चोट
बासु श्रेष्ठ, (भर्जिनिया)
वर्षौँ भैसक्यो मैले
चोटसँगको सम्बन्ध विच्छेद
चाहेको
तर
चोट घरी घरी दैलोमा आईपुग्छ
र मान्दैन फर्किएर जान |
जति टाढा राख्न खोजेपनि
नजिक त के भनौँ
सँगै हुन चाहने यो चोटसँग
म विस्तारै पराजित हुँदैछु |
लँगडाको साथीलाई जति लत्यायो
उति नै खुट्टामुनी घुस्रिन आए झैँ
यो चोट अब मेरो मन जित्न खोज्दैछ
मेरो अभिन्न मित्रको रुपमा परिणत हुँदैछ |
चाहेको कदापी होईन
च्यापेको पनि कदापी होईन
तर त्यसै त्यसै
च्यापिन आउने यो चोटलाई म
कति दुत्कारुँ ?
दुत्कार्दा दुत्कार्दा म
आफैँ उसँग पराजित भएको छुँ
पन्छाउँदा पन्छाउँदा पनि
फर्किफर्कि आउने गर्दा
विस्तारै विस्तारै उ मलाई
प्रिय प्रिय लाग्न थालेको छ |
जति विगत सम्झिएपनि
वर्तमान नै वलवान हुने रहेछ
उसका सारा अवगुण विर्सेर
वर्तमानमा
मैले अब सहजरुपमा
अपनाएको छुँ
उसलाई मेरो मित्रमा परिणत गरिसकेको छु
यससँग आजिवनको नाता गाँसेको छु
अब यो मेरो प्यारो, प्रिय भएर मबाट अविच्छिन्न भएको छ
मेरो जीवनको अभिन्न भएको छ ।