हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

अभ्यस्त छैन

रजनी ढकाल, (धापाखेल)


“भोलि घरमै हुनुहुन्छ ?”
“खै के भर र ? आज त छु, जीवनको ग्यारेन्टी कसले दिन सकेको छ र ?”
प्रत्युत्तरमा हाँसो आउँछ । म पनि अनायासै तन्काइदिन्छु ओठहरू । छोटो कुराकानीमा नै बन्द हुन्छ साथीसँगको सञ्चार सम्पर्क । साथीसँगको वार्ताले पनि खुशी हुन सकिरहेकी छैन । म राम्ररी कुरा गर्न चाहिरहेकी छैन भन्ने कुरा बुझेर हुनुपर्छ, उताबाट पनि आवाजले जाँगर गरे जस्तो लाग्दैन । आजै हो, केही समय मात्र भएको छ, मलाई कसैसँग राम्ररी बोल्ने जाँगरै लागेको छैन ।
बाहिर कौसीमा बसेर सोचिरहेकी छु, आज फोनका घण्टीहरूले किन पीडा दिइरहेका छन् । साँच्चै तर्सिएको छ मेरो मन टेलिफोनदेखि । यसको घण्टीदेखि । भर्खरै बजेको मोबाइलमा पनि त म रमाउँन सकिनँ ।
विचरा मेरो टेलिफोन ! टाढा रहेका आफ्नाहरूसँग यसैले त भेटाउँछ, यही त हो मेरो साथी सबैसँग खुशी साट्न साथ दिने । यसैले त मेरो खुशी बोकेर ल्याउँछ । साँच्चै टेलिफोन नभएको भए म के गर्थें होला ? आफन्त र मित्रहरूसँगको दूरी कम गरिदिने फोनले आज भने मेरो मनमा दुखद अनुभूति गराइरहेको छ । बरू आज टेलिफोनको घण्टी नबजेकै भए हुन्थ्यो झैं लागिरहेको छ । के टेलिफोन मेरो मनोदसा बुझेर बज्न र नबज्न सक्छ ? सक्दैन । टेलिफोन मान्छे हैन, कम्तीमा म जस्तो मान्छे होइन । घटनाहरूले धेरै नै छोइहाल्ने, पिर परे रोइ हाल्ने, खुश परे हाँसिहाल्ने । म टेलिफोन झैं स्थिर हुन सक्दिनँ । टेलिफोन घटनाहरू बोक्छ तर स्थिर छ । म घटनाहरू बोक्छु र अस्थिर छु ।
घरैमा छु तर मन कता कता डुलिरहेको छ । हिजो अस्ति जस्तै हो आज पनि, आज पनि उसैगरी बाँचिरहेछु । साथीका, आफन्तका फोनहरू आइरहेका छन्, हिजो जस्तै आज पनि मित्र बनेको छ टेलिफोन । तर आज म दुखिरहेछु । टेलिफोनको घण्टी नबजे पनि हुने जस्तै लागिरहेछ । कसैसँग कुरै नगरूँ जस्तो लागिरहेछ । आज मलाई आवाजहरू भयानक खबरमा परिणत हुने त्रासले गाँजिरहेछ । किन टेलिफोन यस्ता भयानक खबर पनि बोक्छ ? उफ् मैले आज ती मान्छेलाई किन टेलिफोन गरें होला ? त्यति नराम्रो खबर सुन्न ?  कुनै पनि कुरा अपेक्षाभन्दा बाहिरको भएपछि किन अत्याउँछ मलाई ? के म केही सहन नसक्ने मान्छे हुँ ? तर आजसम्म त जिएकै छु त जिउनु भनेको सहनुको पनि पर्याय हो, इच्छित चाहना परिपूर्तिको साथसाथै । तर, मैले आज साथीलाई किन भोलिको अनिश्चिातता प्रकट गरें त ? किन निराशाको शिशिर झरेको छ ममा ?
किन यसो भनिरहेछु म आज ? मलाई किन थाहा छैन भोलिको बारेमा ? म भोलि हुन्छु ? थाहा छैन । किन थाहा छैन ? म हुनका लागि बाँचिरहेछु या नहुनका लागि ? अर्को बिझ्नेु प्रश्न ले आतंकित हुन्छ मन ।
आकासभरि बादलका टुक्राहरू भरिएका छन् । दिउँसैदेखि धुम्मिएको आकास अझ अँध्यारो हुने तरखरमा छ । कतिबेला र कहाँबाट आजको सूर्य अस्त भयो ठम्याउन सकिरहेकी छैन । हरेक साँझ गोधूलिको रक्तिम आभामा भरिने पश्चि मको आकास रङहीन देखिइरहेछ । आज आकाससँग पहाडका शिखरहरू पनि त्यसै निराश छन् । पहाडहरू पनि आज मबाट टाढा टाढा लागिरहेछन् ।
हो, भर्खर साँझ पर्न लागेको छ । कौसीमा बसेर देखिरहेछु वरिपरिको सुन्दर दृश्यस । म यी दृश्यलहरूमा सधैं सधैं छरिएकी हुन्छु । बाँडिएकी हुन्छु । फेरि यसैलाई समेटिरहेकी हुन्छु । मलाई म हुनुको अस्तित्वबोध गराउने परिवेश हो यो । त्यसैले यो परिवेश सधैं आफ्नो लाग्छ, मनमा खुशी भरिएको बेला पनि बेदनाले पुरिएको बेला पनि । यो ठाउँ मलाई बानी परेको छ । जे हुन्छ यहीं त हुन्छ मेरो जीवनमा । मलाई खुशी साट्न पनि यही ठाउँ चाहिन्छ दु:खमा मन खोलेर रुन पनि । आफ्नो ठाउँ आफ्नै हो । मनले स्वीकारेको ठाउँ । जिउन बानी परेको ठाउँ । मान्छे घरमा आफ्नोपन कसरी पाउँछ ? आफन्तहरू छन् भनेर ? यो मात्र होइन, मान्छे वरिपरिको प्रकृतिसँग यसरी अभ्यस्त बनेको हुन्छ उसलाई सजिलो हुन त्यो ठाउँ हुनुपर्छ । मलाई मेरो ठाउँको हावा, माटो, वरिपरका रुखहरू, नजिकैको सानो जंगल, खेतका गराहरू, यहाँ उम्रिएका झार, चउरमा खेलिरहेका केटाकेटीहरू, परपर पसलबाट आएको जाँड र खानेकुराको गन्ध.... सबै सबै आफ्नो लाग्छ । सजिलो लाग्छ । म यिनीहरूसँग बानी परेकी छु । पल्लो घरमा भुकिरहने कुकुरको आवाज, कार्पेन्टरले काठ काट्दा निस्किरहने एकोहोरो कर्कस ध्वनि, त्यहींबाट बजिरहने रेडियोको धून, यो ठाउँको पातलो हावा, वरिपरि फुलिरहेका सुन्दर फूलहरू, बाटो र परपर घरबाट आइरहेका कल्याङ मल्याङ आवाजहरू यी सबै सबै मेरा हुन् । घर अगाडिको खालि जग्गामा लथालिंग फालिएको काठको धूलो, बारम्बार हावाले उडाएर मेरो घरभरि छरिदिने बालुवाको थुप्रो, छिमेकीले अलपत्र फालेका कागज र प्लाास्टिाकका टुक्राहरू ... म यिनमा अभ्यस्त छु । यी छन् र त आफू छु भन्ने लाग्छ मलाई ।
थाहा छैन आज मैले साथीसँग किन त्यस्तो उत्तर बोलें ? के ममा निराशाका शिखरहरू चुलिंदै छन् ? किन राम्रो लागिरहेछ मलाई खेतमा फुलिरहेका रायो र मूलाका पहेंला सेता फूलहरू ? किन रमाइरहेछु म पर चउरमा खेलिरहेको छोराको उफ्राइसँग ? किन तानिरहेछ मलाई उनीहरूको छताछुल्ल हावामा उडिरहेको हाँसोले ? यो सिरसिर बतासको स्पर्शले किन आनन्दित भइरहेछु । मायालुको मिठो स्पर्श लागिरहेछ । कताकता मदाकताको अनुभूति पनि । परको खेतको खालि पाटोमा शिशिरमा फुस्रिएका झारहरू हरियो रङ ओडेर माथि माथि उठिरहेछन्  । तिनका सपनाहरू आकास उचाल्ने योजनामा छन् ।
पल्लो घर जसलाई मैले सधैं धिक्कारें, नराम्रो र स्यहारहीन हुनाको कारणले, आज सुन्दर रङमा सजिएको छ मैरै अगाडि । बेछन्दको आकारका रूपले गर्दा कहिल्यै स्वीकार्न सकिनँ आज त्यही घर आफ्नो अनुरूपको सुन्दर यौवनले सजिएकी युवतीझैं बनिरहेको छ । लागिरहेछ, यो घर आज जीवनका सयौं सपनाहरू बोकेका आँखालाई स्नेहले माया दिने अभिभावक हो । धेरै वैशालु मनहरू बोकेको तन्नेरी जोश हो यो घर ।
भर्खरै त हो मैले टेलिफोनमा कुरा गरेको, बुबाले भन्दै हुनुहुन्थ्यो, “मलाई नातिनातिनाहरूको असाध्यै माया लाग्छ । म त उनीहरूसँग खेल्न मन पराउँछु ।” शिरमा हिमाल हँसाएका मेरा बाबालाई भोलिको जीवनप्रति कत्रो आशा । उहाँभन्दा २४ वर्ष सानी भएर पनि मलाई आज जीवनप्रतिको यो नकारात्मकता किन ? किन निराशले घेरिरहेछ मलाई ? किन आज साथीसँग टेलिफोनको छोटो कुराकानीमा भोलिको अनिश्चिातता बोलें ? के म रहन्न त ? आफू नरहनु भनेको के हो ? नहुनु वा नरहनुको अनुभूतिले  मलाई दु:खाउँदैन किन ? किनकि यसमा मेरो अनुभव छैन । म अभ्यस्त छैन आफू नहुनुमा । केवल अभ्यस्त छु बाँच्नुमा, भोग्नुमा ।
बढ्दो यौवनमा हुर्किरहेको छोरासँग अकस्तमात सोध्छु, “जीवन के हो ?” ऊ दन्तलहरमा सेताम्मे हाँस्छ, “कस्ले भन्न सक्छ र जीवन के हो ? हजुर यस्ता उत्तरै नआउने विषयमा किन घोत्लिनु भएको ? छाडिदिनुस् यस्ता चिन्तन, रिल्याक्स गरेर नबसेर !”
बिस्तारै बढ्दै गएको अन्धकारले बोल्छ, “जीवन कालो सिवाय केही होइन रहेछ ।” आशाका किरण ओढेका बिहानीहरूलाई सोध्छु, “जीवन भन्नु उदाउनु हो, टुसाउनु हो, हरेक संभावनाको लागि नौलो पाइलो उचाल्नु हो । छिप्पिंदै गएको दिन सँग सोध्छु, “जीवन कर्मको पर्याय हो । व्यस्तता हो, लगन हो, कार्यप्रतिको विश्वाकस हो ।”
आज फेरि साँझ परेको छ हिजो जस्तै । तर हिजोको साँझ मन कस्तो थियो मेरो, मेरा मनमा कस्ता अनुभूतिहरू थिए म भन्न सक्दिनँ तर आज म जीवनको क्षणिकतासँग खेलिरहेछु । भोलि म रहन्छु रहन्न सोचिरहेछु । सोच्ने मन छ मसँग त्यसैले सोच्छु, तर जे हुन्छ सोचाइले हुन्न, प्रकृतिको नियमले हुन्छ । सायद यसको उत्तर खुइलिएर फेरि पाउलिएका बिरुवाहरूसँग पनि छ । फुलिरहेका तोरीका फूलहरूसँग पनि छ । खेतभरि हरियाली पोखिरहेका लसुन र प्याजका पातहरूसँग पनि छ । म हुनुसँग रमाइरहेछु, नहुनुसँग गुनासिइरहेछु ।
रङ खुइलिंदै गएको आफ्नै घरसँग, पाप्रापाप्रा उक्किन थालेका कौसीका हुक्काहरूसँग, फुसफुसी प्लास्टर उक्किएका भित्ताहरूसँग, चरक्क चर्किएका पर्खालहरूसँग सोध्नु र उडिरहेको बताससँग, चराहरूसँग, पाउलिएका बोटहरूसँग, यौवनको खुला चौरमा बुर्कुसी मार्दै गरेको युवकसँग मेरो प्रश्नको उत्तर खोज्नु नितान्त फरक छ । जीवन जिउनुको एउटा कालखण्ड पाएको मेरो जीवनका अनन्त बाटाहरूमा मैले जुन बाटो रोजें आफैं जानेर रोजें कि परिस्थितिले परिल्याएर रोजें यहाँनेर फेरि दोधारे हुन्छ मेरो मन ।
फेरि फोनकै आवाजले तानिन्छु । मनभरि उही कुरा गुञ्जिरहेको छ अघिदेखि । यही आवाजले त हो मलाई विचलित बनाएको मैदेखि, जीवनदेखि । विश्वासै गर्न सकिरहेकी छैन नगरूँ पनि कसरी ? आफैंले फोन गरेको मान्छेले मलाई स्पष्टसँग भनिरहेका थिए, “तपाईँलाई कसरी बताउनु, नबताउनु पनि कसरी उहाँ कसरी आउनु होला र छिट्टै ?... हस्पिटलले बिदा गरेको मान्छे लिएर हिंडेको मान्छेलाई... कसरी भन्नु... के भन्नु... के आशा गर्नु ? यहाँ काम अड्किएको छ, भन्नु पनि पो कसरी ? यस्तो अवस्थामा म कसरी गर्न सक्छु र तपाईँको काम ?”
“तपाइँको मतलब के हो ? हस्पिटलले बिदा गरेको भनेको .... के अब उहाँको उपचार हुन्न ?”
“हो त लास्ट स्टेज भएको रहेछ, धेरै रहे २०/२२ दिन पो भने डाक्टरले ।”
हे भगवान् त्यति सुन्दर दाम्पत्य जीवनलाई किन आँखा लगायौ ? अब त्यो दाइको जीवन ? कसरी बाँच्नु हुन्छ ? एकैचोटि सम्झिएँ उहाँहरूको सुखी र सुन्दर परिवारलाई । आँखाभरि भाउजूको अनुहार नाचिरह्यो, “नानी म पनि हस्पिटलबाट गएपछि किताब छपाउँछु ।” “हो त, वैशाख ३ गते उहाँको जन्मदिन, त्यही दिन विमोचन गर्ने योजना छ उहाँको ।” दाइले थप्नु भएको थियो । हस्पिटलको बेडबाट भोलिको सपना देखेकी भाउजूको अनुहारले तानिरहेछ मलाई ।
एकैचोटि भाउजूलाई गाउँ लगेको खबरले झस्किएकी थिएँ । दाइले धेरै सकारात्मक कुराहरू सुनाउनु भएको थियो । आफ्नो ठाउँ, आफ्नो घर, आफ्ना मान्छेहरू, नजिकका आफन्त डाक्टर आदि आदि । दाइका सबै कुराहरू आशावादी थिए । कुनै अप्रिय कुराको लागि शङ्कै गर्नु नपर्ने । तर एक दिन उहाँले लेखेको एस एम एसले मलाई निकै झस्काएको थियो, “अब आँसु कम लेख्नु् पर्योद, बुद्धि र ज्ञान बढी लेख्नु  पर्योन भन्ने सोचेको थिएँ, तर प्रकृतिले मलाई आँसु नै लेख्नल जन्माएछ, म फर्किंदै छु त्यही आँसुकै दहमा ।” आज बल्ल बुझिरहेछु उहाँको अभिव्यक्तको अर्थ । कहिल्यै निराशाको शब्द ननिकाल्ने मान्छेको मनमा यस्ता कुरा त्यत्तिकै त आएनन् ! मैले उतिबेला उहाँको यो कुराको अर्थ निकाल्न जानिनँ, साँच्चै म उहाँका यस्ता उदासिनतासँग अभ्यस्त थिइनँ । जीवनप्रति सधैं सकारात्मक सोचाइ देख्नेथ मान्छेलाई पनि दु:खले घेर्छ ? म अभ्यस्त थिइनँ । 
उफ् ! त्यही भएर पो दाइले भाउजूलाई आफ्नै ठाउँमा लैजानु भएको रहेछ । काठमाडौंको यो सुविधा छोडेर बिरामी लिएर मान्छे किन गाउँ जान्छ ? मनमा धेरै पटक प्रश्न आए पनि यस्तो उत्तर खोजेको थिएन मनले । मलाई लागेको थियो, भाउजू आफ्नै ठाउँमा सजिलो मान्नुहुन्छ, निको मान्नुहुन्छ । मलाई जस्तै उहाँलाई आफ्नै घर वरिपरिको प्रकृति प्रिय लाग्छ । त्यही मिठासमा पुग्नुभएको छ । मैले कहिल्यै कल्पना गर्न जानिनँ मृत्युको लागि पनि मान्छेलाई आफ्नै ठाउँ चाहिन्छ । सायद म यसमा अभ्यस्त छैन । भाउजूको यस्तो गहिरो अस्वस्थताको कल्पना गर्न जानिनँ मैले । सायद यसमा पनि अभ्यस्त छैन म । म किन अभ्यस्त हुन सक्दिनँ यस्ता कुराहरूमा ? किन ? किन ? कसैले दिन सक्ला र यसको उत्तर ?

२०६७-१२-३ बिहीबार

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |