हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

मेरा थुप्रै भगवानहरू छन्

रजनी ढकाल, (काठमाण्डौ)


असोजको दोस्रो दिनसम्म तन्किएको भदौरे झरी तेस्रो दिनमा यसरी अलप भएको थियो मानौँ आकाशमा अब कुनै कालो बादल लाग्ने छैन । सफा थियो आकाश
, धरतीभरि पोखिएको थियो झलमल्ल घाम । हो, त्यही दिनको दिउँसो बाह्र एक बजेको उज्यालो समयमा निक्लेको थियो जननी स्रष्टा भागिरथी श्रेष्ठसँग अन्तरङ्ग संवाद गर्ने समय । यो सुन्दर समयको संयोजन गरिरहनु भएको थियो अविनाश दाइले । झन्डै एक महिना भएछ भागिरथी दिदीसँग भेटेर स्रष्टा सन्दर्भबारे गरिमाको नियमित स्तम्भमा लेख तयार पार्न दाइको आग्रहलाई हार्दिक रूपमा स्वीकार गरेको मैले । भदौरे झरीमा मलाई आफ्नै कामका अनेक दहहरूलाई निकास दिन थियो । उछारै पाइनछु ।
मेरो र कथाकार भागिरथीको भेट धेरै पटक भयो । मेरो र दिदी भागिरथीको भेट पनि धेरै पटक भयो । आज म व्यक्ति भागिरथीलाई भेट्दै छु
, उनी उनै साहित्यकार हुन्, दिदी हुन्, फेरि पनि आज मलाई उनी अरू नै केही हुन् झैँ लागिरहेको छ । छुट्टै हुन् जस्तो लागिरहेछ । कस्ती होलिन् उनी ? पुल्चोक स्थित साझा प्रकाशनको परिसरबाट घरतिर हुइँकिँदै गर्दा बाटोभरि सोचिरहन्छु । आविनाश दाइ र दिदीको गफ साहित्यतिरै छ, मेरो मनको स्टेरिङ भागिरथीको जीवन यात्रामा गएर घुम्न खोजिरहेछ । गुड्दै मनमनै सोचिरहेछु, सोधिरहेछु आफैँलाई को हुन् भागिरथी ?

मेरो घरमा भागिरथी दिदी धेरै पटक आउनु भएको छ । जति पटक आउनु भएको छ उतिपटक मैले उहाँबाट अभिभावकीय सुझाउ र माया पाएकी छु । यो देशकी एउटी जिम्मेवार स्रष्टा, कथाकारका रूपमा ख्याति पाएकी व्यक्ति, ‘मातृत्वभूमिगतकथामा क्याम्पसका विद्यार्थीलाई पढाइएकी, झन्डै एक  दर्जन जति आख्यान कृतिमा पढिएकी सेलिब्रेटी लेखिका ! तर कति सरल व्यक्तित्व छ उहाँको । मेरो घरमा आउँदा आफ्नै आमा/दिदी झैँ व्यवहार गर्नुहुन्छ । छोरीलाई, बहिनीलाई झैँ स्नेह दिनुहुन्छ । मेरो लेखनको मात्रै होइन गृह व्यवस्थापनको बारेमा पनि जानकारी राख्नुहुन्छ । परिवारका सबै सदस्यसँग उस्तै नजिक बन्नुहुन्छ । तर आज दिदीलाई मैले मेरा केही कुरा सोध्ने फुर्सदै दिने छैन । मात्र उहाँका कुरा सोध्नु छ मैले, उहाँलाई मेरै घरमा राखेर ।

झन्डै आधा शताब्दी पुग्न लागेछ, दिदीले साहित्य साधना गर्न लागेको । अविनाश दाइ र दिदीको दिदी भाइको नाता जोडिएको पनि तीन दशक भएछ । दाइ भिनाजुका कुराहरू सोध्न थाल्नुहुन्छ दिदीलाई, म भने केही थाहा नपाएझैँ सुनिरहन्छु । दिदी उत्तरलाई सोझो बनाउनु हुन्न । उही नेपालका पश्चिम पहाडतिर बग्ने खहरेहरू झैँ कहिले कता हानिनु हुन्छ कहिले कता । दाइको प्रश्नलाई मिल्ने थोरै उत्तर दिनुहुन्छ दिदी सजिलै अरूलाई विश्वास गरिहाल्ने, आफ्नै सुरु र जिद्दीमा काम गर्ने पुरुषसँग बाँच्न सजिलो रहेनछ ।अविनाश दाइ थप्नुहुन्छ, “भिनाजु अत्यन्त आत्मीय र हार्दिक हुनुहुन्थ्यो, मलाई साह्रै मनपर्ने मान्छे उहाँ, मलाई खूब माया गर्नुहुन्थ्यो !दिदी पुनः थप्नुहुन्छ, “हार्दिक पनि रसिक पनि !म सुनिरहन्छु दुईका संवाद । दिदीका सबै कुरा दाइलाई नै थाहा रहेछ त किन मलाई लेख्न लगाएको होला ? मनमनै सोच्छु ।

रजनीजी ! साह्रै राम्री हुनुहुन्थ्यो दिदी, त्यतिबेलाको फोटो देख्नुभयो भने थाहा पाउनुहुन्छ ।अविनाश दाइको प्रशंसालाई दिदीले स्वीकार्नु भएन, दुवै हातका खिरिला औँलाहरू गाला नजिकै फिँजाएर बोल्नुभयो, “यत्रो ठूलो थियो अनुहार, केही राम्री होइन म, बरू शालीन र शिष्ट थिएँ, त्यसैमा नाम कमाएकी थिएँ ।पद्मकन्या क्याम्पसमा आई. ए. पढ्दा उहाँलाई पाल्पाकी भलाद्मी र सरल भागिरथी भनेर धेरैले चिन्थे रे । कुनै नक्कल झक्कल नपार्ने, पढ्नमै दत्तचित्त, सिर्जनात्मक लेखन र अतिरिक्त व्रिmयाकलापमा पनि सव्रिmय । पढ्न मात्र मन लाग्थ्यो रे । सिक्न, केही गर्न । पढेर ठूलो मान्छे बत्रे सपना मात्रै देखिरहनुहुन्थ्यो रे दिनरात ।

साँच्चै दिदी यस्तो सपना कसरी देख्न जात्रुभयो ?” सपना देख्न पनि सहयोगी परिवेश चाहिन्छ भत्रे कुरो सिकाएको छ आजसम्मको भोगाइले मलाई । प्रश्न त गरेँ मैले तर दिदी सोझो जवाफतिर लागेको भए त के ! लाग्नु भयो आफ्नै बाल्यकाल सम्झिन । रिडी बजार र त्यस वरपरको ठाउँको प्रत्येक टुक्रा उहाँको मुटुमा झलझली टाँसिएको छ रे । केही बिर्सिन सक्दिन भत्रुहुन्छ । त्यो बजारको पूर्वतिर कालीपार भन्ने गाउँ छ, पश्चिमतिर भट्कुवा गाउँ, दक्षिणतिर ख्या डाँडा अनि उत्तरतिर थोर्गामनका आँखामा बिम्ब पर्ने गरी शब्दमा उतार्दै हुनुहुन्छ दिदी, अविनाश दाइ र म चुपचाप सुनिरहन्छौँ । त्यो ख्या डाँडामा त टिभी लागेका मान्छेहरू गएर बस्थे, निको हुन्थे । कति स्वच्छ हावापानी थियो ।दिदीले आफ्नो जन्मठाउँ र बाल्यकालको परिवेश शब्दमा उतार्दै जानुहुन्छ, “पूर्वतिर अर्गली, अर्गलीमा जुद्धशमशेरको दरबार । २००७ सालको क्रान्तिमा छोडे । तिनकी छोरी मिश्रीमैयाँका खेलौनाहरू सहित पलङ, डसना र तकिया तिनैकहाँ जजमानी गर्ने बाहुनलाई दिइएको थियो । मेरी आमाले सट्टामा लुगा दिएर ती बाहुनबाट केही पुतलीहरू मेरालागि ल्याइदिनु भएको थियो ।

नेवार भए पनि कहिल्यै जातपातको विभेद महसुस भएन रे । ब्राह्मण, क्षेत्रीहरू र अन्य जातहरूसँग यसरी नजिक थियो त्यो समाज कुनै सांस्कृतिक सन्दर्भमा पर नभए झैँ लाग्थ्यो रे । उत्तरबाट बग्दै आएको कालीगण्डकी, त्यसले कुँद्ने शालीग्राम र त्यस प्रतिको मानिसहरूको विश्वास । अझ पुराण वर्णित भृगु ऋषिले तपस्या गरेको गल्फुले ओडार, आजभन्दा ५०० वर्ष अगाडि पाल्पाली राज मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा गण्डकीभित्र फेला पारेको भगवान् विष्णुको चारहात सहितको पूर्णकदको शालिग्रामको मूर्ति र त्यसको भव्य मन्दिर, रुरुकन्याको मन्दिर अनि भगवान् बुद्धको सुगन्ध बिहार सबैको अमेट छाप छ दिदीका मनमा । संस्कारमै भिजेको छ धर्म, रगतमै बगेको छ धर्म, धर्म शिष्टता हो, सुन्दर संस्कार र व्यवहार हो, सबैप्रतिको आदर र ठूलाप्रतिको विश्वास हो ।

गुल्मीबाट २०२२ सालमा एस एल सी पास हुँदाको खुशी भन्दा पनि खन्डे थाल, गिलास र कचौरा अनि चाइनिज कलम पुरस्कार पाउँदाको खुशीले अझै पनि गद्गद् बनाउँदो रहेछ उहाँलाई । त्यही पुरस्कार पाउनकै लागि पनि मरिमेटेर पढ्नु भएको रहेछ । पास हुने तीन जनामा केटी तर्फबाट उहाँ एक्लै । रुरु हाइस्कुल बनाउन रिडीका प्रत्येक परिवारले गरेको योगदान, सबै साथीहरूसँग मिलेर त्यसकालागि नाटक खेलेको सम्झना अनि प्रत्येक शुक्रवार बेलुका घरघरमा पुगेर मीठो लयमा गीत गाउँदै एक माना चामल स्कूलको भवन निर्माणको सहयोगार्थ भिक्षा माग्दाको सम्झनाले उहाँका गहिरा आँखामा चम्किएको ज्योतिलाई यहाँ शब्दले वर्णन गर्न सकिरहेकी छैन मैले । दश वर्षको उमेरमा राजा महेन्द्र तम्घासमा सवारी हुँदा नृत्य देखाउने अवसर जुटेको रहेछ उहाँलाई । सानैदेखि गीत र सङ्गीतमा पनि उस्तै रुचि बनाएको रहेछ परिवेशले । मित्रसेनले गाएको गीत ग्रामोफोनमा सुन्दा त्यहीँ भित्र मान्छे भएको अनुमान आज सम्झिँदा कति रोमाञ्चक लागिरहेको छ दिदीलाई । उतिबेला भारतबाट मित्रसेनलाई झिकाएर लेख्न र सङ्गीत भर्न लगाई गाउने गरेको भजन आज पनि रिडी बजारमा गाइन्छ रे । कात्तिक मेला लाग्दा महिना दिनभरि साथीसँग मिलेर गरिने सामाजिक व्रिmयाकलाप र धार्मिक आस्थाका कुराहरू उस्तै रोचक छन् । त्यतिबेला मित्रतामै परेका रमाइला दुश्मनीहरू हृदयमा गडेका छन् । धारे हात लगाएर साथीलाई मोर, मोर, मोरभनी सरापेका सरापहरू पनि उस्तै रमाइला छन् आज सम्झिँदा । विगत जस्तो भए पनि वर्तमानमा मीठो भएर उनिँदो रहेछ, खुशीसँगै बुनिँदो रहेछ । दिदी सम्झिँदै हुनुहुन्छ, साथीसँग झगडा गर्दाको क्षण, गुरुहरूले हात मिलाएर साथीको नाम बोलाउन लगाउँदाको क्षण । कति लाज लाग्थ्यो, लामो समय नबोलेकी साथीसँग उसको नाम बोलाउन ।

पाठकवृद तपार्इँहरू छक्क पर्नुहोला सुख र रमाइलो मात्रैले । होइन नि, जीवन सधैँ रमाइलो मात्रै कहाँ हुन्छ र ? सानाको सम्झनै मन नलाग्ने कुरा पनि त रहेछ दिदीसँग । भन्नुहुन्छ, त्यहाँ पानीको एउटै मात्र स्रोत कालीगण्डकी । उनी जस्तो बगे पनि गण्डकी, त्यसै पवित्र मानेर पिउनु पर्ने । खानेपानीको स्रोत कालीगण्डकी, मुर्दा पोल्ने र बगाउने ठाउँ पनि कालीगण्डकी, बर्खामा घरखेत, बनपाखो बगाएर बौलाही बनेपनि कालीगण्डकी । कालीगण्डकीले जुनबेला जे गरे पनि सहनै पर्ने, अनि तिनैको लेदो, धमिलो, गुहु मिसिएको, अँगार तैरिएको पानी गाग्रोमा भर्नै पर्ने । उहूँ, कति फोहोर पानी खाएर हुर्किनु पर्थ्यो नि हामीले त !पुर्पुरामै हात पुर्याउनुहुन्छ उहाँ । मलाई भन्न मन लागेको थियो, आज काठमाडौँमै पो के सफा पानी पाउनु भएको छ र ? तर भनिनँ ।

दिदी हजुरलाई लेख्न प्रेरणा कसले दियो, कहिलेदेखि लेख्न थाल्नुभयो ?” दिदीको अन्तहीन बाल्यकालीन स्मृतिलाई भत्काएर प्रश्नको तगारो तेस्र्याउनुहुन्छ अविनाश दाइ । हाइस्कुलमा देवकुमारी थापाको भविष्य निर्माणपढेपछि कथा र लेखिका दुवैको गहिरो प्रभाव परेको रहेछ दिदीलाई । पुरुष लेखकका बीच आफ्नो अस्तित्व जमाउन सफल लेखिका देवकुमारी थापा, नारी भएरै कति विद्वान् ! यो आश्चर्यजनक छापसँगै बुबाको नाम कमाउनु पर्छ भत्रे उपदेश र छिमेकी बटुकलाल दाईका प्रेरक बाणीहरू दिदीले मनको पोल्टामा सुरक्षित राख्नुभएको थियो । रेडियोबाट फर्माइसमा सुनिने नामहरू बाट पनि उस्तै प्रभावित हुन्थ्यो दिदीको मन । आफ्नै घरमा रहेको हुलाक अफिस अनि त्यही अफिसको खरिदार आफ्नै बुबा । हुलाकमा आइरहने पत्रपत्रिकाहरूबाट पनि धेरै सिक्ने अवसर पाउनु भएछ उहाँले । नियमित रूपमा आउँथ्यो रे बनारसबाट प्रकाशित हुने उदयपत्रिका । रेडियोबाट सुत्रे गीतहरू सुनेर गीत रच्ने र गाउने र नाच सिकाउने पनि गर्नुहुन्थ्यो रे दिदीले । एस. एल. सी. पास भएपछि पढ्ने तीव्र इच्छामा केही समय रोकावट आयो । नजिकै पढ्ने ठाउँ थिएन, काठमाडौँ पढ्न जाने रहरले सहज निकास पाएन । अनि यस्तै बैराग्यमा कोर्न लाग्नुभएछ कविताहरू । त्यतिबेला त छोरी भएर जन्मिएकोमा पछुतो पनि लागेछ । यसैबेला लुम्बिनी अञ्चल स्तरीय साहित्य सेमिनार भएछ । कविता प्रतियोगितामा सहभागी हुन बुबाको प्रेरणा मिल्यो । प्रतियोगितामा प्रथम हुन पुग्नुभयो दिदी । प्रतियोगी लाटो साथी (विष्णुराज आत्रेय) पनि प्रथम भएका रहेछन् तर गोलाप्रथाले दिदीलाई जिताएछ । त्यसबेला मित दाइ मोदनाथ प्रश्रित पनि भेटिनु भएछ थप प्रेरणाको स्रोत बनेर । बुवा त सँगै जानुभएकै थियो थप हौसला बढाउन ।

२०२३ सालको झापा साहित्य सम्मेलनमा पनि दिदी सहभागी हुनुभएछ, लुम्बिनी अञ्चलकै प्रतिनिधि भएर । आमासँग आएकी साहित्यकार भनेर चिनाउँथे रे उहाँलाई । भाइ र आमाको साथमा साहित्य सम्मेलन ! वा ! कति भाग्यमानी हाम्री दिदी । सलाम हजुरको भाग्यलाई !म प्रफुल्लित भएर चिच्याएँ एकैचोटि ! त्यहीँ भेट्नु भएको रहेछ उहाँले रत्नशमशेर थापा, पुरुषोत्त्म सुवेदी, जगदीश घिमिरे, देवकुमारी थापा, प्रेमा शाह जस्ता लेखकहरूलाई ।

फेरि अविनाश दाइको प्रश्न, “अठार वर्षको त्यो उमेरमा पनि कसैले पछ्याएन भन्या तपार्इँलाई ?“ दिदीका सेता दन्तलहर चम्किए, आवाज मधुरो र गम्भीर भयो, “हैन, भाइलाई निक्कै माया गर्यो एउटा केटोले । भाइ हुँदै म नजिक आयो । केही भन्न त सकेन तर हिँड्ने बेलामा ठेगाना माग्यो । धरान धनकुटातिरको पढेलेखेको शालीन केटो थियो त्यो । साहित्यकार त होइन तर सम्मेलनमा आएको, साहित्यमा रुचि राख्ने रहेछ । मैले केही बोलिनँ, रिडीकै ठेगाना दिएँ ।त्यसपछिको संयोग भने अचम्मकै परेछ । झापाबाट फर्किँदै गर्दा दिदीले काठमाडौँमा महिला छात्राबास खुलेको थाहा पाउनु भएछ । जसरी पनि पढ्ने अठोट लिएर हिँडेकी उहाँलाई बाटो खुलेछ । फर्किँदा दाजुले काम गरिरहेको ठाउँ जलेश्वरमा केही दिन बसेर काठमाडौँ पढ्न जान नपाए मर्ने अत्तो थापी उहाँ सिधै काठमाडौँ हानिनु भएछ । पासाङ गोपर्माकी सासू दुर्गा शर्माले खोलेको भिक्टर प्रधानको बबरमहल स्थित घरको छात्राबासमा बस्नु भएछ । धोवीखोला नजिकै रहेको पद्मकन्या कलेजकी प्रिन्सिपल अंगूरबाबा जोशीको प्रेरणाले उहाँलाई पढ्ने बाटो साह्रै सजिलो पारेछ । सबै विषयमा उत्कृष्ट अङ्क ल्याउने उहाँ अङ्ग्रेजीमा जस्ट पास । एकदिन साहना प्रधानले अर्थशास्त्रको कक्षामा सबैभन्दा उच्च अङ्क ल्याउने छात्रामा आफ्नो नाम बोलाउँदा खुशी र डरले काँपेको शरीरलाई आफैले सम्हाल्न साँच्चै गाह्रो परेको र त्यसै दिनबाट आफूमा बलियो आत्मविश्वासले बास गरेको दिदीको अनुभव रहेछ । शिवगोपाल रिसाल नेपालीका गुरु हुनुहुन्थ्यो, कविता लेख्न प्रेरित गर्नुहुन्थ्यो । दिदीले छोरीकविता लेख्नुभयो । २०२४ साल तिरको कुरो हो, ईश्वरमान रञ्जितकार दिदीसँग कविता माग्न आउनु भयो । दुईओटा कविता लैजानुभयो । नवकुञ्जमा ती कविताहरू प्रकाशित भए । उहाँका कविताहरू सिलोङबाट प्रकाशित हुने सुमनपत्रिकामा पनि प्रकाशित भए । पद्मकन्याको कस्तूरीपत्रिकाको सम्पादक मण्डलमा पनि हुनुहुन्थ्यो दिदी ।

छुट्टीमा घर पुग्दा पो थाहा पाउनुभएछ दिदीले ती पूर्वेली प्रेमीले धेरै पत्र लेखेछन् । बुबा हुलाककै कर्मचारी, पढ्दै च्यात्दै । अन्तिम पत्र कसोकसो भाइको हातमा परेको रहेछ र दिदीको हातमा पुगेछ । त्यही पत्रमा लेखेका रहेछन् उनले आफ्ना अघिल्ला जवाफहीन पत्रहरूको व्यथा र अन्तिम पत्रको गुनासो ! उसको प्रेमप्रति अत्यन्त आदरभाव भए पनि दिदीले पत्रको एउटा जवाफ पनि दिन सक्नु भएनछ । ती युवक त होइन तर मनले खाएका अर्कै व्यक्ति रहेछन् । जसलाई मन पर्यो उही नै कहाँ पाउनु ? हुनसक्छ दिदीको मनपराइ मात्र एकतर्फी ! दिदीलाई एकतर्फी मनपराएर पत्र लेख्ने पनि थुप्रै थिए रे !

आई. ए. पास गरेपछि घर फर्किनुभयो । सामाजिक काममा संलग्न हुनुभयो । गाउँका महिलाहरूलाई पढाउने, केटाकेटीहरूलाई विभित्र कार्यक्रममा नाटक खेलाउने, आफैँ पनि खल्ने, पटकथा र संवादहरू लेख्ने गर्नुभयो । ठूलो दाइ उति आधुनिक हुनुहुन्थेन । निकै अनुशासनमा बस्नु पर्थ्यो । बिहा गरिदिन कर गरिरहनुहुन्थ्यो तर दिदी पढेलेखेको र अफिसर केटो नभै आँखा नलगाउने । अन्ततः २०२६ सालमा एक्काइस वर्षको उमेरमा दाइको साथीसँगै उहाँको बिहे भयो । जसलाई मन पराउनुभयो, उससँग सम्बन्ध भएन, जससँग प्रेम भएन उससँग बिहे भयो । बिहे भएको एक महिना जतिपछि श्रीमान्सँगै दार्चुला जाने क्रममा तानसेनमा श्रीमान्कै मिल्ने साथीको घरमा बास बस्नुभयो उहाँहरू । त्यो घरसँग श्रीमान्को सम्पूर्ण परिवारकै घनिष्ट सम्बन्ध थियो । दिदीले भन्दै जानुभयो, “एकजना बुढीकन्या दिदी हुनुहुन्थ्यो त्यो घरमा । परिवारका सबै सदस्यलाई खूब अनुशासनमा राख्ने ती दिदीसँग उहाँको निकै कुरा मिल्दो रहेछ, उहाँले दिदी नै मान्नुहुँदो रहेछ । दिदी भाइको निकै प्रेम रहेछ । कुरा गर्दा गर्दै राति अबेलासम्म पनि मलाई सुत्न दिइएको कोठामा आउनु भएन उहाँ । मेरो कोठा त्यही कोठाको ठिक अर्कोपट्िट थियो । श्रीमान् आउनु होला भनेर बाटो हर्दा हेर्दै त्यो कोठाको ढोका लाग्यो । ढोका रातभर उघ्रेन । श्रीमान् आउनु भएन । रातभर निद्रा लागेन । मुटु काँपिरह्यो । पीडाभन्दा पनि आश्चर्य भयो मलाई । सायद ममा त्यस्तो सोच्ने क्षमताको विकास भएको थिएन । त्यो आईमाईसँग के काम होला ? अर्को पलङ पनि त थिएन त्यो कोठामा ? किन यसो गरेको होला ? भयानक द्वन्द्वले गाँज्यो मलाई ।  स्तब्ध भयौँ हामी । एक छिनको मौनतालाई चिरेर सोधेँ, “अनि भिनाजुलाई केही भन्नु भएन हजुरले ?”

अहँ !

बिनाकुनै प्रश्न जीवनको बाटो उही सरल रेखामा हिँडिरह्यो । श्रीमानप्रतिको एउटा विश्वास थियो वा अबुझपन उहाँलाई कुनै चिन्ता पनि लागेन रे त्यतिबेला । पछि बुझ्दै गएपछि त्यस विषयलाई लिएर दुईका बीच विवाद नभएको पनि होइन रे तर छोराछोरीको जन्म, लालपालन, कमाइ, व्यावहारिक जिम्मेवारीमा जुटेको जोइपोइको सम्बन्धलाई त्यसले फाटोमा बदलेन । पतिपत्नीको मायाको तातोमा उसै बिलाएर गयो त्यो घटना तर भागिरथीलाई बेलाबेलामा मुटु बिझ्ने गरी बल्झाइरह्यो त्यसले । बेलाबेलामा दोहोरिने श्रीमान्का रसिक बानीमा त्यही घटना तीखो झीर मात्रै बनेन पुरुषप्रवृित्त बुझ्दै नारी अस्मिताका लागि शब्दबाट लड्न सिकाउने शिक्षा पनि बन्यो । सायद यसै घटनाले पो हो कि म तिम्रो खेत हुँकवितामा भागिरथी यसरी बोल्छिन्:

                तिमी मेरो छातीमाथि जे पनि गर्छौ

       आफ्नो इच्छाको कैदखानामा मलाई कैद गर्छौ

जहाँबाट पनि तिमी मेरो रुचिको प्वाँख काट्छौ

       मेरो निरविच्छिन्न स्वतन्त्रताको बाटो रोक्छौ

       भागिरथीका धेरै कविता नारी संवेदनामा उनिए । आजका कुन्तीहरूउस्तै चर्चित बन्यो । यस कवितामा नारी संवेदनाको अर्को पक्ष उतारेकी छन् । कुन्तीको मिथकीय बिम्बमा बच्चा फाल्न विवश कुमारी आमालाई यसरी संवोधन गरेकी छन्ः

       तिमीले कुमारी पदवीको अगुल्टोले

       आफ्नो वात्सल्यको चोखो पानीलाई

       अपराधको हिलोले दुर्गन्ध परिदियौ

       आफ्नै छातीमा हुर्कन लागेको मुनालाई

       चुँडालेर निर्मम फालिदियौ

 श्रीमान् माया गर्नुहुन्थ्यो । लेखोस् भन्ने चाहनुहुन्थ्यो, पहिलो उपन्यास मालती उहाँले नै छपाइदिनुभयो । सकेसम्म लेखनका लागि वातावरण मिलाइदिनुहुन्थ्यो, त्यो मात्रै होइन कथाका प्लट पनि भनिदिनुहुन्थ्यो । साह्रै आँटिलो, जे काम गर्न पनि आँट्ने, कहिले किराना पसल, कहिले जस्ता पाताको डिलर, कहिले बङ्गुर पालन, भूमिसुधारको जागिरे श्रीमान् दशथरि व्यापारमा पनि हात हाल्ने अनि धेरै ठाउँमा असफल हुने । धेरै हन्डर मिल्यो जीवनमा ।बिहे गरेको दश वर्षसम्म त दिदीले लेख्न पाउनु भएनछ । २०३०/३१ सालतिर स्याङ्जा सदरमुकाममा भूमिसुधारको हाकिमका रूपमा सरुवा भएछ श्रीमानको । दिदी पनि त्यहीँको स्कुलकी शिक्षिका हुनुभयो । स्याङ्जाका साहित्यिक मित्रहरूसँग मिलेर मिर्मिरेकथा सङ्ग्रहको सम्पादन गर्नुभयो दिदीले । त्यसपछिभने दिदीको कलम कहिल्यै रोकिएन ।

यति धेरै कथाहरू कसरी बुन्नुहुन्छ, विषय कहाँबाट पाउनुहुन्छ ?” मेरो पहिल्यैदेखिको जिज्ञासाले बल्ल पोखिने मौका पायो । उहाँ कथाका विषयहरू जहातहीँ भेट्नुहुन्छ । कहीँ जानै पर्दैन रे कथा खोज्न । मान्छेको सानो सानो कुराकानी र व्यवहारमा पनि त्यस्ता विषयहरू हुन्छन्, हेर्ने मात्रै जात्रु पर्छ रे । अझ उहाँ हुर्केको समाजमा त यति धेरै घटनाहरू बिस्कुन झैँ छरिएका छन्, उहाँलाई समेट्दै फुर्सद हुन्न रे । उहाँका धेरै कथाहरू आफैँले देखेका भोगेका मानिसका वास्तविक घटनासँगै जोडिएका छन् रे । मालती उपन्यास पनि आफ्नै गाउँकी महिलाको वास्तविक घटना रहेछ । कहिलेकाहीँ राजनीतिक आग्रहले देखावटी रूपमा आफ्ना कथाका प्लट फेर्न परेको रहस्य पनि खोल्नुभयो दिदीले । मालतीकी नारी पात्र आफ्नो पतिसँग भारतमा रहँदा कुनै पञ्जावी व्यक्तिबाट अपहृत भई धेरै वर्षपछि पुनः आफ्नै अघिल्लो पतिको घर फर्किएकी रहिछन् । पतिले पनि उनलाई सप्रेम स्वीकारेका रहेछन् । तर त्यो उदारमना पुरुष पात्रको महान् व्यवहार वास्तविक भए पनि उपन्यासमा त्यो कुरा देखाउन पाउनु भएनछ । कम्युनिष्ट विचारधारामा विश्वास राख्ने साथीहरूले सामन्तहरूको चरित्रलाई उदार देखाउनु हुँदैन भन्थे । त्यसैले घटनालाई अन्तै मोड्नु परेछ । कति राम्रा राम्रा उदाहरणीय र अनुकरणीय घटना पनि त हुन्छन् हाम्रो समाजमादिदी भावविभोर हुँदै बोल्नुभयो आफ्नो समाजका ती पुरुष पात्रको सम्मानमा ।

आफ्नै फुपूकी छोरीले सुस्तमनस्थिति भएकी छोरी जन्माइन् तर आमा चाहिँ मरिन् । ती छोरीलाई बाबुले स्याहारे । तरुनी छोरी रजस्वला हुँदा पनि सधैँ झैँ सम्पूर्ण सरसफाइ र स्याहार सुसारको काम पनि बाबुले नै गर्थे । जीवनको त्यो अवस्था देखेर दिदीले लासकथा लेख्नुभएछ । उहाँका कथाहरू समाजका यथार्थ प्रतिबिम्बन हुन् । दिदी भन्नुहुन्छ, “कथा जीवनको प्रदर्शनी स्थल हो । जीवनका अनेक रूप कथामा प्रस्तुत हुन्छन् ।कथा बुन्ने साह्रै सुन्दर सीप छ दिदीसँग । चुरीका टुक्राहरू’, ‘एक मुश्लो कुहिरो’, ‘मातृत्व’, ‘भूमिगत’, ‘निर्णय’, ‘चुनौती’, ‘रातो गुलाफकथाहरूले भागीरथीको कथा लेखनको भगीरथ प्रयासलाई साँच्चै चुलीमा पुर्याएका छन् । दिलु बज्यैकथाकी पात्रलाई सम्झिनुहुन्छ दिदी । जीवनको उत्तरार्द्धमा अरूले खाएका चुरोटका ठुटा बटुलेर खान्थी ऊ । केही खान्नथी । एक दिन आफ्नै ओडारजस्तो कोठामा मरी । गाउँलेहरूले लासको सतिगति गरे । कोठा साफ गर्दा एउटा तामाको ताउलीभरि पैसै पैसा भेटे । के को मायाले उसले त्यतिका पैसा जम्मा गरेकी होली । त्यो बेला आठ हजारका सिक्का थिए !  यो कथाले दिदीलाई रत्नश्री स्वर्णपदक दिलायो । त्यसैगरी आफ्नै गाउँकी एउटी पन्डित्नी बज्यै सिकिस्त बुढालाई त्यागेर पोइल हिंडिन् । उनलाई पतिको किरिया गर्नु र विधवा हुनुको कत्रो त्रास थियो । चुनौतीकथाका बटुकलाल दाइ आफ्नै नजिकका आदरणीय दाइ । घरमा श्रीमती हुँदा हुँदै अर्की श्रीमती बिहे गरेर ल्याएको छु, भित्र्याउन तयार भएर बस्नु भन्ने आदेश पठाए । जेठी श्रीमतीले सबै कुरा मान्दै गइन् । अनेक तारतम्य मिलाएर दोस्रो श्रीमतीका बाबु (जसका चारओटी श्रीमती थिए) ले सबै सम्पत्ती झिटीगुम्टी परिदिए र छोरीलाई अन्तै बिहे गरेर पठाइदिए । पहिली श्रीमती नै ती दाइलाई दुःख गरेर पालिन् । 

यौन साँच्चै अनौठो छ । मान्छेहरू यसलाई घृणा गर्छन् फेरि मानिसलाई यही नभई हुन्न । खुला रूपमा बोल्दैनन् यसका विषयमा तर यसैका कारण ठुला ठुला घटना घट्छन् । दिदीका आफ्नै गाउँका बटुकलाल दाइ हुन् वा पण्डित्नी बज्यै सबैका कुरा यौनसँग जोडिएका छन् । तिनका कथालाई दिदीले अत्यन्त शिष्ट रूपमा कथामा उत्रनुभएको छ । त्यो सानो ठाउँमा यस्ता कति घटना घट्थे घट्थे । दिदी आफै चकित हुनुहुन्थ्यो रे । मान्छेहरू कसैको सम्बन्धलाई लिएर कति कुरा गर्थे । सबैलाई थाहा हुन्थ्यो तर त्यो कुरो सम्बन्धित पात्रसँग कसैले भन्न सक्दैनथ्यो । कुनै पात्रलाई त्यही यौनका कारण कालोमोसो दलेर पनि समाज निकाला गरिन्थ्यो । थरिथरिका घटनाहरू, विषय एउटै । सम्झिँदै अचम्म लाग्छ रे दिदीलाई । समाजको राजनीतिक घटनाक्रमसँग जोडिएका पात्रहरू पनि धेरै ठाउँमा यौनकै विषयमा मुछिएका छन् । राजनीतिक स्वार्थ, भौतिक सुखमा लिप्त भएको पात्रले लत्याएको पारूको पवित्र प्रेमको संवेदनशील कथा हो भूमिगत’ ! यौनलाई जीवनको अभित्र पक्ष मान्नुहुन्छ भागिरथी । आफ्नै जीवन नि ? सङ्कोच लागि लागि फुत्त प्रश्न गर्छु, “तपार्इँको अहिलेको जीवन र यौन ?” दिदी निसङ्कोच उत्तर दिनुहुन्छ, “यो एउटा लत रहेछ । मलाई त्यो लत छुटेको छ, कुनै चाहना नै हुन्न । त्यस्तो चाहना राख्ने परिवेशबाट पनि टाढा छु त्यसैले पनि रुचि छैन । मनलाई अनेकौँ विषाद र विरक्तिबाट मुक्त गर्न चाहन्छु । एउटै इच्छा छ शान्तिपूर्ण, सक्रिय र सरल जीवन बिताउने । स्वास्थ्यले साथ दिँदासम्म कथाप्रति नै समर्पित हुन्छु । साहित्यकै सेवा गर्छु । जुन बाटो समातेकी छु, जुन बाटोमा हिंड्दै छु, त्यही बाटो नबिराइकन अविश्रान्त हिँड्न पाऊँ । यो अमूल्य जीवनको हरेक क्षण सार्थक बाँचु भन्ने लाग्छ ।

अहिले हजुर कहाँ बस्नुहुन्छ दिदी ?” दिदीको तीन चार महिनाको होस्टेल बसाइले धेरै पहिलेदेखि उब्जाएको प्रश्न थियो मेरो मनमा । दुई छोरा र एक छोरीको आफ्नै व्यवस्थित गृहस्थी छ । चार नातिनीहरू र ९० वर्षकी सासू पनि दिदीका आफन्त प्रियजन हुन् तर दिदीको आजसम्म सहज वातावरणको स्थायी बसोबास छैन । मन एक प्रकारले कुँडिन्छ । म छोराहरूसँगै बस्छु, कहिलेकाहीँ छोरीसँग पनि हुन्छु तर स्वतन्त्र भएर रहन चाहन्छु, अब छिटै त्यसको व्यवस्था पनि हुन्छ । आमा हुँ छोराछोरीसँग टाढा हुन चाहन्न । तर यो समयमा लेख्न पढ्नका लागि व्यवस्थित र शान्त ठाउँको खाँचो चाहिँ हुँदो रहेछ । होस्टेलको चार महिनाको बसाइ स्वर्ग झैँ भयो, धेरै पढेँ, लेखेँ ।

अविनाश दाइलाई समयले अनुमति दिएन । अघि नै छुट्िटनु भयो हामीबाट । पश्चिमतिरको आकाश जति रक्तिम हुँदैछ दिदीका कुराहरू उति आकर्षक लागिरहेछन् मलाई । धारा प्रवाह बगिरहनु भएको छ दिदी, “कतिपय कुरामा चित्त दुखे पनि छोराछोरीले मीठो वचन बोल्ने बित्तिकै खुशी लागि हाल्छ, आमाको मन न हो । जीवन सङ्घर्ष नै त रहेछ । सङ्घर्ष भनेको हरक्षण विवेकपूर्ण तरिकाले बाँच्नु हरेछ । ईष्र्या, लोभ र क्रोधबाट मुक्त भयो भने बाँच्न सजिलो हुने रहेछ । अब पितृ भएका श्रीमानप्रति पनि कुनै गुनासो छैन, बिझेका मान्छे र व्यवहारप्रति पनि कुनै रिसराग छैन । सबैका गुन बाहेक कुनै बैगुन सम्झिनु नपरे हुन्थ्यो भन्ने लाग्छ । मैले आमा र दिदी बहिनी सरहका साथीहरू पाएकी छु । साहित्यकार दाजुहरू र भाइहरूबाट पनि उस्तै सहयोग मिलेको पाएकी छु । जसले जीवनमा खुशी दिन्छ, सहयोग गर्छ, बाँच्न सहज बनाइदिन्छ उही भगवान् रहेछ । आस्थाको एउटै भगवान् भए पनि मेरा थुप्रै भगवानहरू छन् ।  

(गरिमा मासिकमा प्रकाशित)

Comments

Ambika Gurung

I have gotten a chance to read this article through Khass khass .com .It was amazing and beautiful words .I got powerful feeling to think about literature –Ambika 

रामहरी पौड्याल

मैले भर्खरै रजनी ढकालको \'\'हत्केलामा असार उमारेर\'\' पढें ! सरल भाषाशैलीमा सुललित सुन्दर निबन्धहरू पठनीय छन् |

अलका आत्रेय

sahasik, hridayasparshi, mayalu evam sundar .....

Niharika

Di ko sunna katha ajha sunna baki nai chh ....rajani di le hamilai ni sangai puraunu bho . Dhanybad.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |