प्रियतमाको नाममा – यौटा कविता
शेखर विकल्प, (काठमाडौँ)
साँच्चि – बिश्वासै नहुँदो त यो संसार र दुनिया कसरी चल्दो हो हँ ? बाटोको किनारै किनार भएर बगेको छ नदी, र चुर्लुम्म डुबेरै गंगास्नान गरेका छन मान्छेहरु.. के पानीले मान्छेलाई मुक्ति दिलाउँछ ? छ गाउँमा सबैको गुनासो उस्तै- सखाप भईसक्यो सहर - पाश्चात्यको डढेलोले ! के ठेगान त्यो हुरी भोलि यहि पो आईपुग्ने हो कि ? आमा, बा भन्दै थिए - तँ सहरिया नबन्नु है बा.. महिना नपुग्दै गिध्दका झैँ आँखा तेर्साएर घर बहालको घण्टि बजाउँछन घरबेटि । नुन, चामलको पैसो नतिरेको महिनौ भइसकेछ, उफ.. कुन गल्लि छिरेर बाहिर निस्कनु ? सोध्न मन थियो एकदिन मास्टरसापलाई - क्याम्पस, पाठशाला हो या प्रदर्शनीगृह ? बिद्यार्थीहरु आउँछन प्रतिस्पर्धा गर्न – बिद्याको या धनको ? र मास्टरहरु बेच्छन शिक्षा या बिज्ञापन ? सहर त - अभावहरुको संग्रहालय पो ! देशमा सत्ता बद्लिन्छ मौसम जस्तै – कैले घाम त कैले पानी, बिचरा जनता – आश गरुन सत्ताको वा खोजुन ओत - छहारी । हुलाकी दाइले अस्ति मात्रै पत्र थमाएथे, लेख्दै थिईन प्रियतमा – निष्ठूरी, माया भन्ने त थोपो छैन है तिम्लाई ! माया नै नभएको कोहि मान्छे होला र, के जवाफ दिउँ खै, कुन बिश्वास खोपेर प्यारमा ! सपना, आश्वासन या बिवशता ? सोच्दा हुन दलानबाट लामो सास फेर्दै, बाटो भरी आँखा ओछ्याएर – अब त छोराले पनि घर खर्च चलाउनु पर्ने ? तर , बा लाई कस्ले भन्दिओस – छोराको सर्टिफिकेट पैसा छाप्ने मेसिन हैन भनेर ! कालो बादल थियो आकाशै ढाकिने गरी, कतिपल्ट हेरीरहुँ लाग्ने नचाहेर पनि ! हराउने हुन खै कत्तिखेर ? न बर्षिन्छ पानी बनेर - न उघ्रिन्छ आकाश छाडेर, मान्छे भित्रको बेदना जस्तै । तै.. कहिलेकाहि देखिने काला बादलका सेता घेरा हेरेर, प्रियतमालाई यौटा पत्र कोरौं लाग्थ्यो , स्वर्णिम सपना भित्र सुनौलो गुलाफ फुलाएर, र बा आमाका अलिना सपना कोरेर ।