‘कमरेड भाउजू’ बारे मेरो घोत्ल्याइँ ,(शशांक लामा)
नेपाल र रुसतिर बस्दा
कमरेडहरुसितै बढि उठबस र भलाकुसारी गरियो । मुठ्ठी बटारियो । ती कमरेडहरुसित
सहकार्य, सहबास र सामिप्य राख्दा उनीहरुसँगको कटुमिठास सम्झनाहरु प्रशस्त
सँगालेको छु । कमरेडको कुरो कतै कुनै ठाउँमा उक्की हाले कान ठाडा नहुने कुरै भएन !
लण्डन निवासी नेपाली डायोस्पोरे (मुङ्लाने) साहित्यकार कृष्ण बजगाईको ‘कमरेड भाउजू’ नामक कथा
संग्रहप्रति आकर्षित हुनु, तानिनु र खुल्दुली लाग्नु त स्वभाविकै हो । कारण ‘कमरेड’ नाम जो त्यहाँ
छ ।
लु है ! यता न्युयोर्क आउने कोही
छ भने मलाई ‘कमरेड भाउजू’
पठाइ दिनुपर्यो भनेर एकजना
मित्रलाई भनेको त, न्यूयोर्के भाउजूले नपुगेर तँलाई कमरेड भाउजू किन चाहियो भनेर
जिस्कायो । किताब पनि पठाएन । त्यसपछि आफ्नै बहिनीलाई सो पुस्तक पठाइ दिनु भनेँ ।
भोटाहिटीको किताब मण्डिमा पनि बहिनीले त्यो किताब फेला पार्न सकिनन् । दोस्रो चोटी
भोटाहिटी जाँदा पनि बहिनीले ‘कमरेड भाउजू’
भेट्टाइनन् । उल्टो किताब
दोकानेले ठट्टा पो गरछे– ‘तपाईंले प्रचण्डको बुढी खोज्नु भा’को हो ? लाजिम्पाटमा
बस्ने कमरेड भाउजूलाई भोटाहिटीमा खोजेर पनि हुन्छ ?’
पछि बहिनी भन्दै थिइन– ‘भोटाहिटीमा पनि
नपाउने कस्तो खाले किताब हो ?’
शायद त्यतिबेला किताब निख्रिएको
समय परेको थियो होला । बहिनीसँग भएको वार्तालाप फेसबुकमा राखेपछि ‘कमरेड भाउजू’का लेखक कृष्ण
बजगाईं आफैंले लण्डनबाट न्यूयोर्क पठाइ दिए ‘कमरेड भाउजू’लाई !
‘कमरेड भाउजू’ कथासंग्रहका
कथाकारले आत्मकथ्यमा थुप्रैचोटी डायोस्पोरा शब्दको उल्लेख गरेका छन् । विदेशिएका
नेपाली खासगरी साहित्यकर्मीहरुले ‘डायस्पोरा’ शब्द अति नै
रुचाएको पाएँ । आफ्नो नामले जिन्दगीलाई परिष्करण गर्ने मेसोमा हाम्रा मानिस छिमेकी
मुङ्लानमा मात्र नभै आज विश्वभरी नै तितर बितर भएका छन् । दशौँ लाख प्रवासिएका छन्
। मुङ्लानिएका छन् । घरदेशमा साहित्य साधना गरिरहेकाहरुले परदेशमा पनि आफ्नो
साहित्यिक गतिबिधिलाई निरन्तरता दिइरहेका छन् । तिनै साहित्यकर्मी प्रवासी
नेपालीहरुले विदेशमा कोरेको साहित्यलाई डायस्पोरिक नेपाली साहित्य भनेर छाती
फुलाउँदा रहेछन् डायस्पोरे उर्फ मुङ्लानेहरु !
डायस्पोरा शब्दको म यहाँ चर्चा
गर्न चाहन्न । गुगलमा खोज्यो भने गटटट निस्किहाल्छ । अब प्रश्न उठ्छ, यो डायस्पोरिक
अवधारणाले कति परिधि ओगट्छ ?
सात समुद्रपारीका मात्र डायस्पोरा
हो कि ? मेचीपारिका नेपाली साहित्यलाई डायस्परिक साहित्य भनेको सुनिएको छैन
। मेचीपारिलाई विदेश नै नगनेको हो कि ? नजिक भएपनि मुलुक त अर्कै हो ।
बर्मेली नेपाली साहित्य डायस्पोरा
भित्र पर्छ कि पर्दैन ? घरदेशी कृष्ण धरावासीले कल्पीकल्पी बयान गरेको भोटाङमा नेपालीहरुले
खाएको गोता डायस्पोरिक कृतिमा गनिन्छ कि गनिदैंन ? धरावासी प्रवासमा नभए पनि वर्णन त
प्रवासकै छ । देवेन्द्र भट्टराईको ‘मरुभुमिको डायरी’ डायस्पोरा हो
कि देशपोरा हो ? पात्रहरु नेपाली हुन्, तर परिवेश प्रवासको छ ।
साहित्यमा डायस्पोरा शब्द मिसाउने
हामी नेपाली पहिलो होइनौँ । आफ्नो कृतिले डायस्पोरिक दर्जा पाउँदा कतिले गर्व पनि
गर्लान् । विदेशी शब्द मिसाएर बात मार्दा आफूलाई कुलिन ठान्ने प्रवृत्ति नेपालमा
नभा'को हैन । अंग्रेज वा अन्य गोरा छालाले शुरु गरेका हरेक कार्यलाई हामी विशिष्ट
दर्जा दिन्छौ ।
हाम्रो भाषामा शब्दको कमी छैन ।
डायोस्पोरा शब्दलाई भित्राउनै पर्ने त्यस्तो शाब्दिक खडेरी परी नै हालेको त छैन
जस्तो लाग्छ । वास्तवमा प्रवासमा प्रवासीले लेखेको साहित्यलाई प्रवासी साहित्य
भन्दा सक्की गा’को थियो नि ! अथवा सम्बन्धित देश वा महादेश उल्लेख गर्दा पनि भो ।
जस्तै युरोपेली नेपाली साहित्य,
अम्रिकाने नेपाली साहित्य, अष्ट्रेलियाली
नेपाली साहित्य, अफ्रिकाली नेपाली साहित्य अथवा कुनै देश विशेष तोकेर पनि लेख्न
सकिन्छ । जस्तै भारतेली नेपाली साहित्य । यो बाहेक विदेश भनेर जनाउने हामीसँग ‘मुङ्लान’ पर्यायवाची
शब्द पनि छ । त्यही ‘मुङ्लान’ एउटै शब्दले माथि लेखिएका सम्पूर्ण महादेशको प्रतिनिधित्व गर्छ ।
अर्थात मुङ्लाने नेपाली साहित्यले डायस्पोरा शब्दलाई विस्थापित गर्न सकिन्छ ।
युरोप अमेरिका हामी जहाँ बसे पनि हामी मुङ्लान भास्सिएका न हौँ ।
अब यो मुङ्लाने साहित्यको गन्थनलाई यहीँ बिट मारेर कृष्ण बजगाईंको
युरोपेली नेपाली साहित्य अर्थात डायस्पोरिक कृति ‘कमरेड भाउजू’को कथा भित्र
प्रवेश गर्दछु ।
म साहित्यिक समीक्षक, विश्लेषक तथा
साहित्यकार केही पनि नभएर साहित्यमा चाख राख्ने साहित्यानुरागी र साहित्यको बिद्यार्थी
हुँ । मानवीय संवेदना खोतलिएका यात्रा संस्मरणहरु मेरा रुचिका विषय हुन् !
धेरैले मलाई सोध्छन् ‘रुसमा डाक्टर, इन्जिनियर के
पढनु भयो ?’ म साहित्य र भाषाको बिद्यार्थी थिएँ । रुसमा मैले साहित्य र भाषामा
मास्टर्स गरेँ भनेर उत्तर दिँदा उनीहरु उदेक मान्छन् ।
मैले चाख दिएर पढेको मुङ्लाने
नेपाली कृतिहरुमा मुङ्लाने सुन्दर जोशीको ‘क्यासल रककी अप्सरा’, ददी सापकोटाको ‘दुखेको युरोप’, देवेन्द्र
भट्टराईको ‘मरुभुमिको डायरी’
(मुङ्लाने साहित्य भन्न मिल्छ भने
), अनि अहिले आएर अर्का मुङ्लाने (बेलायती) कृष्ण बजगाईंको ‘कमरेड भाउजू’ । डायस्पोरिक
कविताहरु पढ्दै हाफ्दै गरेको छु । कविता म त्यति बुझ्दिन भन्दा पनि भूपि शेरचन, श्रवण मुकारुङ, उपेन्द्र
सुब्बा, बिक्रम सुब्बा आदिका कविताहरु दोहोर्याइ तेहेर्याइ पढेको छु ।
‘कमरेड भाउजू’ कथासंग्रह आद्योपान्त
पढेँ । नेपालका कम्युनिष्ट नेताहरुका केही ऐयाशी अर्धाङगिनीहरुको प्रतिनिधि
पात्रबारे कथा उनिएको होला भनेर मनमनै सोचेको थिएँ । तर त्यसको ठिक विपरित कमरेड
भाउजू त सकारात्मक सोच राख्ने,
समय सापेक्ष चल्न सक्ने सशक्त
पात्र रहिछिन् । परम्परा र वर्तमान दुवैलाई अँगालेर समन्वयवादी भएर जिउन जान्ने
जुझारु महिला रहिछिन् । कमरेड लोग्नेको कमजोरीलाई भरथेग गर्न सक्ने साहासिली जोइ
रहिछिन् । आफ्नो कथाको पात्र कमरेड भाउजू मार्फत कथाकार बजगाईं यस्तो सन्देश
दिन्छन्– ‘जहाँ बसेका छौ,
आफ्नो संस्कृती जोगाउँदै त्यहाँको
माटो, मान्छे र संस्कृतिलाई मनैदेखि माया र सम्मान गर । सक्दैनौ भने
जहाँबाट आएका हौ त्यहीँ जाउ ।’
कथा ‘गड्यौला उर्फ
सत्यराज’ पढ्दै गर्दा मैले विश्व प्रसिद्ध महान कथाकार चेखवलाई सम्झें ।
चेखवका केही कृतिहरुलाई लिएर आफूले लेखेको मास्टर्सको शोधपत्रलाई सम्झेँ । कुनै
पनि पात्रको शब्द चित्र कोर्नमा चेखव माहिर छन् । ‘मोटे र सिकुटे’ लघुकथामा आफ्ना
दुइपात्रको छोटो परिचय यसरी दिन्छन् – ‘निकलाएभ रेलवे स्टेशनमा दुई
मित्रहरुको भेट भएको थियो । एकजना मोटे र अर्को चाँहीँ सिकुटे । मोटेले भर्खर
मात्र स्टेशनमा खाना खाएको थियो । उसको चिल्लो ओठ पाकेको चेरी जस्तै चम्किरहेको
थियो । उसबाट शेरी(वाइन) र Fleur
D'orange अत्तरको वास्ना मगमगाइरहेको थियो
। सिकुटे पनि भर्खर मात्र बक्सा,
पोका पन्तेरोहरु तन्द्रयाङ
तुन्द्रुङ पार्दै रेलबाट झरेको थियो । उसको मुखबाट ह्याम(सुंगुरको मासु) र सस्तो
खाले कफीको गन्ध आइरहेको थियो । उसको पिठ्युँ पछाडिबाट चिहाइरहेकी लामो चिउँडो
भएकी दुब्ली, पातली आईमाई चैँ उसको स्वास्नी थिइ । अनि चिम्से आँखा भएको अग्ले
स्कुले ठिटो चाहीँ उसको छोरो थियो ।’
कथाकार बजगाईंले पनि चेखवको शैलीमा
सत्यराजलाई गड्यौंले प्रवृत्ति भएको ब्यक्तिको रुपमा चित्रण गरेका छन् । ‘दिनभरी
युनिभर्सिटीमा गड्यौँलाबारे अध्ययन गरेर साँझमा रेष्टुरेन्टको पार्टटाइम ड्युटी
सकेपछि सित्तैमा पाइने खाना त्यहीँ खाएर राती गड्यौँला जस्तै लुलो भएर घर फर्कन्थे
। अनि घर अबेर पुगिसकेपछि पनि फेरी ल्यापटपमा गड्यौंला खोजेर गड्यौँला जस्तै
गुँडुल्किन्थे ओछ्यानमा ।’ त्यो गड्यौले ब्यक्तिबाट शारिरिक र मानसिक सन्तुष्टी पाउन नसके पछि
आऽऽऽ यो गड्यौलेसँग यत्रो पनि बस्दिन भनेर झुसिलकिरोसँग स्वास्नी हिँडछे । पात्र
सत्यराजको काम र स्वभावमा तादात्म्यता देखाएर कथाकारले पात्रको निरिहतालाई हास्य
मिसाएर बेजोड तरिकाले प्रस्तुत गरेका छन् ।
पात्रहरुको सम्वाद, पात्र परिवेश
आदि सबैलाई हृदयंगम गर्दा कथाकार ती सामाजिक पात्रहरुसँग मज्जाले भिजेका देखिन्छन्
। तिनका अन्तरंग कुराहरु उनलाई थाहा छ । कतिपय कथामा सायद कथाकारको आफ्नैको बयान
पनि होला । हाम्रै वरिपरि भैरहेका घटनाहरुको मिठो प्रस्तुती हो बजगाईंका कथाहरु ।
कथामा कृतिमता ठ्याम्मै छैन,
जीवन्त सम्वाद छन् । जीवन बोलेका
छन् उनका कथाहरुले ।
शब्दहरुको कलात्मक प्रस्तुती नै
साहित्य हो । शब्दसँग खेल्न जान्नु नै साहित्य शिल्पी हो । अभिब्यक्तिमा विविधता, सरल, सुष्पष्टता र
जनजिब्रोमा ढालिएको मिठासयुक्त बर्णन नै साहित्यको पुर्वाधार हुन् । साहित्यलाई
घोट्ने प्रारम्भिक कसी भनेकै यिनै हुन् । मेरो दृष्टिकोणमा लेखनमा विचार पक्ष
दोयममा पर्छ । तर पनि बिना विचार र सन्देशको साहित्यलाई म निजी गुम्फन् भन्न
रुचाउँछु । बजगाईंका कथाहरु माथि बर्णन गरिएको कसिमा शतप्रतिशत उत्रिएका छन् भनेर
त भनि नहालौँ । तर पुरानियाँहरुलाई अलि अलि थुम्थुम्याउँदै समाजलाई नौलो सन्देश
दिन भने कथाकार चुकेका छैनन् । प्रत्येक कथामा कुनै न कुनै सन्देश प्रवाह गरिएको छ
। प्रवासी नेपाली जीवनका तिता मिठा अनुभूतिहरुलाई स्वादिलो तरिकाले एकदमै नेपाली
पारामा पस्किेकोमा बजगाईंलाई नेपाली पाठकहरुले जश दिन जान्नु पर्दछ ।
रोमाण्टिक पनि त्यतिकै छन् बजगाईंका कथाहरु । ‘तेस्रो कुकुर’ कथा स्वाद लिइ
लिइ धेरै चोटि पढें । ‘तेस्रो कुकुर’मा कृतिम बिहे गर्नको लागि केटी भेट्न पहिलो चोटी जाँदा आफ्नो
पात्र मार्फत केटीको बयान कथाकार यसरी दिन्छन्– ‘निलो जिन्स पैण्ट र पहेंलो टि
सर्टमा सजिएकी सुन्दरी । टि सर्टको भि सेप अलि बढी नै थियो । सुनकेस्रा कपाल, कतै कुनै दाग
नभएको सुकसुकाउँदो सुन्दर अनुहार,
उचाइँमा म भन्दा आधा फुट अग्ली ।
छरितो कम्मर र उन्नत बक्षस्थल । बक्षस्थलमाथि ट्याटू खोपेर रातो गुलाफ फुलाएकी
रहिछ । पहिलो नजरैमा त्यो सुन्दर गुलाफको आकर्षणले तान्यो मलाई । मैले पत्तै पाइन, गुलाफको डाँठ र
जरा हेर्न भित्रैसम्म पुगेछन क्यारे मेरा आँखा । ‘इडियट’ भन्दै बेस्सरी
रिसाइ ऊ । शरमले रातो हुँदै ‘सरी’ भनें मैले । छातीमा फूल फुलाए पनि मनभरी काँडा उम्रेका रहेछन् यसका
। मनमनै सम्झिएँ ।’
कथाकार बजगाईंका कथाहरु नारी
प्रधान छन् । नारी पात्रहरुलाई सबल, सशक्त, सक्षम र सुरवीर
देखाइएको छ । साहित्यमा नारीहरुलाई निर्वल, निरिह, निमुखा चित्रण
गर्ने पाराम्परिक शैलीलाई चिर्दै कथाकार पुरुषलाई पो लाछी, लाचार, लुते देखाउँछन्
। कथासंग्रहको पहिलो कथा ‘कमरेड भाउजू’मा कथाको शुरुवातैमा भाउजूको यसरी चिनारी दिन्छन्– ‘कमरेड भाउजूले
हुइँक्याएको कार ग्रिनफोर्डको कम्युनिटी हल अगाडिको कार पार्कमा रोकियो । नयाँ
मोडेलको कालो कार । राम्री, हँसिली, उज्याली कमरेड भाउजूलाई खुब सुहाएको थियो कार । अझ भनौँ गाडीलाई
सुहाउने चालक बल्ल भेट्टिए जस्तो । गाडीको अघिल्लो सिटमा बसेका कमरेड परिवर्तन
उर्फ धर्म प्रसाद उपाध्याय सबैभन्दा पहिला उत्रेर पछाडिको ढोका खोलेर छोरा र
छोरीलाई बाहिर निस्कन भने । कमरेड भाउजू कारभित्रै बसिन । कारको ‘साइड ग्लास’ र ‘रिअर मिरर’मा हेरेर आफ्नो
मेकअप अप्डेट गर्दै फाइनल टच गरिन ।’
यो सानो परिच्छेदमा सम्पूर्ण
पारिवारिक वृतान्त समाविष्ट छ । कमरेड भाउजूलाई ‘बोल्ड र ब्युटिफुल’ भनेर
सिँगारिएको छ । कमरेड लोग्ने चाँहीँ जोइटिङ्ग्रे नै हो कि जस्तो लाग्छ शुरुको
वर्णनले । तर कथा पढदै जाँदा उनी त्यति साह्रो निम्छरो नभएको पत्तो लाग्छ ।
बजगाईंको विशेषता भनेकै छोटो वर्णनमा पाठकलाई धेरै कुराको जानकारी गराउने खुबी !
बजगाईँका कथाहरुमा नारी पात्रहरु निर्णायक छन् । चाहे ती पात्र
स्वदेशी हुन् वा विदेशी ! सकारात्मक भूमिका होस् वा नकारात्मक । नारी हरहमेसा हावी
भएको पाईन्छ उनका कथाहरुमा । नारी जागरणका अभियन्ता, जेण्डर मामलामा रातोदिन चिच्याउने
नारीवादीहरुले कथाकार बजगाईंलाई जश दिन जान्नुपर्दछ । नारीवादीहरुले नारीबारे
जतिसुकै नारा दिएपनि, मुठ्ठी बटारे पनि त्यसको प्रभाव क्षणिक भएको त सबैले देख्दै आएका
छन् । तर साहित्यकारहरुले नारी उत्थानबारे रचेका कृतिहरुले सामाजिक मानसिकता बदल्न
मद्दत गर्छन् । नारीमा मनोबल बढाउँदै दुरगामी प्रभाव पार्छ्रन् ।
समाज रुपान्तरणमा साहित्य सशक्त
सहयोगी भएका प्रशस्त दृष्टान्तहरु छन् । रुसी अक्टोबर क्रान्ति सफल हुनुमा
म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यासले अहम् भूमिका खेलेको थियो भनी विश्लेषकहरु भन्दछन् ।
हाम्रै ०४६ सालको जनआन्दोलन सफल हुनुमा जनगीति साहित्यले ठुलै भूमिका निभाएको थियो
। ‘गाउँ गाउँबाट उठ,
बस्ती बस्तिबाट उठ.... गीत सुन्दा
अझै पनि मन तरंगित हुन्छ । जोश उम्रन्छ, सुसुप्त मनलाई झक्झकाउँछ ।
वर्णन शैलीका हिसाबले बजगाईका
कथाहरुमा मिठास त छँदैछ, त्यसमाथि विचार पक्ष पनि त्यतिकै उम्दा छन् । उनका कथाहरु केवल कथा
मात्र नभएर ति कथाहरुले अनगिन्ती सामाजिक सन्देश बोकेका छन् । शब्द चयन, शब्द संयोजन, मिठो शैली, छोटकरीमा
खँदिलो वर्णन, घटनाको सुक्ष्मज्ञान आदि नै कथाकार बजगाईंका विशेषता हुन् । यस
अर्थमा कथाकार बजगार्इं बधाईका पात्र छन् । ‘कमरेड भाउजू’ कथासंग्रहको
अन्तिम कथा ‘मिट सिंगल डटकम’
कथाको अन्तिम हरफ लेख्दै मेरो
घोत्ल्याइँ यहीँ टुँग्याउन चाहन्छु –‘उ बस्ने बितिकै रिता कुर्सिबाट
जुरुक्क उठी । झोला भिरी । बाई.....भनेर निस्की ।’