हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

सुन्नुहोस् दशैँ किराँतहरुको चाड हो !

डा. कविताराम श्रेष्ठ, (काठमाडौं)


पाँच छ वर्षअघि  बामदेवगौतमले यो दशैं भनेको किराँतहरुको आफ्नो चाड हो नबुझी दशैँका विरोध गर्दैछन् हीजोआजका किराँतहरुले भनेर मसँग भन्नुभएको थियो । उहाँले दलीलस्वरुप भन्नुभएको थियो दशैँ अनाजसँग सम्बन्धित चाड हो । अनि अनाज भनेको कृषी उत्पादित वस्तु हो । हरप्पा र महेन्जोदडोको उत्खननबाट बुझिएको कुरो हो कि आर्यहरु यता आउनुभन्दा पहिले नै यताका जनजातीहरुले कृषी शुरु गरिसकेका थिए । आदि । म पनि त्यही हिसावले सोच्ने मान्छे परेँ र दशैँ मुखैमा आइपुगेको हुँदा त्यसलाई केही विश्लेषण गरी तपाईँ सामू राख्न मनलाग्यो ।

वेदहरुबाट बुझिन्छ आर्यहरु गाइपालुवा जाति थिए र गाई चराउँने सिलसिलामा स्थान सर्दै पश्चिम युराली भेगबाट पूर्व भारतीय उपमहादेशतर्फ आएका थिए । उनीहरु निश्चिरुपमा घुमक्कड थिए । एक स्थानमा बस्दैनथे र कृषी यीनिहरुको पेशा त्यसबेला  थिएन । यता सिन्धुघाँटी तथा गङ्गाको मैदानमा पसेपछि यताकै जनजातिहरुको सिकोमा स्थायी बसोबास शूरु गर्नलागे र त्यही सिकोमा कृषीपेशामा लागे । यतैको संस्कृति ग्रहन गर्दा उनीहरुले कृषीबाट उत्पादित वस्तु चामल अर्थात अक्षेता निधारमा लाउने विजयादशमी वा दशैँचाड पनि ग्रहन गरे । कुरा त यही हो तर फरक कहाँ पर्न गयो भने आर्यहरुले दशैँलाई धर्मशास्त्रहरुमा उद्धरण गरे र आर्यदेवताहरुको पारलौकिक कथा जोडिदिए । अनि त युगौँ  बीतेपछि हिन्दुका उनै शास्त्रीय आख्यानहरुका कारणले दशैँ हिन्दुहरुको धार्मिक चाडको रुपमा मात्र बुझिन लाग्यो ।

कसरी यो अनाज सम्बन्धित चाड हो त ? मुख्यतः यो चाडको साइत धान पाकेर घर भित्र्याउने बेला पारेर गरिएको छ । कृषि उत्पादित चामललाई अक्षेताको रुपमा निधारभरी टाँसेर त्यो उत्पादनको खुशियाली मनाइन्छ । धान वा मकै वा अन्नहरु खसेर उम्रिन  गएका अङ्कूरहरुलाई जमरा भन्दै कानमा सिउरेर आफूलाई सिँगार्दछन् । धान भित्रिएको छ त्यसैको पकवान बनाएर रमाउँछन् । आफू खान्छन् यीनै उपलव्धीहरुका आतिथ्यसाथ नरनाता इष्टमित्रहरुसँग पनि भेट्घाट भलाकुसारी गर्दछन् । अन्न घरमा भित्रिएको छ त्यसलाई बेचेर लुगाफाटो वा अन्य रौसका सामग्रीहरु जोहो गर्दछन् । निश्चितरुपमा यो अनाजको चाड हो भन्न गहकिला प्रमाणहरु छन् ।

कुरा त यसोउसो जे भने पनि यो चाड आर्यहरुले पश्चिमबाट ल्याएको नभई यतैको उपज थियो र आर्यहरुले यसलाई पछि ग्रहण गरेको हो भन्नुमा छ । यसका प्रमाणहरु अरु कुराबाट पनि पुष्टि हुन सक्छ । तीमध्ये एउटा यो पनि हो कि यो चाड मनसुनी जलवायु क्षेत्रको उपज हो ।

मनसुनी जलवायु हिमालयदक्षिण सिन्धुघाँटी गङ्गामैदान र भारतको देक्कन प्लेटोमा हिन्दमहासागरवाट आउने वेष्टर्ली वीण्ड (पश्चिमतिरबाट आउने सामुद्रिक वायु) को कारणबाट निर्मित जलवायु हो । यस वायुले हिन्दमहासागरबाट वाष्प बोकी जुनजुन क्षेत्रका जलवायुमा प्रभाव पार्दछ त्यस क्षेत्रलाई मनसुनी क्षेत्र भनिन्छ । सूर्य ट्रपिकअफ केन्सर २३.५ डिग्री अक्षांश मा आउँदा र त्यहाँबाट फर्केर इक्वेटरतिर फर्केर जाँदा तीनचार महीना सूर्यको रापले हावा तातिन जान्छ र त्यस क्षेत्रमा हवाको छाप कम भई हावा माथि उठ्दछ । त्यहाँ हावाको मात्रा कम हुँदा दक्षिणपश्चिमबाट हुर्रिएर हावा पुरिन आउँछ । यसरी आउने हावाले हिन्दमहासागरबाट त्यतैका सामुद्रिक बाफ बोकेर आउँछ र यताका पहाडहरुमा ठोक्किएर वर्षा गराउँछ । यो वर्षा अन्दाजी ३ महीनासम्म हुन्छ । सूर्य ट्रपिक अफ केन्सरबाट उँधो झर्न लागेपछि वेस्टर्ली वीण्डले दिशा नै परिवर्तन गर्ने हुँदा यता वर्षा नै बन्द हुन्छ । अब यस क्षेत्रमा वर्षाबाट हुने बाढी पहिरो असिना आदि-इत्यादि कष्टहरुको अन्त्य हुन्छ । तर यसै बेलामा वर्षाको कारणले हुने उत्पादनहरु पाकेर पहेँलपुर भइरहेको हुन्छ । बनजङ्गलमा घाँस फलफूल भएका हुँदा पशूपन्छीहरु पनि मोटाएका हुन्छन् । कृषीकर्मको बाटोमा व्यवधान भएका दुखकष्टहरु नाश भएको हुन्छ । उनिहरुका परिश्रमहरु पाकेर धनधान्य भएका हुन्छन् । पानी संलिएका हुन्छन् । हीलो सुकिसकेका हुन्छन् । दिन खुल्ला भइसकेको हुन्छ । गर्मी हराइसकेको हुन्छ  । त्यो वर्षाको दुख कष्टबाट उनीहरुले विजय प्राप्त गरेका हुन्छन् । त्यही दुखमाथिको विजयको उपलक्षमा उनीहरुले खुसियाली मनाए एउटा चाडको रुपमा । उनै उपलव्धीहरुले आफूलाई सृङ्गार गरेर- अर्थात् धानका चामल निधारमा टाँसेर खसेका दानाका अङ्कूरहरु शीरमा शीउरेर र उत्पादित मासु र चामलले आफू परिवार नातेदार अनि इष्टमित्रलाई सत्कार गरेर, अनि लामो समयको परिश्रम पछि फुर्सद पाइएकोले नातेदार अनि इष्टमित्र भेटघाट गरेर ।

पहिलो कुरा त आर्यहरु घुमक्कड पशुपालक त्यसैले निधारमा टाँस्ने धानचामल उनीहरुको लागि अनजानकै वस्तु थिए । त्यसमाथि उनीहरु जहाँबाट आए त्यहाँ मनसुनी जलवायु नहुँदा धान उब्जाउने प्रविधि पनि थिएन र जुन साइतमा दशैँ हुने गर्दछ त्यो साइत युराली भेगका जनजातीको लागि हुनै सक्दैन । किनभने यो साइत दशैँजस्तो मनसुनी जलबायुबाट  प्रदत्त कृषीउत्पादनसँग सम्बन्धित छ । युराली भेकमा मनसुनी जलबायु नभएको हुँदा त्यसमासमा धानको उब्जाऊ हुँदैन र त्यही मितितिथिको साइत त्यहाँ बन्दैन । त्यसैले निर्क्यौल यही बन्दछ कि दशैँ मनसुनी जलबायु क्षेत्रका जनजातिकै चाड थियो र त्यो जनजाति यस क्षेत्रको प्रमुख जाति िकंराँतहरु मात्र हुन सक्दछन् । पछि यता स्थाइ बसोबास गर्न आइपुगेका आर्यहरुले पनि दुखमाथि विजय प्राप्त गरेको यो मितितिथिलाई उही रुपमा किराँतहरुसँगै मनाए । आफ्ना शास्त्रहरुमा दुखमाथिको विजयलाई अद्यात्मिक रुप दिन असुरहरुमाथिको विजयको रुपमा कथाकृत गरे । एउटा फरकलाई ध्यानाकृष्ट गर्नुहोस् किराँतहरु चामल नरङ्गाई सेतो अक्षेताले टिका लगाउँछन् जब कि हिन्दुहरु यसलाई िसंदुरले रङ्गाउँछन् । सिन्दुर हिन्दुहरुको टिका भएकोले यसलाई रङ्गाइयो भने किराँतहरु आफ्ना पूर्वरुपमै अडिग थिए र छन् ।

दशैँलाई कृषिसँग जोड्ने भनाइबाहेक अरु केही सन्दर्भहरु पनि छन् जसले दशैँ आर्यहरुद्वारा ल्याइएका चाड नभई किराँतहरुकै चाड भएको कुराको पुष्टि गर्दछ । पहिलो कुरा त के भने दर्शै दुर्गापूजासँग सम्बद्ध भएकोले यो मात्रिसतात्मक समूहको चाड भनेर मान्न पर्ने हुन्छ । हिन्दुजाती  आइमाइजातीलाई सामान्य वस्तुसरह दासी मान्ने र मृतलोग्नैसँगै जीउँदै सति पठाउने पितृसतात्मक जाती भएको  हुँदा स्त्रीशक्तिलाई नै सर्वशक्तिमान मान्ने चाडको प्रवर्तक आर्यहरु हुनै सक्दैन ।

पश्चिमबाट आउने आर्यहरु युरालबाट सिन्धुघाँटिसम्म आइपुग्दा उनीहरु इन्द्रपूजक थिए । सिन्धक्षेत्रमा पसेपछि उनीहरु विष्णुपूजक बने । यताका किराँतदेव वा द्रविडिएनदेव शिव गणेशलाई आत्मसात गर्न उनीहरुलाई हज्जारौँ वर्ष लाग्यो र गङ्गाको मैदानको उत्तरपूर्वी भेगमा आइपुगेर मातृसतात्मक समूह किराँतहरुसँग उनीहरुको सम्पर्क बन्न अरु हज्जारौँ वर्ष लाग्यो । यसले के जनाउँछ भने हिन्दुहरुले यस चाडलाई आत्मसात गर्न हज्जारौँ वर्ष लाग्यो र शास्त्रहरुमा दशैँको उद्धरण भएको धेरै भएको छैन सम्भवतः केही हज्जार वर्ष मात्र ।

दशैँ हिन्दुहरुको चाड थिए भने त्यो प्रचलन पश्चिमतिर हुनुपर्दथ्यो वा हिन्दुहरुको प्रभुत्व भएका अन्य क्षेत्रहरुमा धुमधामले हुनुपर्दथ्यो । तर त्यस्तो छैन । दशैं उनीहरुको प्रमुख चाड त्यता छैन । चामलको टीका त त्यता प्रचलनमै छैन भने पनि हुन्छ । बुझ्नु पर्ने यो छ कि दशैँ गंगाउत्तर हिमाली भेक र वङ्गालजस्तो आर्यहरुको आगमनको अन्तिम सीमा क्षेत्रमा मात्र धुमधामले प्रमूख चाडको रुपमा मानाइन्छ र यो क्षेत्र पूर्णतः किराँत क्षेत्र हो । यस किराँत भेकका हिन्दुहरुले दशैँ माने भन्दैमा हिन्दुहरुकै आयातित चाड मानेर किराँतहरु पर सर्नू गलत नै हुनेछ । गङ्गापारिका हिन्दुहरुले नेपालीहरुलाई टीका लगाएको देख्दा- देखो पहाडीलोग चावल माथामे लगाके फिरता है भनेर मूर्ख बनाउने सन्दर्भ यहाँ विचारणीय छ ।

अर्को सन्दर्भ पनि यहाँ छेडूँ । हिन्दुहरुमा चार वर्ण छन् । उनमा ब्राह्मण र क्षेत्री वर्णहरु मात्र पूर्ववत् आर्यहरु हुन् । अरु थपिएका वैश्य र शुद्र वर्णहरु यता आगमन भएर सम्पर्कमा आएपछिका सम्झौताका जाति एवं विजित जातिहरु हुन् । वैश्यहरु कृषक वा व्यापार गर्ने समुदायका जातिहरु हुन् भनी हिन्दुशास्त्रले नै भन्दछ । आर्यहरु कृषक थिएनन् त्यसैले उनीहरु वैश्य भएनन् । वैश्य नभएका ती आर्यहरुका यो दशैँ भन्ने कृषकहरुका चाड आफ्ना कसरी हुन्छन् ? हिन्दुहरुका चाड त तब बने जब यताका किराँत र उताका आर्यजाति मिसिन लागे वा जबदेखि आर्यहरुले किराँतहरुका संस्कृतिसमेत ग्रहण गरी यस भेगमा सहभागी बन्न थाले । बिचारनीय यो छ कि हिंदूसंस्कृतिको बिकास नै आर्य र  किरांत लगायतका अन्य यस भेगका जनजातिहरुका संस्कृतिहरुको संमिश्रणबाट भयो ।

 कुरा यीनै हुन् । हिन्दुशास्त्रले दशैँलाई आफ्नो चाड मान्दा किराँत जातिले यो चाड आफ्नो नभनी यसको अवज्ञा गर्नु वा बहिस्कार गर्नु एक हिसावले ठूलै गलत सोच हुन्छ । हिन्दुहरुले यो संस्कृति ग्रहण गरेको प्रघटना किराँतहरुको लागि एउटा गर्वको विषय हो । समस्त किराँतहरुले आफ्ना पूर्वरित अनुशार यस कृषी चाडलाई निरन्तरित गर्दै लानुपर्छ । हिन्दुहरुको दशैँचाड मान्ने सद्भावलाई किराँतहरुले प्रत्यूत्तरमा आदरसाथ लिनुपर्दछ । दशैँको अवज्ञा किराँत संस्कृतिकै अवज्ञा हो । इति ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |