीयता बिर्सेर राजनीतिलाई फोहोरी आहालमा डुबाइरहेको छ । मानव सभ्यताको इतिहासलाई हेर्ने हो भने युद्द,हत्या,
हिंसा र राज्यका शक्ति प्रदर्शन अझ व्यापक रुपमा बढिरहेको छ | त्यसको छायाँ कला साहित्यका विभिन्न आयाममा पारेको पाइन्छ र आजभोलि त युद्ध साहित्यको छुटै धारा बनेर मौलाइरहेको छ । यसरी राजनीतिक लुछाचुडीले निम्त्याएको विभत्स दृश्यलाई कवितामा यसरी पोखिएको छ।
गिद्दले सिनो खोसेर खाएको त के नौलो भो र?
मान्छेले नै मान्छेको सिनो चपाएको देखेका छौ (देखेका छौ )

यसरी युद्धले आघात मानव समुदायको विवशता प्रस्तुत गर्दै शान्तिप्रतिको अगाध आस्था प्रस्तुत गरिएको छ र राजनीतिक खिचातानी र त्यसले निम्त्याएका विकृतिप्रति तिव्र व्यंग्य प्रस्तुत गरिएको छ ।

खासगरी प्रेमभित्र अस्तित्व
,
देशबाहिर जातीय अस्त्तित्व र सांस्कृतिक अस्तित्त्वका साथै नारीमुक्तिको अभिव्यक्ति पनि कवितामा मुखरित भएको  पाईन्छ । जसमा नारीभित्रको पुरुषवादी समाजभित्रको वाध्यता र विवशतालाई प्रस्तुत गर्दै मुक्तिको चाहना प्रकट गरिएको पाइन्छ र त्यसको लागि सम्यक र शालीन विद्रोहतर्फ संकेत मात्र गरिएको छ र आफै भित्र विद्रोहको खोज गरिएको छ तर कवितामा विद्रोहको प्रयत्न वा आव्हान भने पाईदैन । बरु विद्रोहको प्रयास गर्दा शासकहरुबाट प्रताडित हुनुपरेका र त्यसले सचेत नारीमा पनि सत्यको अन्वेषण गर्ने सामर्थ्य गुमाउनु परेको यथार्थतर्फ कविताले संकेत गरेको छ ।

यसरी संग्रहभित्रका कविताहरु प्राय वर्तमान नेपाली साहित्यमा चलिरहेको समसामयिक धाराको वरिपरि संकेन्द्रित छन् । जसले समसामयिक युगजीवनका वास्तविकता
, यथार्थ, विकृति र विसंगतिको उजागर गरेका छन् । अधिकांश कविताहरु प्रेम र व्यत्तिगत अनुभूतिका अभिव्यक्ति भएकाले नेपाली साहित्यको मोतिकालिन समयको जस्तो शृंगार रसको अभिव्यक्ति कवितामा पाईन्छ । त्यस्तै संग्रहको शीर्ष कविताले अस्तित्ववादी चेतना प्रस्तुत गरेको छ । जसमा मानवीय अस्तित्त्व, जातीय अस्तित्त्व र भाषा र संस्कृतिगत अस्त्तित्वलाई उठाएको छ । संग्रहको अर्को महत्वपूर्ण पक्ष के देखिन आउछ भने वैदेशिक जीवन भोगाईलाई स्वदेशप्रेमको सापेक्षतामा प्रस्तुत गरिएको छ । जसले कविको व्यतिगत अनुभूति भएपनि समग्र देश बाहिरको नेपालीहरुको डायास्पोरिक जीवनशैली,
चिन्तन  र दृष्टिकोण प्रस्तुत गरेको छ .कर्मभूमिबाट आफ्नो जन्मभुमिप्रतिको माया र भाषा साहित्यप्रति आस्था र समर्पण देखाउदै नेपालीको देशप्रेमलाई कवितामा देखाईएको छ । त्यस्तै मानिसको प्रकृतिसंगको तादात्म्य सम्वन्ध केलाउदै प्राकृतिक विम्व र मानवीय संबेदनाको समिश्रण पनि यहाँ पाइन्छ ।

संग्रहमा समाविष्ट कविताहरुलाई हेर्दा विषयगत विविधता पाइन्छ । कृतिले राजनीति डायस्पोरा
, प्रणय, देशप्रेम, प्रकृतिप्रेम,
सामाजिक यथार्थ तथा मानवीय संवेदनालाई मुख्य विषयवस्तु बनाएको छ |  देशप्रेमको र प्राकृतिक सुन्दरताको सन्दर्भमा सिद्धिचरण श्रेष्ठको जस्तो स्वच्छन्दतावादी शैली सुबेदीका कविताहरुले बोकेका छन् । वैयक्तिक अनुभूतिलाई सार्वभौम अभिव्यक्ति बनाउने प्रयत्न गरिएकाले प्रथमपुरुष शैलीमा धेरै कविताहरुको अभिव्यक्ति भएको देखिन्छ । त्यस्तै  मानव मनभित्र चल्ने मनोद्देगलाई कलात्मक अभिव्यक्ति दिईएकाले कविताहरु गेयात्मक र लयात्मक शैलीमा बगेका छन् । कतिपय सन्दर्भमा कविताहरुमा विषयगत र भावगत विश्रिङ्खलता पाइन्छ । जसले कतिपय कविताको भावलाई अमुर्त बनाईदिएको छ । सरलता र छिटफुट प्राकृतिक बिम्ब र अलंकारको प्रयोग गरिनुका साथै प्राय मुक्तलयमा कविताहरु छन् भने केहि लोकलयमा कविताहरु रचना गरिएको पाइन्छ ।

निष्कर्षत: कवि कल्पना सुबेदीको अनामिका कविता संग्रह वर्तमान युगबोधको समिश्रण हो भन्न सकिन्छ । सरल भाषाशैली
, अनुभूतिको तीव्रता, डायास्पोरिक चेतना र अन्य विविध विषयवस्तुको मिश्रण भएको यो संग्रह समसामयिक नेपाली धाराको अर्को डायास्पोरिक कृति बन्न पुगेको छ | कविताहरुमा कुनै नयाँ चिन्तन र दृष्टिकोण नपाईए पनि पछिल्लो समयमा नेपाली भाषा तथा साहित्यमा आफ्नो भूमिका स्थापित गरिसकेको डायास्पोरिक चेतना र त्यसको संरचनालाई माथि उठाउन यो संग्रह महत्वपुर्ण सावित हुन सक्दछ । वैयक्तिक अनुभूतिलाई कलात्मक ढंगले प्रदान गर्ने प्रयास गरिए पनि सुबेदीको यो पहिलो प्रकाशित संग्रह भएकोले डायस्पोरा र मानवीय संवेदनालाई निश्चित चिन्तन तथा दृष्टिकोणले डोर्याउनु जरुरी छ ।

Comments

Ram Adhikari

http://www.ramadhikari.com񳏔ቡ/blog-post╡.html

dipendrabhattarai

really nice satire!!!i liked it...keep on writing basu g....all the best!!!!

Dina M Pandey

Great , I hope nepali karmachari lai pani yo Thaya hola tara ....neta ..Indian what to do ??Karmachari bechara....

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |