हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

‘समयको क्यानभासमा’ कथासङ्ग्रह भित्रका कथाको अन्तर्वस्तु प्रयोग,(ज्ञानु अधिकारी)

१. विषय परिचय र प्रवृत्ति
 नेपाली बालसाहित्यका विभिन्न विधा र नेपाली कथाका क्षेत्रमा नवीनचेतना, शैली र प्रयोगका साथ देखापरेकी शर्मिला खड्का (दाहाल) उत्तरवर्ती नेपाली कथामा पृथक् पहिचानका साथ परिचित स्रष्टा हुन् । बालकविता, बालउपन्यास, बालनाटक र बालकथा आदिका क्षेत्रमा उनको वर्चस्वपूर्ण उपस्थिति देखिन्छ भने पछिल्लो समयमा उनी एउटी सशक्त कथाकारका रूपमा समेत उपस्थित छिन् । ‘समयको क्याभासमा’ ( २०६५), ‘क्यानभासमा कोरिएका कथाहरू’ (२०६८) र ‘फेसबुक च्याटिङ’ (२०६९) गरी उनका तीनवथटा कथासङ्ग्रहहरू स्वयम्मा विशिष्ट र पृथक् छन् ।  उनका यी सङग्रहहरूका कथाले विषय र शैलीमा नवीनता देखाउँछन् । उनको पहिलो कथासङ्ग्रह भित्रका कथाहरू नारीका जीवनसङ्घर्ष, मूल्य र अस्तित्वमा केन्द्रित छन् र ती अतृप्त प्रेमको, हार्दिक प्रेमको, आत्मिक प्रेमको र शाश्वत प्रेमको गहिराइ खोतल्न प्रयत्नशील देखिन्छन् भने दोस्रो कथासङ्ग्रह भित्रका कथाहरू प्रेमको गहिराइलाई भित्रैसम्म पुगेर नाप्न प्रयत्नशील देखिन्छन् । वर्तमानको अभिव्यक्ति, युगबोध, जीवनबोध र प्रणयबोध उनको दोस्रो कथासङ्ग्रह भित्रका कथाको मुख्य विषयसन्दर्भ हो । त्यस्तै उनको तेस्रो कथासङ्ग्रहलाई भने किशोर कथासङ्ग्रहका रूपमा लिन सकिन्छ । खास गरेर किशोर उमेरका पाठकवर्गलाई लक्ष्य गरेर लेखिएको यस कथासङ्ग्रहका कथाहरूमा वर्तमान पुस्ता साइबर युगमा कसरी प्रवेश गरेको छ र साइबर संस्कृतिविना यो पुस्ता कसरी बाँच्नै नसक्ने भएको छ अनि प्रविधि को प्रयोगले आजको पुस्ता कता जादैछ भन्ने कुरालाई रोचक किसिमले देखाइएको छ । यो उनको कथाको शक्ति पनि हो ।
 उपर्युक्त तीनवटै कथासङ्ग्रहभित्रका कथाहरूका आधारमा कथाकार शर्मिला खड्का (दाहाल)का कथामा देखिने प्रमुख प्रवृत्तिगत विशेषतालाई यसप्रकार देखाउनु उपर्युक्त हुन्छ
 १. मूलतः प्रणयपरकभावको अभिव्यक्ति र प्रणयचेतनालाई केन्द्रमा राखेर       कथालेख्ने प्रवृत्ति
 २. प्रेमको गहिराइ, उच्चता र उदात्त स्वरूपको चित्रणका साथै आत्मिक  प्रेमको प्रस्तुति
 ३. नारी अस्तित्वको खोजी, आत्मपहिचानको खोजी र वर्तमानका युगीन विसंगति सममेतको  चित्रण
 ४ .प्रस्तुति र शैलीमा नवीनता र केही कथामा विनिर्मित शैलीको प्रयोग एवम् वर्तमानका  युगबोधको प्रस्तुति,
 ५. अत्यन्त आकर्षक, रोचक र प्रवाहमय भाषाशैलीको प्रयोगका साथै  सम्मोहन जगाउने  भाषाशैलीको समेत प्रयोग आदि ।

२. सङ्ग्रहका कथाको अन्तर्वस्तु
 नेपाली कथाको उत्तरवर्ती चरणकी सशक्त नारीकथाकार शर्मिला खड्का (दाहाल) को ‘समयको क्यानभासमा’ नामक कथासङ्ग्रह उनको कथायात्राको पहिलो कथाकृति भए पनि प्रौढ तथा परिपक्व कथाकृतिका रूपका यस सङ्ग्रहका कथाको पृथक् परिचय पाइन्छ र यी कथा टाढैबाट चिनिने भएर देखापरेका छन् । चौबीसवटा कथाहरूको सङ्ग्रहका रूपमा रहेको यस सङ्ग्रहका कथाहरूमा विषयवस्तु वा अन्तर्वस्तुको प्रयोगमा पनि नवीनता छ । यस किसिमको नवीनता ती कथामा के छ त ? भन्ने कुरा देखाउन निम्न लिखित तालिका नै पर्याप्त छ ।
क्रम स.      कथाको शीर्षक                  कथाको मुख्य अन्तर्वस्तु
१       समयको क्यानभासमा  वैयक्तिक जीवनका सृजना यात्रा, सघर्ष र आरोहअवरोह
      तथा प्रेम, घृणा र ईष्र्याजस्ता संवेदनाहरूको प्रस्तुति
२.       पवित्र सम्बन्ध   कथाकारसँगको साक्षात्कार र जीवन यात्रामा भेटिने हराने                            पात्रहरूका माध्यमबाट हादिैक संवेदनाको खोजी
३.     असंवद्धित शान्ति          नारीले भोग्नु परेका असुरक्षा, बलात्कार आदिनको प्रस्तुति र                               नारी सघर्षका विविध पक्षको चित्रण
४.     निश्चय अनिश्चय      छोरी पाउने नितिभोग्न विवश नारीका माध्यमबाट                            पीडाकै प्रस्तुति
५. सुकन्या उर्फ निलिमा         सशस्त्रदन्दको परिवेशको जीवन्त बिम्ब चित्रमा प्रेमिलभावको      प्रस्तुति र नारीका जीवन सघर्षको अभिव्यक्ति,
६. ओ अपाराजिता        परुषमा रहेको अहंवादी प्रवृत्ति र नारी पुरुषका मनोदन्दको              सबल चित्रणका साथै नारीका उच्चताको       प्रतिबिम्बन,
७.  कल्पनाको क्यानभासमा    आत्मिक प्रेमको चरमगहिराइ र मानवीय सेवेदनाको
           तीव्रताको प्रस्तुति,
८.   सरिता मलाई माफ गर          मनोविश्लेषणका माध्यमबाट वैवाहिक जीवन का असन्तुष्टि      र नारीका शकालु प्रवृत्तितथा र्कतव्यच्युत पुरुषका       मनोवृत्तिका चित्रण
९ं    यो उसको कथा हो    विनिर्मित शैलीको प्रयोग गरेर दन्द कालीनजीवनका       भोगाइको प्रस्तुति
१०. पुन र्निणय       गरिवी र अभावमा हुर्केकी युवतीका विवश        भोगाइको दर्दान्त चित्रण
११ं  एउटा आयाम जीवनको     असफल वैवाहिक जीवनका दुःख पीडा, ईष्या र       प्रतिशोधात्मकभावको प्रस्तुति
१२.  अनिर्णयको बन्दी    नारी म पात्रका माध्यमबाट नारीका रुप र यौवनका       अहम्को अभिव्यक्ति चथा पश्चात्ताप बोध
१३. पुनर्जीवित विगत     खलनायकी चरित्र भएका पुरुष र आदर्श        पुरुषकाचरित्रका माध्यमबाट नारीजीवनका भोगाइ र       पीडाको प्रस्तुति
१४. भ्रामक सत्य       धनाढ्य नारीहरूका अहम्बोधको यथार्थ र        व्यग्यात्मक चित्रण,
१५. बन्दअन्तस्करणभित्रको आत्मकथा     प्रशासनिक क्षेत्रमा देखिएका अव्यवस्था र अनाचारको       कथात्मक अभिव्यक्ति,
१६.  वेवक्यामको आकृतिविहीन पुरुष   रहस्यमय शैलीका माध्यमबाट नारी पुरुषका बीचका       यौन चाहना र यौनतृप्तिको चित्रण,
१७.  शीर्षक नखुलेको कथा     पवित्र सम्बन्ध कथाको उत्तरपठन र विपठनका        माध्यमबाट एउटी नारीका पीडा र भावनाको        प्रकटीकरण,
१८ .फ्रेमभित्रको फोटो     प्रेम, यौन र मनोविज्ञानको त्रिकोणात्मक समन्वयको       अभिव्यक्ति
१९.  बाँसुरीको धुन     अतीतका प्रेममय मृतिबिम्बका माध्यमाट रागात्मक       मनोवैज्ञानिक चेतनाको अभिव्यक्ति,
२०ं फूल अर्थात् सुन्तली     सहरिया उत्ताउलोपन वासना र यौन अतृप्तिका       उन्मादहरूमा अल्झिएककी युवतीका जीवनको        अँध्यारा पक्षको चित्रण,
२१.  कुहिरोभित्रको काग     सशस्त्र दन्दकालीन परिवेश, सडक आन्दोलन र       अन्ययुगीन यथार्थको जीवन्त अभिव्यक्ति,
२२ं.  सानो प्रेमपत्र प्रेमीलाई     नारीभित्रका अथाह प्रेम, कुन्ठा,पीडा र अतीतका       स्मृतिहरूको चित्रण
२३.  म र मेरो पात्रको प्रेमकथा   प्रणयपरक चेतना र प्रेमभावको तरल तर सटीक       प्रस्तुति,
२४.  म, मेरो कविता र माछापुच्छे    अधि साहित्यिक चेतना, प्रणयचेतना, रागात्मक        चेतना र सौन्दर्य चेतनाको समन्वय,
  यस प्रकार कथाकार शर्मिला खड्का (दाहाल)का यी कथाहरू विषयका दृष्टिले प्रायः एक रुपात्मक हँदाहँुदै पनि तिनमा विविधताका मार्गचित्रहरू प्रशस्त छन् र यी कथाले विविधताको आस्वादन गराउँछन् । नारी अस्तित्व, प्रेमिल भावभूमि सशस्त्रद्वन्द्व, वैयक्तिक कुण्ठा र निराशा आदि यस सङ्ग्रहका कथाका मूल विषयगत विशेषता हुन् । प्रणयपरकता, प्रेमका विविध स्वरूपको चित्रण, वैयक्तिक जीवनका सृजनासन्दर्भ, कलाचेतना, नारी पीडा, सशस्त्रद्वन्द्व, नारी मनोविज्ञान, नारी पुरुषका यौनचाहना, सहयरया जीवनश्ेली, युगीन यथार्थ आदि उनका कथामा पाइने मूल विषय हुन् । यी विषयहरूलाई सक्षेपमा तल विश्लेषण गरिन्छ ।
३. प्रणयपरक अभिव्यक्ति र प्रेमको सघनप्रस्तुति
 कथाकार शर्मिला खड्का (दाहाल) प्रेमलाई अत्यन्त गम्भीर रूपमा प्रस्तुत गर्ने कथाकार हुन् । उनको सबै कथामा कुनै न कुनै रूपमा प्रेम प्रकट भएको मात्र हँुदैन, त्यसको सघन प्रस्तुति पनि पाइन्छन् ।
 ‘समयको क्यानभासमा’ शीर्षकको शीर्षक कथामा ‘म’ समाख्याता नारी पात्र र कल्पित पुरुष पात्र कथाकार दिवाकर नेपालीका बीचको अज्ञात प्रेमाकर्षण पाइन्छ । सूक्ष्म र थोरै भए पनि नारी स्रष्टाका अनेकौँ उल्झनहरूले कथालाई फराकिलो बनाएका छन् । ‘पवित्र सम्बन्ध’ कथामा पनि त्यस्तै  प्रेमिल भावहरू तरल बनेर प्रस्तुत भएका छन् । ‘कल्पनाको क्यानभासमा’ कथाले अप्रकटित प्रेमलाई जति गम्भीरताका साथ प्रस्तुत गरेको छ, त्यति अरु कथामा पाइँदैन । ‘ओ अपराजिता’ प्रेममा प्रेमको द्वन्द्वमा अपारिजत भएर आफ्नो अस्तित्व र स्वाभिमानलाई उच्च राख्ने उद्युत नारीको कथा हो । ‘वेवक्यामको आकृतिविहीन पुरुष’ प्रेमलाई धेरै आयामबाट हेरिएको कथा हो । यहाँ प्रेमको गहिराइ यौन विरपोक्ष भएर मापन हुन सक्दैन भन्ने भाव छ । ‘बन्द अन्तस्करणभित्रको आत्मकथा’ मा बाहिर प्रकट नभएर पनि एउटी कर्मचारी महिलाका प्रेमभावहरू सूक्ष्मरूपमा प्रकट भएका छन् भने ‘फ्रेमभित्रको फोटो र ’बाँसुरीको धून‘ दुवैमा प्रेम त छ तर ’बाँसुरीको धून’ को प्रेमिल गहिराइ ज्यादै उच्च कोटीको छ । शीर्षकअनुसार ‘सानो प्रेमपत्र प्रेमी’लाई शीर्षकको कथामा प्रेमको अलिक गहिराइतिरको खोजी छ र सघनता पनि छ । यहाँ प्रेम कुण्ठामा रुपायित भएको देखाइएको हुँदा कथा उचच बनेको छ । यस सङ्ग्रहका प्रायः सबैकथामा शर्मिलाले प्रेमलाई कुनै न कुनै रूपमा प्रस्तुत गरेकी छन् तर सस्तो अल्लारे प्रेमभन्दा माथि उठेको उच्च उदात्त प्रेम हुनुपर्छ र त्यस्तो प्रेम जुनसुकै नरनारीबीच भए पनि सर्वस्वीकार्य हुनुपर्छ भन्ने सन्देश उनको छ । उनका कथामा प्रायः विवाहित नारी पुरुषका बीचको प्रेमका विविध आयाम छन् र प्रेम हृदयको भाव भएको हँुदा यसले विवाहित अविवाहितको सीमा रेखा हेदैन भन्ने कुरा उनका कथाबाट थाहा पाइन्छ । समग्रमा भन्नुपर्दा शर्मिलाको ‘समयको क्यानभासमा’ भित्रका कथाहरू प्रेमले छुपलुप्प भिजेका छन् र ती कथामा पालतो कपडा लगाएर नुहाइरहेकी युवतीका बिम्बजस्तो रहस्यमय प्रेम पाइन्छ । यो शर्मिलाका प्रेम कथाको शक्ति हो । उनका अन्य विषयका कथाभन्दा प्रेमकथामा भावको गहिराइ र अनुभूतिको तीव्रता पाइन्छ ।
५.मनोवैज्ञानिक धरातल
 कथाकार शर्मिला खड्का (दाहाल)का धेरैजसो कथाहरू मनोवैज्ञानिक धरातलमा लेखिएका छन् र पात्रका मनोदशा, मनस्थिति, मनोवृत्ति आदि मनोवैज्ञानिक रहस्य खोतल्न उनका कथा समर्थशील छन् । ‘समयको क्यानभासमा’ का दिवाकर र म नारी पात्र एउटै रिक्सामा चढेर जोगवनी घुम्दाका बेलाको प्रसङ्गमा पात्रका मनोविज्ञानको राम्ररी अध्ययन गरिएको छ भने ‘कल्पनाको क्यानमासमा’ कथामा प्रेमलाई सघनता प्रदान गर्न मनोरचनाविज्ञान नै अगाडि आएको छ । ‘निश्चय अनिश्चय’ र ‘ओ अपाराजिता’ मा नारी मनोद्वन्द्वको अत्यन्त राम्रोचित्रण छ । मनका गहिराइलाई द्वन्द्वात्मक रूपले मापन गरिएका यी राम्रा कथा हुन् । ‘बाँसुरीको धुन’ प्रेम र मनोविज्ञज्ञानको अत्यन्त राम्रो कुशल संयोजन हो । सामान्य परिवारको युवकसँग म नारीपात्रको प्रेमको गहिराइलाई बाँसुरीको प्रतीकका माध्यमबाट प्रस्तुत गर्ने कुशलता यस कथामा देखाइएको छ । ‘सुकन्या उर्फ नीलिमा’ मा पनि सुकन्या र सर सम्बोधित सीडिओ पात्रका कतिपय  संवादले मनोविज्ञानको गहिराइ नापेका छन् । शर्मिलाका अधिकांश कथामा नारी चेतना, नारीका भोगाइ, पीडा, असहजता र प्रेमका अनेक रूप छन् र तिनलाई मनोविज्ञानका रङ्गले रगाइएको छ । विशेष गरेर पुरुष मनोविज्ञानभन्दा नारी मनोविज्ञानलाई भित्रैसम्म केलाउनु उनको विशषता हो । यसरी नारीमनका अनेकौँ जटिलतालाई छाम्ने क्रममा तिनका मनका केस्राकेस्रा केलाएर प्रस्तुत गर्नेृ प्रवृत्ति उनका सबै कथामा कुनै न कुनै रूपमा पाइन्छ तापनि प्रेम, यौन, र मनोविज्ञानलाई त्रिकोणात्मक रूपमा  प्रस्तुत गर्नु उनको विशेषता हो । उनका धेरै कथाले विवाहपछिका प्रेमसम्बन्धलाई केन्द्रीय रूपमा प्रस्तुत गरेका हुनाले त्यस्ता कथाको मनोवैज्ञानिक धरातल अझ प्रभावकारी र शक्तिशाली हुन पुगेको छ । परिधीरूपमा पुरुष मनोविज्ञानलाई खोतल्नु र केन्द्रीय रूपमा नारी मनोविज्ञानलार्य खोतल्नु पनि उनका यी कथाको विशेषता बनेको देखिन्छ ।
५. नारी चेतना र नारी अस्तित्व
 नारीका भोगाइ, अनुभूति, पीडा आदिका साथै पुरुषवादी समाजमा नारीप्रतिका तिनका दृष्टिकोण र सकीर्ण सोचाइ आदिका साथै नारीका स्वाभिमान र अस्तित्वको खोजी जस्ता कुराहरू शर्मिलाको ‘समयको क्याभासमा’ भित्रका कथामा पाइन्छ । असफल वैवाहिक जीवनका असमझताका कारक तत्वका रूपमा पुरुषसत्तावादी सोच, उसका हैकमवादी प्रवृत्ति र पुरुषवादी अहं नै प्रमुख कारण बनेर आएको देखाउनु तथा नारीको सफलतामा र उच्चतामा रमाउन नजान्ने पुरुषका हिनग्रन्थीलाई पनि उनका कथाले देखाएका छन् ।  त्यसैले नारी अस्तित्वको खोजी पनि शर्मिलाका कतिपय कथाको मुख्य अन्तर्वस्तुका रूपमा आएको देखिन्छ । नारी बलात्कृत हुन्छे, ऊ यौन शोषणमा पर्छे, वासनाको सिकार बन्छे, सहयोगको हात बढाउँदा पनि ऊ माथि कुदृष्टि पर्छ । नारी हुनुको पीडाले धेरै नारीहरू थिचिएका छन् ।
 नेपाली नारीको भोग्नु परेका यिनै समस्याहरूलाई शर्मिला खडका दाहालका यी कथाहरूले प्रस्तुत गरेका छन् । फ्रेमभित्रको फोटो, सानोप्रेमपत्र प्रेमीलाई, एउटा आयाम जीवनको , सरिता मलाई माफ गर, ओ अपराजिता, असम्बद्धित शान्ति, निश्चय अनिश्चय आदि कथाहरू यस दृष्टिले सबल छन् । यिनका यी सबै कथाले नारी सघर्षका विभिन्न पाटाहरूलाई कलात्मकरुपले देखाएका छन् । डम्री सृष्टि, सावित्री, सरिता, मनसरा, नीलिमा आदि यस्ता धेरै पात्र अर्थात्, नारी पात्र छन्, जसले जीवनमा धेरै हन्डर र ठक्कर खाएका छन् । यी मध्ये कतिपय नारी पात्रहरू कथाकारकै मुखपात्र जस्ता पनि लाग्छन् । नारी पात्रहरूको जीवन्त चित्रणमा कथाकार सफल देखिन्छिन् ।
६. विनिर्माणिक शैलीको प्रयोग
 आधुनिक नेपाली कथाको उत्तरवतीृ चरणकी कथाकार शर्मिला खड्का (दाहाल)को समयको क्याभासमा भित्रका कथाहरू शैलीकी दृष्टिले पनि नवीन र प्रयोगशील छन् । एउटा कथाको विषय पात्र, कथ्य आदिलाई लिएर त्यसको उत्तरपठन गरी अर्को कथा तयार पार्ने र  पूर्व कथालाई भत्काएर उत्तर कथा  तयार पार्ने प्रक्रियालाई विनिर्माणिक शैली मानिन्छ । उनको केही कथामा यस्तो विनिर्माणिक शैलीको प्रयोग गरिएको हुनाले शर्मिलाका केही कथामा उत्तरआधुनिक प्रवृत्ति पनि पाइन्छ । ‘यो उसको कथा’ हो शीर्षकको कथालाई यस्तै विनिर्मित कथा मान्न सकिन्छ । यस कथामा दुई वटा कथाको संयोजन छ । यहाँ प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको ‘छिमेकी’ शीर्षकको कथा पुर्नगठन गरेर त्यसै कथाका पात्र र परिवेश समेतलाई लिएर अर्को कथा तयार गरिएको छ । त्यसैले यहाँ ‘छिमेकी’ कथाका तिनै धन जिते र गुमाने जस्ता पात्रहरू भिन्नै रूपमा आएका छन् । यो जीवन शैलीलाई भित्याएर उनले विशिष्ट शैलीको निर्माण गरकेकी छिन् । यो शर्मिलाका कथामा देखिएको नयाँ प्रयोग हो । त्यस्तै उनले आफ्नै कथालाई पनि उत्तरपठनका रूपमा प्रस्तुत गरेकी छिन् । ‘कल्पनाको क्यानभासमा’ शीर्षकको कथा उनकै ‘समयको क्यानभासमा’ कथाका उत्तरपठन  हो भने दिवाकरलाई सम्बोधन गरिएका सबैकथा पनि दिवाकरलाई सम्बोधित पूर्व कथाकै उत्तरकथा वा विनिर्मित कथा हुन् । उनका केही कथामा पुरै पत्रात्मक शैलीको प्रयोग छ । यस किसिमको प्रयोग पनि नयाँ छ । पुराना कथामा जस्तो पत्रशैलीको प्रयोग गरेर उनले कथालाई परम्परित बनाएकी छैनन् बरुपत्र शैलीलाई नवीनतामा ढालेर प्रयोग गरेकी छन् । यो उनको कथाको नयाँ शैली होे ।
७. समापन
 नेपाली कथासाहित्यको उत्तरवर्ती चरणमा देखिएका नारी कथाकारमध्ये शर्मिला खड्का (दाहाल) केही पृथक पहिचानका साथ देखापरेकी छन् र खास गरेर प्रणय परक कथालेखनमा उनको पृथक् चिनारी छ । उनका तीनवटै कथासङ्ग्रहभित्रका कथाहरू प्रेमभावको प्रकटनका दृष्टिले भिन्नै छन् । धेरै कथा मा प्रेमको गहिराई सघन रूपमा प्रस्तुत गरिएपनि केही कथामा प्रेमको हल्का र सतह स्वरूप पनि देखिएको छ । त्यस्तो प्रवृत्तिबाट शर्मिला मुक्त हुनुपर्छ । ‘समयको क्याभासमा’ भित्रका कथाहरूले पाठकलाई एउटा विशेष खालको सम्मोहन छाड्छन् । रागात्मक कथा बढी भएकाले पनि यी कथामा पाठकलाई सम्मोहित बनाउने सामथ्र्य छ । प्रेमभन्दा इतर विषय वा सशस्त्रद्वन्द्व सामाजिक, पारिवारिक सम्बन्ध आदिका कथामा पनि प्रेमको सन्दर्भ जोडेर कथालाई उनले पठनीय बनाएकी छन् वर्तमान नेपालका राजनीतिक सामाजिक युगीन परिवेशलाई घुसाएर युगीन परिवेशलाई पनि राम्ररी समातेकी छन् । यो उनको युगबोधी चेतना हो । यसरी शर्मिलाको ‘समयको क्यानभासमा’ भित्रका कथाहरू मान्छेको भित्री मनोरचनाको उदघाटन गर्न सक्षम छन् र यी कथाहरूले विशेषतः नारी मनोरचना विज्ञानको गहिरो विश्लेषण गरेका छन् । कतिपय कथाहरूमा उत्तरआधुनिकतावादी विनिर्माणवादी र नारीवादी प्रवृत्ति पनि पाइन्छ । उनका यी कथाहरूले बाहय भौतिक जगत् देखि आन्तरिक मनोजगत् सम्मका धेरै बिम्ब उतारेका छन् र यी कथाबिम्बहरू कथ्यलाई तरल अनुभूतिपरक बनेर साधारणीकृत भएका छन् । तसर्थ ‘सयमको क्यानभासमा’ भित्रका कथाहरूको पृथक् अस्तित्व छ र यही पृथकतामा यी कथाहरू जीवन्त छन् ।                                    

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |