हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कमल दाई,(बासु श्रेष्ठ)


सन् २००९ आधाआधितिर हुनुपर्छ मैले इमेलमार्फत खसखस डटकमको लागि कुरा गर्न सम्पर्क गरको थिएँ | वहाँले भन्नु भयो 'म मे महिनातिर आउँदै छु, त्यहीं भेटेरै कुराकानी गरौंला |' मैले 'हस्' भनेर आफ्नो फोन नम्बर दिएँ | नभन्दै म भर्जिनियाबाट बाहिर भएको बेलामा वहाँ भर्जिनिया आउनु भएर मलाई फोन गर्नु भएको रहेछ | केहिदिनपछि मैले त्यो म्यासेज पाएँ अनि तुरुन्त सम्पर्क गरें | घरको ठेगाना दिनु भयो र म रेकर्डर बोकेर कुराकानी गर्न गएँ | सेन्टरभिलमा वहाँसँग पहिलो पटक भेट हुँदा मनमा अलि डरडर जस्तो थियो | किनभने वहाँ रुखो, या कडा स्वभावको हुनुहुन्छ भन्ने सुने पढेको थिएँ | त्यसमाथि नेपालको चर्चित व्यक्तित्व | तर, ति सब नकारात्मक सोचाईहरु मनको बाघ रहेछ | किनभने वहाँमा मैले त्यस्तो केहि पाइनँ | अपितु मप्रति वहाँको सदा सद्भाव र प्रेम रहिरह्यो | फलस्वरूप हामी दुई सम्पर्कमा आएदेखि अस्ति डिसेम्बर १४ सम्म फोन र इमेलमा कुराकानी भै नै रहेको थियो |

दोश्रो पटकको भेटपनि सेन्टरभिलमै भेट भएको थियो | त्यसबेला वहाँको सम्मान या स्वागतमा कुनै एक कार्यक्रम गरौँ भन्दा वहाँले नकार्नु भएको थियो | भन्नु भएको थियो 'म त्यस्तो ठुलो कहलिएको मान्छे होइन' | यसको ठिक उल्टो कतिपय साहित्यकार भनाउँदाहरु आफु आउन लागेको बेलामा कुनै कार्यक्रम या भेटघाटको बन्दोबस्त गर्न अनुरोध पाएको छु | भनाईको मतलब के भने कमल दाईमा 'ठुलो' भन्ने भावना या घमण्डको भाव कहिल्यै पाइनँ | भिडभाडबाट अलि परै बस्न रुचाउने 'साई' प्रकारको हुनुहुन्थ्यो |

वहाँसँग संगत भएपछि एक पटक मसँग सल्लाह गर्नु भयो | त्यो थियो वहाँको पाँच पुस्तामा सबै लेखक भएको | यस्तो परिवार या पुस्ता कसको होला र? भन्दै यसलाई गिनिज वर्ल्ड बुकमा दर्ता गराउन पाए कस्तो होला भन्ने जिज्ञासा राख्नु भएको थियो | मैले सो सँस्थाको वेबसाइटमा गएर केहि सोधपुछ गरेर बुझ्दा निकै लामो प्रक्रिया रहेको बुझेपछि यो विषय त्यत्तिकै तुहिएको थियो |

यही दोश्रो पटकको भेटमा मसंग सोध्नु भयो 'बासुजी, मदन पुरस्कारलाई बचाउन के गर्नु पर्ला? मैले भनें, 'दाई, यसकोलागी गुठिको आम्दानीको जरुरत पर्छ | त्यसकारण, गुठिले आयमूलक श्रोत खोज्ने या जोहो गरेमात्र आत्मनिर्भर हुन सक्छ |' मेरो जवाफमा के पाउनु भयो कुन्नि वहाँ केहि बोल्नु भएन र फेरी यो प्रसङ्ग कहिल्यै निस्किएन |

कमल दाईको एउटा बानीसँग म कायल थिएँ | त्यो हो इमेलको जवाफमा शिघ्रता | अर्थात मेरो कुनैपनि इमेलको जवाफ अबिलम्ब पाउने गर्थें | वहाँ मलाई इमेल लेख्दा 'प्रिय वासुजी' भनेर सम्बोधन गर्नु हुन्थ्यो | म भने 'कमल दाई' भनेर सम्बोधन गर्थें | यस्तै शिघ्र जवाफ दिने बानी जगदीश दाई (घिमिरे) मापनि थियो |

यसपालिको समरमा वहाँ बेलायत जानु भएको थियो | शायद उपचारकै लागि हुनुपर्छ | अहिले अनुमान गर्दै छु | यस्ता व्यक्तिगत कुराहरु भने वहाँ शेयर नगर्ने प्रवृत्तिको हुनुहुन्थ्यो | भनौं आफ्ना समस्याहरु अरुलाई नसुनाउने प्रवृत्तिको हुनुहुन्थ्यो | जे होस्, त्यहाँबाट इमेलमा हिमालखबरमा प्रकाशित पुस्तक सम्पदा स्तम्भमा प्रकाशित २५ लेखहरु मैले पढे नपढेको सोध्दै ति लेखहरु लेख्नाको उदेश्य भन्नु भयो | मैले 'त्यसो भए ति लेखहरु त पुस्तकालयभित्रको पुस्तकालय हुनेछ | सङ्ग्रहको एक प्रति मेरो भागमा अहिले नै छुट्याई दिनु होला' भनें | त्यसो भन्दा वहाँले 'त्यसो भए त्यसको भूमिका तपाईंले लेख्नु पर्छ' भनेर शर्त तेर्स्याउनु भयो | भन्नुभयो 'यसको कभरकोलागि कलाकार नरेन्द्रबहादुर श्रेष्ठसँग कुरा गरेको छु | तपाईं चिन्नुहुन्छ? भन्नु भयो | नरेन्द्र दाइसँग मेरो दुइतीन पटक भेटघाट भइ सकेको थियो | त्यसैले 'चिन्छु' भनें |

 

तर भूमिकाको सन्दर्भमा भने कहाँ वरिष्ठ साहित्यकार व्यक्ति कमलमणि दीक्षित अनि वहाँको कृति, कहाँको म अदना | मैले विश्वास गर्न सकिनँ | भनें 'यस्तो महत्वपूर्ण कामको जिम्मा लिने नेपालमा थुप्रै विद्वानहरु छन् | म कसरि सकुँला र दाई?' वहाँले भन्नु भयो 'तपाई यो काम सक्नु हुन्छ र बरु लेख्न थाल्नु |' सङ्कोच मानीमानी मैले यो चुनौती स्विकारें र ति सबै २५ लेखहरु कमल दाईले इमेल गर्नु भयो | अनि एकएक लेख पढ्दै तिनका बारेमा लेख्न शुरु गरेको थिएँ | आधाआधि सम्म लेख्ने काम भइ सकेको थियो | यसै बिच वहाँ अस्पताल भर्ना हुनु भएछ र झन्डै एक महिनाको अन्तरालपछि डिसेम्बर १४ को बिहान वहाँको फोन आयो | फोनमा वहाँले भन्नु भयो  'म आजै अस्पतालबाट घर आएको | र आउने बित्तिकै पहिलो पटक तपाईंलाई फोन गरेको' भन्नु भयो | यी वचनले म कृतकृत्य भएँ | र अनि सोध्नु भयो 'भूमिका कहाँ पुग्यो?' मैले भनें 'आधाजति सकिई सक्यो | छिट्टै सकेर दाईलाई पठाउने छु | अनि केरमेट गर्ने काम गरौंला |' वहाँले 'मलाई देखाई रहने काम छैन | एकैपटक छापिने हो | तर जति लामो या छोटो, कमीकमजोरी सबै निर्धक्क लेख्नु होला |' यस भनाईले वहाँप्रतिको मेरो सम्मान अझ बढ्यो र लेख्ने उर्जा र उत्तरदायित्व बढेको अनुभव गरें | कमल दाईले भूमिका लेख्न गर्नु भएको विश्वासको कारण अझै पनि मैले बुझ्न त सकेको छैन तर गर्व चाहि लागेको छ |

तर दूर्भाग्य, त्यो फोन वार्ता हाम्रो अन्तिम वार्ता भईदियो | दुइ हप्तापछि कुरा गरौंला भनेर छुट्टिएका हामी अब कहिल्यै नभेटिने भयौं | अचानक वहाँ बित्नु भएको समाचारले म स्तब्ध र नि:शब्द बनेँ | मलाई कताकता मनभित्र किन हो एक प्रकारको ग्लानी अनुभव भई रहेकोछ | मैले कमल दाईप्रति गर्नु पर्ने केहि काम गरिनछु कि, वहाँका कतिपय संदेशहरु मैले नबुझेर सामान्य रुपले लिएछु कि? या यस्तै यस्तै अनेक प्रश्नहरु मनमा उब्जिई रहेका छन् | तर यसको उत्तर कहिल्यै भेटिने छैन |

कताकता, कतै भूमिका लेख्न मैले नै ढिलो त गरिनँ भन्ने प्रतिप्रश्न आफैं गर्छु | तर मैले कमल दाईलाई सोधेकोपनि हो | निर्धक्क हतार नगरी लेख्नु तर मनमा लागेको लेख्नु भन्नु भएको थियो | त्यसमाथि, बेलायत छंदा टुंगो लगाएर नेपाल जानु भएपछि पनि धेरै दिन अस्पतालमै रहनु भएको थियो | यी सब आफैलाई चित्त बुझाउने बहाना बनाएको हुँ | तर मैले यो काम यथाशिघ्र सकेको भए हुन्थ्यो कि भन्ने पश्चाताप भने अवश्य लाग्न थालेको छ | 'सरी कमल दाई, मैले गर्दा यो काम अधुरो भएकोमा माफ पाउँ |'

कमल दाईको सङ्गतमा गौरव नगर्ने को होला र? त्यसमाथि म त झन् अपवादको रुपमा एक अदना थिएँ | सङ्गत शुरु भएदेखि वहाँको मप्रतिको स्नेह, सद्भाव र व्यवहारले म धन्य हुन्थें र भएको छु | वहाँप्रतिको मेरो सम्मान र आदर मेरो जिवनपर्यन्त रहनेछ |

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |