हालसालैका लेखहरु : शक्ति पूजा,(बासु श्रेष्ठ) आइदेउ नव वर्ष हर्ष बटुली नेपाल हाँस्ने गरी,(दुर्गा रिजाल) नयाँ वर्षको शुभकामना,(भरतमणि मरहट्टा ) गजल,(इन्जिनियर राकेश कार्की) ठूलो बन्ने कसरी?,(विक्रम गौतम) संवाद संस्कृतिको उत्तरआधुनिक प्रयोजनामा शर्मिला खड्का,(कृष्ण गौतम) म हुॅ आजकी नारी,(लालीगुराॅस) जागित्राहरु ,(गणेश खड्का ) झरी पर्दा सम्झिन्छु......,(गणेश खड्का) ह्याप्पी भ्यालेन्टाइन्स डे,(विक्रम गौतम)

चीरहरण - नारी उत्पीडनको महाभारती ,(विक्रम गौतम)



विगत करीब एक दशकदेखि अमेरिकामा बसोबास गर्दै आएकी लेखिका नीलम कार्की निहारिका नेपाली साहित्य प्रेमीहरुका लागि नौलो नाम होइन। देश बाहिर रहेर पनि नेपाली भाषा-साहित्य क्षेत्रमा निरन्तर क्रियाशील निहारिकाको केही समय अघि प्रकाशित 'अर्की आइमाई' उपन्यासले प्रशस्त चर्चा र वाहवाही बटुल्न सफल भएको थियो। वि. सं. २०३१ सालमा पाल्पामा जन्मेकी साहित्यकार निहारिकाको यस अघि हवन (कथा संग्रह), ब्रेन फिभर (कविता संग्रह), कागजमा दस्तखत (कथा संग्रह), नीलम कार्की निहारिकाका कविता (कविता संग्रह) र बेली (कथा संग्रह) लगायतका कृतिहरु प्रकाशित भइसकेका छन्। कविता लेखनबाट शुरु भएको नीलमको साहित्यिक यात्रा कथा हुँदै उपन्यासमा मौलाएको छ। हालै मात्र उनको 'चीरहरण' उपन्यास प्रकाशित भएको छ, जुन यस वर्षको मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कार पाउन सक्ने पुस्तकहरुको श्रेष्ठ सूचीमा पर्न सफल भएको छ।
महाभारतको विषयवस्तुलाई आधार मानेर लेखिएको चीरहरण उक्त विषयवस्तुमा नारी साहित्यकारले नेपाली भाषामा लेखेको पहिलो कृति हो। एक लाखभन्दा बढि श्लोकहरुमा आबद्ध महाभारतको विषयवस्तुमा हजारौं कृति तयार पार्न सकिन्छ। महाभारतलाई आधार मानेर नेपाली भाषामा अरु पुस्तकहरु पनि लेखिएका छन्, जस्तै - राजेश्वर देवकोटाको द्वन्दको अवसान, विनोदप्रसाद धितालको योजनगन्धा, मदनमणि दीक्षितको माधवी, तर पात्र छनोट र प्रस्तुतिमा चीरहरण अरुभन्दा पृथक् छ। पृथक् यो अर्थमा छ कि लेखिकाले चीरहरणमा द्वापर युगीन पात्रहरुलाई कलियुगमा विचरण गराएकी छिन् र पात्रहरुको आत्मकथाको माध्यमद्वारा दुई युग बीचको समानता दर्शाएकी छिन्। लेखिकाले उपन्यास लेख्नु पर्ने कारण बारे प्रष्ट पार्दै भनेकी छिन्, "गद्दी मोह भएका धृतराष्ट् आज पनि छन्, भाइभाइ लडाउने शकुनी आज पनि छन्। दिनहुँ नारी अस्मिताको चीरहरण भएको घटना अखबारमा छापिन्छ, जन्मदै परित्याग गरिएका कर्ण जस्ता नवजात शिशुको कथा पनि कम छैन।" ती सबै द्वापर युगीन पात्रहरु कलियुगमा जीवित भएर आएका छन् र उपन्यासमा प्रयुक्त पात्रहरुको आत्मकथनको शैलीले पुस्तक अझ रोचक बन्न गएको छ।
