आमा त्यो आयो
गोपाल रेग्मी , (मनासस, भर्जिनिया)
आमा त्यो आयो,
तिमीले भने जस्तै
बिहानको सूर्य झैं तेजिलो हुँदै आयो,
भर्भराउँदो आगो र शिशिरको हिउँले झैँ छुँदै आयो |
एउटा दीब्य तस्बीर
सुखद सपनाको,
गलामा झुण्ड्याएर उ
दशकौं पछि फिरेको थियो,
मातृभूमिको अस्मिता जोगाएर
युध्द भूमिबाट सगर्व घर फर्केको योध्दा जस्तै उ,
एकै पटक हाम्रा घर घर र बस्ती बस्तीमा छिरेको थियो,
हो आमा, तिमीले भने जस्तै उसले
शीत झैँ टल्कने हतियार कम्मरमा भिरेको थियो,
हामी असीम खुसी थियौं, उसको आगमनमा
बैरीलाई मुटु हल्लाउने गरी पीरेको थियो |
तर आकाशमा घाम एकजुवा नसर्दै
शनै: शनै: त्यसको तेज वैलिंदै गयो,
हेर्दा हेर्दै ग्रहणको कालो फैलिंदै गयो,
त्यो दीब्य तस्बीर मैलिंदै गयो |
ग्रहणले अशुभ हुन्छ भन्छन,
अहिले अशुभै अशुभ मात्र देख्छु, आमा!
अँध्यारोले होला,
अझै हिंड्दै छु भन्छ
तर बाटोमा धर्मराए जस्तो लाग्छ |
मीठा सपना अझै बाँड्दैछ शब्दमा
तर आमा, मलाई उ बर्बराए जस्तो लाग्छ |
अँध्यारोले होला,
सगरमाथाको शिखर चुम्न हिंडेको उसले,
नाम्चेमै बाटो बिराए झैं लाग्छ,
उसको बढ्दो गति रोक्न कसैले
जालमा छिराए झैं लाग्छ |
तिमीले भने झैं उसको त्यो टल्किने हतियारले
अधर्मलाई ताक्छ
तर अँध्यारोले होला,
गोली कतै धर्ममा लाग्छ, कतै मर्ममा लाग्छ |
असत् जाग्दैछ,
यो अँध्यारोमा प्राण जोगाउन गाह्रो,
ईमान भाग्दैछ |
बेला बेलामा म सोच्छु, आमा!
विवस र विक्षिप्त म जस्तै,
उसले पनि ग्रहण हट्ने दिन कुरेको होला,
भन्देऊ न आमा, यो ग्रहण हट्ने दिन कैलेलाई जुरेको होला ?
डिसेम्बर २४, २०११