हालसालैका लेखहरु : ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम) मौसमी मानव,(होमनाथ सुवेदी) गीत,(विपुलश्री सिजापति ) स्वप्न बिन्दु,(रजनी श्रेष्ठ) मैनबत्ति,(बासु श्रेष्ठ)

मीनाको कविता यात्रा,(होमनाथ सुवेदी)

मीना शाक्य संखुवासभा चैनपुरमा २०१२ सालमा जन्मनु भएको हो ता पनि उहाँको विवाह पर्वत कुस्माका हरिओम प्रधानसित भयो । हाल सपरिवार उनी  ई १९९८ देखि ओर्लान्डो फ्लोरिडामा बस्छिन् । २०३३ साल देखि २०५५ वि.सं. ( ई १९९८) सम्म महाराजगंज नर्सिङ्ग क्याम्पसमा शिक्षण गरेको अनुभव सहित ऐले आरएन् सेवा गरिरहेकी मीना शाक्य चिठ्ठा प्रणाली अनुसार नोभेम्बर ४, १९९८ मा आए पनि अनेसास फ्लोरिडा च्याप्टरको सदस्य २००६–२०१०, २०१२ मा महासचिव, २०१३ मा महासचिव भएर सेवा गर्न पुगिन् । उनको पहिलो कृति ‘आत्मा बोल्छ’ कविता संग्रह २०३५ सालमा उनी नेपाल हुँदै छापिएको हो । २०६९ मा ‘आमाको पुकार’ कविता संग्रह अमेरिकाबाट छापियो ।
उनको सबभन्दा पहिलो रचना ‘अविरल अश्रुपूर्ण नयन’ कविता २०३३ आवाज पत्रिकामा छापिएको थियो । यी निम्न पुरस्कार उनले पाएको हेर्दा उनी निरन्तर लेखिरहने स्रष्टा हुन् भन्न करै लाग्छ । २०२५ सालको सरस्वती हाइस्कूलको साहित्यिक प्रतियोगितामा “भाग्य निर्माण” कथामा प्रथम पुरस्कार, अनेसास फ्लोरिडा च्याप्टरको २०११ को निबन्ध प्रतियोगितामा तृतीय स्थान, अनेसास फ्लोरिडाको २०१२ को कविता प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेकी छिन् ।
सामाजिक सेवा गरेकोमा एएनए न्युयोर्क २०१३ मा सम्मान पत्र, त्यस्तै नेपालमा चैनपुर अस्पतालबाट पुरस्कृत छिन् । ‘सागर’ पत्रिका लगायत विभिन्न पत्रपत्रिकामा उनका कविताहरु आइरहन्छन् ।
मीना शाक्यको पहिलो कविता सँग्रह २०३५ सालमा प्रकाशित भएको हो ।  त्यसमा ४६ वटा कविता छन् । यी कविताहरुमा यस्ता क्रान्तिकारी स्वर पनि छन्ः
तिमीले बनाएका योजनामा
कोही छेक्न आए भने साहस गरी
बन्दुक उठाऊ
निसाना न चुक्ने गरी
गाली पठाऊ ।
परम्परा
जनमत संग्रह ताकाको जोश र त्यो युवा उमेरमा मीनाका कविताले त्यो समयलाई समातेका थिए । तर ऐलेका कविता दोश्रो कविता संग्रह “आमाको पुकार” मा समेटिएका छन् । यी कविता आप्रवासी भए पछि प्रकाशित भएकाले यिनमा आप्रवासीको व्यथा र उनीहरु किन विदेश लागे र त्यस प्रति नेपाल आमाको चिन्ता के छ, आदिमा केन्द्रित छ ।
“आमाको पुकार” मा ७३ वटा कविता छन् । नेपाल देखि अमेरिका सम्मको अमेरिका व्यथालाई उजागर गर्न यी कविता सफल छन् । केही उदाहरण ‘मुग्लान पो पसे सन्तान’ कविताको यो एक अँशः
मुग्लाने कुरेर बसें ऋण तिर्ने आशैमा
चुलिदै गयो ऋणको व्याज कसरी चुकाऊँ
देशका जनता बन्धकी परे कसरी उठाऊ ?
नेपालको विग्रदो आर्थिक अवस्था र नेपाल बाहिर जानेहरुबाट पनि नेपालको सुधारमा पर्याप्त मदत न पुगेको कुरा यो कविताले देखाउँछ । कवयित्री मीना शाक्यको देशप्रति चिन्ता गहिरो छ । यही कविताको अन्तिम अँशः
देशको इज्जत पोलेर भस्म बनाए खरानी
तै पनि मैले शिर उँचो राखें फुलाएँ कपाल
कहिले होला यो देश मेरो समृद्ध नेपाल ।
आप्रवासीको सपना हो आफ्नो देशको मूल भूमि कसरी समृद्ध हुन्छ भन्ने ।
त्यस्तै ‘आमा छोरी संवाद’ कवितामा पनि यो उल्लेखनीय छः
छोरीः आमा ! हाम्रो देश आफ्नो हो कि उपनिवेश ?
आमाः उत्तरले भन्छ पहाडैले किन्छु
 दक्षिणले भन्छ दशगजा के हो र ?
सके सम्म मिच्छु
 ऊ पनि भन्छ म चीन देश
 ऊ पनि भन्छ म भारत बेश
 नजानी नजानी बनेछ नेपाल उपनिवेश
यो कविताले नेपालको अवस्थाको व्याख्या गर्छ भने यो अनुप्रासको पनि राम्रो उदाहरण हो । मीनाका कविता छन्दोबद्ध हैनन् । गद्य कविता हुन् ता पनि लयात्मकता छ । भाव पनि जनपक्षीय गहिरो छ । प्रगतिवादी खेमाका कविता छन् । ‘आमा छोरीको संवाद’ यो कविता नै सामान्य कविता संग्रहको पुरै भारी बोक्न सक्ने ताकत छ । हरएक हरफ उद्धरण गरेर भएन तै पनि प्रवासीको हालतको चित्रण भएको यौटा अंशः
हतारमा कोही कतार गए
छाक जुटाउन कोही कोरिया गए
जड्गल फाँड्न मलेसिया गए
सिप देखाउन कोही युरोप गए
भेडा चराउन कोही अष्ट्रेलिया गए
मस्काउन र चम्काउन कोही अमेरिका गए ।
यस पछि यसरी बाहिर जाने नेपालीले के पाए? प्रश्न राखेर कवयित्रीले लेखक बसेको भूमि आप्रवासको चित्रण यसरी गरेकी छन्ः
पसिना र आँसु पुछ्दै काम बेचे
स्वाभिमानलाई वालवच्चाको रुवाइ छाडे
अर्काका वालबच्चालाई फकाए
आफ्ना वालवच्चाको रुवाइछाडे
दैलो र मझेरी पोत्ने कोमल हत्केलाहरुले
प्रवासका कोठा र ऐना पुछे
जसले जे भने पनि आखिर सबै प्रवासी भै दरिए ।

मीनाले यसरी नयाँ ठाउँमा पनि दुःख छ भन्ने कुरा निर्धक्क भएर लेख्न सकेकी छिन् । ऐलेको साहित्यको माग के हो? लेखकले आफुले बसेको भोगेको ठाउँ मान्छे, मन र संस्कृति लेख । आप्रवासी साहित्यको राम्रो प्रभाव परेको ठाउँका लेखक यो नयाँ धारामा समाहित हुन्छन् । डायस्पोरामा पनि डिसी, टोकियो, सिडिनी र न्युयोर्क, बोस्टन जस्ता ठाउँबाट बाहिर कुनामा रहनेहरुले यो नयाँ प्रवाहलाई समात्न नसकेको सत्य त छँदैछ तर वेदना र स्वरहरुले उनीहरुले दिन खोजिरहेकै हुन्छन् र आफु बसेको ठाउँ लेख्नु आजका कवि साहित्यकारको दायित्व भएको छ । सपनामा बाँच्ने हैन यथार्थमा लेख्ने गर । यसमा मीनाको प्रयास स्तुत्य छ । आमा प्रवासीको प्रयोग हैन आप्रवासी शब्दको प्रयोग गरेर लेखेको भए मीना बसेको ठाउँ अझ मीठो बोल्थ्यो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |