नीलम निहारिका तथा ज्ञानमणि नेपाल सम्मानित ,(खसखस सम्वाददाता)
काठमाडौं : नेपाल स्रष्टा समाजले समाज सुधारक योगमायाका
नाममा स्थापना गरिएका दुई वटा सम्मान साहित्यकार निलम कार्की निहारिका र इतिहास
तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गरेको छ । योगमाया दिवसको अवसरमा
सोमबार राजधानीमा २५ हजार एक सय ११
रुपैयाँ राशीको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान निहारिकालाई र २० हजार एक
सय ११ रुपैयाँ राशीको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान नेपाललाई प्रदान
गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति
गंगाप्रसाद उप्रेतीले निहारिकालाई सम्मान अर्पण गरेका थिए । योगमायाका विषयमा बृहत अनुसन्धान गरी
आख्यानको माध्यमबाट योगमायालाई समाजमा चिनाउन गरेको योगदानका लागि निहारिकालाई यो सम्मान
प्रदान गरिएको हो । समाजका अध्यक्ष पवन आलोक र सम्मानका संस्थापक राजेश न्यौपानेका
हातबाट योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान अर्पण गरिएको हो ।
सोही कार्यक्रममा योगमाया विशेष सम्मानबाट
हिरण्यप्रसाद भण्डारीलाई पनि सम्मान गरिएको छ । योगमायाको सान्निध्य पाउनु भएका ९९
वर्षका भण्डारीले योगमायाको व्यक्तित्वलाई बाहिर ल्याउन तथा उहाँका धेरै कुराहरुको
संरक्षणमा विशेष योगदान पुर्याएका छन् । उनका परिवारका छजना सदस्य पनि योगमायासँगै
जलसमाधीमा गएका थिए । भण्डारीले योगमायाको व्यक्तित्वलाई उजागर गर्ने असल काम
गरेको भन्दै नेपाल स्रष्टा समाजलाई १० हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरेका
थिए ।
कुलपति उप्रेतीले समाजले योगमायाका बारेमा
गरेका गतिविधि सराहनीय भएको बताउँदै नेपाल सरकारले पनि योगमायाका विषयमा विभिन्न
गतिविधिहरु शुरु गरेको जानकारी दिए । योगमायाका अझै नखुलेका तथ्यहरुको
सार्वजनिकीकरणमा सरकारले सहयोग पुर्याउनु पर्नेमा उनको जोड थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले आफूले योगमाया जस्ती बहुप्रतिभाशाली व्यक्तित्वको विषयमा उजागर गर्न र प्रसिद्धिलाई अझ उचाईमा पुर्याउन योगमाया राष्ट्रिय सम्मान स्थापना गरी विगत १० वर्षदेखि प्रदान गर्दै आएको बताए ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०६५ साल र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान २०७५ सालमा स्थापना गरी प्रदान गर्दै आइएको हो । दुवै सम्मान सामाजिक, सांस्कृतिक बेथिति र कुरीतिका विरुद्ध विद्रोह गर्ने समाजसुधारक योगमायाले ६८ जना अनुयायीका साथ अरुण नदीमा जलसमाधि लिएको दिन पारेर प्रदान गरिएको हो ।
निहारिकाले योगमायाको नाममा स्थापित सम्मान पाउँदा आफूलाई धेरै गौरव लागेको बताइन् । उनले अझ जिम्मेवारीवोध भएको र समाज रुपान्तरणका लागि अझ डटेर लाग्न प्रोत्साहन मिलेको बताइन् । यसैगरी नेपालले योगमाया त्यसबेलाको समाजमा एउटा सशक्त विद्रोहको रुप भएको र उहाँको व्यक्तित्वको प्रभाव धेरै मानिसमा परेको भन्दै विगत स्मरण गरे । सशक्त सामाजिक अभियन्ता योगमायालाई चिनाउन आफुले अझै धेरै गर्ने इच्छा रहेको पनि उनको भनाइ छ ।
समाजका महासचिव चेतनाथ कँणेल ‘हरित’ ले समाजले दश वर्षमा गरेका कार्यहरुको जानकारी दिँदै संघीय, प्रादेशिक तथा स्थानीय तहसम्मले साहित्यिक संस्थाको स्थायित्व र विकासमा सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।