नारीद्वारा लेखिएको र उपन्यासमा महाभारतको कथा पनि नारी पात्रहरुबाट मात्र पुनर्कथन गराइएकोले पुस्तक मूलत: नारी उत्पीडन र संवेदनामा केन्द्रित छ। लेखिका स्वयंको मूल ध्येय पनि कसरि युगौंयुगदेखि नारीहरु सामाजिक मूल्य-मान्यता र परिस्थितिको कारण प्रताडित भइरहेका छन् भन्ने देखाउनु भएकोले उनी आफ्नो ध्येय सिद्ध गर्न सफल रहेकी छिन्। नारी पीडाका अलावा सत्ता मोह र षडयन्त्रको कारण विक्षिप्त भएको देशको राजनैतिक दुरावस्था उपन्यासले उठाएका अन्य विषय हुन्। उपन्यासको शीर्षक चीरहरण भएकोले पुस्तक कौरव सभामा चीरहरण गरिएकी द्रौपदीको बारेमा हुनसक्ने लख धेरैले काट्न सक्छन जुन स्वाभाविक पनि हो। तर लेखिकाले आफ्नो लेखन उद्देश्य अनुसार महाभारतका नारीपात्रहरुलाई उपन्यासमा यथोचित स्थान दिएकी छिन्। सत्यवती, अम्बिका,अम्बालिका, गान्धारी, कुन्ती, द्रौपदी, उलूपी, भानुमती आदि पात्रहरुले आ-आफ्नो कथा मार्फत त्यस बेलाको राजनैतिक एवं सामाजिक परिवेशमा नारीहरुले भोग्नु परेको पीडा राम्रोसंग प्रस्तुत गरेका छन्। अधिकांश पुरुष पात्रहरु कुनै न कुनै रुपमा पीडक भएर प्रस्तुत भएका छन् - कहिले पिताको रुपमा, कहिले पतिको रुपमा, कहिले पुत्रको रुपमा, कहिले देवरको रुपमा अनि कहिले दाजुभाइको रुपमा; यस अर्थमा चीरहरण नारी उत्पीडनको महाभारती हो। यसका अतिरिक्त लेखिकाले नारीमा अन्तर्निहित ईर्ष्यालु भावलाई आफ्नै दिदीबहिनी सौता बन्न गएपछि व्यवहारमा आएको परिवर्तनद्वारा उजागर पनि गरेकी छिन्।
कथाको प्रारम्भ सत्यवतीबाट हुन्छ। हस्तिनापुर नरेश शान्तनुसँग विवाह गरेकी सत्यवतीको जन्म माछाको पेटबाट भएकोले उनलाई मत्स्यगन्धा भनिन्थ्यो। आफुसँगै जन्मेका दाजु मत्स्यराजलाई पिताले छोरा भएकै कारण सँगै राखेको र मत्स्यगन्धालाई त्यागेर अर्कैलाई जिम्मा लगाएको पीडाले सत्यवतीलाई आजीवन पिरोलिरहन्छ। भीष्म प्रतिज्ञा पश्चात शान्तनुकी महारानी बन्न पुगेकी सत्यवतीको कोखबाट चित्राङ्गद र विचित्रवीर्य नामक दुई छोरा हुन्छन। विचित्रवीर्यको विवाहको लागि चिन्तित भीष्मले आफु आजीवन ब्रह्मचारी रहने प्रतिज्ञामा भएको जान्दाजान्दै काशीराजका तीन छोरीहरु अम्बा, अम्बिका र अम्बालिकाको हरण गर्नबाट पछि हट्दैनन्। स्वयम्बर सभाबाटै बाहुबलको भरमा एउटा पुरुषले नारीहरुको हरण गर्नु कति न्यायोचित हो? नारी अधिकारको हनन् गर्नबाट भीष्म पनि अछूत रहन सकेनन। विचित्रवीर्यको अकालमै मृत्यु भएपछि उत्तराधिकारीको अभावले चिन्तित सत्यवतीको आग्रहमा अम्बिका र अम्बालिकाले वेदव्यासको सहयोगमा धृतराष्ट्र र पाण्डुलाई जन्म दिन्छन। राजनैतिक उद्देश्यको निम्ति सन्तान प्राप्त गर्न नारीले जो सँग भए पनि सहवास गर्न राजी हुनुपर्ने त्यो बेलाको बाध्यता र सत्ता आरोहणको लागि जुन सुकै पार्टीको पनि बुई चढ्ने यो बेलाको रहरमा तात्विक भिन्नता धेरै छैन। दृष्टिहीन धृतराष्ट्रसँग विवाह निश्चित भएदेखि पतिव्रता धर्मको नाममा आँखामा पट्टी बाँधेकी गान्धारीको पीडा पनि कम छैन। दुर्योधन, दुशासन लगायतका सय सन्तानकी आमा भएर पनि आफ्नै पति र पुत्रहरुको कुबुद्धिको कारण अन्त्यमा रित्तो काख हुन पुगेकी गान्धारी महाभारतको युद्ध रोक्न अनेकौ पटक प्रयास गर्दा पनि पति र पुत्रबाट हरेक पटक पराजित भएकी छिन्। त्यसमाथि आफ्नै भाइ शकुनीले आगो माथि घिऊ थपेको दृश्य नेत्रहीन बनेर चुपचाप सहन विवश छिन्। कुमारी अवस्था मै जन्म दिएकी नवजात शिशुलाई सामाजिक परिवेशको कारण त्याग गर्नु पर्ने कुन्तीको बाध्यता चीरहरणले उठाएको नारी उत्पीडनको अर्को पाटो हो, जुन अहिलेको समाजमा पनि व्याप्त छ। किशोर अवस्थामा कुन्तीले गरेको गल्तीको सजाय उनले जीवन पर्यन्त पाइरहन्छिन। आफ्नै छोराले आमा स्वीकार गर्न आनाकानी गर्नु र सन्तानबाट श्रापित हुनु कुन्ती माथि समाजले लगाएको कलङ्क हो।
पाण्डु पुत्र पाण्डवकी पत्नी द्रौपदीको पीडा महाभारतका अन्य नारीहरुको पीडा भन्दा गहिरो भएकोले लेखिकाले पुस्तकको नामाकरण पनि द्रौपदी कै जीवन घटनामा आधारित भएर गरेकी छिन्। उपन्यासमा वर्णित विशाल सभामा आजकी अस्मिताको उपस्थितिले पनि द्रौपदीको पीडालाई थप पुष्टि गर्दछ। बन्द कोठा भित्रै किन नहोस् नारीलाई आफ्नो अस्मिता लुटिनु पर्दाको जति पीडादायी कारण अरु कुनै हुन सक्दैन, अझ त्यसमाथि भरि राजसभामा आफ्नै मान्यजनहरुका अगाडि देवरबाट आफ्नो वस्त्रहरण भएको द्रौपदीलाई कति पीडादायक भयो होला। द्रौपदीको सुन्दरता नै उनको लागि अभिशाप बन्न पुग्छ र उनी बारम्बार किचक जस्ता यौनपिपाशुको तारो बन्न पुग्छिन। स्वयम्बर सभाबाट अर्जुनसँग साथ लगेर आएकी द्रौपदी नियतिवश पाँच पुरुषमा पहिले नै बाँडिन पुग्छिन। पाँच पतिसँग जीवन बिताउनु द्रौपदीको पहिलो रोजाइ पक्कै होइन। आफ्नै मित्र तथा आराध्य कृष्णबाट पनि पाँच पाण्डवकी पत्नी रहनुमा नै द्रौपदीको भलाइ हुने जाहेर भएपछि उनीसँग अन्य उपाय बाँकि रहदैन। पाँचैसँग रहँदा पनि आफ्नो सबै भन्दा प्रिय अर्जुनले पटक पटक सौता हाल्नु द्रौपदीको घाउमा नून छर्कनु जस्तै हुन्छ। पाँच पतिकी पत्नी भएकै कारण आजको समाजले पनि द्रौपदीको नाम हेयको दृष्टिले हेर्छ भलै हिन्दू धर्मशास्त्रमा उनी पन्चकन्या मध्येकी एक कन्या किन नहुन।
उपन्यासमा उल्लेखित महाभारतका अन्य नारी पात्रहरु पनि कुनै न कुनै रुपमा पुरुषबाट पीडित भएको लेखिकाले देखाएकी छिन्। उलूपीको मायालाई लत्याएर अर्जुनले सौता हालेको प्रकरण होस् वा दुर्योधनले जबर्जस्ती हरण गरेर भित्र्याएकी भानुमतीको व्यथा होस्, ती सबैमा नारी पीडित भएको पाउन सकिन्छ। उपन्यासको अन्त्यमा पीडक पुरूषहरुबाट क्षमाचायना गराएर लेखिकाले समतामूलक समाजको परिकल्पना गरेकी छिन्। पाँच सय भन्दा बढी पृष्ठमा फैलिएको चीरहरण संरचनात्मक ढङ्गले चार अध्यायमा बाँडिएको छ र केही अध्यायहरु खण्डखण्डमा विभाजित छन्। महाभारतको कथा पहिले नै थाहा पाइसकेका पाठकलाई उपन्यास पढ्न पट्ट्यार लाग्दो हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर लेखिकाले नारीवादी दृष्टिकोण प्रस्तुत गर्दै चतुर्याईका साथ औपन्यासिक जलप लगाएर कथा अगाडी बढाएकी छिन्। यद्यपि पात्रहरुले प्रयोग गरेको ‘राजकीय भाषाको’ कारण उपन्यास ठाउँठाउँमा बोझिलो प्रतीत हुन्छ, भाषा सम्पादन र सरलीकरणमा ध्यान पुग्न सकेको भए सुनमा सुगन्ध हुन्थ्यो।
चीरहरणको अर्को उद्देश्य पाठक वर्गलाई (विशेषत: युवा पिंढी) महाभारतको कथा र पात्रबारे विस्तृत जानकारी गराउनु पनि रहेकोले उपन्यासमा यस्ता घटना र पात्रहरु पनि देखापरेका छन् जुन लेखिकाको मूल उद्देश्यसँग सोझै सरोकार राख्दैनन्। तथापि तिनको उल्लेखले उपन्यास रोचक र जानकारीमूलक हुन गएको छ। हामी मध्ये कतिलाई नै थाहा होला र महाभारतका पात्रहरुको जन्मको कथा - धृतराष्ट्र किन अन्धा जन्मे? पाण्डु कसरि रोगी हुन पुगे? सय कौरव र पाँच पाण्डवको जन्म कसरि भयो? यस्ता प्रश्नहरुको उत्तरका साथै सजिलै खोज्दा नभेटिने पात्रहरु पनि समावेश गरिएकोले पुस्तकले महाभारतको बारेमा यथेष्ट जानकारी दिएको छ। यतिको गहन विषयवस्तु र दार्शनिक घनत्व बोकेको कृति तयार पार्नु पक्कै पनि चानचुने काम होइन, यसका लागि गहिरो अध्ययन, विस्तृत अनुसन्धान र प्रशस्त परिश्रमको खाँचो पर्छ। पाँच वर्ष लगाएर लेखिएको चीरहरणले लेखिकालाई नेपाली साहित्याकाशमा एक उज्ज्वल नक्षत्रको रुपमा स्थापित गरेको छ। उनीबाट नेपाली साहित्यले अझ गहकिला कृतिहरु पाओस्, नीलमलाई शुभकामना!

(लेखक विक्रम गौतम नर्थ क्यारोलाइना साहित्य समाजसँग आबद्ध छन्)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |