हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

उदाहरणीय श्रष्टा,(श्रीओम श्रेष्ठ 'रोदन')

मलाई नेपाली भाषाको एउटा भक्त ,सेवक भनेर पछिकाले चिनिदिए पुग्छ  । अरु सबै कुरा गौण हुन् भन्ने लाग्छ । साहित्यमा विशिष्ट योगदान पुर्याउनु भएका कमलमणि दीक्षित आफूलाई जहिले पनि यसरी नै परिचित गराउन खोज्नुहुन्थ्यो । नेपाली भाषा साहित्यका अनन्य साधक तथा दीर्घसेवक दीक्षित पुस १४ गतेदेखि भौतिक रुपले यस धर्तीमा हुनुहुन्न । शारीरिक रुपमा उहाँ अब कतै हुनुहुने छैन तर नेपाली भाषा साहित्यका क्षेत्रमा पु¥याउनु भएको योगदानले उहाँ कहिले स्वर्गीय बन्नु हुने छैन । सात दर्जनभन्दा भन्दा बढी पुस्तकका अक्षरहरुसँग उहाँ नेपाली साहित्यमा सदैव बाँचिरहनु हुनेछ ।

थरजस्तै सुसंस्कृत र सुशिक्षित कमल दीक्षित व्यक्ति एक भए पनि अनेक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । लेखक, सम्पादक, अन्वेषक, लाइब्रेरियन,  साहित्यिक पत्रकार,पुस्तकालय तथा पुरस्कार संस्थापकलगायत विभिन्न साहित्यिक तथा व्यावसायिक संघ संस्थाहरुका सञ्चालक, व्यवस्थापकका रुपमा पनि उहाँ सफल प्रमाणित हुनुभएको थियो ।

नेपाली भाषा साहित्यको सेवा र साधनालाई आफ्नो कर्म र धर्म ठान्नुहुने दीक्षित व्यक्तिभन्दा एउटा प्राज्ञिक संस्थाको रुपमा स्थापित हुनुहुन्थ्यो । व्यक्तित्वका दृष्टिले बिराट हुनुभए पनि व्यवहारका दृष्टिले अत्यन्त सरल हुनुहुन्थ्यो । उहाँलाई चिन्ने धेरै माध्यम छन् । कोही ६ दर्जनभन्दा कृतिका स्रष्टा हुन् भन्छन् । कोही ३८ हजार पुस्तक  भएको मदन पुस्तकालयका सस्थापक भन्न रुचाउँछन् । कोही पुस्तकालयका सबैभन्दा लामो समय र सबैभन्दा पाको उमेरसम्म काम गर्ने लाइब्रेरियन भन्छन् । कोही उहाँले गर्नुभएका शोध अनुसन्धानका कारण नेपाली भाषासाहित्य समृद्ध भएकोलाई महत्व दिन्छन् । कोही उहाँले सम्पादन गरेका दुई दर्जन पुस्तकले नेपाली साहित्यको ऐतिहासिक तथ्यहरुलाई सार्वजनिक गरेका  ठान्छन् । साहित्यको अध्यता र अनुसन्धानकर्ताका लागि ठूलो गुन लगाएको कुरा ठान्छन् । साठी वर्षदेखि नेपालको गरिमामय पुरस्कारका एकछत्र वर्चस्व कायम गर्न सकेका मदन पुरस्कार र जगदम्बा सम्मानका अध्यक्षका रुपमा कमल दीक्षितको विशेष योदान ठान्छन् । कोही वि.सं. २०१६ देखि नेपाली त्रैमसिकको प्रकाशन र सम्पादन गरेर साहित्यिक पत्रकारिताको सन्दर्भ उठाउँछन् । कोही भाषा साहित्यको गरिमामय इतिहास बोकेको साझा प्रकाशनमा एक दशक अध्यक्ष हुँदाको योगदान महत्वपूर्ण भएको ठान्छन् । आदिकवि भानुभक्त चलचित्र निर्माण समितिको संयोजक भएर मात्र होइन कलाकार बनेर गर्नुभएको अभिनयलाई पनि सानो उपलब्धि मान्दैनन् । कोही त नेपाली भाषा सुझाव कार्यदल २०५४ का संयोजक भएर गर्नुभएको कार्यलाई  पनि बिर्सन नमिल्ने भन्छन् । ८६ वर्षमा दुईवटा लघुकथा सङ्ग्रह प्रकाशन गर्ने लघुकथाकारका रुपमा पनि बिर्सन हुँदैन उहाँलाई । यस्ता व्यक्तित्वका रुपमा सर्व स्वीकार्य बनिसक्नु भएका दीक्षित आफूलाई भने अत्यन्त सामान्य मात्र ठान्नुहुन्थ्यो । उहाँको स्वीकारोक्ति पनि यही हो –‘कमल दीक्षितको सबैभन्दा ठूलो कमजोरी महत्वकाङ्क्षा नहुनु हो कि ? अथवा जो पनि मभन्दा बढी जान्दछ, म भन्दा बढी सक्षम छ भन्ठान्नु हो कि ?

वि.सं २००० मा उहाँको पहिलो साहित्यिक रचना पुतली कविता काशीबहादुर श्रेष्ठको सम्पादनमा निस्कने उदय पत्रिकामा प्रकाशित भयो । पुस्तकाकारका रुपमा भने वि.सं २०१३ मा यस्तो पनि सिर्जनात्मक कृति प्रकाशित भएको थियो । कविताबाट साहित्यिक यात्रा गर्नुभए पनि उहाँ कवि बन्न सक्नु भएन । उहाँ प्रष्ट हुनुहुन्थ्यो । बैंसमा कविता लेखे पनि म कवि चाहिं भइन ।

जीवनभर सम्मानित हुनुभएका  भाषा साहित्यका विशिष्ट साधक दीक्षित आफू संयोगले मात्र लेखक बनेको  ठान्नुहुन्छ । उहाँ भन्नुहुन्थ्यो– ‘मेरो पहिलो कविता मेरा सहपाठी साथी विष्णुप्रसाद धितालले सिकाएका हुन् । २०१० सालमा मदन शमशेर जर्सावको स्वर्गवास भएपछि रानी जगदम्बाको लेखापढीको काम गर्न मलाई नेपालमा बोलाइयो । म उहाँका सेवामा लागें । संयोगले भनौं, मेरो भाग्यले भनौं रानी जगदम्बाबाट मदर पुरस्कार गुठीको स्थापना भयो र म त्यसको सदस्यसचिव हुनु पुगें । त्यसपछि मदन पुरस्कार पुस्तकालयको स्थापना गर्नेतिर लागें म । यही पुस्तकालयको स्थापना नै हो कमल दीक्षित भन्ने लेखक जन्माउने कारक तत्व । एउटा सानो पुस्तिका पाउँदा अचम्म मानेर म यस्तो पनि भएको रहेछ ?' लेख्न पुगें । त्यो शारदामा छापिएपछि म लेखक कहलाइएँ । अनि मोतीरामको बालकाण्ड र डमरुबल्लभको सातै काण्ड रामायण देखेपछि तिनका बारेमा लेखें । ती छापिएपछि त म अन्वेषक, शोधकर्ता, स्वनामधन्य लेखकमा दरिइ हालें ।

बहुआयामका धनी कमल दीक्षित वि.सं. १९८६ भदौ १२ गते कुशेऔंसीको दिन जन्मनु भयो । १४ वर्षमा नै उहाँको सिर्जना प्रकाशित भएदेखि नै उहाँ अबिराम साहित्य साधना यात्रामा लाग्नुभएर ८७ वर्षको उमेरमा कहिले नउठ्ने गरेर थकाइ मार्नु भएको छ ।

उहाँ हतपति कार्यक्रममा जान चाहनु हुन्नथ्यो । गएको ठाउँमा एक घण्टा पछि निस्कनु हुन्थ्यो । बोल्दा पनि अनौपचारिक भाषा शैलीमा छोटो मात्र बोल्नुहुन्थ्यो । प्रमुख अतिथि बन्न मान्दै मान्नु हुन्नथ्यो । कुनै संस्थामा आबद्ध हुनु र पुरस्कार लिन मिल्दैन भन्नुहुन्थ्यो ।

स्वास्थ्यले सकुन्जेलसम्म घरमा बसेर समाचार सुनेर बिहान साढे सात बजे अफिस पुगिसक्नुहुन्थ्यो । पुस्तकालयका लागि आएका पुस्तकहरु दर्ता गर्नुहुन्थ्यो । कसैलाई जवाफ लेख्नुहुन्थ्यो । साहित्यिक साथीभाइहरुसँग कुराकानी गर्नुहुन्थ्यो । रातो बंगला स्कुलका विद्यार्थीहरुलाई छन्दको कविता पाठ गर्ने तरिका सिकाउनु हुन्थ्यो । त्यसपछि विभिन्न ठाउँको वैठक, भेटघाट, अध्ययन र लेखनले गर्दा उहाँ सदावहारझैं व्यस्त हुनुहुन्थ्यो ।

नेपाली भाषासाहित्यको जुन क्षेत्रबाट अध्ययन गर्दा पनि विशिष्ट कोटिको व्यक्तित्वमा पर्नुहुने कमल दीक्षितले आफूलाई कहिल्यै ठूलो भएको अनुभव कसैलाई गराउनु भएन । जानेको छु भनेर कहिले दम्भ गर्नु भएन । उल्टै उहाँ जहिले पनि जिज्ञासु बन्ने गर्नुहुन्थ्यो ।

वि.सं २०६१ मा मधुपर्कमा कमल दीक्षितले सम्पादक कपिल घिमिरेको नाममा पत्रसहित आफ्नो रचना ल्यापटपको कथा पठाउनु भयो । जसमा लेखिएको थियो –‘म हालै सिंगापुर गएर फर्केपछि एउटा नियात्रा लेख्न बसें । तर लेखी सिध्याउँदा यो न नियात्रा भयो न निबन्ध नै हुनसक्यो । मलाई यस्तै लाग्योसबै थोक मिसिएको त्यो के भयो के भयो । यो लेख अहिले छाप्ने होइन ,पहिले तपाईंले निक्र्यौल गरिदिनु प¥यो, यो के हो भनेर । यो नियात्रा, निबन्ध, प्रबन्ध, आत्मपरक लेख या के भयो ? अथवा केवल फासफुस बकवास मात्र भयो कि ? हेरिदिनुहोस् ।

लेखकजस्तै सम्पादकले पनि रचनाको निक्र्यौल गर्न नसकेपछि अन्तरक्रिया नै भयो । वि.सं.  २०६१ कात्तिक १८ गते गरिएको अन्तरक्रियामा साहित्यकारहरु कृष्णचन्द्रसिंह प्रधान, कृष्णप्रसाद पराजुली, वैरागी काइला, डा. डीपी भण्डारी, डा. माधव पोखरेल, रमा शर्मा, निर्मोही व्यासलगायत १८ जनाको सहभागिता थियो । त्यही अन्तरक्रियालाई आधार बनाएर वि.सं. २०६२ वैशाखमा मेरो सम्पादनमा ल्यापटपको अलमल शीर्षकको पुस्तक नै प्रकाशित भयो । यसरी एउटा रचनाको विधा निक्र्यौल गर्नका लागि भएको अन्तरक्रिया र पुस्तक प्रकाशन इतिहासकै एक मात्र कार्यक्रम नहोला भन्नसकिन्न ।  उहाँजस्तो भाषा साहित्यमा सिंगो जीवन समर्पण गर्ने साहित्यका विद्वान्ले आफ्नो रचनामा अलमलिएँ भन्नु अनौठो नै हो । उहाँ स्वयम्ले वि.सं. १९१० मा लेखिएको यात्रा पुस्तक जंगबहादुरको बेलाइत यात्रा १०४ वर्ष पछि वि.सं. २०१४ मा उहाँले नै सम्पादन गरेर प्रकाशित गर्नुभएको थियो । यसबाट उहाँको सरलता र महानता मात्र नभएर सधैं सिक्न खोज्न प्रवृत्ति भएको पनि प्रमाणित गर्दछ ।

नेपाली साहित्यमा थोरै लेखेर धेरै बुझें भन्नेहरु बढिरहेको समयमा कमल दीक्षितजस्ता अग्रज लेखकले पाठकलाई अलमल्याउन खोजेजस्तो भयो भन्नु पाठकप्रतिको सम्मान मात्र नभएर महाभारतको युद्धमा श्रीकृष्णको अगाडि अर्जुनले केही जान्दिन भनेजस्तै हो । नेपाली भाषासाहित्यका व्यापक व्यक्तित्वको रुपमा कमल दीक्षित एउटा जीवित इतिहास हुनुभएको छ । कमल दीक्षितका दर्जनौं पुस्तकको लेखन , अनुसन्धान, मदन पुरस्कार र पुस्तकालयले मात्र नभएर उहाँको सरलता र उदारता सदाका लागि आदर्श र उदाहरण बनिरहने छ ।

 

लेखक रोदनको सहमतिमा जनवरी ७, २०१७ मा प्रकाशित गोरखापत्रबाट साभार

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |