हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पद्मावती अर्थात् आख्यानकी पद्मिनी

रजनी ढकाल, (काठमाडौं)

          
(निबन्धकार रजनी ढकाल)    (कथाकार पद्मावती सिंह)

पाँच फुट दुई इन्च अग्लो खाइलाग्दो जिउडाल
, फुर्तिलो तर गम्भीर र उच्च व्यक्तित्व, ठाँटिलो पोसाक, गाजलमा लठ्ठ परेका ठुल्ठुला आँखाहरू, अनुहार सुहाउँदो मोटो नाक अनि सधैँ रातो लिपिस्टिकमा मधुर मुस्कान सहित टल्किरहने रसिला ओठहरू । मङ्गोलाइड अनुहारकी पद्मावती दिदीलाई झलक्क हेर्दा मैले जस्तै जोकोहीले यस्तै देख्छन् भत्रे अनुमान गरिरहन्छु म । झन्डै साढे छ दशकको जीवनको खुट्किलो चढ्दै गरेकी दिदीको उमेरको परिपक्वता उनका सिर्जनाहरूमा देखिए पनि व्यवहारमा भने कता कता टिनएज नै पो हुन् कि जस्तो लागिरहन्छ मलाई । उनको बोलीचालीको हाउभाउ, अनुहारको सिँगार पटार केही समयअघिसम्म चुल्ठोमा सजिने गरेको रातो गुलाफ अनि रङ्गीन पोसाकका रुचिहरूलाई देख्दा हाम्री पद्मावती दिदीमा उही कलेज जीवनको सुन्दरता अझै चम्किरहेको अड्कल काट्न सकिन्छ । तिलचामले कपाललाई ढाकेको मेहन्दीको रातो रङ, चाउरिन सुरु गरेका कोश र निधारमा एकनासले लेपन गरिएको क्रिम पनि त दिदीलाई सुन्दर देखाउन सहयोगी बनेका छन् ।

पटक पटकको फोन वार्तापछि तय भएको थियो पद्मावती दिदीसँग भेट्ने कुरो । गुञ्जनका कार्यक्रम अनि साहित्यिक सभासामारोहरुमा पटक पटक भेटिएकी पद्मावती दिदीलाई गरिमाको स्रष्टा सन्दर्भमा प्रस्तुत गर्न भेट्नु थियो मैले । सधैँ दिदीबाट सुनिरहने हार्दिक संवादहरूले मलाई विश्वास दिलाएका थिए दिदीसँग कुरा गर्न रमाइलो हुन्छ, उहाँका कुराहरू खोल्न मैले कुनै रङ्गहीन समय नाघ्नु पर्ने छैन ।

आज २०६९ मङ्सिर १३ गते बुधबार । बिहानको चिसो ठिहीलाई चिरेर उज्यालो घाम धरतीभरि पोखिइ सकेको छ । पुल्चोक साझा प्रकाशनको कार्यालय नजिकै रहेको उहाँकै ठुल्दिदी कौशल्याको घरमा बसेर कुरा गर्ने टुङ्गो लगाउनु भएको छ दिदीले । मैले दिदीलाई ठिक १०:१५ बजे साझा प्रकाशनको परिसरमा आइपुग्न बोलेकी छु । समयले मलाई आफ्नो पोल्टामा सजिलै अटाएको छ । यसरी सधैँ अटाउँछ भत्रे विश्वासमा पनि छु । काम ठुलो होइन, समय व्यवास्थापन ठुलो हो भन्छन् बुज्रुकहरू । म यो समयलाई व्यवस्थापन गर्न उद्दत छु । आखिर जीवन यही समय व्यवस्थापन क्रमको निरन्तरता नै त रहेछ ।

समयमा निर्धारित स्थानमा भेटिन्छौँ हामी । साझा प्रकाशनको परिसरलाई छोडेर देब्रे मोडिएको दुई मिनेटमै उत्तरतिरको भिरालो जमिनमा उभिएका घरहरूमध्येको एउटा घरमा छिर्नुहुन्छ दिदी । म पछि छु, अनि मभन्दा पछि छुटेको छ न्यानो घाम । एउटा चिसो सिरेटोले हान्दै लामो सिढीँ उकाल्छ हामीलाई । दिदीका घुँडाले उति साथ दिएका छैनन्, खुईखुई गर्दै उक्लिनुहुन्छ, “के गर्नु, यी खुट्टै यस्तो छ, केही गर्नै गाह्रो हुन थाल्यो बैनी मलाई त ! फेरि यहाँ चिसो छ, बरू उतै सम्पादकको अफिसमा बसेको भए हुने रहेछ ।दिदी एक हातले सारीको मुजा उचालेर अर्को हातले भर्याङको रेलिङ समाउँदै ठिङ्ग उभिनुहुन्छ र लामो सास तान्दै बोल्नु हुन्छ । ब्वाइज कटमा छाँटेको कपाल निधारभरि छरिन खोज्दै छ । निधारको बिचको रातो टीका उहाँका आँखाको ज्योति जस्तै चम्किलो छ । 

त्यहाँ मानिसहरू आइरहलान्, हाम्रो कुराकानीमा बाधा हुन्छ कि भनेर घरमै बसौँ भनेको दिदी !मैले स्पष्टीकरण पनि दिएँ तर मनमनै गल्ती गरेँ जस्तो लागिरहेको थियो, त्यस्तो न्यानो घाम लागेको ठाउँ छोडेर पूरै छायाले नुहाएको ठाउँतिर छिर्नुपर्दा, अनि ममा अर्को चस्को पसेको थियो, दिदीको बारम्बारको खोकीलाई यो चिसोले पक्कै बढाउने छ र हामीलाई कुरा गर्न अप्ठेरो पार्नेछ । मैले जे सोचेँ त्यही त भयो, दुई घन्टा बस्दा मेरा सबै अङ्ग चिसिए, दिदीको खोकीले तीव्र गति लियो, कफ फाल्ने क्रम झन् बढ्यो । तर जति प्रतिकूल भए पनि मान्छेलाई आफ्ना बारेमा कुरा गर्न भनेपछि रमाइलै लाग्ने रहेछ, दिदी आफ्ना कुराहरू खुरुरु बताउँदै हुनुहुन्थ्यो मलाई ।

मेरो पहिलो जिज्ञासा थियो उहाँको बाल्यकाल, कहाँ र कसरी बित्यो भन्ने ।

पद्मावतीको बाल्यकाल सुखमा बित्यो । सायद यति मात्रै भनेर पुग्दैन । सुखको पनि त मात्रा हुन्छ, मेरो कल्पनाको सुख र पद्मावतीको भोगाइको सुखमा पक्कै अन्तर छ । त्यसैले मैले भन्नुपर्छ अति सुखमा । सम्पत्र परिवारको सुखमा । क्षेत्रपाटीको न्ह्योखा टोलमा जन्मे हुर्केको उनको बाल्यजीवनले काठमाडौँको अतिउच्च परिवारको पालनपोषण पायो । उनको पारिवारिक सम्पन्नता उनका बुबा र बाजेको मात्रै हैन बुढाबाजेकै पालादेखिको थियो । बुढाबाजे (हजुरबुवाका बुवा) सरदार हरिभक्त माथेमा चन्द्रशम्शेरका सत्र भाइसँग अठारौँ भाइ सरह भएर दरबारमा रतिएका थिए । सत्रभाइको गुरु हरिभक्त माथेमालाई रैती नमानी राणाहरू आफू सरह नै व्यवहार गर्थे । त्यसपछिको दोस्रो पुस्ता पद्मावतीका हजुरबुवा थिए दरबारका बडाकाजी । प्रधानमन्त्री सरहको मान्यता भएका चारओटा बडाकाजीमध्ये एक थिए नारायणभक्त माथेमा । यी बडाकाजीहरूको सानसौकत तिनै राणाहरूको जस्तै थियो । थुप्रै नोकरचाकर अनि सम्पन्न रहनसहन । अनि पद्मावतीका बुबा परशुरामभक्त माथेमा दरबारका मिर सुब्बा । पछि डा. के आई सिंहको मन्त्री मण्डलका मन्त्री !

दिदी उत्साहले बोल्दै हुनुहुन्थ्यो, उहाँका आँखीभौँ माथिमाथि उचालिएका थिए, “बुबा मदन शमशेरकहाँ मिर सुब्बा ! खै पछि के कुरामा कुरो मिलेन त्यो पद त्याग्नुभयो र लाग्नुभयो गहनाको व्यापारमा । कहिले बम्बै कहिले कलकत्ता !

प्रजातन्त्रको सुनौलो बिहानले परशुरामभक्तलाई पनि त तान्यो । उनी लागे राजनीतिमा अनि पुनः उद्योग वाणिज्य मन्त्री ! मैले मनमनै सम्झेँ गोपालप्रसाद रिमालको आमाको सपनाको पङ्क्ति, ‘त्यो हुरी भएर आउने छ, तिमी पात भएर पछ्याउने छौ ।परशुरामलाई पनि त्यो हुरीले सुख दिएन, परिवर्तनको हुरीमा हुलिए र जीवनमा गतिलो परिचय पनि बनाए । परशुरामको दूरदर्शिता मात्र होइन ज्ञानको क्षितिज पनि उत्तिकै फराकिलो थियो । उनले २००० सालमा नै सङ्गीत प्रवेशिकापुस्तक लेखेका थिए । सङ्गीतप्रतिको रुचिले उनलाई रागरागिनीको विद्वान्मा उभ्याएको थियो । उनले नेपाली भाषामा रागरागिनीको पुस्तक लेखेका थिए ।  नेपालका महान् सङ्गीतज्ञपुस्तकमा उनको जीवनी पनि संलग्न छ । उनी घरैमा गायकहरू बोलाउँथे, आफू पनि गाउँथे । उनको गायनलाई राजा महेन्द्रले पनि बारम्बार प्रशंसा गर्थे रे । घरमा सानैदेखि मिलेको यो गीत सङ्गीतको वातावरण नै पद्मावतीलाई गीति लेखनको प्रेरक गर्भ हो ।

क्षेत्रपाटीको कन्यामन्दिर हाइस्कुलमा पढथिन् पद्मावती । स्कुल जाने बेलामा कपाल कोरिदिने अन्नपूर्ण बज्यै थिइन् । ठाँटले स्कुल पुग्थिन् । बनारसबाट बुबाले ल्याएका सुन्दर अनि मुलायम लुगाहरू, आश्चर्यमिश्रित भावमा स्नेहले दुई औँलाका बीचमा राखेर मुसार्थे साथीहरूले । नेपाली विषयका आदर्श गुरु थिए समालोचक कृष्णचन्द्रसिंह प्रधान, अनि अङ्ग्रेजीका गुरु थिए कवि भीमदर्शन रोका । नेपाली विषयमा त सधैँ टप । अङ्ग्रेजी कविताहरू पनि मुखाग्र हुन्थे पद्मावतीलाई, तिनलाई अर्थ लगाएर व्याख्या गर्न पनि सिपालु । त्यसैले गुरु भीमदर्शन उनलाई मायालु आवाजमा बोलाउँथे, “माथु ! अगाडि आऊअनि विद्यार्थीहरूतिर फर्केर बोल्थे, “Listen, she will explain."

हाल विशालबजार भएको ठाउँमा पद्मावतीका काका दयाराम भक्त माथेमाको जनसेवा सिनेमा हल थियो त्यतिबेला । उनी राजा त्रिभुवनका निजी सचिव थिए । पद्मावतीका काका र दाजुका मिल्ने मित्र थिए शङ्कर लामिछाने र भीमदर्शन रोका । साहित्य र कलाका क्षेत्रमा लागेका यी सिर्जनशील मित्रहरूले त्यही जनसेवा सिनेमा हलमा एउटा चिल्ड्रेन्स क्लब खोलेका थिए । टोलका बच्चाहरूको प्रतिभा स्फुरणका लागि महिनाको एक पटक शनिबार बिहान प्रतियोगिता हुन्थ्यो । हो, त्यही क्लबको स्टेजमा सबैभन्दा पहिला पद्मावतीले फूलबारीकविता सुनाइन् । आठ नौ वर्षको किशोर उमेरमा नै उनले निकै स्याबासी पाइन् । वादविवाद प्रतियोगिता, निबन्ध प्रतियोगिता अनि नाचमा पनि उनले धेरै पुरस्कार पाइन् ।

सम्पन्न मात्रै होइन आधुनिक विचारधाराका थिए पद्मावतीका बुबा । उनी गर्व साथ भन्छिन् थाहा छ मेरो बुवा के भन्नुहुन्थ्यो, ‘केटीमान्छे भनेर पछि हट्नु हुन्न, पुरुष सरह अगाडि बढ्नुपर्छ’, आज पनि कति छोरीमान्छेलाई त्यो छुट छैन, हामीलाई त्यो बेला नाचगान गर्ने पूर्ण स्वतन्त्रता थियो ।

दिदीको पहिलो रचना कहिले छापिएको होला त, मेरो जिज्ञासा शब्दमा रूपान्तरित हुन्छ ।

कवि सिद्धिचरण श्रेष्ठको आँगनमै हुर्किन् उनी । कविकी पुत्री शान्तासँग गहिरो मित्रता राखिन् । कविजी सधैँ लेखिरहेको, पढिरहेको देख्थिन् रे उनी । अलि होहल्ला गरेर खेल्दा बिस्तारै खेलभनेको पनि सम्झिन्छिन् । लेख्नुपर्छ भन्ने प्रेरणा त सानैदेखि थियो त्यसमा अर्को प्रेरक बिम्ब बनेका थिए सिद्धिचरण र उनको ख्याति । पद्मावतीको पहिलो कथा प्रकाशनको पनि रमाइलो कथा रहेछ । उनी कथा लेख्दै राख्दै गर्थिन् रे । एकदिन ठुल्दिदी कौशल्याले उनका कथा भेटिछन् र पढिछन् । अनि उनलाई आएर सोधिछन्, “यो तिमी आफैले लेखेको हो ? कतैबाट सारेको त हैन नि?” बहिनीबाट विश्वासिलो उत्तर पाएपछि नेपाली साहित्यकी शिक्षिका बनिसकेकी दिदीले पनि बहिनीलाई नभनीकन उनको पत्थरको हृदयकथा आरती साप्ताहिक (२०२२) मा छपाउन दिइछन् । सुश्री पद्मावती माथेमाको नाममा छापिएको कथा पढेर साथीहरूले एकैपल्ट बधाई दिँदा पो उनी झस्किछन् । त्यो सुखद् क्षण कहिल्यै बिर्सिन्नन् ।

आई. एस्सी. पढ्दै गर्दा आफूले लेखेको कथा सुनाउँदा सिद्धिचरणले पद्मालाई यसरी प्रेरित गरेका थिए रे, “हेर पद्मा लेख्दै गयौ भने तिम्रो बुबा परशुरामभक्त र काका दयारामभक्त भन्दा तिम्रो नाम ठूलो हुन्छ ।

प्रथम श्रेणीमा एस. एल. सी. उत्तीर्ण भएपछि बुबाको निर्देशन अनुसार पद्मावतीको उच्च अध्ययन विज्ञानतिर सोझियो । कान्छी छोरीलाई जसरी पनि डाक्टर बनाउने सपना थियो परशुरामको । उनी त्रिचन्द्र कलेजमा भर्ना भइन् । कलेजको पहिलो दिन उनका लागि अझ अविस्मरणीय रहेछ । त्रिचन्द्रमा विज्ञान, मानविकी र शिक्षा सङ्कायका सबै केटाहरू मिलेर पहिलो दिन कलेज आएका केटीहरूको सुन्दरता पर्गेल्थे रे । अनि टप टेनको सूची निकाल्थे रे । त्यो वर्षको सूचीको पहिलो नम्बरमा परिछन् पद्मावती माथेमा ! सबै हाइहाइ गर्थे तर कुनै केटासँग बोल्नै डर लाग्थ्यो । केही बोले पनि साइन्सको प्राक्टिकल ग्रुपका केटाहरूसँग मात्र ! सबै केटीहरू अघिल्ला बेन्चमा बस्थे । पछाडिबाट केटाहरू मनपर्ने केटीलाई रातो गुलाफको थुङ्गाले हिर्काउँथे । केटीहरू पछाडि फर्किन्थे अनि केटाहरू आँख झिम्क्याउँथे । त्यो थाहा पाएपछि उनीहरू पछाडि फर्किनै छाडे रे । एक दिन पछाडिबाट एउटा केटाले हानेको फूल ब्ल्याकबोर्डमा लेख्दै गरेकी मिसको टाउकामा पो पुगेछ । भर्खर फिजिक्स पढाउन आएकी धुस्वाँ सायमीकी अविवाहिता बहिनी पनि के कम सबैलाई थर्काएर पढाउनै नआउने धम्की दिएर निस्किछन् । त्यतिबेला केटाहरूले माफै माग्नु परेको थियो रे ।

कलेज पढ्दा पद्माको परिवार पुल्चोकको घरमा सर्यो । उनको घर नजिकै थिइन् प्रेमा शाह । उनका घरमा धर्मयुग, रूपरेखा, सारिका पत्रिका आउँथे । पद्मावती ती सबै पत्रिका मागेर पनि पढ्थिन् । साइन्सको विद्यार्थी भए पनि साहित्यतर्फ रुचि बढ्दो थियो । प्रेमा शाह भन्थिन्, “लेख्न त सक्दि रैछ्यौ, अब अरूका रचना धेरै पढ, सकेसम्म पढ ।उनकै घरबाट उनले चिसो चूह्लो, पल्लो घरको झ्याल जस्ता रचना लगेर पढथिन् रे ।

परशुरामभक्त माथेमाको व्यापार राम्रैसँग जमेको थियो । उनी यति कमाउँथे कि बम्बैको ताज होटलमा एक महिनासम्म मस्तीका दिन बिताउँथे । २०२० सालमै हो, पद्मावती सम्झिन्छिन्, “कान्छी श्रीमती लिएर जानुभएको थियो, ताज होटलमै रहँदा हर्ट अट्याकले बित्नुभयो । बम्बैमा फ्ल्याट किन्छु र तिमीहरूलाई उतै लगेर पढाउँछु भनेर जानुभएको थियो । बुबा बितेपछि भनेजस्तो भएन । कति पैसा कता डुब्यो केही थाहा भएन ।

बुबाको अन्त्य अनि त्यही वर्ष डाक्टर पढ्नको लागि आउने स्कलरसिप अन्चल स्तरीय भएपछि बाग्मती अन्चलमा छुट्याइएको दुई सिटमा पर्न पद्मावतीलाई गाह्रो भयो । अनि उनी बी. एस्सी. गर्न लागिन् । बुबाको मृत्युपछि घरका व्यवस्थापन पहिले जस्तो रहेन । दाजुका मित्र प्रसिद्ध फुटबल खेलाडी क्याप्टेन राजबहादुर सिंह पद्मावतीलाई एकोहोरो मन पराएर धाउन थाले । उसो त पद्मावतीलाई मन नपराउने को थियो र ! एक चोटि त बिहे गर्नै थियो, डाक्टर पढ्ने सपना पनि पूरा भएन । अन्ततः पद्मावतीले बिहेका लागि मञ्जुरी दिइन् । राष्ट्रिय व्यक्तित्व आर. बी. राजा सँग नाता जोडियो पद्मावतीको तर साइन्सको पढाइ रोकियो । पछि मानविकीतिर भर्ना भइन् र अङ्ग्रेजी विषय लिएर पास गरिन् तर स्नातकोत्तर गर्ने उनको सपना कहिल्यै पूरा हुन पाएन । आफ्ना सबै दिदीहरू स्नातकोत्तर भएर पनि आफूले त्यो तह पूरा गर्न नसकेकोमा जीवनभर पश्चाताप लागिरहन्छ रे उनलाई । तीन तीन सन्तानकी आमा भएपछि उनलाई घरव्यवहार र पढाइको व्यवस्थापन मिलाउनै मुस्किल पर्यो ।

काठमाडौँली नेवारको संयुक्त परिवार, अनि बुहारीको कर्तव्य साथमा ७५ वर्षकी अति हकी स्वभावकी सासू ! पद्मावती परिन् केही काम गर्न नजान्ने पुलपुल्याएर पालिएकी कान्छी छोरी । बुहारी बनेपछि थाहा भयो उनलाई सुन्दरता, विद्वता र पढाइको भन्दा राम्रो काम जान्ने बुहारीको कदर हुन्छ घरभित्र ! जे काम गर्न थाल्यो त्यही बिग्रिन्थ्यो । उनलाई प्रत्येक काम बिग्रिँदा लाग्थ्यो, “यो काम गर्न जानेको भए मेरो कति सम्मान हुन्थ्यो !उनी भन्छिन्, “सासूदेखि डराएर हातको चिया नै पोखिन्थ्यो । रोटी बेल्न थाल्यो, जीउ मात्र हल्लिन्थ्यो, रोटी बेलिन्नथ्यो । म जात्राको पात्र हुन्थेँ ।एक दिन सासूले रोटी पकाउन अह्राएर कोठातिर गइन् । चोसोमोसो पारेर रोटी त बेलिन् बुहारीले तर पकाउँदा पकाउँदै डढ्यो । अर्को पनि त्यस्तै भयो । जति रोटी डढ्थ्यो उनी झ्यालबाट फाल्दै जान्थिन्, अर्को त राम्रो होला कि भन्ने आसमा । तर कुनै रोटी राम्रो भएन । सबै रोटी चोसो फर्केका, अनि डढेका । पिठो त सबै सकिएछ !

काम गर्न नजान्ने तर इमान्दार बुहारी थिइन् पद्मा । कसैले केही भने जवाफ दिन्नथिन्, बरू रुन्थिन् त्यसैले सासूले जेठानीलाई भन्दा उनलाई नै मन पराउँथिन् रे । तर पनि घर जाँदा उनको मन सधैँ ओइलाउँथ्यो । कसो कसो भागेर दसै दिनमा माइत पुग्थिन् रे ।

घरमा काम गर्न नजान्ने तर पढेलेखेकी बुहारीको काम अब बाहिरको नै भयो । उनले जागिर खान अनुमति पाइन् । अनि खुशीसाथ लागिन् विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्न । सेभ द चिल्ड्रेन यु एस, एसियन फाउन्डेसन, एफ बी पी डब्लु एन जस्ता आई एन जि ओमा अधिकृत हुँदै उनी परिवार नियोजन संघमा काम गर्न पुगिन् ।

समय छोराछोरी र जागिरमा बाँडिएको थियो तर टुक्रा टुक्री बचेको समयमा पद्मावतीको कलम एकोहोरो चलिरहेको थियो । २०३८ सालतिरको कुरो हो, परिवार नियोजन संघको सञ्चार महाशाखा प्रमुखका रूपमा उनकै कोठामा उनका हाकिम बनेर आइपुगे ईश्वर बल्लभ ! सधैँ रेडियोबाट सुनिरहने गीतकार ईश्वर बल्लभ र आफूसँग काम गर्न आएका ईश्वर बल्लभ एउटै हुन् कि होइनन् ! पद्मालाई साह्रै संसय भयो र मुखै फोरेर सोधिन् । उनले पनि गम्भीर मुस्कान सहित त्यो शंका सकारात्मक रूपमा निवारण गरिदिए । त्यही अफिसमा पद्मावतीले यादव खरेल, बासु शशी जस्ता साहित्यिक हस्तीको साथ पाएकी थिइन् । अब ईश्वर बल्लभ त आफ्नै टेबुलको अर्कोपट्टि टेबुलमा एउटा चुरोट सल्काउँथे, धूँवाको काल्पनिक तरङ्गमा डुब्दै एक सिटिङमा कविता लेख्थे । पद्मा पनि कविजी कतिबेला बाहिर जालान् र पढूँला जस्तो गरेर कुर्थिन् । कविजी कविता लेख्थे, छाड्थे, बिर्सन्थे । पद्मा तिनलाई एउटै फाइलमा राखिदिन्थिन् । पछि पद्माले यसैगरी सङ्कलन गरिदिएका कविताहरूको सङ्ग्रह नै बन्यो, कस्मै देवाय !

पद्मावतीमा ईश्वर वल्लभको व्यक्तित्वको गहिरो छाप रहेछ । उनका हरेक कृयाकलापलाई निकै उत्साहले बोलिन् उनले । कविले पनि पद्मावतीलाई लेख्न प्रेरित गरिरहे । नियोजनपत्रिकाले पनि यसमा महत्त्वपूर्ण भूमिका खेल्यो । पद्मावती सुनाउँछिन्, “बल्लभ भन्नुहुन्थ्यो, ‘महिला लेखक कम छन्, जस्तो आउँछ लेख्दै जानूस् पछि हात बस्छ ।अझ उहाँ भन्नुहुन्थ्यो, ‘तपाईँ र म कुनै दिन एउटै मञ्चमा हुन्छौँ’, नभन्दै म गुञ्जनका धेरै कार्यक्रहरूमा सभापति र उहाँ प्रमुख अतिथि बनेका क्षण आए । उहाँ एकदम शुद्ध कवि, केहीको मतलव थिएन, अति इमान्दार र सरल मान्छे !

चिसोले आत्तिएका हामी सम्पादकको कार्यालयमा आइपुगेका छौँ । तातो पानीको सुर्की लगाउँदै एकनासले बोलिरहनु भएको छ दिदी, म सुनिरहेकी छु । बोल्दाबोल्दै घरि उहाँ जुरुक्क उठ्नुहुन्छ र ढोकासम्म पुग्नुहुन्छ घरि मेरो मुखै नजिक आएर अझै मजाले बुझोस् भन्ने भावमा कुर्लिनुहुन्छ । भर्खरै खोक्दै गरेको मुखबाट निस्केको तातो सासले मलाई अलि अप्ठ्यारो पारिदिन्छ, अलि पर सर्छु ।

मान्छेहरू त ईश्वर बल्लभलाई अलि अप्ठ्यारो मान्छे भन्छन् नि ? अविनाश दाइको प्रश्न । दिदी फेरि फरक्क फर्किनुहुन्छ प्रश्न आएतिर र आवाजलाई नरम बनाएर बोल्नुहुन्छ, “उति सजिलै नखुल्ने व्यक्ति हो । उहाँ आफ्नै कविता जस्तै चाम्रो पनि हो तर खराब होइन । म त सधैँ सँगै भएँ, मसँग त्यसैले पनि सजिलै खुल्नुहुन्थ्यो । लोभलालच कत्ति थिएन, साह्रै स्वाभिमानी मान्छे ! थाहा छ, मेरो पहिलो इन्टरभ्यु नै उहाँले लिनुभएको, कति डर लागेको थियो ।मानौँ पद्मावतीको मनको कुनै कुनामा त्यो डर अझै पनि बाँकी छ । मेरा आँखा उनका अनुहारमा एकोहोरिए । 

त्यही अफिसमा भेटिन् पद्मावतीले अन्य साहित्यिक मित्रहरू हेम हमाल, जगदीश घिमिरे अनि विजय थापालाई । जमल कान्तिपथमा रहेको परिवार नियोजनको अफिसमा नेपालभरिकै स्रष्टाहरू भेटिन्थे । पत्रकार किशोर नेपाल र हरिभक्त कटुवाललाई पनि त्यही अफिसमा हुँदा चिनिन् उनले । नियोजनपत्रिकाले त्यतिबेलै एउटा लेखको रू. ५०० पारिश्रमिक दिन्थ्यो । पद्मावती सम्पादक भएपछि लेख हेरेर त्यो रकम रू. १००० सम्म पनि पुगेको थियो ।

सधैँजस्तै एक दिन हरिभक्त कटुवाल आएर ईश्वर बल्लभसँग तीस रूपैँया मागेछन् । खल्तीमा हुँदा त दिन्थे कविजीले तर त्यस दिन छैन भनेछन् । पद्मालाई कस्तो कस्तो लागिरह्यो । आफ्नो व्यागबाट तीस रूपैयाँ निकालेर सुटुक्क ईश्वर बल्लभको टेबुलमा राखिदिइछन् र दुवै कविलाई सजिलो पारिदिइछन् ।  

घरिघरि कवितातिर पनि झुकिरहने पद्मावतीको कलमलाई ईश्वर बल्लभले नै आख्यानतिर सोझ्याए । अन्ततः उनको लेखन गद्यतिर एकोहोरियो । २०३८ तिर मधुपर्कमा उनको डाँडा भञ्ज्याङ र आरूघाटशीर्षकको यात्रा संस्मरण छापिएको थियो । संयोगले ईश्वर बल्लभसँगै एक दिन उनी पारिजातलाई भेट्न पुगिछन् ।  पारिजातले उनको नाम सुन्ने बित्तिकै सोही रचनाको प्रशंसा गरिन् । उनलाई यात्रा संस्मरण लेख्न पनि सुझाइन् । अग्रज स्रष्टाको प्रेरणा अनुजका लागि वरदान हुने नै भयो । पारिजातले गरेको त्यस दिनको प्रशंसाले पनि पद्मावती लेखनमा अझ उचालिइन् ।

तत्कालीन रानी ऐश्वर्य सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को संरक्षक भएपछि समाजसेवाका सबैजसो अफिसहरूमा उनका मान्छेहरू घुस्न थाले । नातावाद र कृपावादले चरम रूप लियो । निरङ्कुश पञ्चायती शासनका तिखा नङ्ग्राहरूले परिवार नियोजनको संस्था पनि नराम्ररी चिथोरियो । त्यस संस्थाको अध्यक्ष भइन् प्रेक्षा शाह, अनि डाइरेक्टर शंकर शाह । त्यहीँभित्र पनि विभिन्न समितिहरू बने र संस्था शाहीकरण हुन पुग्यो । सीमित मान्छेहरू शंकर शाह र प्रेक्षाको जीहजुरी गर्थे, स्वाभिमानी लेखकहरू टेर्दैनथे । ईश्वर बल्लभ त झन् टेरपुच्छर लाउँदैनथे । बेलुका बेलुका अफिसमै हुने बिजुली पानीको जमघटमा पनि समेल हुन्नथे । एकदिन शंकर शाहले केही काम छ भनी ईश्वर बल्लभलाई बोलाउन लगाए । बल्लभले पनि उत्तर दिए, “पछि आउँछु ।एक छिनमै डाइरेक्टर खुट्टा बजार्दै तल बल्लभको कोठामा झरे र नाक अगाडि चोर औँलो ठड्याएर बोले, “I will see you" यी सबै कुरा दिदीले अभिनय गरेरै देखाउनु भयो, मानौँ उहाँ शंकर शाह हो र कुर्चीमा बसिरहेका अविनाश चाहिँ ईश्वर बल्लभ ! म चाहिँ त्यहीँको रमिते पद्मावती !

एक्जुकेटिभको मिटिङमा शंकरले प्रेक्षाका अघि अत्तो थापे, “कि मलाई हटाऊ कि ईश्वर बल्लभलाई !

बल्लभ पनि स्वाभिमानी थिए,“त्यो बाबुचालाई के सोध्ने?” जुनसुकै निर्णय आफैँ गरिदिन्थे । अन्ततः बल्लभ शाही कोपभाजनमा परे । राम्रो जागिर छुट्यो । घरको अन्नपानी टुट्यो । अनि ईश्वर बल्लभलाई हर्टअट्याक भयो । त्यसपछि कसैलाई काम गर्ने मुड भएन । काम गर्न पनि अप्ठ्यारो हुन थाल्यो । हाम्रो पछि सिआईडी लाग्थे ! पछि त मैले पनि छोडिदिएँ ।दिदीको आवाज ओइलाउँदै गयो । 

मैले दिदीको सिर्जन धर्मिताको सन्दर्भलाई उचालेँ, “महिला भएकै कारणले कुनै विषय लेख्न अप्ठ्यारो त परेको छैन ?”

यौनका विषयमा अलि खुल्न मन लाग्दैन । महिला भएको कारणले भन्दा पनि शिष्टतापूर्वक लेखौँ भन्ने लाग्छ । सबै कुरा हामीलाई थाहा छ, त्यसलाई कलाले छोपेर लेख्नु पो राम्रो त !

नारी सर्जकहरू बोल्ड लेख्दैनन् भन्ने आरोप छ नि ?

छाडापन लेख्दैमा बोल्ड हुन्छ? नारीको वर्तमान अवस्थाको परिवर्तन, उत्थान र विकासका लागि लेखिएका रचना बोल्ड हुन् भन्ने लाग्छ मलाई । छाडापनको वर्णनलाई कथा मान्दिन म ।

तपाईँ यति सम्पन्न परिवारमा हुर्किनु भयो तर आख्यानमा निम्न वर्गका पात्रका पीडालाई कसरी देखाउन सक्नुभयो ? मलाई टेम्पु चालक मनमायाकी मनमाया, अनि समानान्तर आकाशकी कृष्णमायाको अवस्थाले विथोलिरहेको थियो । मौन स्वीकृति र समय दंशका कतिपय कथाका पात्रहरू निम्नवर्गीय समाजबाटै लिइएका छन् ।

मैले विपन्न नारीसँग काम गरेँ । एन जि ओमा काम गर्दा उनीहरूको नजिक भएँ, तिनका दुःखले छोयो । कृष्णमायाको कुटाइ यथार्थ हो, मेरै आँखाले देखेको, त्यस विषयलाई अघि बढाउन बनाइएका अरू केही घटनालाई त कल्पनाको रङ दिनै पर्यो ।

आफ्नो लेखनमा कस्तो विचार आओस् भन्ने लाग्छ ?

समाजलाई अघि बढाउने । हर तरहले महिलाले अगाडि बढ्ने सुअवसर पाऊन् भन्ने ।
पद्मावतीको कथा लेख्ने तरिका कस्तो होला ? जिज्ञासा राखिहालेँ । कुनै पनि विषयले छोएपछि केही दिन मनमा खेलाउँछिन् रे । कुनै कुनै बेला चाहिँ खासै सोच्दिनन् रे । तर सोचेर बसे पनि धेरै नसोचीकन बसे पनि उनलाई एकै सिटिङमा कथा सक्नु पर्छ रे । त्यसैले उनलाई अरूले नबिथोल्ने समय चाहिन्छ । बेलुका चाँडै सुतेर राति दुई तीन बजेतिर उठेर लेखेपछि केहिले रोक्न सक्ने रहेनछ । उनलाई बिहानपखको उज्यालो हुँदै आएको समय सबैभन्दा सुन्दर लाग्छ रे सिर्जनाका लागि पनि ।

साहित्यिक पत्रकार संघमा संलग्न पद्मावतीले सचिव र कोषाध्यक्षको पद सम्हालिन् । २०५४ सालमा नारी साहित्यकारहरूको संथा गुञ्जनकी संथापक अध्यक्ष बनिन् । गुञ्जनलाई स्थापना गर्न उनलाई एक डेढ वर्ष गतिलो गृहकार्य गर्नु पर्यो । यस संस्थालाई १२ वर्षसम्म आफ्नै नेतृत्वमा सम्हालेर सुरक्षित हस्तान्तरण गरिन् । अब उनलाई एकोहोरो साहित्य लेखनमा डुबिरहने इच्छा छ । लेख्दै गरेको नयाँ उपन्यास टुङ्ग्याउन कुनै एकान्त ठाउँमा जाने योजना बनाइरहेकी छन् ।

फटाफट घुमेको घडीको समयले मलाई पनि घुमाउन थालेको केही समय भयो । बारम्बार आँखाहरू घडीमा पुगेका छन् । मन सानो छोराको आगमनको प्रतिक्षामा घरको दैलोमा पुगेको छ । २:१५को समय बिदाबादीमा अडिन्छ । म घरतिर लागिरहेकी छु । मङ्सिरको ओरालो लागेको घाममा पनि तेज छ आज ! मनभरि कुरा खेलिरहेका छन् कसरी समेटूँ पद्मावतीको जीवनलाई ।

अघिका मन छुने कुरा सम्झिरहेकी छु, माथेमा र सिंह दुवै शहीद परिवारको नातासँग जोडिएकी छन् पद्मावती । १९९७ सालका शहीद धर्मभक्त माथेमा नजिकैका दाइ, शुक्रराज शास्त्री (जोशी) धर्मभक्तका भिनाजु  । घरतिरका अर्का शहीद चिनियामान सिंह, पद्मावतीका कान्छा ससुरा । सम्पूर्ण सम्पत्तीमा सरकार लागेपछि चिनियामानका सम्पूर्ण दाजुभाइ सर्लाहीमा बस्न पुगेका । सन्तानलाई शिक्षादीक्षा गराउने क्रममा राजबहादुरका बुबाले दरभङ्गामा पनि घर किनेका । दरभङ्गामा रहँदा कृष्णप्रसाद कोइरालासँग पनि राम्रो मित्रता रहन पुगेको थियो रे । एउटा मान्छेको जीवन कति ठाउँमा जोडिएको हुन्छ । कति ठाउँ फुकाउनु छ मैले पद्मावती दिदीलाई चिनाउन । एकोहोरो सोचिरहेछु अनि घरतिर गुडिरहेछु...

नेपाली साहित्यमा प्रकाशित आधा दर्जनभन्दा बढी आख्यानकृतिहरूकी सर्जक हुन् पद्मावती । सिर्जनाहरू सन्तान हुन् कि सर्जकका गहना ? मलाई छुट्याउन गाह्रो परिरहेको छ, यिनी पद्मावती हुन् कि आख्यानकी पद्मिनी ? साँच्चै यिनको सिर्जना सुकोमल कमलको फूल हो भने त्यही पद्म फुल्ने सुन्दर तलाउ (पद्मिनी) हुन् पद्मावती ! उनको गहिरिदै गएको उमेरको तलाउमा अझै कति पद्महरू फुल्न बाँकी होलान् ?!

(यो लेख गरिमामा प्रकाशित भै सकेको छ- सं )

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |