हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कमलमणि र म,(कृष्ण धरावासी)

पन्ध्र बर्षको उमेरमा पहिलोपल्ट एउटा साप्ताहिकमा एउटा कविता प्रकाशित भएपछि म औपचारिक रुपमा प्रवेश गरें । त्यसपछि साहित्य सम्बन्धि चासोहरु बढ्न थाले । मदन पुरस्कारको बारेमा पहिलोपल्ट मेरो चासो बढेको थियो २०३७ सालमा जब घामका पाइलाहरु भन्ने उपन्यासले मदन पुरस्कार पायो । तर त्यो किताब मैले धेरै पछि मात्र पढें । त्यसबेला स्कूलमा सरहरुले मदन पुरस्कार भनेको सबैभन्दा महत्वपूर्ण कुरा हो भन्थे । त्यो कुराले मलाई गहिरो गरि प्रभाव परेको थियो । भर्खर लेख्न थालेको भए पनि मनमा कताकता त्यस्तो पुरस्कार पाउन सके कस्तो हुँदो हो जस्तो लाग्न थालेको थियो । साँच्चै भन्ने हो भने त्यही पुरस्कारको कल्पनाले पनि मलाई लेखक हुन प्रेरित गर्यो होला । पछि  थाहा पाएँ       त्यो पुरस्कारका संस्थापक कमलमणि दीक्षित रहेछन् । पछि पछि उनको बारेमा झन् धेरै कुरा मैले भवानी धिमिरे र चूडामणि रेग्मीबाट थाहा पाउँदै गएँ ।

पहिलो पल्ट मैले उनलाई २०४६ सालमा झापाको दमकमा आयोजित महानन्द पुरस्कार समारोहमा अतिथिको रुपमा देख्न पाएको थिएँ । त्यो कार्यक्रमको एक पुरस्कृत प्रतिभा म पनि थिएँ । महानन्द पुरस्कार मेची अञ्चल भरिका साहित्यिक प्रतिभाहरुलाई मात्र प्रदान गरिन्थ्यो । त्यसमा एकजना प्रौढलाई सम्मान र एकजना युवालाई प्रोत्साहनका रुपमा पुरस्कृत गरिन्थ्यो । २०४४ सालमा रु. १००० बाट शुरु भएको त्यो पुरस्कार राशी २०४६ सालमा रु. २५०० पुगेको थियो । त्यो बर्ष सम्मान तर्फ स्व. स्वम्भूलाल श्रेष्ठ र प्रोत्साहन तर्फ म थिएँ ।

प्रमुख अतिथिको रुपमा डा. ईश्वर बराल र अतिथिको रुपमा कमलमणि दीक्षित थिए । कमलमणिले आफ्नो भाषण लिखित रुपमा पढेका थिए । त्यो भाषणमा उनले मेरो धराबासी उपनामको सारै सुन्दर व्याख्या गर्दै यो कवि आकाशतिर होइन धरतीतिर आँखा गाडेर उभिएको छ । यसको साहित्यिक भविष्य आउने युगको उज्यालो झिल्को बनोस् भनेका थिए । त्यो दिन म पुरस्कार पाएर र कमलमणिले दिएको मन्तव्यले सारै फुर्किएको थिएँ । मलाई त्यसै दिन लागेको थियो अब म साहित्यकार भएँछु । मैले जीवनमा पहिलो पल्ट पाएको सबैभन्दा ठूलो पुरस्कार त्यही नै थियो । त्यसै दिन मलाई लाग्यो मैले कमलमणिलाई सुन्नु पर्छ । मसंग बैरागी काइला, दान खालिङ, गणेशबहादुर प्रसाई, चूडामणि रेग्मी जस्ता अग्रजहरु हुनुहुन्थ्यो । उहाँहरुकै माया र प्रोत्साहनले त्यहाँसम्म पुगेको पनि थिएँ ।

जब म महानन्द पुरस्कारको त्यो प्रमाणपत्र हेर्थे मलाई कमलमणिका ती भनाइहरुको सम्झना आउँथ्यो । उनको लिखित भाषणको एक प्रति मसंग थियो र त्यो म झिकेर पढ्ने गर्थें । उनको त्यो भाषणको मसंग सम्बन्धित खास अंशलाई मैले मेरो साहित्यिक यात्रा र मदन पुरस्कार नामक कृतिमा साभार गरेको छु ।

त्यसपछि उनलाई दोस्रोपल्ट मैले २०४८ सालमा दुबसु क्षेत्रीको सकृयतामा मेरो पहिलो प्रकाशित कृति बालक हराएको सूचना काठमाडौंमा बिमोचन गर्दाको    कार्यक्रममा भेटें । उनले मेरो काँधमा थपथपाउँदै भनेका थिए मैले दमकमा भनेको कुरा बिर्सेको छैन होला नि । मैले बिस्तारै टाउको हल्लाएर बिर्सेको  छैन भनेको थिएँ । फर्किनु अघि मदन पुरस्कार पुस्तकालयमा निस्कनु भनेका थिए । दुबसुले नै मलाई लिएर गए । त्यो दिन म झन छक्क परें जब उनले बसेको ठाउँबाट उठेर हामी बसेकै सोफामा आएर बस्दै कुनै ठूलै लेखकसंग भेट भए जस्तो ब्यावहार गरे । म मनमनै भाबुक पनि भएँ । लाग्यो यी मान्छे साँच्चै नै साहित्यका माली नै हुन । यी साँच्चै लेखकलाई माया गर्ने नै मान्छे हुन । उनले मलाई पहिल्यैदेखि चिन्छु भन्ने विश्वास दिलाउन झापाबाट प्रकाशित पत्रिकाहरुमा छापिएका मेरा कविता र लेखहरुका अंक निकालेर राखेका रहेछन् । ती देखाउँदै भने मैले कत्तिको चिनेको रहेछु त ।

उनले झापा र पूर्वोतर भारतका लेखकहरुका बारेमा धेरै कुरा सोधे । मैले जानेसम्मका कुराहरु भने । आसामतिरका लेखकका बारेमा मलाई भन्दा दबसुलाई बढी थाहा रहेछ, उनले मलाई सघाए । त्यो दिन उनले नेपाली पत्रिकाका केही अङ्कहरु पनि दिए । म फेरि फुर्किएँ ।

त्यसपछि म जतिपल्ट काठमाडौं पुग्थें, एकपल्ट मदन पुरस्कार पुस्तकालय पुग्न थालें र कमलमणि दीक्षितसंग भेटेर उत्साहित हुँदै फर्किन्थें । २०५३ सालमा फेरि काठमाडौंमा दुबसु क्षेत्रीले स्थापना गरेको बसुन्धरामान प्रतिष्ठानले मेरो लीलालेखन किताब प्रकाशन गरि बिमोचन कार्यक्रमको आयोजनामा उनीसंग भेट भयो । त्यो पल्ट उनले भने तपाईले अकबरको दारी समात्नु भयो । के भनेको हो त्यो दिन मैले राम्रो कुरा बुझिन तर जब म लीलालेखनको अभियानमा अघि बढ्दै गएँ अनि बिस्तारै त्यो दिन उनले के भनेका रहेछन् भन्ने बुझ्दै गएँ ।

पचासको दशकदेखि मेरो साहित्यिक यात्रा एकदम नै तीब्र गतिमा अगाडि बढ्यो । मैले निबन्ध र उपन्यासतिर आफूलाई केन्द्रित गर्न थालें । नारी भित्र त्यस्तो के छ हजूर र लीलालेखन किताब प्रकाशित भएपछि एकाएक मेरो चर्चा राष्ट्रिय स्तरमा चल्न थाल्यो । म झापामै भए पनि अब मलाई काठमाडौमा धेरै नै साहित्यिक सुबिधाहरु प्राप्त हुन थाले । २०५० सालदेखि लेख्न थालेको उपन्यास शरणार्थी २०५६ सालमा प्रकाशित भयो । मेरो सानैदेखिको सपना पूरा गर्न त्यो उपन्यास मदन पुरस्कारका लागि दर्ता गरें । पाउने आशा त थिएन तर पनि मन खुशी थियो । पछि सुने मेरो त्यो उपन्यास पनि छनौटको निकै माथिसम्म पुगेको थियो रे ।

२०६२ सालमा साझा प्रकाशनबाट प्रकाशित राधा उपन्यासले मदन पुरस्कार पायो । यो खुशीको म आज पनि बर्णन गर्न सक्दिन । तीसको दशकमा देखेको सपना साठीको दशकमा पूरा भएको थियो । म इमान्दारीका साथ भन्छु, जुन दिन मैले मदन पुरस्कार पाएको घोषणा भयो त्यही दिन देखि नै मेरो साहित्यिक ब्यक्तित्व सगरमाथा आरोहण गर्ने सफल पर्वतारोहीको जस्तो अग्लिएको थियो ।

आज पनि म भन्छु मदन पुरस्कारका बारेमा जेजस्ता टिप्पणीहरु हुने गरे पनि धेरैजसो राम्रा लेखक आफ्नो कृतिको सफलताको अन्तिम लक्ष्य मदन पुरस्कारलाई नै ठान्छन् मनमनै । प्रायले पुस्तकको प्रकाशनको अन्तिम मिति हरेक बर्षको चैत्र मसान्त राख्छन् र बैशाख पन्ध्र भित्र दर्ता गर्छन् । यदि मैले त्यो पुरस्कार नपाएको भए पनि म लेखक त थिएँ तर आज मेरो संसार भरि छरिएका नेपालीहरुका बीच जुन चर्चा छ यो चाहिं हुने थिएन ।

सोच्दछु, कमलमणि दीक्षितले त्यो संस्था स्थापना नगरेका भए आजसम्म पनि नेपाली लेखकहरुलाई यस प्रकारको सम्मानको वातावरण बनाउने काम सायद अरुबाट हुन्थ्यो कि हुन्न थियो । जीवन भरि अरुलाई स्थापित गर्ने र साहित्यको नदी तार्ने काम गरिरहे उनले । आफ्नो रुचि माध्यामिक कालिन साहित्यको अध्ययनतिर भए पनि उनले नेपाली साहित्यमा आएका हरेक प्रयोग आन्दोलनको सम्मान गरे । २०२९ सालमा ईश्वरबल्लभको कवितालाई पुरस्कृत गर्दै तेस्रो आयाम अभियानको पनि सम्मान गरिएको थियो भने राधा उपन्यासले पुरस्कार पाउँदा लीलालेखन स्थापित भएको थियो । पछि दमिनी भिर पुरस्कृत हुँदा सिर्जनशील अराजकताले अर्को मान्यता पाएको थियो । जसले जे भनुन्, मदन पुरस्कार नेपाली साहित्यको लागि एक मानक बिम्ब हो जसको संस्थापक थिए कमलमणि दीक्षित ।

प्रत्येक्ष वा परोक्ष रुपमा उनको ममाथि ठूलो गुण छ । मलाई यहाँसम्म आउन दमकको भाषणदेखि नै उनले गरेको प्रोत्साहन महत्वपूर्ण छ । मेरो पिताभन्दा दुई बर्ष कान्छो उमेरको उहाँको हालै निधन भएको कुरा मैले अमेरिका मै सुने । अफसोस उनको अन्तिम यात्रामा म सामेल हुन सकिन । त्यो दिन लाग्यो नेपाली साहित्यको एउटा साँच्चैको नक्षत्र झरेको थियो ।

म उनी प्रति हार्दिक श्रद्धाञ्जली र सम्मान ब्यक्त गर्दछु । ममाथि उनले लगाएको गुण मेरा संतानहरुले पछिसम्म पनि संझिरहने छन् ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |