हालसालैका लेखहरु : शक्ति पूजा,(बासु श्रेष्ठ) आइदेउ नव वर्ष हर्ष बटुली नेपाल हाँस्ने गरी,(दुर्गा रिजाल) नयाँ वर्षको शुभकामना,(भरतमणि मरहट्टा ) गजल,(इन्जिनियर राकेश कार्की) ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम)

‘भुइँफूलको गीत’मा डायस्पोरा,(होमनाथ सुवेदी)



-दिसम्बर ३१, २०१६ मा विमोचित भुइँफूलको गीत’कोसमीक्षा)

 कवि सुदीपभद्र खनालको ‘भुइँफूलको गीत’ सन् २०१६ मा प्रकाशित भएको कविता सङ्ग्रह हो । यसकी प्रकाशिका सिर्जना ‘सुरैया’ खनाल हुन् । गीत र नृत्यकी रसिक सिर्जनाको प्रकाशनमा भएको सक्रियताले सुदीपको कविकर्मलाई अझ प्रोत्साहित गरेको अनुमान गर्न सकिन्छ । उनले प्रकाशकीयमा भनेकी पनि छन् —

‘....मलाई यी कविताले आफ्नै विगतको ऐना हेरेजस्तै र शव्दहरूले जीवन बोलेजस्तै लाग्दछ । फरक संस्कृति, फरक भूगोल ,फरक जीवन शैली र फरक अवस्थामा रहेर पनि काव्यिक साधनाको कठिन कार्यमा रम्ने कविको उर्जा देखेर मलाई पनि सहयोग नगरी रहन मन लागेन । सपना त हरेकको हुन्छ । त्यो वैयक्तिक, सामाजिक, राष्ट्रिय, मानवीय वा  सबै प्रकारका सपनाहरूको समिश्रण पनि हुनसक्दछ । तिनै सपनाहरूको शाव्दिक संयोजनको रूप यो कविता सङ्ग्रह प्रकाशन गर्ने अवसर पाउँदा मलाई खुशी लागेको छ ।’

अमेरिका बसे पनि कविले यो कृति ‘सम्पूर्ण ज्ञात अज्ञात शहीदहरू एवम् जन्मभूमि   मातृभूमि  प्रति समर्पित’ गरेकाले नेपालप्रति मायाममता अत्यन्त भएको देखिन्छ र कविताहरू पढ्दा तिनै कुराबाट प्रेरित भएर नोस्टाल्जियाका सञ्चेतनाले भरिएका कविता बुनिएका छन् ।

कवि खनाललाई कवितामा पोखिन उत्प्रेरित गर्ने अर्को हेतु बन्यो मातृवियोग त्यसलाई कविले ‘कविको कलमवाट’मा यसरी आत्मस्वीकृत जनाएका छन् —

म भन्छु दिलको वात सानो वालकझैँ बनी

च्यातेर छाति यो आज देखाउँछु सबै अनि

कवितामा थियो मेरो रुची तथापि व्यूँझन

पुग्यो त्यो जब छातिमा वाण आयो बजारिन

                   

म चौध वर्षको सानो वाल किशोर नै थिएँ

परी वियोग आमाको असाध्यैसँग आत्तिएँ

बाजेको पाठ जो नित्य सुन्थे सानिध्यता लिई

भावगङ्गा थियो भित्री खोलियो चोट बज्रिई

                   

लेखेँ त्यो आँसुमा मैले केही शव्द रुझाउँदै

काका काकी फुपू मामाहरूलाई सुनाउँदै

राम्रो लेख्यौ भनी आयो जसै मीठो प्रत्युत्तर

म हौसिँदै गएँ लेख्दै जे जाने त्यो निरन्तर

लेख्दै जाने क्रममा गुरुशिक्षा र पारिवारिक शार्दूलविक्रीडितको भाकामा उनले गाउन र लेख्न सिक्दै गए । उनलाई जन्मेगाउँको वियोगले छोयो । काठमाडौंबाट पनि डिबी नामको दूतले उनलाई अमेरिकाको भर्जिनियामा ल्याएर फ्याँक्यो । कविको १४ वर्षको उमेरमा आमा बित्नु, सानैमा गाउँको वियोग सहेर काठमाडौं सर्नु । त्यसमा पनि नेपाल आमा नै त्यागेर अमेरिकाको आप्रसनले कविको मातृ वियोगको आगोमा प्रशस्त घिउ थप्दै गएको देखिन्छ । त्यो वियोगको ज्यालामा जलेर डायस्पोरिक कविताहरू लेखिन थाले । उनको मातृवियोगकै आगामा जीवन के हो ? यसको चिन्तन कवितामा आउन थाल्यो । उनका कविता कुनै डायस्पोरिक कुनै क्षणवादी, कुनै अस्तित्ववादी, कुनै निराशावादी कुनै राष्ट्रप्रति आक्रोश त कुनै मानवजीवनप्रति विद्रोहका ज्वाला लिएर देखा परे । नेपालको प्राकृतिक सौन्दर्यमा जीवन भुलेको बेला स्वच्छन्दतावादी प्रकृति प्रवण कविता पनि लेखिएका छन् । वेदान्त र मानवताको व्याख्याता पनि उनी कवितामा बनेका छन् । यी उनका जीवनका किशोर अवस्थामा आमासित भएको वियोगले यसमा घच्याटेको थियो । उनको आफ्नै आत्म स्वीकृत यस्तो छ —

काठमाण्डौ झरी खाएँ थालें जागीर बन्धन

बुझ्दै बुझाउँदै भोग्दै चिने यो काल जीवन

जिन्दगीको नयाँ बाटो विदेसिँदै हिंडेँ अनि

नयाँ जीवनको खोजी गर्दै वितेछ जीवनी

उनी नेपालको प्राकृतिक सौन्दर्यले भरिएका गाउठाउमा जन्मेहुर्केकाले सातु र सामल जस्तो ठेट शब्दको प्रयोग गर्छन् । उनको जन्म भएको ठाउँबारे उनकै आफ्नै कवितामा यसरी व्यक्त भएको छ —

मेरो जन्म थलो त्रितुङ्ग तनहूँ, पश्चीम नेपाल हो

सिम्पानी घर हो खनाल थर हूँ गाउँ तन्हौँसूर हो

कर्मैले परदेश आज घर भो भर्जीनिया राज्यमा

छातीमा छ स्वदेश लेख्छु कविता विश्वास कर्तव्यमा

सुदीपभद्र खनालका कविता समाजप्रति कर्तव्यका परिचायक हुन् । उनको जन्म थलो पल्याङ्खोला, वसन्तपुर, तनहूँ,   नेपाल हो । जन्म साल २०२६ हो । हालको ठेगाना हर्नडन, भर्जिनिया, संयुक्त राज्य अमेरिका हो । उनको कृतमा १४ वर्षको उमेरमा उनकी माताजी बितेको विवरण पाइन्छ भने उनले कविता लेख्न थालेको वि. सम्बत् २०४४ (१९८७) देखि हो । त्यसबेलादेखि ऐलेसम्म उनी निरन्तर कविता लेखिरहेका छन् । उनको मनपर्ने विधा हो —कविता । उनका प्रकाशित कृति यी हुन् — १. मधुकलश (कविता सङ्ग्रह) विक्रम सम्वत् २०६०, २.   वासिङ्गटनका काव्य सुसेली (संयुक्त कविता सँगालो) विक्रम सम्वत २०६९, ३. भुइँफूलको गीत (कविता सङ्ग्र्रह) विक्रम सम्वत २०७२—प्रस्तुत छ । उनले लेखेका धेरै कविता प्रकाशकको पर्खाइमा छन् । उनले नेपालमा मिर्मिरे साहित्यिक मासिक पत्रिकाको सम्पादन गरेका थिए । अमेरिका आएपछि उनले अनेसासबाट २०११ को भानुजयन्तीको अवसरमा वाशिङ्गटन डीसीमा ‘अनेसास हरिलाल उपाध्याय कविता पुरस्कार’को लागि भएको कविता प्रतियोगितामा प्रथम स्थन प्राप्त गरेका हुन् । त्यस्तै भानुवर्ष २०१३ र अनेसासको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा अनेसासले ‘उत्कृष्ट कवि  सम्मान( भानु वर्ष २०१३’ प्रदान गरेको थियो । उनले अनेसास डी.सी. मेट्रो च्याप्टरको उपाध्यक्ष  भै काम गरिसकेका छन् ।  उनी संस्थामा कामभन्दा बढी एकान्त लेखन मन पराउँछन् । औपचारिक शिक्षा स्नातक,  त्रि.वि.वि. भए पनि न्याय र दर्शनका अध्येता हुन् भन्ने कुरा उनका क्षणवादी कविता, अस्तित्ववादी र वेदान्तका अन्तर्निहित तर्क र भावले बाँधिएका कविताले प्रमाणित गर्दछन् । उनको वालकालीन क्रीडास्थल जमुनी बर्दिया भन्न मन पराउँछन् । हाल संयुक्त राज्य अमेरिकाको हर्नडन, भर्जिनिया बस्ने भएपनि उनको मन त सदा पल्याङ्गखोला र जमुनी याद आइरहन्छ । नेपालका यिनै पूर्वस्मृति र एकाकीपनले उनका कवितालाई अनुप्राणित गरेका छन् । नेपालको आर्थिक दुरावस्था र प्राकृति सौन्र्दय र साँस्कृतिक अनेकतामा एकताको एकात्मभावको भावनाले उनका कवितालाई फलाएका फुलाएका छन् ।

कविता लेखनको उत्प्रेरणाः

यो काव्य कसरी लेखे त्यसको उत्तर हो योः

जिन्दगी नै अटाएर सकिन्न लेख्न शव्दमा

शव्दभित्र अटाउन्न भाव जो छ निशव्दमा

निशव्द भावनाबाट झिकेर केही भावना

पस्केको छु यहाँ मैले गरी काव्य  उपासना

डायस्पोराः डायस्पोरा पोखेको आत्मस्वीकृति हो यो कविताः

छातिमा राष्ट्र पीडा छ प्रतिध्वनि छ शव्दमा

प्यारो प्रकृति नै सारा पोखेको छु कितावमा

जो भोगेँ मूर्त संसार सम्पूर्ण जड चेतन

समेटेर सकेसम्म सभ्यता जनजीवन

राष्ट्रिय एकताको चिन्ताः

हामी आपस भाइभाइ लडिरहन्छौं यौटा गंवारले लुट्छ । यस्तै भैरहेको छ भाइ फुटे गंबार लुटे । हामी सत्यवादी बन्ने छिमेकी माहिर वैरी बनेर ऐरा खेलेको छ । हाम्रो यो अवस्थाबाट चिन्ता व्यक्त गरिएको कविता हो चिन्ता । यौटा नमुनाः

हाम्रै उत्तर चीनको उदयको चर्चा छ संसारमा

हाम्रै दक्षिण भारती प्रगतिको चर्चा छ संसारमा

चिन्ता

हाम्रो राष्ट्रिय एकता विथलिँदा कम्जोर हामी बन्यौ

भुत्ते सूझ र बूझ राष्ट्रिय हुँदा खुम्चेर बाँच्ने बन्यौ

तै खुल्दैन त चेत भोलि   कसरी के हुन्छ सम्बोधित

सक्छौँ डुब्न नतैरिए समयको निर्माण धारासित

चिन्ता

त्यस्तै अर्को कवितांशः

काटी निर्मम आन्धकार अघिको नाघेर जङ्घार यो

चुम्ने मानक शैलझैं सफलता देदिप्य आलोकको

हाम्रो स्वप्न मिठो समृद्ध युगको स्वप्नील संसारको

हाम्रै मेल र एकता विविधता भित्रै छ साकार त्यो

नेपाली सपना

निम्ता’ कवितामा डायस्पोराका आप्रवfसीले श्रीमती यानी प्रियालाई चाँडो यहाँ आऊ भनेर आह्वान गरेको कुरा मीठो शैलLमा प्रस्तुत छ ।

भत्केको घरझैँ छ राष्ट्र जनको के उठ्छ खै जीवन ? भन्ने चिन्ताले कविले ‘विसेलाई शुभकामना !’ कविता लेखेर भनेका छन् —

छैनन् सन्तति वीरका चयनमा अत्यासमा छन् जन

छैनन् उन्नति देशमा लहर छन् लाखौं विदेशी हुन

                   

हाम्रो धेय स्वतन्त्र स्वाधिन सुखी नेपाल आवाद होस्

फैलोस् शान्ति समृद्धि, स्वर्णयुगको नौलो विहानी खुलोस्

 

डायस्पोराको झ्यालबाट हेर्दा—

नायग्रा फल्स’ कवितामा कवि ’दाँजेँ मन्मन मात्रिभू प्रगतिका स्वप्ना सजाएँ नयाँ’ भनेर नयाँ सपना नेपालसित दाँजेर गर्दछन् ।  डायस्पोरिक—कविको विशेषता हो —आतिथेय वस्तुलाई मूलभूमिको वस्तुसित दाँजेर हेर्नु ।

डायस्पोरामा बसेर अमेरिका वा जापानको नागरिकता लिएमा मातृभूमि नेपालको लागि अराष्ट्रिय हुन्छ, आमाप्रति अन्याय हुन्छ भन्नेमनस्थितिमा पुगेका परदेशीलाई कवि खनालले स्पष्ट जबाफ दिएका छन् —

धर्ती यो घर हो र देशहरू हुन् कोठाहरू सुन्दर

गौरी हुन् जननी पिता जगतकै आराध्य हुन् शङ्कर

कैले भिन्न छु खै कहाँ म कसरी आत्मा सँगै हुन्न र

मीठो याद मभित्र आज पनि त्यो आफ्नै पुरानो घर

पुरानो घर

यसरी कविले विश्वलाई यौटा ग्राम मानेर स्वदेश भुवन त्रयम् को उत्तर ल्याएर हामी डायस्पोरा नेपाल बाहिर भए पनि हामी सबै एक हौं भन्दछन् र यो विचारको समर्थन लिन्छन् —

माता मे पार्वती देवी पिता देवो महेश्वर

वान्धवाः मनुजाः सर्बे स्वदेशः भुवनत्रयम् ।

यसो भएपछि डायस्पोरा हुदैमा एकाकी र अनागरिक भएर बस्नु आवश्यक छैन । धर्तीको जुन कुनामा भएपनि आफ्नो पहिचान कायम राख्नु र जिउनु अस्तित्वको अनुभव हुन्छ भन्ने भावनालाई कविको यो ‘पुरानो घर’ कविताले सङ्केत गरेको छ । यसको यौटा अर्को अंश

मेरो जन्म थलो त्रितुङ्ग तनहूँ, पश्चिम नेपाल हो

सिम्पानी घर हो खनाल थर हूँ गाउँ तन्हौँसूर हो

कर्मैले परदेश आज घर भो भर्जिनिया राज्यमा

छातीमा छ स्वदेश लेख्छु कविता विश्वास कर्तव्यमा

पुरानो घर

अहिले उनी अमेरिका भए पनि उनका कवितामा नेपालको चिन्ता नै हुन्छ । त्यसैमा उनी रमाउँछन् उनका कविताको भनाइ पनि यही हो । उनी अमेरिका भए पनि अमेरिका हैन नेपालमा नै बाँच्दछन् भन्ने कुराको प्रमाण हो यो कविता —

वाला वैँश खुली गुलाव दिलका हिँड्ने लिई झङ्कृति

बोक्ने जीवननै पहाड वनको जीवन्त त्यो संस्कृति

त्यो वालावय छाप यो हृदयको आलापको गुञ्जन

चाहेरै पनि विर्सिइन्न मनको ताजा छ झन् सम्झना

मनस्मृति

गृहस्मृतिका पनि धेरै प्रकार छन् तीमध्ये यो वालापन, सङ्गीत, कला र सँस्कृतिको गृहस्मृतिको नमुना हो ।

नसकी खप्न  आमाको वेदना मन यो जली

भत्केको दिव्य आस्थाको विभत्स रुप झल्झली

सम्झिई सौर्य पूर्खाको भोलिको सपनासित

हिमालझैँ उठेको हूँ हुन्न कैल्यै पराजित

कर्म यात्रा

गृहस्मृतिका आमा स्मृतिका मुख्य छ ।

प्रस्तर स्वप्न कवितामा सपना देख्ने र त्यसको सङ्घर्षको गृहस्मृति छ —

मैले जीवन ज्यून जो पथ चुने अत्यन्त गाह्रो थियो

टाढा त्यो विजुली चमक्क नभमा धर्ती अँध्यारो थियो

यात्रा दूर चल्यो भविष्यतिरको आशा उजिल्याउँदै

तै यो आत्मविषे अझै छ किन हो नेपाल नै आउँदै

प्रस्तर स्वप्न

राष्ट्रियताको भावको उत्तम कविता स्वप्निल ज्योत्स्ना

यो कविता राष्ट्रियताको भावको उत्तम कविता हो — स्वप्निल ज्योत्स्ना । यो अत्यन्त मार्मिक छ ।

दौडून् रेल पहाडका शहरमा शोभा सुनौला थपी

निस्कून् वाहन फुत्त फुत्त पहरा छेडी बनून् मार्ग ती

हाम्रो छैन र हुन्न भन्न नपरोस् यस्तो मिलोस् उन्नति

जो जे छन्  सुविधा  यहीँ सब मिलून फैलेर निर्माण धीः

स्वप्निल ज्योत्स्ना

ज्यूँदै आज छँदै’ यो कविता गृहस्मृतिका विविध प्रकारले भरिएको छ । केही उदाहरणः आतिथेयको घरबाट मूलघरको स्मृतिः

हामी त्यै वनको टिपी फल हिँड्यौ खाएर मीठो रस

हाम्रो एक त्यतै थियो घर कतै  संसारकै उन्नत

ऐले सम्म छ याद भित्र मनमा पैनी,पंधेरी,वर

मीठो मूल पहाडको सरसता विर्सेर विर्सन्छ र?

ज्यूँदै आज छँदै ‘‘

मूलघरको स्मृतिमा पीपल, खेत, गरा र टार स्मृतिमा यो तलको कविताँश छ:

जोडी पीपलको उकालिनिरको, भञ्ज्याङको कोटको

बेसी खेत गरा र टारतिरको, पूजा र आखेटको

जम्मै याद नयाँ म भित्र छ अझै अम्लान त्यो सुन्दर

आफ्नै कर्म र मर्म भित्र दिलको बिर्सेर विर्सन्छ र?

ज्यूँदै आज छँदै

लिङ्गे पीङ, ध्वजा विभिन्न रङको एकत्वको हर्षको

चोखो राष्ट्रिय एकता विविधता भित्रै खुलेको छ जो

खुल्दो सँस्कृति सभ्यता र दृढता आत्मीयता उर्वर

आफ्नै स्वत्व स्वयम् भुलिन्छ कसरी? के श्वास विर्सिन्छ र?

ज्यूँदै आज छँदै ‘‘

लामा गुम्बजमा चढाउँछ बुकी सत्कर्म फैलोस् भनी

छेत्री त्यो खुकुरी उध्याउँछ सधैं रक्षार्थ भूः जीवनी

पढ्छन् ब्राम्हणले ऋचा समयका संकल्पका सुन्दर

ज्यूँदै आज छँदै म विर्सुँ कसरी संसार त्यो सुन्दर?

ज्यूँदै आज छँदै ‘‘

दशैँ एक प्रश्न’ यो कविता पनि डायस्पोरिक कविता हो । यसले नेपालीको आर्थिक र साँस्कृतिक अवस्थाको विवेचना गर्दछ । यो कविता पढौं कति छर्लङ्ग छ नेपालीको विदेशिनुको पछाडि कारणः

डीभीले परदेसिएर रसिला जेठा विराना भए

लक्ष्मीका अभिप्रायले अरब गै कान्छा विराना भए

छोरी त्यो घरमै छ व्यस्त र उतै रुन्छे बसी धर्धर

कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दसैको घर

नेपाली धनी भए पनि अमेरिकामा नवदासको रुपमा छौं । अमेरिका बसेर नेपालमा चाडपर्वको बेला तानिएको मन कसरी सभालिएला खै ? चिन्ता छ — कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दसैंको घर । यसको पूरा यौटा अंशः

को जाला अब भर्न खै शरदको मेला दसैंको भनी

बाट्ला पीङ र को मिलाई दितियाको हेर्छ त्यो चाँदनी

हामी उन्नत दास हौं समयका सँस्कारले वानर

कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दसैंको घर

                   

राज्यैबाट बनाइयो विनसितैँ बागी कठै अन्तरे

गर्ने गोप्य लुकी सुराक तँ भनी त्यो मारियो जन्तरे

मर्नै बाध्य गरीब दीन छ अझै सम्झे दशै के छ र

कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर

                   

कान्छी तस्कर जालमा उनिइँदा अत्तो न पत्तो छ भई

कान्छो बाध्य उ पारियो थल छुटी मुग्लानवासी रही

हाम्रो क्रान्ति यही विरासत उही उत्थान यो हुन्छ र ?

कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर

                   

काका अंश विवादमा रुमलिँदा फाटेर टाढा गए

भाई रुष्ट परिस्थिति विथलिँदा रन्केर टाढा भए

पन्पेथ्यो  गरिबी जहाँँ त्यहिं  ढल्यो नाताहरूको घर

कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर ?

सभ्यता नै माथि हैन तल झरेको देख्छन्,  कुनै बेला, महाकवि देवकोटाले जस्तैः

हाम्रो आत्मियता कहाँनिर टुट्यो खै शुभ्र संस्कार त्यो

पैसामै सबथोक बिक्दछ भने मान्छे कहाँ सभ्य भो

बाँकी मूल्य रहेन आत्मिय सुक्यो अन्तर्यको सागर

कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर

                   

मुद्दा भानिज हाल्छ जान्छ कसरी सम्झेर मामा घर

दाज्यै मर्दछ भाइ काट्दछ खसी मान्छे भयो दुच्छर

धेरै दैत्य र दानवी जग छ यो मान्नू दशैं के छ र

कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर?

भाइभाइको नाता नै समाप्त हुदै गएको छ— कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर । त्यसको उदाहरण उही कवितामा —

मागी न्याय मरे पिता अधमरा माता धरासन्न भै

सोझो संत सुली चढ्यो थरकिमा जाली बस्यो चोर गै

अन्यायीहरूको बढाईं छ सधैं खै न्याय के जित्छ र

कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर

कस्तो विचल्लीको चित्रण छ यहाँ । यसको निदान के हो ? आफू स्वयम् डायस्पोरा छ र योजकचिन्हको परिवन्धमा बाधिएको पाउँछ कविको नायक । यो कविता धेरै व्याख्येय छ ।

 

कवि सुदीपभद्र खनालको ‘स्वप्नील यात्रा’ कविता डायस्पोराका कविको मन विवेचना हो । जस्तै —

खुशी उस्तै मलाई छ डायस्पोरा चुलीहुँदा

जस्तै संसार ढाकेर हाम्रो नेपाल अग्लिँदा

भावनाको नदी जस्तै रैछ यो जिन्दगी पनि

सपना भित्रको विप्न डायस्पोरा छ जीवनी

                   

अस्त सङ्कल्पको हुन्न धुक्धुकी मुटुमा छँदै

रात निस्पट्ट काटेर भोर युगीन जन्मदै

कतै ऊच कतै नीच घाम पानी सरी बनी

यात्रा स्वप्नीलमा विप्न डायस्पोरा छ जीवनी

                   

हिउँ हिमालको बग्छ धारा—जीवनको बनी

बूँद समुद्रको उड्छ नाघी हिमाल त्यो पनि

जस्तो सन्जीवनी पानी जहाँसुकै पुगे पनि

स्वप्न संसारको पानी डायस्पोरा छ जीवनी

                   

ज्ञान आधारमा नित्य कर्मको रसमाधुरी

गरी ज्यूनार बाँचेका जून्किरी,भीर माहुरी

छ आफ्नै पनमा मस्त शीरको फूलझैँ बनी

विश्वग्राम(बगैँचामा डायस्पोरा छ जीवनी

स्वप्नील यात्रा

 

डायस्पोरिक चेतनाले भरिएको कविता हो —विना नेपालको साथी आँफैलाई म चिन्दिन ।

सम्झना भित्र मेरो छ छायाँ तिम्रो अझै पनि

मुटुभित्र कतै चल्छ मायाँ तिम्रो अझै पनि

सपनामा सधैं घुम्छु मेरो नेपाल दिन्दिन

विना नेपालको साथी आँफैलाई म चिन्दिन

                   

विरक्त सपना भित्र रक्त रञ्जित रात छ

समग्र सपना विम्व भत्केको इतिहास छ

तैपनी सपना बुन्छु,सिर्जना बुन्छु दिन्दिन

विना नेपालको साथी आँफैलाई म चिन्दिन

                   

आँखामा लालिमा बोक्छु, लालिगुराँसको सधैं

छातीमा भावना बोक्छु, सार बुद्धत्त्वको सधैं

तैपनि खुल्न सक्तैन स्वप्न, निर्माणमा किन?

विना नेपालको साथी आँफैलाई म चिन्दिन

                   

हातले सुम्सुम्याएर नक्सा नेपालको छुँदै

झल्याँस्स कहिले हुन्छु लेक बेसी पहाड गै

गण्डकी कहिले तर्छु, तराई झर्छु छिन्छिन

विना नेपालको साथी आँफैलाई म चिन्दिन

                   

म जहाँ जाउँ नेपाल पाइला पाइलाभरी

हातमा चल्छ नेपाल कर्मका अन्जुलीभरी

दृष्टि नेपालको बोकी गर्दछु विश्व दर्शन

विना नेपालको साथी आँफैलाई म चिन्दिन

विना नेपालको साथी आँफैलाई म चिन्दिन

जीवन दृष्टि—सँस्कृति —दर्शन

आध्यात्म चिन्तन त सर्वत्र पाइन्छ नै उनको यो ‘एक पल’ कविताले क्षणवादलाई अंगालेको छ —

वाञ्छा विस्मृति मोक्ष मार्ग जगको सत्कर्म सत्धर्म हो

लोकोहीत परोपकार जगको आलोक आधार हो

तृष्णाको रथमा सवार छ अहम् बोकेर संसार यो

त्यो हो तुच्छ म हूँ महान” मनको आफ्नै अहङ्कार हो

यो कविताका प्रश्न अस्तित्ववादी भए पनि निष्कर्षले वेदवेदान्तको बाटो लिएको पाइन्छ । म मात्र हैन पर को अस्तित्व स्वीकारेर मात्र अहङ्कार, स्वाभिमान, र अहम्ले आफूलाई लोकहित, परोपकारको चेतनाद्वारा मान्छेलाई मुक्ति दिन्छ । मर्ने बेलामा सुख र चैनको सास फेर्न सक्दछ । मुक्ति नै यही हो — यी सुदीपभद्रका कविताहरू— सुखले सास जाओस् भन्ने धेयले लेखिएका वेदान्त र आध्यात्मिक अस्तित्ववादबाट प्रेरित कविता हुन् । यी कविले कविता ‘विधातालाई प्रश्न’ मा प्रश्न गरेर यी कुरा सोधे पनि उनको निष्कर्ष आफू सारथी भएर आत्म नियन्त्रण गर्दै अगाडि बढ्न सके हामी सबै नेपाली मात्र हैन मानवको नै कल्याण हुन्छ भन्ने अवधारणा व्यक्त गरेको पाइन्छ । उदाहरणको लागि उनका प्रश्न यी हुन् —

विधाता तैंले यो जग किन रचिस् स्वार्थ र क्षुधा

भरी, सन्ध्या आधा जगमग उषा व्याप्त वसुधा

वनाइस् आँफैले किन दुरुहता माप र दसी

वुभुक्षा छातीमा भुलुभुलु कडा मोह छ रसी

विधातालाई प्रश्न

निभ्नेछन् मनका विषाद जनका नैराश्य दावानल

बज्नेछन् सुखका नयाँ लहरमा जोडी सयौँ मादल

नेपाली मनले समस्त सुखको संसार आफ्नै रची

गर्ला स्वप्न पुरा नयाँ समयको आँफै बनी सारथी

सारथी

महाप्रलयाह्वान कविता मानवतावादी कविता हो । प्रकृतिलाइै जित्ने प्रयासको विरुद्धमा उभिएको छ । यसको पनि शैली चौथो हरफ दोहोराउने कविताको जस्तै नै छ ।  ‘कोसेली’ कविता मानवतावादी हो । छन्दमा देवकोटा पढे जस्तो लाग्छ । परिस्कारमा लेखनाथ ।

 

साँस्कृतिक परिवर्तन पिढी दरपिढी

खनालजीले भूमण्डलीकरणलाई ध्यान दिएर लेख्ने मात्र होइन उनले कालक्रममा हुने साँस्कृतिक परिवर्तन पिढी दरपिढीको भिन्नतालाई पनि छोएको पाइन्छ । जस्तो —

मेरी हजुर्मुमा भन्थिन् जात भात नफाल्नु रे

मेरी यो नातिनी भन्छे रुढीवाद नपाल्नु रे

सर्व मानव हो यौटै समानता समाल्नु रे

मनुष्यता झुलाएर सृष्टि सुरम्य पार्नु रे

मेरी हजुर्मुमा र मेरी नातिनी

पिढी दरपिढीमा बढेको साँस्कृतिक भिन्नता देखाए पनि उनी तिनलाई जोड्ने खालका कविता पनि उनले लेखेका छन् । जस्तै —बाबा सन्तति नै भुलेर कसरी? यो कविता कविको पितृभक्तिको उदारहरण पनि हो । जस्तै —

मैले पाइन सोध्न अन्त्यपलमा धोको थियो कि कुनै

मैले पाइन पुछ्न अश्रु गहका सेवा न मैले कुनै

पाएँ गर्न न ता सुसार न पुग्यो सारा रुवाइ गयौ

बाबा सन्तति नै भुलेर कसरी ? संसार छाडी गयौ

 

शैली —

उतुङ्गे भुतुंगे पतंगे तँ जंगे

जमाना नयाँको तँ ढाक्रे  लफङ्ग्गे

तँ भत्का भएको बना चूर्ण चूर्ण

जला ध्यार्र च्याती  जडौरी तँ जीर्ण

विनिर्माण मुमुक्षा

छन्द कतिवटा प्रयोग भएका छन् । कुन कुन छन्द प्रयोग भएका छन् । तिनको विशेषता के हो ? लक्षण के कस्ता छन् सबै यसमा उल्लेख गर्न समयाभावले सकिएन । उनी छन्दमा अति नै पोख्त छन् । तापनि आवश्यकतानुसार उनले चाहेको शब्द प्रयोग गर्दा हिज्जेमा त्रुटि पनि पाइन्छ । तर उनले हिज्जे मिचेर पनि छन्दको पालना गरेको पाइन्छ । मूर्तोन्नति अभिलाषा कवितामा प्राचीनता दीर्घ हुनुपर्नेमा लघु चाहिएकोले लघुको हिज्जे उपयोग गरिएको छ ।

तिम्रो प्राचिनता समस्त युगकै ज्वाजल्य आभा खुली

मूर्तोन्नति अभिलाषा

त्यस्तै विधातालाई प्रश्न कविताको अन्तिम श्लोकमा क्रीडा हुनु पर्नेमा क्रिडा बनाएको छ ।  यस प्रकारको संस्कृतको पिङ्गल छन्दको जस्तो “अपि मासम् मसम् कुर्यात् छन्दोभङ्गम् नकारयेत्” भन्ने कठोर नीतिलाई पनि छन्दोभङ्गम् नकारयेत् को  नियमलाई पालन गरेका छन् । नमुना हो यो । यसमा कविले चाहेको भए शब्द फेर्न सक्थे तर भाव फेर्न सक्थे तर उनले त्यो चाहेनन् र भावलाई ती शब्दको खाँचो ठाने चाहे त्यो हिज्जेको हिसाबले गलत नै कि नहोस् ।  जस्तोः

धरणि विच म जन्मी देश सम्झेर रोएँ

प्रथमपल धरामा जन्मदैमा म रोएँ

त्यस्तै यो तलको उदाहरणमा स्वाधीन हुनुपर्ने स्वाधिन लेखेर छन्दलाई प्रार्थमिकता दिएको पाइन्छ —

हामी स्वाधिन किन्तु छौँ परिधिमा बाँचिरहे झैँ किन

मनको आवाज

उपमा बिम्ब (रङ्ग उपासना), अर्थान्तरन्यास बिम्बको प्रशस्त प्रयोग, महान्वाणी र सूक्तिहरूको प्रयोग गर्नु उनको काव्यलेखन शैलीको विशेषता हो । अझ उनीले रोपेर वीषको वृक्ष फल्न सक्दैन अमृत जस्ता सूक्तिबाट हरएक श्लोकको अन्त गर्ने शैलीलाई धेरै उपयोग गरेको पाइन्छ —

सुन्दरी बेच्दछे मोह व्यापारी लोभ बेच्दछ

समाज सपना बेच्छ स्वाँठ बेच्छ दुराग्रह

जो सँग जे छ त्यै बेची लोक विन्दास हर्षित

रोपेर वीषको वृक्ष फल्न सक्दैन अमृत

रोपेर वीषको वृक्ष फल्न सक्दैन अमृत

अर्को उदाहरण —

कल्ले थाप्छ टिका उमार्छ जमरा पोती दशैको घर

अर्को उदाहरण —

म अतृप्त सधैं किन व्याकुल हूँ ?

किन व्याकुल हूँ ?

कविताको त्यो शैलीले कविलाई झन लठ्ठै पारेको कुरा तलको आत्मस्वीकृतिले जनाउँछ —

रोकिन्न भेटे पनि साथिभाई

लाग्दैन नौलो रमिता मलाई

तिम्रै छ जादू मन भित्र छाई

नपार लठ्ठै कविता मलाई

रोकिन्न भेटे पनि साथीभाइ

रोमान्सेली कविता, प्रकृतिलाई मानवीकरण गरेको कविता ‘भुइँ फूलको वासना’ को एक अंश

भुइँको फूल हुँ सानो म हूँ वसन्तको घर

मृत्तिका यो सजाएर पार्छु भूःलोक सुन्दर

वसुधाको पूजा गर्छु झरेर भुइँमा खसी

छरी सुगन्ध हावामा छटा भर्दछु शोडषी

भुइँफूलको वासना

यो कवितामा प्रकृति वर्णन, व्यञ्जनावृत्तिमा मानवीकरण गरिएको छ र विभिन्न बिम्ब र अलड्ढारले सुसज्जित छ । त्यस्तै प्रकृति वर्णन ’नायग्रा फल्स‘ कवितामा  पनि पाइन्छ । उनको प्रकृति वर्णन नेपालमा मात्र न भएर आप्रवासको प्रकृति वर्णनमा पनि परिक्रमा गर्दछ ।

पञ्चचामर छन्दको सुन्दर नमुनाको यौटा उदाहरण —

स्वतन्त्रता समृद्धिमा

धरा म मग्मगाउँछु

अनेक भित्र एकता

म राष्ट्र गीत गाउँछु  

क्रान्ति  वीर

वीर गोर्खालीको प्रतीक हो—भुइँफूलको गीत— कविता । यो मानवतावादी दर्शन र प्रतीकात्मक शैलीमा लेखिएको सुन्दरतम कविता हो ।  मन्दाक्रान्ता छन्द माधव घिमिरेको प्यारो छन्द हो । सुदीपभद्रले यसलाई पचाएका छन् । क्लासिक स्वर संगीत तथा नृत्य बुझ्न श्रोता, द्रष्टा स्वयम् पनि विज्ञ हुनुपर्छ अनि मात्र पूर्णानन्द लिन सक्छ । त्यस्तै कवितामा पनि छन्दमा लेखिएको कवितालाई क्लासिक कविता भन्छु म । यो बुझे मात्र छन्दको परम् आनन्द लिन सकिन्छ । छन्द संगीत हो । यसले न बुझ्नेलाई पनि साँगीतिक स्वर मिठासले आकर्षित गर्दछ । छन्दकविताको यो गेय शक्ति नै यसको रोचक पक्ष हो । यसैले कविता कन्सर्ट पनि सजिलै चल्न सक्दछन् । यस्ता वीरगाथाका कविता केही नमुनाः

सुक्ला सारा  रगत बरु  तै झुक्न यो शीर दिन्नौ

खप्छौँ सास्ती तर जगतमा बढ्न अन्याय दिन्नौ

नेपालीका धमनिभर छन् सत्य औ स्वाभिमान

लड्छौँ हामी तर कृपणभै  मर्न दिन्नौ इमान

                   

खस्दा  हामी कुसुम भुइँका राष्ट्र सौगन्ध  बन्छौँ

उड्दा वायुसँग नभ चुमी शैल उत्ताल बन्छौँ

कुल्चे शत्रुहरू यदि पसे निर्दयी काल बन्छौं

लेखी आफ्नै अमर गरिमा वीर दुर्जेय बन्छौं

                   

जस्तै आऊन् कहर दुःखका काल काटेर बढ्छौँ

जस्तै होउन् समरपथका शक्ति आँटेर बाड्छौँ

सोझा हामी सरल तर हौँ वीरको जाति जान

मर्छौं हामी तर मनुजता मर्न दिन्नौं महान ।

भुइँफूलको गीत

सुदीपभद्रका कवितामा प्रकृति वर्णन मान्दाक्रान्तामा नाचेको छ । जस्तै —

सिन्ची सारा म पनि  जग यो, अन्नदाता बनूँ म

धोई अश्रुहरू सकल जगको, बाँडु आरोग्यता म

गङ्गे तिम्रै सरि जगतमा जीवनी सिञ्चिऊँ म

माता  तिम्रै सरि जगतको मुक्तिदाता बनूँ म ।

गङ्गा

पृथ्वीको महिमा सकिन्न जसले जत्ती कराए पनि

पुग्छौं हामी कहाँ भुली युगजयी हाम्रै कहानी अनि

आफ्नै त्यो इतिहास बिर्सिन पुगे हामी रहन्छौँ कहाँ

पृथ्वी नै नभए महान यसरी नेपाल बन्थ्यो कहाँ?

पृथ्वी नै नभए महान यसरी नेपाल बन्थ्यो कहाँ?

संसार के हो ? जीवन के हो त्यसको मन्थन गरेर यो हुन्छ विवेकले यौटै गुणी महान मानव कविताले जीवनलाई बुझ र मृगपरिचिकाबाट मुक्त होऊ भन्दछ । जस्तैः

ज्ञानले तृप्ति भेटिन्छ कर्मले ज्ञान सम्पत्ति

दानले मुक्ति भेटिन्छ गुह्य बुझ्दैन लोक ती

मूर्ख ता मूर्ख नै भै गो ज्ञानी  नै भ्रममा छ त्यो

मृगमरिचिकाभित्रै घुम्छ सम्पूर्ण  लोक यो

हुन्छ विवेकले यौटै गुणी महान मानव

जीवन संँस्कृतिको बीच मानव स्वयम् मानवीय अस्तित्वको खोज गर्दछ ।  जस्तै —

निशि हूँ म कि वा प्रिय रश्मि म हुँ

चर हूँ वनको कि म मानव हूँ

मनुवा रुपको कि म दानव हूँ

म अतृप्त सधैं किन व्याकुल हूँ ?

किन व्याकुल हूं

जिजीविषा’ कविता कविशिरोमणि लेखनाथ पौडेलको प्रश्नोत्तरीको शैलीमा लेखिएको कविता हो ।

कोसेली, स्वागतम् स्वागतम् स्वागतम्, आमा, रङ्ग उपासना, प्रहेलिका निशेचन, र समय बौलाएको बेला कविता आदि कवितामा  नेपाली संस्कृति र सङ्घर्षका कथा व्याप्त छन् । कतिपय कथामा उनले कविताको आराधना गरेका छन् । जस्तै —

धन्य धराकी हे कविता

सुन्दर तेरो जीवन हा!

साँवर शोभा कञ्चन क्या!

विम्व द्यूति छन् सुष्मित क्या!

धन्य धराकी हे कविता !

कविताको आराधना गर्ने कवि आज कविताको बेवास्ता भएको देखेर उनी दुःखी हुदै पागल कविता लेख्छन् । त्यसको यौटा नमुना —

लेखे लेख्न कठिन् सुनाउन कठिन् त्यो छाप्न झन् झन् कठिन्

छापे बेच्न कठिन् बिके पनि कथं झन् पढ्न बुझ्नै कठिन्

हामी पागल हौँ र सुन्न कविता ! भन्ने जमाना छ यो

यस्तोमा कविता म लेखुँ कसरी लेख्दै नलेखे भयो

पागल गीत

उनका कविता जति पढ्यो उति पढ्न मन लाग्दछ । उद्धरण गर्न न छोडेमा पूरै पुस्तक उद्धृत हुन सक्दछ त्यसैले उद्धरण गर्ने काम यही पूर्णबिराम गर्नुपर्ने हन्छ । कवितालाई उनी आफ्नो जीवनको अभिन्न अवयव ठान्दछन् र कविता लेखनलाई नियति मान्दछन् । त्यसको परिणाम जे भए पनि उनी लेख्न भने छोड्दैनन् । त्यसैले उनका अरू थुप्रै कविताहरू प्रकाशनको लागि पक्तिवद्ध भएर पर्खेका छन् । अब उदाउने कविताले यो पुस्तकको भन्दा बढी सौन्दर्यका किरण छर्न सक्नेछन् । अझ बढी डायस्पोरा चेतको वस्तुविन्यास गर्न सक्नेछन् ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |