मिडनाइट सन’,(कमल दीक्षित)
तपाईं आफ्नो पहिलो पटकको योरोप-भ्रमणको कुन कुरा सबभन्दा बढ्ता सम्झनुहुन्छ? अथवा कुन चाँहि कुरा बिर्सिनै नसक्ने भएर गडेर बसेको छ तपाईंको मनमा? भनेर कसैले मलाई सोध्यो भने म के भन्छुहोला, मलाई आफै पनि पक्का छैन। यति धेरै कुरा अटाई नअटाई, तँछाडमछाड गरेर आउँछन् म आत्तिन्छु मेरा सम्झनाको ‘ओइरो’ देखेर। पहिलो ‘एक्स्पोजर’ थियो नि मेरो त्यो, त्यसैले जे नयाँ जे पनि नौलो! ठीक्क जङ्गबहादुर महाराजसँग सन् १८५० मा पहिलो पल्ट बेलाइत पुगेका हाम्रा नेपालीहरूलाई लागेजस्तो “ज्या देख्यो राम्रो ज्या देख्यो नौलो!”
भए पनि, मैले सकार्नै पर्छ पहिलो दिन अँध्यारो बिहान सिमसिम पानी परिराखेको क्रायोडन एरोड्रममा उत्रदा मलाई लण्डन मनपरेन। त्यो मन नपर्नुको कारण, ऐले लाग्छ, बादल र कुहिराका कारण अँध्यारो भएको एयरपोर्ट र त्यहाँबाट सहर पुग्दासम्मको रुञ्चे बिहान मात्र थिएन। एयरपोर्टमा इमिग्रेसनको मान्छेले गरेका कुरा र व्यवहारले मेरो मनै कुँडिएको थियो। त्यसै भएर पनि मलाई असाध्य नरमाइलो लागिरहेको हुनाले जे पनि ‘रुञ्चे’ लागिरहेको हुनुपर्छ। किनभने त्यसबेला त्यो इमिग्रेसनको अफिसरलरले सोधेका कुरा त नाजायज थिएनन्, म आफै जान्ने भएर दिएका उत्तरहरू बरु ठीक भएनछन्, ऐले सम्झेर ल्याउँदा। मेरा उत्तरहरूले उसलाई बढी सशंकित बनाइदिएको हुनुपर्छ- ‘यो मान्छे यूकेमा काम खोज्दै आएको अवाञ्छित विदेशी हो’ भन्ने। त्यसैले उसले मेरो पासपोर्टमा दुई महिना मात्र बस्न सक्ने गरेर ठप्पा लगाइदिएको थियो। उता मसँगै आएका भैयासाहेब, अर्थात् हाम्रो रानीसाहेबका भाइ शङ्करबक्स सिंह चाँहि इण्डियन हुनाले र इण्डिया बृटिश कमनवेल्थमा रहेको हुनाले केही नसोधिई पासपोर्ट देखाएर ठप्पा लगाएर निस्किसकेका थिए। मेरो ‘मूडै’ बिग्रेको थियो!
तर त्यो बिग्रेको ‘मूड’ मेरो लण्डन शहर पुग्दापुग्दै ठीक भैसकेको थियो। अनि त जे भए पनि राम्रो, नराम्रो भनेको हुँदै नहुने भैसकेको थियो मलाई लण्डनमा। एक महिनाभन्दा केही बढी बस्यौं हामी त्यहाँ। लण्डन शहरको ‘ट्यूब’ (अण्डरग्राउन ट्रेन) थियो मलाई सबभन्दा मनपर्ने कुरो। म त्यसको कीरो भैसकेको थिएँ त्यहाँ त्यति दिनमा, जहाँ जान पनि ट्यूब। अनि डबल डेकर (दुईतले) बस! तर यो लन्दनको कुरा ऐलेलाई छाडेर माथिको शीर्षकतिर फर्कूं एकैछिन। यो लेख शुरु भएको कारण नै थियो मेरो पैलो योरोप-यात्राको सबैभन्दा अविस्मरणीय कुरो के थियो भन्ने। पैले त्यही भनूँ।
मेरो स्कूले जीवनदेखिकै सपना थियो ‘मिडनाइट सन्’ हेर्ने। हुन त त्यो के हो कस्तो हुन्छ भन्ने क्यै ज्ञान थिएन। भए पनि आपसमा नमिल्ने दुइटा अंग्रेजी शब्द मिलेर बनेको त्यो नाम आफै रहस्यमय थियो। मलाई मध्यरात र घाम कसरी मिल्छ भन्ने लाग्थ्यो। त्यो नाम मैले सर्वप्रथम १९९८ सालमा केशरबहादुर खत्री छेत्रीको किताब ‘देशदेशावरको बयान’ मा पढेको थिएँ। त्यसपछि दरबार स्कूलमा नेत्रबहादुर मास्टरसाहेबले सुनाउनुभएको थियो नर्वेको बयान आफ्नै प्रकारले फूल जडेर। किन हो कुन्नी मध्यरात र घामको बारेमा लेख्दा र बोल्दा त्यति बेला नर्वे बाहेक अरू कुनै देशको नाम लिइएको मैले सुनिनं। त्यसै हुनाले होला, हाम्रो योरोप घुम्ने टिकेट बनाउँदा नर्वेको राजधानी अस्लो नछुटाउन मैले हाम्रा ट्राभेल एजेन्टलाई भनेको थिएँ। उनले फोसामा जस्तो गरेर स्टकहोम र हेल्सिन्की पनि थपिदिएका रहेछन्। लण्डनमा पुगेपछि मैले नर्वेमा कहाँ र कसरी कुन ठाउँ पुगेर ‘मिडनाइट सन्’ हेर्न सकिन्छ भनेर सोधखोज गरें। त्यो बेला ऐलेलो जस्तो इण्टरनेट र गुगल सर्चको सुबिधा थिएन। नर्वेली राजदूतजावास नै पुगेर लिएको थिएँ मैले त्यो जानकारी।
हुन त नर्वेमा पनि ‘आर्टिक सर्कल’ माथि, निकै परसम्म पुग्न सकिने रहेछ। “जहाजमा गयो भने ‘नर्द क्याप’ सम्म गए हुन्छ, तर तपाईंहरू बुदो जानुस्। त्यहाँसम्म रेल र बस गरेर सजिलै पुग्न सकिन्छ” भनेर मलाई सल्लाह दिइयो र मैले त्यसै गर्ने निधो गरेको थिएँ। सो, हाम्रो लण्डनको बसाइ सकिएपछि फेरि इङ्लिस च्यानेल तरेर योरोप उक्लियौं हामी दुई ज , बैयासाहेब र म। लण्डनबाट उडेपछि पहिलो ‘स्टप’ पर्यो याम्स्टर्डम। अनि कोपेनहागेन। डेनमार्कमा उत्तरपट्टिको किनारतिर बसेको सानो शहर हेल्सिनोरबाट हेर्दा समुद्रमा पारि स्विडेनको एउटा सानो शहर समेत देखिंदो रहेछ, त्यति नजीकै! तर, हामी पानीजहाजबाट होइन, हबाईजहाजबाट उत्रेका थियौं स्विडेनको राजधानी स्टकहोममा। त्यहाँ हामीले दिउसो एउटा ‘गाइडेड टूर’ लिएर अलिकति घुम्यौं अनि राती त्यहाँको प्रसिद्ध झिलिमिली ‘लीडो’ हेर्यौं। त्यत्ति हो। त्यताबाट हामी उडेका थियौं नर्वेको राजधानी अस्लोतर्फ।
हाम्रो नर्वेसम्मको यात्राको प्रामुख उद्देश्य नै ‘मिडनाइट सन्’ हेर्नु थियो। अत: अस्लो पुगेपछि मेरो ध्याउन्न त्यतैपट्टि केन्द्रित भैहाल्यो। कहाँ र के अनि कसरी त्यहाँ पुग्ने भनेर सोधपुछ गरें। त्यहाँ पनि लण्डनमा दूतावासले भनेजस्तै भनियो—जहाजबाट जाने भए नर्द क्याप, ३/४ दिनको प्याकेज टूर लिएर जाऊ नत्र बुदो जाऊ, फोस्केसम्म रेलमा र त्यहाँबाट बस लिएर। हामी बुदो जाने पहिले नै एक किसिमले तय गरिसकेका थियौं। त्यसैले अर्को विकल्पै रहेन। अस्लोबाट फोस्के पुग्न रेलमा रातभर जस्तो लग्दो रहेछ, त्यो पनि बीचमा एक ठाउँमा रेल बदल्नुपर्ने। ट्रोन्डेम भन्ने हो क्यारे, स्टेसनमा अस्लोबाट गएको एक्सप्रेसलाई छाडेर हामीले सानो थोरै डिब्बा भएको लोकल लियौँ। त्यसले कति घन्टापछि हो हामीलाई फोस्के पुर्याइदिएको थियो। त्यहाँबाट बसमा चढेर गएका थियौं हामी बुदोसम्म। साँझ त पारिसकेको थियो हाम्रो हिसाबले, दश जति बजेको हुँदो हो तर चारैतिर पूरै उज्यालो! भए पनि हाम्रो उद्देश्यको भने पटाक्षेप भैसकेको थियो, किनभने ऐले त त्यहाँ हामीले देखन पाउनुपर्थ्यो पश्चिमतिर उज्वल रातो र पहेलो रङ्गका बादल या त नीलो आकाशको मुनि तिरमिराउने गरी चम्किरहेको समुद्रमाथि उत्तिकै तिर्मिर गर्ने सूर्य। तर केही देखिएन कालो ब क्लो बादल मात्र। यस्तैलाई भन्छन् क्यारे नाटक र आख्यानहरूमा ‘यान्टिक्लाइम्याक्स’ भनेर। हुनुपर्ने कुरा भन्दा एकदम उल्टो!
बुदोमा त्यस दिन बिहानैदेखि बादल लागेको रहेछ, पूरै आकाश मेघाच्छन्न, उज्यालो छ, तर सूर्य भगवान् भने गायब हुनुहुन्थ्यो। जाडो फेरि उत्तिकै समुद्रतिरबाट आएको सिरेटो निधारबाट छिरेर पछिल्तिरबाट निस्केको जस्तो लागिरहेथ्यो मलाई। त्यसमाथि थप सकस के भने हामीहरूसँग राती टाउको लुकाउने ठाउँ पनि थिएन। ‘मिडनाइट सन्’ हेरेर रातभरि बाहिरै चहारिरहौंला भन्ने लागेको रहेछ क्यारे हामीलाई, हामीले होटेल पनि मिलाएका थिएनौं। राती. त्यहाँ कुनै होटेलमा हामीले कोठा पाएनौं। कत्रो बिजोग भयो भएको थियो हाम्रो! यही देखेर होला एउटा सानो होटेलका मालिकले दया गरेर हामीलाई रातभरिलाई दुइटा खाट हालिदिए उनीहरूको ‘प्तान्ट्री’ मा र सुत्नसम्म पायौं।! अनि भोलिपल्ट बिहान हुनासाथ सुइकुच्चा ठक्यौं फोस्केतर्फ। दिनबर जस्तो हामीले फोस्केमै बितायौं यसोत्यसो गरेर। अनि साँझपख बल्ल अस्लोतिर हिंड्यो हाम्रो रेल। भोलिपल्ट रेलबाट मैले यौटा नयाँ कुरा देख्न पाएँ र अघिल्लो दिन ‘मिडनाइट सन्’ हेर्न नपाएको दु:खको अलिकति क्षतिपूर्ति भयो।
भएको यो। बिहान राम्रै घाम लागेको थियो, हाम्रो रेल अलि पहाडी घाँचमा कुदीराखेको थियो। रेलको डब्बामा अलि हल्ला भयो, खास गरेर त्यहाँ स्कूलमा जस्ता पढ्ने केटीहरू फुर्केर कराउन थाले। नर्वेजियनमा बोलेकाले मैले बुझिनं तर उनीहरूले मपटटि फर्केर हात गोलगोल पारेर “आर्तिक सेर्केल” भनेको जस्तो सुने मैले र झ्यालबाट बाहिर हेरें। नभन्दै त्यहाँ तल रेलको ट्र्याकसँगै बडेमाको सुनौलो चक्र (सर्कल) देखें मैले, हेर्न भ्याएँ भनूँ। रेल त कुदिरहेकै थियो, त्यो चक्र ओझेल भैहाल्यो। त्यो सङ्केत रहेछ पृथ्वी-गोलको साढेछयसट्ठी डिग्रीमा हुने आर्टिक सर्कलको चिन्हको। त्यो बेला मलाई गर्व लाग्यो—यो सर्कल आर र पार पर्ने म बाहेक कति जना होलान् र भन्ने।
त्यही हो मेरो पहिलो पटककको योरोप यात्राको मैले बिर्सनै नसक्ने कुरो!