हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पहिलो किस्ता

होम सुवेदी, (भद्रपुर, झापा)


यादव दाइ शिक्षा कार्यालयको उच्च पदका कर्मचारी हुन् । उनी अफिसको कर्मचारीहरुको दर्जामा हाकिमभन्दा थपक्कै पछिको दर्जामा पर्छन् । अफिसमा माथिकै दर्जाका भएर पनि घरमा भने उनी बिहानबिहानका भान्से मात्र हुन् । घरको व्यवस्थाअनुसार बिहानको खाना तयार गर्ने पालो उनको हो । आज पनि समयमै उनी दाल
, भात तरकारी पकाउँदै छन् । उनकी श्रीमती पनि जागिरे छिन् । तर तिनी भने बिहानीको सिफ्टकी जागिरे छिन् । यसैकारण यादवजीको भात पकाउने पालो छ । दुईजनाको परिवार छ । परिवारभित्रको समझदारी अनुसार उनको खाना तयार पार्ने पालो बिहानीलाई निर्धारण भएको छ । यहीअनुसार उनी घरको धन्दाका साथ खाना तयार गर्दैछन् । आज उनले अलिक छिटो गरी अफिस जानु पर्दैछ । हाकिम नभएको कारणले आज उनैले अफिसको उच्च पदीय कार्य गर्नु पर्दैछ । भोलिदेखि विद्यालयका शिक्षकरुको अन्तर्वार्ता लिनु पर्नेछ, ती अन्तरवार्ता दिने उम्मेदवारहरुका प्रमाणपत्रदेखि लिएर अनेकौं कुराको छानवीनका कुराहरु लगायत अरु अनेक कुराहरु मिलाउनु पर्दैछ । कर्मचारीहरुलाई धेरै निर्देशन दिएर काम गर्नुपर्दैछ ।

प्राथमिक विद्यालयका १५ ओटा शिक्षक पदमा यतिका धेरै उमेदवारले दर्खास्त दिनु र परीक्षामा पनि उत्तीर्ण हुनुको अर्थ देशभरि बेरोजगारीको संख्या अत्यधिक भएको कुरामा उनी सोचिरहेका छन् । यिनै कुराहरुका बारेमा सोच्दै भान्साको काम गरिरहेका छन् उनी । बरु एउटा भान्छे राख्न पाए पनि ता हुन्थ्यो नि, बेलाबेला ता उनलाई झोँक पनि चल्छ । तर आफैं शान्त हुन्छन् ।

यसै बेला बाहिरबाट कसैले ढोकामा कलबेल बजायो । यादवजीले ढोका खोल्नासाथ उनलाई नमस्कार आयो बाहिरबाट । उनले देखेकल्पना पो रहिछे । कल्पनाको आगमनमा उनलाई कताकता केही चिसोचिसो सम्म लाग्यो । कल्पनासँग साधारण भन्दा विशेष चिनाजानी उनको नभए पनि देखादेखसम्म भने केही बाक्लै हुने गरेको हो । यादवजी कल्पनाबाट खासै अपरिचित भने होइनन् । साधारण बोलीचाली, साधारण जिस्काजिस्कीसम्म हुने गरेको हो । तर त्यति घनिष्टता भने उनका बिचमा भएको थिएन । त्यही कल्पना पो आएकी रहिछे ।

अनि सर, एक्लै ?” उसले सोधी ।

एक्लै नि अब, नेपालमा को दोक्लै हुनु र ? छोरा पायो विदेशलाई, छोरी पायो ज्वाइँलाई ।उनले पनि यत्तिकै अर्थनवर्थको कुरा गरे ।

खोइ मेडम ?” उसको प्रश्न थियो यादवजीको कुराभन्दा बाहिरको ।

बिहानैको जागिरे मान्छे, गइन् नि अधि नै ।तिनका बिचमा यत्तिकै केही कुरा हुँदै थिए, भित्रबाट कुकरमा सिटी लाग्यो ।

यादवले भने– “म ता अचेल भान्से पो छु त । बस्तै गर है । दाल पाक्न आँट्यो । के काम थियो कुन्नि ?” यस्तै केही कुराहरु गर्दै यादव भित्र गए अनि भान्सामा केके गर्न थाले ।

खै छाड्नु सर, म गरिदिन्छु ।यादवले थाहै नपाई उनका पछिपछि कल्प्ना ता भित्र भान्सामा पो आइसकिछे । भित्र आएर भान्साको काम सघाउन पो थालिछे । उनलाई कता कता अलिकति अप्ठेरो लाग्यो । लोग्ने मान्छेहरुलाई भात पकाएको कत्ति पनि सुहाउँदैन । खोइ तरकारी कता छ ?” उसले सोधी ?

आ छोड, म गरिहाल्छु नि । तिमी जाऊ बाहिर बस ।यादवले कल्पनालाई केही अप्ठेरो मानेझैं गरी भने । 

किन ? डर लाग्छ सर ?”

केको डर नि । तिमीले मलाई क्वाप्पै खान्नौ क्यारे ।

उसो भए तपार्इं बस्नुहोस्, म खाना बनाउने आज ।

पर्दैन ।

केको पर्दैन, यति पनि सहयोग गर्न मिल्दैन कि के हो ?”

वास्तवमा यादवलाई कल्पनाको यो व्यवहारले निकै अप्ठेरोको अनुभूति भयो । उनी अलिक विवश पनि थिए । उनले कल्पनाको बारेमा आफैंसँग तर्क गरे । घरभित्र नसोधी पसेर भान्साको काममा लागेकी छे । खाना तयार गरिदिएकी छे । कुनै अर्को मान्छे आएर यो सबै देख्यो भने के भन्ला ? आफ्नै पत्नी आएर यो सबै देखिन् भने उनले के भनेर जवाफ दिने हो तिनलाई ? छोराछोरीले थाहा पाए भए भने अझ के सोच्ने हुन् र के भन्ने हुन् । छरछिमेकीले ता अहिले नै थाहा पाएको जस्तो लाग्छ । हे फसाद्....

उनका मनमा निकै लामो चिन्ता पर्यो । उनी यस फन्दाबाट कसरी छुट्ने हो भन्ने विषयमा निकै उपाय सोच्ने थाले । पाकेको भात खान र अरु काम गर्ने कुरा ता कता हरायो कता । उनको तत्कालीन समस्या भनेको इज्जतसँग पो देखिन गयो । यो इज्जत नै जाने समस्याबाट फुत्कने र इज्जत थाम्ने कुरामा उनले अरु केही सोच्न सकेनन् ।

घरमा एक्लै भएको अवस्था पारेर आएकी यो आइमाईको चरित्र पनि उति उत्तम छैन भन्ने उनले कता कता सुनेका पनि हुन् । उनको इज्जतको लिलामी पो हुने हो कि ? सोच्तै थिए ।

आफू भला भएपछि कसैको डर मान्नु पर्दैन यादव । तँ आफू सही ठाउँमा बस्, तेरो इज्जतलाई कसैले पनि डग्मगाउन सक्तैन । उनका अर्को मनले उनलाई ढाडस दियो । अनि अझै अर्को मनले भन्यो तिनलाईअघिसम्म भान्से भए पनि हुने कुरामा तेरो सोचाइ थियो अहिले तँलाई भान्से आफैं मिलेकी छे । के हो  ? तँ अहिले के डराएको..........

उनी कल्पनाको ओरिपरिबाट फुत्कने उपायको खोजीमा लागे, सोच्न थाले । कल्पना भान्सामा राम्रो गरी खाना तयार गरिरहेकी छे । अनायास रुपमा आफ्नो घरभित्र पसेकी त्यस कल्पनाबाट फुत्कने प्रयासमा लाग्दालाग्दै एउटा नयाँ जुक्ति आयो उनका दिमागमा । घरको अर्को कोठामा गएर मोबाइलबाट आफ्नै घरको टेलिफोनमा रिङ गरे । भित्र कल्पनाको कानमा टेलिफोनको घन्टी बजेको आवाज पर्नासाथ उसले भनी–“सर, टेलिफोन आयो । उठाउनुहोस् ।

उनले चाहेकै त्यही थियो । अनि टेलिफोन उठाएर ठुलो आवाजमा एकोहोरो कुरा गर्न थाले ।

, हाकिम साहेब, हजुर नमस्कार ।...... म अहिले ता भान्सामा पो छु त, बिहानको पालो मेरो हो ।

आइहाल्नु अरे ?......  हजुर । हजुर । प्रश्नपत्र तयार पारेकै छु । दुई गाँस खान टिपेर आउँछु नि हुन्न हजुर ?...... होइन हजुर । नखाईकनै आउनू, फेरि कतिखेर आइन्छ ? घरमा कोही छैन पनि । हजुर............ हजुर........... हजुर.... । ए लौ बितेछ । ल नआई भएनछ । म तुरुन्तै आउँछु । आइहालें ।

अब त्यस्तो अप्ठेरो परेपछि ता ताला लाएरै भए पनि आउँछु । अब हजुरको आदेश भनेपछि मैले मान्नै पर्छ । म आएँ । घरमा ताला लाएर भए पनि आएँ हजुर ।... हस.

फोनमा उनले एकोहोरो कुरा गरे । धन्न यो कुरा कल्पनाले बुझिन । उनी ढुक्क भए र हस्याङ्फस्याङ् गर्न थाले । त्यस एकोहोरो कुरा गराइबाट उनले अफिसमा तुरुन्तै जानुपर्ने बहाना बनाएका थिए कल्पनाका अघि । उसले पनि कुरा सुनेकै थिई ।

लौ कल्पना, मैले ता अहिले नै अफिस जानुपर्ने भयो, यसो के के पाकेको छ छोपछाप पार । तिमीलाई चिया खाऊँ भन्न पनि पाइनँ । अफिसियल भएपछि यही हो ।उनी गनगनाउँदै बैठकमा गएर लुगा लगाउन थाले । तिमी पनि घरबाट निस्कने जुक्ति गर त, म ताला लाउँछु ।अझै उनले थपे ।

यसै बिच बैठक कोठामा लुगा फेर्दै गरेका यादवका छेउमा अचानक कल्पना आएर उभिई । यादवलाई सर्म लाग्यो । चाँडो चाँडो लुगा लगाउन थाले । अचानक मोजा लगाउन निहुरिएको बेला पारेर यादवजीको गालामाथि कल्पनाको तालो मुख आइपुग्यो । उनका नाकमा मिठो अत्तरको वास्ना अचानक छिर्यो । उनी विवश भए, त्यसबाट फुत्कने असफल प्रयत्न गर्दागर्दै कल्पनाले यादवजीलाई आफ्ना बाहुपाशमा बेरिसकेकी । कराउनु पनि भएन, चिच्याउनु पनि भएन, नफुत्कीकन पनि भएन, यादवजीलाई पर्नु समस्या पर्यो । कराउन् त उनैको इज्जत जाने डर । नकराउन् त यो आपत ! उनको होसले कामै गरेन । कल्पनाको शरीरभरिबाट भड्किलो अत्तरको वासना आइरहेको थियो, यादवजीलाई त्यस सुवासमा पनि दुर्गन्धको अनुभव भइरहेको थियो । यता कल्पना भने यादवजीको अनुहारभरि चुमिरहेकी थिई । मानौं कुनै भोको बाघले बल्ल बल्ल पाएको शिकार सासै नफेरी झम्टेर खाइरहेको छ । यता न उताको दोसाँधमा यादवजी त्रिशङ्कु भइसकेका थिए । खाटमा अधमरो भएर कुक्रुक्क परेर बसिरहेविवश, निरीह । यादव, लौ पार् बहाना घरबाट भाग्ने, कल्पनाबाट फुत्कने ।उनको अर्को मन भनिरहेको थियो ।

निकै बेरको चुमाइपछि कल्पनामा आफैं शैथिल्यता आएको बुझे यादवजीले ।

अनि अन्तमा आफूलाई कल्पनाले सम्हाली । यादव भने अवाक भइरहे । कल्पनाले भनी सर, मेरो विद्यालयको अन्तर्वार्ता राम्रो हुनुपर्यो । मेरो रोल नं...... हो । कसै गरी मैलै पास हुनुपर्छ । म त्यति जान्दछु । तपाईंको हातमा छ मेरो पास हुनु र फेल हुनु । अनि मेरो हातमा छ तपाईंको इज्जत असल हुनु र खराब हुनु । आफैं बिचार गर्नु होला । म पास भएँ भने म छँदैछु । यो अहिलेको घटना मेरो स्थायी हुनका लागिको पहिलो किस्ता हो । तपाईंलाई  अफिसबाट बोलावट भयो क्यारे । मैले भात दाल तयार पारिदिएकी छु । यसो एक गाँस टिपेर जानु होला ।

उसको यो कुरा सुनेर यादवजी अझै व्याकुल भए । पहिलो किस्ता त यस्तो छ भने अरु अरु किस्ता कस्ता कस्ता होलान् यादवजीको सोचाइका साथ उनका रौं पनि ठाडा भए, कल्पना भने उनका घरबाट निस्किइसकेकी थिई । उनी बैठकमा चेतनाशून्य झैं भएर घोरिइरहे । 


भद्रपुर
, झापा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |