तीज पर्वमा प्रवेश पाएका नयाँ मूल्य र मान्यताहरू
शर्मिला खडका (दाहाल), (काठमाडौं)
हरितालिका तीज नेपाली महिलाहरूको महान पर्व हो । धार्मिकरूपले स्थापित यो पर्वको आफ्नै सांस्कृतिक महत्त्व रहँदै आएको छ । परापूर्वकालमा हिमालयकी पुत्री पार्वतीले श्रीमहादेव पति पाउ भनी निराहार व्रत लिएको धार्मिक महत्त्वमा यसलाई संस्कृतिसँग जोडिएको छ । तीजमा लगाइने गरगहना र मनाउने तरीकाको आफ्नै परम्परा छ । गाउँघरमा छोरीचेलीहरूलाई वर्षाको धान रोप्तरोप्ता गरेर थाकेको शरीरलाई माइत बोलाइ दुइचार छाक मीठो, मसिनो खुवाउने चलनसँगै छोरी वा चेलीलाई उसको घर लिनजान पर्ने र मीठो मसिनो खुवाउनुपर्ने परम्परासँगै यो प्रचलन बढदै गएको हो । माइत आएर साथीभाइसँग दुःखसुखका कुराहरू गर्ने, आफ्ना सासूआमाजू र नन्दले दिएको बुहार्तन गीत मार्फत गाएर आफ्नो पीडा भुलाउने गरिन्थ्यो । यसरी मनाइँदै आइएको तीज केही वर्षदेखि पृथकरूपमा मनाउन थालिएको छ । अहिले तीज पर्व देशविदेशमा कुटनैतिक नियोगहरूमा पाँच तारै होटलदेखि सडकसम्म भव्यरूपले मनाउन थालिएको छ । एउटा सांस्कृतिक पर्वलाई यति ठूलो असर पार्नुमा देशको राजनैतिक अवस्था र सामाजिक अवस्थाले ठूलो असर पारेको हुन्छ । हिजो माओवादी जनयुद्धमा समाजमा एउटा त्रास थियो । सरकारी पक्ष र विद्रोही पक्ष दुवैबाट नागरिकलाई शान्ति सुरक्षामा ठूलो खतरा थियो । समाज एउटा संकुचित, कुण्ठित र ग्रसित अवस्थामा थियो । अझ धेरै नारीहरू कुण्ठित र पीडित थिए । यो अवस्थाबाट गुज्रेर अहिले समाजमा शान्ति स्थापना भएको छ । विभिन्न जातजातिमा जागरणको लहर आउनाका साथै नारीका मुक्तिका आवाजहरू उठिरहेका छन् । आज नारीहरू घरदैलोको सधार काटेर मुक्तिका गीत गाउन चाहन्छन् । हिजोसम्म श्रीमानसँग सारी किन्ने, जुत्ता किन्ने पैसा माग्नुपर्ने नारीहरू स्वतन्त्रा र स्वलम्वनका कुरा गर्न चाहन्छन् । वर्षौ पुरुषवादी हैकमबाट थिचिएर पिल्सिएर रहेका नारीहरू उन्मुक्तिको पखेटा लगाउन चाहन्छन् । तीज पर्व मनाउने लहर त्यही अंकुशता पराधिनताबाट विमुक्त भई आज निसंकोच र निर्धक्क बाटाबाटामा गुन्जिरहेको छ । तीज पर्वले आज नारीहरूलाई एउटा राजनैतिक चेतना र सामाजिक चेतना बिस्तार गर्ने प्लेटर्फाम बनाएको छ । त्यसैले आज धेरैभन्दा धेरै सरकारी कार्यलयहरू र गैरसरकारी सस्थाहरूले हिजो आफ्नो नारी सशक्तिकरणका कार्यक्रम र जनचेतनामूलक कार्यक्रम बिस्तार गर्न नसकेको अवस्थामा आज यही तीज पर्वमार्फत् आफ्ना नारी चेतनामूलक कार्यक्रम बिस्तार गर्ने प्लेटर्फमको रूपमा प्रयोग गरेको देखिन्छ । यसै प्लेटर्फामबाट आज नारीहरूले चेतनामूलक कुराहरू सिक्दै जानुपर्ने देखिन्छ । हिजोसम्म घरको संघार नकाटेका नारीहरू पनि निर्धक्क परपुरुषसँग बोल्ने र कम्मर मर्काइमर्काइ नाच्न सहज मान्न थालेका छन् । आफ्नै पतिको दीर्घायू र सुस्वास्थ्यको लागि मनाइने व्रतमा श्रीमान् र समाजबाट पनि कुनै विरोध हँुदैन भनी उनीहरू निर्धक्क लागेका छन् । यसरी तीज पर्वले नयाँ रूप लिइरहेको अवस्थामा यसलाई भड्किलो र खर्चिलो बनाउन हुँदैन भन्ने अर्को पक्षको कुरा आँउछ । किनभने विशेषत तीज पर्वमा मीठो खाने र राम्रो लाउनैपर्ने भएको हुनाले कतै यो भडकिलो भई समाजमा विचलन आउने त होइन भन्ने आशंका गर्न सकिन्छ । नेपाली समाजमा धनीवर्ग र गरीव वर्गको विभेदको खाडल प्रतिदिन गहिरिँदै गएको छ । यस पर्वले यस्ता विभेदलाई कमगर्न सक्नुपर्छ । गरगहनाले झकिझकाउ भई प्रतिस्पर्धाको रूपमा हेर्न थालियो भने यस पर्वभित्र भोलि थुप्रै विकृतिहरू उव्जन सक्छन् । यसबाट समाजमा अपराधिक कार्य र अनैतिक कार्यहरू हुने सम्भावना हुन्छ । यस पर्वलाई सहज र सरलरुपले मनाउने र मनोरञ्जन का साथसाथै नारी चेतनाका कुरालाई अघि ल्याउन सबै पक्षले ध्यान दिनुपर्ने देखिन्छ । नारीभित्र गुम्सेका पीडा र कुण्ठाहरू व्यक्त हुने यस पर्वलाई नकरात्मक रूपले हेरिनुको बदलामा यसलाई समसामयिक आफ्नो गच्छेअनुसारको मनाउनुपर्छ । कतिपय नारीवादीले यसलाई विरोधको रूपमा लिएको देखिन्छ । नारीले पुरुषको दीघार्यूको लागि व्रत लिनुपर्ने तर पुरुषले चाहिँ खोई लिन्छन् भन्ने भनिन्छ । यस पर्वलाई भडकिलो र तडकभडक भएको भनी आरोप लाग्ने गरेको देखिन्छ । तर हिन्दुधर्मको परम्परागत रुपमा मानिने यो पर्व हिन्दुनारीको मात्र नभई मुस्लिम, बौद्ध सबै धर्मावलम्बी नारीहरूको एकता थलो बनेको छ । यसलाई अब धार्मिक र साँस्कृतिक पर्वको रुपमा मात्र नलिई राष्ट्रिय एकताको रूपमा लिनुपर्ने देखिन्छ । सम्पूर्ण जातजाति, धर्मसंस्कृतिका नारीहरूको एकताको पर्वको रूपमा लिनुपर्ने देखिन्छ । पहाड, हिमाल, तराई जुनसुकै ठाउँको भए पनि नारीका पीडा र वेदना एउटै हुन्छन् । तराईको दाइजो प्रथा, हिमालको बहुपति प्रथा, पश्चिमको छाउपडी प्रथा सबै प्रथाहरु नारीका अभिशाप हुन् । यी प्रथामा पिल्सिएका नारीका पीडा र वेदना एउटै हुन् । तसर्थ सबै प्रदेश र जातजातिका नारीहरुले यस पर्वलाई नारी उन्मुक्ति र उन्नतिको रूपमा अघि सार्न सके समाजमा ठूलो क्रान्तिकारी परिवर्तन हुनसक्थ्यो । तर यसतर्फ नारीचेतनाका अग्रजहरुले खासै ध्यान नदिएको पाइन्छ । यस पर्वलाई मीठो खाने र राम्रो लगाउने पर्वको रुपमा मात्र सीमित राखेको देखिन्छ ।
तीज पर्वको प्रत्येक वर्ष बढ्दै गएको रौनकताले यसको महत्त्व र सार्थकतालाई अझै बढाउँदै लगेको देखिन्छ । यसबाट सम्पूर्ण नेपाली नारीहरू एकबद्ध भई आफ्ना पीडा, वेदना, नयाँ चेतनालाई अघि ल्याउने एउटा सामाजिक थलोको रूपमा विकास गर्नु समय सान्दर्भिक हुनेछ । यस पर्वलाई नाचगानमा मात्र सीमित नराखी अन्य बौद्धिक,राजैनैतिक, सिर्जनात्मक र सामाजिक क्षेत्रमा जागरुक भई आफ्नो हक अधिकारको लागि एकजुट भई लाग्नसके यो तीज पर्वले सार्थकता पाउनेछ भन्ने कुरामा हामी दुई मत हुन सक्दैनौँ ।