हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सुनामी र साक्षी

मल्लिका शाक्य, (हाल: प्रिटोरिया, दक्षिण अफ्रिका )

 
सखारै

श्रष्टा धर्ती

आँगन बढार्छे

नित्य झैं

बस् संकोचको बर्को गायब छ आज

स्वाभिमानले ओतप्रोत

बरु छिन् स्वतन्त्र-प्रज्वलित

 

अनि हेर्दाहेर्दै

ताण्डव थाल्छे धर्ती

भयानक आत्महन्ता

विनाशकारिणी

स्वामी भनाउँदाहरु

अवाक् छन्

धर्तीको प्रलयगर्जना

सीतावतारमा मेरो राम होस् तँ

मर्दिनी हुँदा महिषासुर

छस् तँ मायाको भुलभुलैयामा

र म नै हुँ महामाया |

 

धर्ती बक्रमुख पार्छे

गाला फुक्छे

आङ डोलाउँछे

भीषण आर्तनादसहित

आगो ओकल्छे मुखबाट

अनि

पछारिन्छे

र छाड्छे एउटा लामो निश्वास

सु...ना...मी...

 

एउटा भन्छ - त्यसलाई कजाउन पुगेन

अर्को भन्छ - चरित्रहीन

तेस्रो भन्छ - स्त्रीहठ

 

म एक्लो साक्षी उनको

झीनो फिस्टे अम्बलुला

प्रशान्त गहिराइमा

जटायु भएर

बयान दिइरहेछु

हो - यस्तै थिइन्, यतैबाट गइन्

र मलाई भनेर गइन्:

मेरो साक्षी होस् अम्बलुला तँ

बाँचेस् र बोलेस्

अनादिदेखि अनन्तसम्म

धर्तीले त्यै भनेर गइन्।

 
नोट: अम्बलुला (Umbellula) समुद्रको सतहमा पाइने एक प्रकारको झार हो |-खसखस डट कम

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |