हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

अनन्तिम गुरु: वासुदा

प्रकाश सायमी, (गोधुली संसार)


यस्तै असार
  महिनामै खबर पाएको थिएँ, बासुदा वितेको

म चलचित्रकर्मीको हैसियतले काठमाण्डूमा काम गर्दैथिएँ । केही सिनेमा बनाइसकेको थिएँ राम्रा नराम्रा । सफल असफल दुवै किसिमका । एउटा राम्रो सिनेमा बनाएर बासुदालाई देखाउने रहर थियो तर त्यो मेरो अनन्तिम  थियो ।

'ही  ईज नो मोर' एक अतीतकालीन मित्रको सन्देश फोनमा ।

खबर आउँदा म नेपालको नयाँ आन्दोलनमा सरिक नयाँ राजनीतिक पार्टीलाई पाँचहजार चन्दा दिँदैथिएँ । कमरेड खगेन्द्र वा कमरेड प्रभाकर विदा भएर गएको क्षण बासुदा त्यतिवेलै जानुभएछ

वासु भट्टाचार्य सम्पूर्ण हिन्दी सिनेजगतका सफल गुरु । सफल निर्देशक । आविष्कार, तीसरी कसम, तीसरा पत्थर, आषाढ का एक दिन, आस्था का निर्देशक । प्रख्यात फिल्मकर्मी विमल रायका चेला अनि ज्वाइँ

म वासुदाको शोकमा अन्तरित हुँदै थिएँ । दुःख जसका वारेमा लाखौँ गीत कविता वा इतिहास लेखिए होलान् तर अझै अपूर्ण । त्यही दुःखमा मैले बासुदालाई निमग्न भएर सम्झेँ । रोएँ

उनी मेरो जीवनको एक प्रिय अध्याय थिए । अध्याय बने । मैले यस्तै जेठ महिनाकै आलस्यपूर्ण घाममा उनलाई मुम्बईको बीआर स्टूडिओमा भेटेको थिएँ । उनी भर्खरै नेपाल गएर आएका थिए । म उनको नयाँ सिनेमा जुन नेपालमाथि बनेको छ हेर्न गएको थिएँ ।

सिनेमा हेरिसकेर बासुदाले दो टुक प्रश्न सोधे, “के नेपालको राम्रो फिल्ममेकर हुन सक्छु त ?”

मैले जवाफ नदिईकन हाँस्नु उचित सम्झेँ । हाँसे । उनले नेपालमा यो सिनेमा प्रदर्शन गर्न अब  कति कसरत गर्नुपर्छ त्यसको पूर्व जानकारी उनलाई थिएन ।

फेरि उनले दोस्रो प्रश्न टप्काइहाले, “ के यो राम्रो नेपाली सिनेमा हुनसक्छ ?

उनले राम्रो भनेर सम्बोधन गरेको संकेत गुड भन्ने शब्द थियो ।

वास्तवमा शाही नेपाल चलचित्र संस्थानले नौलाख लगाएर बनाएको त्यो सिनेमा नेपाली सिनेमा हुन सकेन । यसको गुह्य राजनीतिमा दरवार निकटस्थ दुई शाह परिवारको टक्करले बेकाम गर्यो । पछि यो सिनेमाले भारतबाट अन्तर्राष्ट्रिय जगतमा प्रविष्टी पायो तर नेपालको नाउँ उल्लेख गर्न शानेचसं सफल हुन सकेन । हो, म नेपाल र भारतको संयुक्तिमा बनको त्यो सिनेमाको पोष्ट प्रोडक्शनमा काम गर्न वासुदालाई भेट्न गएको थिएँ । म त्यही दिनबाट उनको चेलामा रुपान्तरित हुँदैछु भन्ने ज्ञातसम्म थिएन ।

बासुदाले मलाई कुनामा लगेर भने यो सिनेमालाई नेपालीपन दिने एउटा मात्र तरिका छ, त्यो हो भाषा । \\\"द्याट यू ह्याभ टु डू, म्यान ।\\\"

उनले मलाई पुरै विश्वासका साथ त्यो सिनेमाको पटकथा र सम्बादको पाण्डुलिपि हातमा दिए । अब यो काम आजैबाट सुरु गर्नू भने ।  

पैसा कतिमैले सोध्नै नपाई उनले आफै भने बाहिर कूकीलाई भेट्नू । हि विल फिक्स यूअर रिम्यूनिरेशन  कुकी उनका म्यानेजर ।

कुकीले मेरो पारिश्रमिक तोके । म सुनेर खुशी कम चकित बढी  भएँ ।  पैसाको वारे मैले आफै नसोधेको ठीक भएछ । नमागेको राम्रो भएछ, मागेको भए कम पो माग्ने थिएछु । पैसाको मलाई जोड खाँचो थियो । म महिनाको दुई हजारमा एउटा स्टूडिओमा काम गर्थेँ, त्यो काममा कमा लागिसेको थियो । अब म दोस्रो इनिङ सोच्दै थिएँ, त्यो यहाँ हुन आईपुगेछ ।

एकैपटक उनले मलाई बाह्रहजार भने । मलाई  रिङटाजस्तो लाग्यो, भोक पनि लाग्यो । मेरो अनुहारमा देखिएको अनुभावबाट उनी विस्मित भए र त्यो वेला  कुकीले सोधी हाले, “के भो, कम भो ? ... वासुदासित काम गर्ने मौका तिम्रो लागि  ठूलो हो ।

उनी के के भन्दै थिए, मैले कति बुझेँ , कति बुझिनँ । वासुदा कुकीका निम्ति ठूला मान्छे थिए होला तर मेरा निम्ति उनी कति ठूला थिए त्यो कुकीको उँचाइबाट हेरेर पत्ता लाग्दैन थियो

भोलिपल्टबाट म बासुदाको कारको  पछिल्लो सीट हुँदै होटल सि रकको डविँग थिएटरको हलमा पुगेँ, त्यहाँ पनि म उनको पछिल्लो सीटमै बस्न पुगेँ ।

करिव बीसबाइस दिन मैले बासुदाको सहायक भएर सि रक होटलको चिया, खाजा, नाश्ता र लञ्च खाएँ । कहिले अघाउञ्जेल, कहिले भोक लागुञ्जेल । के खाने, के नखाने मलाई थाहै हुँदैनथ्यो । वासुदासित बसेर खाँदा धेरै कुरा सिक्थेँ । केही न केही उनीबाट ज्ञान संवरण  भइरहेको हुन्थ्यो । कहिलेकाहिँ उनको मंगलवाणी कानले सुन्थेँ , हृदयमा  लेख्थेँ । पछि घरमा आएर कलमले डायरीमा लेख्थेँ । उनी धेरै अर्थमा मेरा गुरु भए ।

मेरो धेरै किताब पढ्ने बानी प्रति उनलाई चिढ थियो । भन्थे, धेरै रंगको कलम बोक्ने मान्छे एकाउन्ट हुन्छ , विद्धान हुन्न ।

एकदिन उनले मेरा हातका किताब हेरेर भने, मिष्टर हिमाल । संसारमा दुइटा किताब पढे पुग्छ । यति धेरै पढ्नै पर्दैन ।

म सँधै उनीसित नेपाल र हिमालको धेरै कुरा गर्ने भएर उनी मलाई व्यँग्यपूर्वक मिष्टर हिमाल भनेर बोलाउथे

केही दिनपछि उनले ती दुई पुस्तकको नाउँ भने, शेक्सपियरको  हेनरी फिफ्थ र लुइगी पिरान्डेलोको सिक्स् क्यारेटर इन द सर्चर अफ अर्थर ।  

ती दुइटा किताब यो जमीनमा  मैले कहिले पढिनँ । त्यो नै मेरो गुरुभेँटी भयो उनका निम्ति । हा हा हा ।।

एकदिन यो कुरा उनैलाई हाँसेर मैले सुनाएँ, उनले मृदु मुस्कानकासाथ  सुने तर बोलेनन्  । उनमा रीस, राग, र बदला मैले कहिले देखिनँ । र, मप्रति पनि उनको वैरभाव त्यसपछि पनि र त्यसअगि पनि  कहिले देखिनँ ।

वासुदा कविता साहित्य खूब बुझ्ने मान्छे । तर कविलेखकलाई माया नगर्ने भनेर उनलाई चिनिन्थ्यो । किनकि उनले कविको पैसामा बनेको पहिलो फिल्म तीसरी कसमलाई चुर्लुम्म डुबाइदिएको आरोप थियो । गीतकार शैलेन्द्रले गीत लेखेर कमाएको पैसामा राजकपूर, वहिदा रहमान अभिनीत तीसरी कसम बासुदासित बनाएका थिए । सिनेमा नचलेर निर्माता शैलेन्द्र खुस्किए तर त्यो दुर्दान्त घटनाको  गाली आजसम्म पनि वासुदा खपिरहेका छन् । साहसी मान्छे वासुदा ।  

गुरुदत्त पछि शैलेन्द्रको मृत्यु हिन्दी सिनेजगतको लोकप्रचलित तर अलोकप्रिय कथा हो । सजनवा झूठ मत बोलो खुदा के पास जाना है गीत लेख्ने शैलेन्द्र मर्नुको दोष वासुदाको थाप्लोमा आयो , उनी त्यसका शिकार भए । उनी भन्छन्, “शैलेन्द्र गए पछि फिल्म चल्यो तर मैले के गर्ने ? ”

साँच्चै फिल्म खूब चल्यो , हाम्रा धु्बचन्द्र गौतमले त त्यस फिल्मका वारेमा विमर्श र प्रस्तुति पत्रिकामा पानाका पाना लेखेकापनि छन् । साँच्चै राम्रो यात्रा फिल्म हो

वासुदा हिन्दी, अँगे्जी, उर्दू र बँगाली कुनै पनि भाषा सहजतापूर्वक बोल्न सक्थे । हिन्दी उनी अड्की अड्की बोल्थे । अँग्रेजी घमण्डले बोल्थे, तर  आफनै लवजमा । उनी  मनले बोल्नु  पर्यो भने बँगालीमा बोल्थे । बँगाली उनको मातृभाषा थियो । अरु जुनसुकै भाषामा बोले पनि बासुदाको एउटा भाषा बुझ्न सजिलो थियो, उनको हृदयको भाषा । उनी स्पष्ट बोल्थे, आँखा ओठ र हाँसोबाट एकैपटक ।  

वासुदाले  बोलेपछि सामान्य मान्छे बोल्नै सक्तैनन्, सम्मान्य मान्छे उनीसित तर्क गर्नै चाहँदैनन्  । अति सामान्य मान्छे त उनी बोलेपछि सुन्न मात्र योग्य ठहरिन्छन् , त्यसमध्ये म पनि एक पर्थेँ । मेरो ज्ञानले त्यही भन्छ ।

उनी जस्तै विद्धान, चोर, डाँकूलाई पनि आफ्नो बोलीमा तह लगाउन सक्थे । त्यस्तै एउटा घटना मैले धर्मयुग साप्ताहिकमा उनकै पढेको थिएँ । दसवर्षअगि छापिएको उनको यो समाचार उनलाई मैले एकदिन सुनाउँदा उनी चकित भए चिच्याएका थिए,

एई यहाँ हेर एउटा एलई ।

वासुदालाई यस्ता पुरानाविराना कुरा सुनाएर म हैरान पारिरहन्थेँ । उनी पहिलो मान्छे थिए जसले मलाई एल आइ नाम दिएको, जुन नाउँले म अझै जीवित छु । एलआइको अर्थ हुन्छ, लिविँग इन्साइक्लोपेडिया

धर्मयुग साप्ताहिकको त्यो घटना साहै सानो अक्षरमा सम्पादकीयको छेवमा  एक कुनामा छपिएको थियो । घटना यस्तो थियो, उनी चम्बल घाटीमा तीसरा पत्थरको छायाँकन गर्न गएका । त्यतिवेला त्यहाँका कुख्यात डाँकू मलखान सिंहलाई उनले थप्पड हानेको विस्मित कथाका उनी साहसी नायक थिए ।

त्यो घटना मैले उनलाई हुबहु सुनाउँदा उनी त खुशी भए उनका अन्य चेला चपेटा मसित दूर भए । मलाई उनैले सतर्क बनाए, यसो भनेर, इमानदारी तिम्रो चरित्र हो भने ठीक छ । नीति हो भने तिमी चाकरी गर्दैछौ ।

म त्यही दिन तरङ्गित भएँ, ई भलामानुषसित ।

वासुदाले मलाई काम दिए, ज्ञान दिए । जीवन जिउने वृहत्कला सुक्ष्म कोणले सिकाए । उनी जान्दथे, जीवन जिउने हरेक कला । उनी आफ्नो शर्तमा बाँच्न जान्ने एक कुशल कलाकार ।

उनलाई उनका सजातिय शूड भन्थे, छली । मलाई लाग्छ, उनले जीवन जिउने क्रममा यस्ता धेरै शर्टकर्ट अपनाए जसले गर्दा उनी कसैका नजरमा स्वार्थी, कसैका नजरमा उग्रअह्मी , कसैका नजरमा जीनियस देखिन्थे

उनी मेरा प्रिय लेखक मोहन राकेशका घनिष्ठ मित्र तर कटु आलोचक । दुवैको सम्बन्धीकरण व्यावसायिक मोडमा आएर छताछुल्ल भयो । लेखक कवि उनका प्रिय पात्र थिए तर सीमितताको आधारमा । पञ्चवटी बन्दै गर्दा उनीसित भारतका दुई लेखक वरपर थिए, पञ्चवटीका कथाकार कुसुम अञ्सल र सम्बाद लेखक नवेन्दु घोष । ती दुवैसित दादाको सम्बन्ध विजुली र पानीसित जस्तै थियो

पञ्चवटीमा तीनजना महिला उनका नजीक थिए, निर्माता शोभा डाक्टर, अभिनेत्री अनुराधा तरफदार र लेखिका अंशल । ती तीनैजना मध्ये उनी अनुराधासित अति नजीक र आत्मीय थिए । यो कुराको खुलासा एकदिन उनले गायक उदीत नारायण झासित गरे, तिम्री पत्नी पनि एयर होस्टेस हुन् हैन र ?

उनले हो भन्ने वित्तिकै दादाले भने,“ यहाँ काममा लिएर नआऊ है, एयर होस्टेस मेरो जीवनको कमजोरी हो । ऊ.. अहिले सम्म अनुराधासित म छुट्न सकेको छैन । ...

अनुराधा तरफदार त्यतिवेला इन्डियन एयरलाइन्समा कार्यरत थिइन् भने उदीतकी जीवनसंगिनी हाम्री गायिका दीपा गहतराज, एयर इन्डियामा । उदीत र दीपासँगै त बस्थे तर लिभिन् फ्रेन्डका रुपमा । बैधानिक विवाह नभएको अवस्था थियो त्यो ।

वासुदाले हाँसेर भने, “दुवै एयर लाइन्सको सेवा मलाई अपार लाग्छ ।

उदीत सौभाग्यवश भोलिपल्टबाट काममा आउन छोड्यो उस्लाई आफ्नी हुनेवाला पत्नीको माया लागेको हुँदो हो

वासुदाले मलाई एकदिन ठ्टटामा सोधे, “तिमी कहिले देखि मलाई चिन्थ्यौ मिष्टर हिमाल ?”

मैले सज्जनतापूर्वक आँट गरेर भनेँ, “जुन दिन तपाईको नाउँ स्टार राजेश खन्नासित जोडिएर आयो । र, त्यो दिनदेखि इज्जतले लिएँ जुन दिन तपाइँले दिलिपकुमार सित सिनेमा बनाउँदिन भन्नु भो

यि दुई घटनामा अघिल्लो खतरापूर्ण थियो भन्नु वा उनलाई सुनाउनु तर पनि उनलाई मैले भनेँ । उनी बलिऊडमा राजेश खन्नाजस्तै चर्चित थिए, वाइफविटर अर्थात् पत्नीपीडकका रुपमा ।  उनी पत्नीलाई पिट्नेमा कहलिएका थिए । मैले त्यो घटना गर्वले सुनाएँ ।

सानो केटो अलि उच्छृङ्खल कुरो ,उनलाई शायद पचेन तर उनले देखे ममा रहेको पहाडी कठोरपन अनि नेवारमा पाइने  सांस्कृतिक कोमलपन । राजेश खन्ना रक्सी खाएर स्वास्नीलाई पिट्थे भने बासुदा कुरैकुरामा निहुँ खोजेर । बासुदाकी पत्नी रिँकी भट्टाचार्य एक चर्चित पत्रकार अनि प्रसिद्ध फिल्मनिर्देशक विमल रायकी छोरी । अनि अमिर खानलाई होली फिल्ममा ब्रेक दिने आदित्य भट्टाचार्यकी आमा । तैपनि परिचय त कुटाई खाने पत्नीका रुपमा व्यापक र विस्तार थियो । म भन्न चाहन्नथेँ, बासुदाले मलाई सोधी हाले । सिनेपत्रकार देवयानी चौवाल, भारती एस प्रधान वा खुशवन्त सिंहले यसवारेमा प्रशस्त लेखिसकेका थिए प्रभुजीका वारेमा । मैले सबै वेलीविस्तार लाइदिएँ उनी चूप भए । केही वेर पछि भने , “एलईको सब मालूम है ।

त्यो घटनापछि पनि वासुदा र मेरो वीचमा हाँ र ना मा मात्र कुरा हुनथाल्यो । तर उनले मलाई माया गर्न छोडेनन् , भन्थे, यो खतरनाक छ तर इमानदार छ है ।

उनको यो मंगलवाणी उनका सबै आसेपासेले ग्रहण गरिसकेपछि मेरो परिचयीकरण अलि बेग्लै हुँदै गयो

बासुदा मसित जे पनि कुरा गर्न चाहन्थे, म खुल्ला हुन्थेँ । कहिले  त्यो मोहन बगानको फुटबलको कुरा होस् वा इडन गार्डेनको मौमडियन झगडा वा फुटबलर श्याम थापाको ब्याक् भलि । वा, कुनैदिन सत्यजित रे को प्रतिवन्धित सिनेमा सिक्किम को कुरा । वा, उनले बनाएको इन्दिरा गान्धी वृत्तचित्रको कुरा, श्रीमती गान्धीले उनको निर्देशन नमानेर तस्वीर साडीको सप्कोले पुछ्न नमानेको कुरा । कहिले विनाप्रसँग सैलारी र मोजार्टको द्वन्द्वको कुरा । कहिले बहादुर शाह जफरका पत्नी र छोराले ब्रिटीशसित मिलेर गरेको षड्यन्त्रको कुरा । यस्ता अनेकाअनेक विषयमा हामी छलफल गथ्र्यौँ तर उनी हार्न नजानेपनि रमाउथे । म चैँ अलि बढी उनलाई मनोरञ्जन दिइरहेकोजस्तो महशूश गर्थेँ , त्यो मेरो कैशोर्यपन मलाई मनपथ्र्यो । म कहिलेकाहिँ सतर्क पनि हुन्थेँ उनको अति आत्मीयताबाट । मुम्बई रजतपटमा  त्यतिवेला नाम चलेका गे (समलिङ्गी) हरु देखापरिसकेका थिए, संगीतकार अजीत बर्मन जसले भर्खरै उदीतनारायण झालाई मकहाँ आउँदा सँधै हाफ प्यान्ट लगाएर आउनु है भनेर उदीतको  सातो खाइसकेको थियो , चरित्र अभिनेता जानकीदास अनि अभिनेता दीपक पराशर पनि चर्चामा थिए त्यस्तो उग्रगामी भूमिकामा ।

वासुदा त त्यस्तो हैन, सोच्थेँ । अचम्म लाग्थ्यो त्यो मेरै गुरुप्रति कस्तो डर ??

बासुदा एक असल गुरु पक्कै थिए उनका चेला बासु चटर्जीको टीभी धारावाहिक रजनी त्यतिवेला हिट थियो दूरदर्शनमा । अरु पनि उनका चेला उनलाई भेट्न आउथे । समकालीन उनलाई परबाट माया गर्थे

हामी सँगै काम गरिरहँदा एकदिन एउटा अशुभ खबर आयो, स्मिता पाटिलको देहान्त भयो भन्ने, हामी चकित भयौँ , एकतीसवर्षको उमेरमा एक कलाकारको नष्ट । म त रोएँ, वासुदा त रोएनन् बरु भने तर्कातीत भएर, एकतीसवर्ष प्रतिभाशाली कलाकारलाई कठीनवर्ष हो । संगीतकार शुबर्टलाई हेर ।

चुनौतिले भरिएको कुरा पनि उनी हाँसेर सुनाउथे , त्यो उनको क्षमता थियो । समानतामा भन्दा समान अवसरमा विश्वास गर्ने बासुदा कलकत्तालाई राजीव गान्धी सरकारले गरेको अपमानप्रति सदैव आक्रोशित हुन्थे ।

राजीव गान्धीमा कुनै सम्भावना छैन उनी भन्थे तर भारतीय सिनेमामा उनी प्रशस्त काम गर्न सकिन्छ उनको दावा हुन्थ्यो । उनी हिन्दी सिनेमालाई सूत्रमा हैन, संरचनामा ढाल्नुपर्ने कुरामा जोड दिन्थे तर उनको आफ्नो सूत्र चै हिन्दी सिनेमामा कहिले काम आएन भन्थे उनी

पञ्चपटी पछि बनाएको आस्था उनको स्मरणीय चलचित्र हो तर चलेन । राजेश खन्नालाई लिएर बनाएको आविष्कार नचल्नुमा उनी भारतका पहिलो  सुपरस्टार राजेश खन्नाको उग्रअहम्लाई दोष दिन्छन् ।

एकदिन यथार्थवादी फिल्मनिर्देशक मुजफ्फर अलीको अञ्जुमन हेर्न होटल सी रकको प्रिव्यू थिएटरमा हामीलाई निम्ता आयो । 'उमराव जान' बनाएर ख्याति कमाएर बसेका अलीको यो फिल्म महत्वपूर्ण थियो यसमा पहिलो पटक शबानाले गीत गाएकी थिइन् ,फैज अहमद फैजको । मुजफर अलि नाना पाटेकरलाई हिन्दी सिनेमामा मौका दिने एक सार्थक निर्देशक थिए । फिल्म धीमा गतिमा थियो , मेरो लागि त त्यो समय धीमा भएकोमा खुशी नै थिएँ । त्यहाँ भएका एकेक हस्तिसित मेरो परिचय हुँदै थियो पहिलोपटक । नायिका शबाना आजमीसित मेरो काठमाण्डूमै परिचय पनि भएको र झगडा पनि भइसकेको थियो, त्यसैले नवीनीकरण गर्नु परेन । अरु त मेरा निम्ति आकर्षण नै थिए ।

फिल्म सकेपछि चियापान चल्यो । गफगोष्ठि चल्यो । त्यस्तो चलन थियो त्यहाँ त्यतिवेला । तर वासुदा त फिल्म नै छोडेर गइसकेका थिए म त एक्लो परेँ ।

पछि थाहा भो उनलाई फिल्म निकै बोर लाग्यो रे । उनी गए पछि मपनि एक्लै फर्केँ ।

आज धेरै दिनपछि सम्झिन्छु, सिनेमा नीतनवीन प्रयोग गर्न रुचाउने वासुदा किन सारा काम अधुरो छोडेर छिटै गए , आफ्नै समकालीन भन्दा छिटो

एशियाई सिनेमामा पहिलो पटक विवाहेतर सम्बन्धमा खुला बहस गर्न सक्ने फिल्मकार आफ्नै जीवनको सम्बन्धमा, परिणयको प्रकरणमा केही नबोली चूपचाप किन गए ?

म अझै पनि मौनतापूर्वक त्यही कुरा सोच्दैछु ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |