हालसालैका लेखहरु : शक्ति पूजा,(बासु श्रेष्ठ) आइदेउ नव वर्ष हर्ष बटुली नेपाल हाँस्ने गरी,(दुर्गा रिजाल) नयाँ वर्षको शुभकामना,(भरतमणि मरहट्टा ) गजल,(इन्जिनियर राकेश कार्की) ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम)

बाह्रपल्ट बेलाइत,(कमल दीक्षित)

बाह्रपल्ट मात्र होइन,त्यसभन्दा पनि धेरै पटक बेलाइत पुगें हुँला, यूके, यो सन्ताउन्न वर्षमा। गन्ती नै गरेको छैन। सम्झन सक्दिनं म। मसँग त्यो गन्ती गरिहेर्ने साधन पनि छैन। डायरी राखेको छैन। अनि पासपोर्टमा हेरेर गनूँ भने पुराना पासपोर्टहरू साथमा छैनन्। राणा कालमै मलाई दिइएको सन् १९५९ सालको पासपोर्ट दुई महिनामा उताबाट फर्केर आउनासाथ बुझाउन जानु परिहाल्यो! त्यो मात्र होइन त्यसपछि पनि पटकपटक लिइएका पासपोर्टहरू परराष्ट्र विभागमा बुझाउन जानु पर्थ्यो फर्केर आउना साथ। नियमै त्यस्तै थियो सरकारको तिनताका।

 

बेलाइत कति पटक पुगें भन्ने कुरो अहम् होइन। मेरो अनुभव के ऐले उइलेको बेलाइतको भन्ने कुरा गर्न खोजेको हुँ मैले यस लेखमा। त्यो पनि, ती कुरा लेख्नुपर्यो भन्ने विचार हिजो मात्र आएको हो मनमा अकस्मात्। सन् २०१६ को अगस्त महिनाको कुनै दिन हामीहरू दोहाको अत्याधुनिक एयरपोर्टको लाउञ्जमा बसिराखेका थियौं, मेरो नातिनी प्रिया म। लण्डन जाँदै थियौं हामी। उड्न अझै बेर थियो। हामीहरू गफ गर्न लाग्यौं। मेरो पहिलो पटकको भ्रमणको बारेमा। सन् १९५९ सालको कुरा। त्यसबेला ३० वर्ष मात्र पुगेको थिएँ, आज ८७ वर्षमा हिंड्दै छु, उहिलेको भन्दा झण्डै तीनगुना बूढो भएर। मात्र बूढो भएको होइन संसारै बढी पाको भएको छ। विज्ञानले यत्रो फड्को मारिसक्यो उस बेला देःखेका कुरा एकादेशको दन्तेकथा हालेजस्तो लाग्छ। ऐले देखेका भोगिरहेका कुरा हो ? जस्तो लागिरहन्छ। ऐले एक दुई घन्टापछि हामी कतार एयरवेजको ३८० जेटमा उडिराखेको हुनेछौं, डबल-डेकर प्लेनमा माथ्लो तलामा। प्लेनमै वाईफापनि भएकाले मोबाइलमा फोन गर्न बाहेक जे गर्न पनि पाइनेछ। यो एयरपोर्टको लाउन्जमा पनि त्यस्तै सबै सुविधा छ। तीन पटक घरमा कुरा गरिसक्यौं, घन्टा घन्टामा के  गर्दैछौं भनेर। त्यो पहिलो पटक मैले लण्डन पुगें भनेर दिएको खबर घर पुग्न नै १२ दिन लागेको थियो! यही यात्रा-अनुभव ऐले दोहा एयरपोर्टको लाउन्जमा बसेर टाइप गर्दैछु नातिनी प्रियासँग सल्लाह भएअनुसार। भनेपछि कहाँ आजको यात्रा, कहाँ उस बेलाको सफर?

 

हो, बरु त्यो मेरो पहिलोपल्टको बेलाइत अर्थात् योरोपको दुईमहिने भ्रमणको वृत्तान्त मैले कतै लेखेकै रहेनछु, ऐले सम्झंदा। कुनैकुनै निबन्धमा अलिअलि कतैकतैको प्रसङ्ग च्वास्स छोएको बाहेक समग्रमा त्यो लेखिएको रहेनछ। तर, कतै क्यै नलेखे पनि मैले नसकारी हुन्न त्यो यात्रा अन्तत: मेरो गुरु नै भैदियो, पथप्रदर्शक त्यसबेला अनाडी नै थिएँ, यात्रा-अनुभवहीन। कति कुरा पहिलो पटक देखें, मैले कति नयाँ कुरा सिकें त्यस भ्रमणमा बयान गरिसकिन्न। पहिलो कुरा भिसा भन्ने शब्द पहिलोपटक कानमा पर्यो त्यसै बेला। पासपोर्ट भन्नेसम्म थाहा थियो। कलकत्ताबाट कामको सिलसिलामा मैले एक फेरा फिलिपिन्स मनिला जानुपर्ने भो भनेर नेपालमा श्री हाराजबाट बक्साई मेरो पासपोर्ट बनेको थियो (पछि त्यो जाने कुरो नमिलेकाले त्यो पासपोर्ट त्यसै नेपाली कन्सुलेटमा बुझाउनु परेको थियो, त्यो भिन्नै कुरा) अनि २००६ सालमा फेरि पासपोर्ट बनाउनुपर्यो। दरबार बक्साई त्यो बन्यो। अनि टिकट किन्नुपर्यो, कलकत्तामा। १०/१२ पेजको टिकट-किताब आयो टी डब्लु -को। अब भिसा बनाउनुपर्यो रे, फेरि /१० ओटा देशको। तर ऐले जस्तो गाह्रो रहेनछ क्यारे आफूले क्यै गर्नै परेन, कतै जानु पनि परेन। सबै काम ट्राभेल एजेन्सीले नै गरिदियो, कायरोदेखि लन्दनसम्मकै, / दिनमै! स्पेनको भिसा भने यता दिएन मैले लन्दनमा स्पेनको एम्ब्यासीमा धेरै पटक धाउनुपरेको थियो। ऐले सम्झें।


कायरोको
कुरा आइहालेकाले भनिहालूँ- त्यो पहिलो यात्रामा हामी सोझै लन्दन पुगेका थिएनौं। युरोपका केही शहरहरू घुम्दै / दिनपछि मात्र लन्दनको क्रायोडन एयरपोर्टमा उत्रेका थियौं। त्यसमा पनि भारतको कलकत्ता बम्बई छाडेपछि हामी पहिले ओर्लेको मरूभूमिमाथि बनेको  कायरोको एयरपोर्टमा पो थियो! यहाँ मैले फेरि त्यस पहिलो पटकको यात्राको बारेमा पनि पैलो बाजि मैलेहामी भन्ने सर्वनाम प्रयोग गरें को सट्टा। त्यसको कारण के भने त्यस भ्रमणमा पनि हामीहरू दुई जना नै सहभागी थियौं, एउटा अर्को शङ्करबक्स सिंह, रानी जगदम्बाका भाइ। हामी दुवै रानीसाहेबका कृपाले यसरी उड्न पाएका थियौं, उहाँले नै दिएको खर्चबाट। उदेक लाग्छ ऐले सम्झंदा कति कम रकममा हामीले यो दुई महिने भ्रमण सकेछौं, कति मितव्ययी भएर। हामी दुई जनाको टिकट लकत्तामै किनिएको थियो सबै तिरको, कति खर्च लाग्यो हामीलाई थाहा भएन। हामीले त्यहाँ रेल बसका बाहेक अरू कुनै नयाँ टिकटहरू किनेनौं, यतैबाट जति ठाउँका टिकट किनिएका थिए त्यति शहरमै घुम्यौं हामी, अन्यत्र गएनौं। जाने पैसै थिएन। रानीसाहेबबाट हामीलाई ५०० पाउन्ड स्टर्लिङ क्यास दिनू भनेर ब्याङ्कलाई लेखेको चिठी बोकेर गएको थिएँ म। त्यो चिठी मैले लन्दनको ग्रेसचर्च स्ट्रीटमा रहेको हङ्कङ्ग एण्ड शङ्घाई ब्याङकिङ कर्पोरेसनको शाखामा गएर बुझाएपछि उनीहरूले मलाई त्यति पाउण्ड तुरुन्त दिएका थिए। त्यति पैसाबाट हामीले त्यत्रो भ्रमण सम्पन्न गर्यौं! ऐले सम्झंदा आफैलाई पत्यार लाग्दैन।

 

हामीहरूको त्यत्रो भ्रमण भनेको वास्तवमा कत्रो थियो भन्ने खुलतुल सबैलाई लाग्छ। त्यो कौतुहल मेटूँ पहिले। दुई चरण गरेर ११/१२ देशका गरी १४/१५ ओटा जति शहर घुम्न भ्याएछौं हामीले! गनी हेरूँ न। पहिले कायरो, अनि एथेन्स, त्यसपछि जुरिक जेनिभा अनि लन्दन। लन्दनमा हामी एक महिना जति बस्यौं। त्यसैबीच एडिनबरा, अक्सफोर्ड इत्यादि शहरहरू कतै रात बस्दै कतै दिनभर घुमियो। लन्दनबाट फर्किने क्रममा पहिले अम्स्टर्डम अनि कोपेनहागेन, स्टकहोम, अस्लो बूदो (BODO) अनि हेल्सिन्की। त्यताबाट हामबर्ग, प्यारिस, म्याड्रिड हुँदै रोम पुगेका थियौं। रोमबाट हामीले योरोपलाई बाईबाई गरेर उड्यौं अनि कलकत्ता वापस! कतिओटा शहर भए?

त्यो भ्रमण रानी जगदम्बाको मेरा मातापिताको हामी दुई जना, रानीसाहेबका भाइ शङ्करबक्स मलाई पाको बनाउने योजना अन्तर्गत निर्माण भएको थियो। देश खाई शेष हुनलाई विदेश भ्रमण नगरी हुन्न भन्ने उहाँहरूलाई लागेछ। अनि पठाइएको रहेछ हामीलाई त्यता। मभन्दा उमेरमा पनि जेठा बढी बाठाटाठा समेत भएकाले यो भ्रमण टोलीको नेतृत्व शङ्करबक्सले गर्ने भनिएको थियो। उनलाई निकै मान्थें पनि। आदरले भैयासाहेब बनेर सम्बोधन गर्थें मालिकका भाइ भएकाले। तर भइदियो उल्टो! भारतको सिमाना काटेपछि उनी लाटो भइदिए, एकदमै प्यासिभ जे भने पनि लौ कैलेकाँही के गर्ने? भनेर मैले सोद्धा पनि भन्थे जैसा तुम कहो!

 

२००६ को त्यो योरोप-भ्रमणको कुरा गरेर ऐले साध्य भएन। त्यसलाई थाती राखेर ऐले आजको मै लागूं अलिकति यो लेखलाई तुरूँ। हुन त्यो यो यात्राको तुलना गरेर बोलूँ भन्ने लागेको हो पैले त्यही कुरा लेखेको थिएँ माथि। समयको गतिसँगै भएको प्राविधिक प्रगतिले ल्याएको फरकका बारेमा माथि शुरूमै केही लेखिहालियो, अब व्यक्तिगत परिवर्तनको कुरा गरूँ अलिकता। त्यो भ्रमणमा नेता हुनपुगेको थिएँ तर यसपालि नातिनीको नेतृत्वमा आएको छु। हुन यस पटक मात्र होइन केही वर्षदेखि मलाई परिवारले प्रतिबन्ध लगाएको एक्लै घर छाड्न पाउन्न। परिवारका एक जना कोही या त्यति नभए पनि परिवार सरहकै कोही एक जना सहायक नभई राती बासबस्ने गरी बाहिर अन्त कतै जान दिंदैनन् मलाई। सो, यो बेलाइत यात्रामा मेरो अभिभावक भएर आएकी हो मेरी नातिनी प्रिया जोशी। डाक्टर साक्टर देखाउने (उपचार गर्ने)  कुरा भएकाले लन्दनमा बस्न पनि होटेलमा होइन, अर्की नातीनीको घरमा बस्नु पर्ने भएको , कृपा जोशीको घर, क्याम्बर्लेमा।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |