सिद्धार्थ उर्फ सिद्धे
मनप्रसाद सुब्बा, ( काठमाण्डौं)
लुम्बिनीमा सिद्धार्थ जन्मेकै दिन
लुम्बिनिदेखि टाढा पूर्वको एक कुनामा
म जन्में.
न्वारनमा सिद्धिबहादुर नाम परे तापनि
बाउले सिद्धार्थ भने
तर पछि सप्पैले सिद्धे भन्न थाले
... बोजुले चै माया गरेर सिद्धु भन्थिन्.
उता सिद्धार्थ
दरबारको चौघेराभित्र हुर्कंदै गर्दा
म यता बाख्राका पाठाहरुसित
पखेरातिर उफ्रँदै थिएँ.
उ
पुष्ट छाती भएका नर्तकीहरुले
घेरिएर बसिराखेको बेला
म
कुप्री परेकी बोजुको अनुहारमा
हजारौं चाउरीहरु सुम्सुम्याईरहन्थें.
यसरी बोजुसित बसिराखेको बेला एक दिन
सासले मात्र 'सिद्धु ! सिद्धु !' भनिन्
अनि 'पानी..' भने जस्तो गरिन
उठेर पानी ल्याईनपुर्याउँदै
बोजु बितिन्.
अर्को कोठामा बाउ
गानो दुःखेर छटपटीरहेका थिए.
त्यसबेला त्यसरी मैले आफ्नो घरैभित्र देखेको भोगेको
जरा-रोग-मृत्यु
उता सिद्धार्थले धेरै पछि
तन्नेरी भएर मात्र देख्न पाए.
यस्ता कुरा देखेर
सिद्धार्थ सन्यासी भए अरे
म सिद्धे चै
यिनै कुरासित बाँच्न सिकेर
अझ बढी संसारी भएँ.
सिद्धार्थले
यी सबबाट मानिसको मुक्ति खोज्दै गर्दा
म मेरा बाउको लागि जडिबुटी खोज्दै थिएँ
अनि उसले राजदरबार त्याग्दा
म
आफ्नो बन्धक परेको घर उकास्ने युक्ति सोच्दै थिएँ.
पछि उ
सिद्धार्थबाट सिद्ध हुँदै बुद्ध भयो.
म चै
सिद्धार्थबाट सिद्धे हुँदै सिद्धिएँ.
उसको पनि शरीर चै
मेरै जस्तो अस्सी वर्षमै सिद्धिएको हो
तर उसको पुनर्जन्म भयो अनगिन्ति मूर्तिहरुमा
मेरो पनि पुनर्जन्म भयो करोडौं सिद्धार्थ उर्फ सिद्धेहरुमा.
जहाँ जहिले जुनै धातुमा जन्मे पनि
उ त बुद्ध -- संधै शान्त, सौम्य, निरपेक्ष.
जहाँ जहिले जुनै जातिमा जन्मे पनि
म त सिद्धार्थ -- संधै छटपटीरहेको .. फटफटीरहेको..